शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी आग्रहलाई बेवास्ता गर्दै अन्ततः जिब्राल्टरले छाड्यो इरानी तेल ट्याङ्कर

सोमबार, ०२ भदौ २०७६, १० : ५०
सोमबार, ०२ भदौ २०७६

एजेन्सी । कुटनीतिक विवादको केन्द्रमा घेरिएको इरानको तेल ट्याङ्कर आइतबार साँझ जिब्राल्टरको कब्जाबाट छुटेको छ ।

अमेरिकाले उक्त वाहनलाई कब्जामा राखिराख्न गरेको आग्रहलाई अस्वीकार गर्दै जिब्राल्टरले जहाजलाई छाडेको हो ।

जहाजलाई जुलाई ४ मा स्ट्रेट अफ जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो । नियामक वेबसाइट ‘मरिन ट्राफिक’ले इरानको विशाल ट्याङ्कर जीएमटी समय अनुसार रातको ११ मा छाडिएको बताएको छ ।

तर जहाजको गन्तव्य भने अझै पनि खुलाइएको छैन । पहिले ग्रेस १ नाम रहेको तेल ट्याङ्करलाई अहिले ‘एड्रियन दार्य’ नाम दिइएको छ । जहाजमा कम्तिमा पनि १३ करोड अमेरिकी डलर बराबरको कच्चा तेल रहेको छ ।

यसको पुनःनामाकरण र पुनः झण्डोतलनको लागि अन्तर्राष्ट्रिय समुन्द्री कानुन अनुसरण गरिएको बताइएको छ ।

विहीबार जिब्राल्टरको सवोच्च अदालतले उक्त ट्याङ्कर छाड्न आदेश दिएको थियो ।

जिब्राल्टर सरकारका अनुसार इरानले लिखित रुपमा उक्त वाहन युरोपेली युनियनको प्रतिबन्ध लागु भएका देशमा नलाने प्रतिबद्धता गरेपछि छाडिएको हो ।

ब्रिटिस शाही जलसेनाले जुलाईमा उक्त वाहन नियन्त्रणमा लिएको थियो । जहाजले बोकेको तेल सिरियामा लगिँदै गरेको आशंकामा उक्त कदम उठाइएको थियो । युरोपेली युनियनले सिरियासँग व्यापार गर्न प्रतिबन्ध लागु गरेको छ ।

जिब्राल्टरले तेल ट्याङ्कर छाड्ने तयार गरिरहँदा शुक्रबार अमेरिकाको एउटा अदालतले ट्याङ्कर कब्जा गर्न वारेन्ट जारी गरेको थियो । जहाज इरानको रिभोलुस्नरी गार्डसँग सम्बन्धित भएको भन्दै उसले उक्त निर्णय गरेको थियो ।

अमेरिकाले इरानको वैधानिक सैन्य दस्ता इस्लामिक रिभोलुस्नरी गार्डलाई आतंकवादी संगठनको सूचीमा राखेको छ । अमेरिकाले कुनै देशको सैन्य फौजलाई नै आतंकवादी सङ्गठन घोषणा गरेको पहिलो पटक हो ।

जिब्राल्टर सरकारले युरोपेली कानुनका कारण आफूहरुले अमेरिकी आग्रहलाई स्वीकार गर्न नसक्ने बताएको थियो ।

ब्रिटेनको शासनअन्तर्गत रहेको जिब्राल्टरले इरानी तेल ट्याङ्कर जहाज कब्जा गरेपछि इरान र बेलायतबीच सम्बन्ध बिग्रिएको थियो । बदलामा तेहरानले ‘स्ट्रेट अफ हरमुज’मा ब्रिटेनको झण्डायुक्त जहाज कब्जा गरेको थियो । ‘स्टेना इम्पेरो’ नामको जहाज अझै पनि इरानी कब्जामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप