शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटकीय नगरी सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा

आइतबार, २९ साउन २०७४, ०८ : ४२
आइतबार, २९ साउन २०७४

चितवन - पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । 

क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले जानकारी दिए ।

सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् । 

विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताउनुभयो । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताउनुभयो । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो । 

यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । 
 राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए । 

नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप