बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस शीर्ष नेताहरु पाँच नम्बर प्रदेशमा, सरकारप्रति आक्रामक

सोमबार, ०२ भदौ २०७६, १५ : ४८
सोमबार, ०२ भदौ २०७६

बुटवल । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रदेश नम्बर ५ को भैरहवामा आएका छन्  । काँग्रेस महाधिवेशन प्रतिनिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रमा सहभागी हुन शीर्ष नेताहरु यहाँ आएका हुन् । 
कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले सरकार गैरजिम्मेवार बन्दै गएको भन्दै पार्टी कुनै पनि बेला सडक आन्दोलनमा होमिने बताए । 

सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै उनले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको पनि दाबी गरे । 

सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । प्रजातन्त्र विरुद्ध लाग्ने कसैलाई पनि छोड्न नसकिने समेत देउवाले बताए । 
 उनले प्रजातन्त्रको खिलाप र यसलाई सिध्याउन लाग्ने कुनै शक्तिलाई कांग्रेसले नछाड्ने बताए । देउवाले राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध कांग्रेसले संघर्ष गरेको गरेको स्मरण गर्दै ओली सरकारले पनि प्रजातन्त्र विरुद्ध काम गरे नछाड्ने चेतावनी दिए ।
देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कारवाही गरिने पनि बताए । 
यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा भएको बताए । उनले कांग्रेसको सिद्धान्त सधै विजयी भएको दावी गर्दै नेकपा कारण  जनताले दुःख पाएको  बताए ।

 पौडेलले नेकपालाई जनताले दुईतिहाई बहुमत दिएर पठाएको तर सरकारले दुईतिहाईलाई दुरुपयोग गरेको उनले बताए । 

पार्टीका उपभापति विमलेन्द्र निधिले सरकारले लोकतन्त्र विरुद्ध काम गरिरहेको आरोप लगाए । उनले लोकतन्त्र रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर कांग्रेस जनतामाझ पनि जानुपर्ने बताए । उनले जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने बताए ।

 कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र रक्षाको लागि पार्टीले शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताए । 
यसैगरी कार्याक्रममा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टी एकढिक्का भएर अगाडी बढ्नुपर्ने बताइन् ।  प्रशिक्षणमा पाँच नम्बर प्रदेशबाट केन्द्रीय सदस्य बनेका सवै नेताहरुका साथै करीब ५ सय महाधिवशेन प्रतिनिधि सहभागि रहेका छन् । 

काँग्रेस नीति केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षणमा मंगलबारसम्म चल्नेछ ।  

सिद्धार्थनगर उद्योग बाणिज्य संघ र पार्टी कार्यालयमा  ४ वटा समूह बनाएर पार्टीको नीति र रणनीतिका बिषयमा प्रशिक्षण दिइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप