मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपालको असन्तुष्टिकाबीच पनि झलनाथ खनाल तेस्रो बरियतामा

आइतबार, ०१ भदौ २०७६, २० : ३६
आइतबार, ०१ भदौ २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकले तेस्रो बरियतामा नेता झलनाथ खनाललाई बनाएको छ । यो निर्णयसँगै हाल तेस्रो बरियतामा रहेका माधवकुमार नेपाल चौँथो बरियतामा झरेका छन् । 

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो बरियतामा ल्याउने निर्णय गरेको हो । यो निर्णयसँगै बरियता घटुवामा परेका नेता नेपालले असन्तुष्टि जनाएका छन् । 

२०७५ जेठ ३ गते तत्कालिन दुई पार्टी(एमाले र माओवादी केन्द्र) बीच पार्टी एकीकरण घोषणा गर्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा नेता नेपाललाई तेस्रो बरियतामा ल्याइएको थियो । 

त्यतिबेला नेता खनाल चीन भ्रमणमा थिए । चीन भ्रमणबाट फर्कैलगत्तै नेता खनालले उक्त निर्णय प्रति चर्को असन्तुष्टि जनाएका थिए । साथै उनले उक्त निर्णय गलत भएको भन्दै त्यसलाई पुर्नविचार गर्न त्यतिबेला सचिवालय बैठकमा माग समेत गरेका थिए । 

त्यतिबेला उनको मागबारे अध्यक्षद्वयलगायत अन्य नेताहरु मौन बसे । तर, पार्टी एकता घोषणा गरेको १५ महिनापछि नेता खनालको माग पुरा भएको छ । 

तत्कालिन एमालेमा अध्यक्ष ओलीपछि दोस्रो बरियतामा नेता खनाल थिए । तर, एकीकृत पार्टी बनेपछि उनी चौथो बरियतामा पुगे । नेकपामा अध्यक्षद्वय ओली–प्रचण्ड पछिको तेस्रोे बरियतामा नेता नेपाललाई ल्याइयो । जबकि नेता नेपाल तत्कालिन एमालेमा खनालपछिको तेस्रो बरियतामा थिए । 

शुक्रबार बसेको सचिवालय बैठकमा अचानक यो बिषयले प्रवेश पायो । पाँचौ बरियतामा रहेका नेता बामदेव गौतमलाई उपाध्यक्षमा ल्याउने प्रस्तावसँगै नेता खनालले पनि आफूले तेस्रो बरियतामा पाउनुपर्ने प्रस्ताव राखेका थिए । 

तर, यतिबेला उनको यो प्रस्तावमा अध्यक्षद्वयसहित सचिवालय अघिकाशं (नेता नेपाल बाहेकका) नेताहरुले सहमति जनाएपनि निर्णय भने हुन सकेको थिएन । 

बैठकमा नेता खनालको दावी आएपछि नेता नेपालले पनि तत्कालिन एमालेकै अनुसार पार्टीलाई अगाडि बढाउने भए तत्कालीन उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई सचिवालयमा ल्याउनुपर्ने प्रसंग जोडेका थिए । 

तर, आजको बैठकले नेता खनालको माग पुरा गरेसँगै नेता नेपाल पक्ष भने असन्तुष्ट बनेको छ । 

नेता नेपालले लेखे ‘नोट अफ डिसेन्ट’

वरिष्ठ नेता माधव नेपालले चौथो बरियतामा झरेपछि  ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

एकीकृत पाटीमा नेता नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो । 

यसअघि प्रदेश कमिटीका इन्चार्ज तोक्ने बेला असन्तुष्टि जनाउँदै नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप