बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वयुवराज पारसद्वारा बर्दीवाला प्रहरीमाथि हातपात : तर, प्रहरी नै भन्छ – सामान्य घटना हो !

पीडित प्रहरी भन्छन् – खै के चित्त बुझेन, एक्कासी आएर हातपात गर्नुभयो
सोमबार, ०२ भदौ २०७६, १३ : ४४
सोमबार, ०२ भदौ २०७६

पूर्वयुवराज पारस शाह विभिन्न लफडाको कारण विवादमा आइरहन्छन् । अनेकन् आपराधिक र अराजक क्रियाकलापसँग जोडिएका पारस शाहले युवराज हुनुअघिदेखि नै मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला, आम मानिसमाथि मारपिटदेखि फायरिङसम्ममा घटना घटाउँदै आएका थिए । कुनै बेला गायक प्रविण गुरुङ मृत्यु प्रकरणमा समेत पारसको नाम जोडिएको थियो । नेपालमा मात्र नभएर विदेशमा समेत लागुपदार्थ सेवनको आरोपमा पारस पक्राउ परिसकेका छन् ।

पछिल्लो समय विगतमा धमिलिएको छवि सुधार्न धार्मिक वा सामाजिक कार्यमा सहभागी भएर जनताको नजिक हुने प्रयासमा लागेका पारसले आइतबार फेरि अर्को काण्ड मच्चाएका छन् ।

सार्वजनिकस्थलमै पारसले बर्दीधारी प्रहरीमाथि हातपात गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीमाथि पारसले हातपात गरेका हुन् ।

३ महिनाअघि मात्र विमानस्थलमा आएका सई खत्रीले छोरा र भान्जालाई चेकजाँच गर्न खोजेपछि पारसले हातपात गरेको बताइएको छ । यस विषयमा सई खत्रीले यस्तो होला भनेर आफूले नसोचेको बताए ।

उनले भने, ‘खोई के कुरामा उहाँलाई चित्त बुझेन । एक्कासी आएर हातपात गर्नुभयो । घटनाबारे विमानस्थल प्रहरीको माथिल्लो निकायमा जानकारी गराएको छु ।’

आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस विमानस्थल पुगेका थिए । पुर्व राजा ज्ञानेन्द्र शाह २ साताअघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्डमै रहेकी छिन् ।

आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा देखिएको दृश्य हेर्दा पनि पूर्वयुवराज पारस फर्की–फर्की सई खत्रीमाथि झम्टिएको देखिएको छ । सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथिको दुव्र्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको छ ।

सामान्य नागरिकले पारसको जस्तो हर्कत गथ्र्यो भने तत्कालै पक्राउ पुर्जी जारी गरेर समात्न सक्ने नेपाल प्रहरी पारस प्रकरणमा भने मौन रहेको छ ।

प्रहरी आचारसंहिता अनुसार ड्युटीमा रहेका प्रहरीलाई कसैले हातपात गरेमा प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाउन सक्छ । तर, पारसलाई नेपाल प्रहरीले के गर्छ यो भने हेर्न बाँकी छ ।

पारसको विषयमा किन बोल्दैन प्रहरी ?

यस विषयमा नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेल केही बोल्न चाहेनन् । सामान्य घटना भएको भन्दै डीआईजी पोखरेलले कुनै औपचारिक जानकारी दिन चाहेनन् ।

परासको शैलीबारे विमानस्थलमा कार्यरत प्रहरी अधिकृतलाई घटनाबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

विगतमा दर्जनौँ जघन्य अपराधमा मुछिए पनि राजपरिवारको सदस्य भएकै कारण उन्मुक्ति पाउने गरेका पारस शाह लोकतन्त्र स्थापनापछि भने प्रहरी कारवाहीमा परेका छन् ।

यसअघि, २०७५ जेठ ३० गते पारस शाहले ट्राफिक नियम उल्लंघन गरेका थिए । लतिलपुरको जावलाखेल चोकबाट ट्राफिक नियमको बेवास्ता गर्दै थापाथलीसम्म आएको पारसको बा १४प २१३१ नम्बरको गाडीलाई रोकेर ट्राफिक प्रहरीले रोकेको थियो ।

थापाथली ट्राफिकको फन्दामा परेपछि पारसले त्यहाँ पनि लफडा गरेका थिए । ट्राफिकसँग उनले पटकपटक कागजपत्र मागे पनि नपाएपछि पारस गाडी चलाएर लाइसेन्स र ब्लुबुक छाडेर माइतीघरतर्फ हुइँकिएका थिए । पछि उनले ५ सय जरिवाना तिरेका थिए ।

यस्तै २०६७ साल २५ मंसिरमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स रिसोर्टमा बंगलादेशी नागरिक रुबेल चौधरी परिवारसहित बिदा मनाउन गएका बेला पारसले हवाइफायर गरे । 

ठीक त्यही दिन पारस पनि आफ्नो परिवारका साथ बिदा मनाउन टाइगर टप्स रिसोर्ट पुगेको बेला दुई परिवारहरू बसिरहेकै वेला केही विषयलाई लिएर मनमुटाव भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको थियो ।

तत्कालै पारसले बाहिर आएर हवाईफायर गरेका हुन् । पीडित पक्षबाट पारसविरुद्ध सार्वजनिक अपराध तथा सजाय ऐनअनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भयो ।

जाहेरी दर्ता भएको ३ दिनपछि पारस पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप