शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आत्महत्या

‘म मर्न लागें, एक्लै मर्न गाह्रो हुँदोरहेछ’
आइतबार, ०१ भदौ २०७६, १५ : २९
आइतबार, ०१ भदौ २०७६

रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झुण्डिएर आत्महत्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले अमृताले साढे २ तले घरको दोस्रो तलामा झुण्डिएर आत्महत्या गरेको खुल्न आएको जानकारी दिए ।

प्रहरीका अनुसार असार २१ गते बिहान ९ बजेसम्म अमृता नउठेपछि सासु पवित्रा कुँवर उनलाई बोलाउँन पुगिन् । तर, ढोका ढकढक्याउँदै लामो समसम्म बोलाउँदा पनि कुनै प्रतिक्रिया नजनाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

घटनास्थलमा पुगेको प्रहरीले ढोका फोडेर हेर्दा अमृता झ्यालको ग्रिलमा झुण्डिएकी अवस्थामा फेला परेकी थिइन् ।

अमृताले आत्महत्या गरेको ३ दिनपछि आएको पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै चोटपटक देखिएको छैन भने ‘ह्याङ्गिङ’ अर्थात झुण्डिएर आत्महत्या गरेको उल्लेख गरिएको छ । 

अहिले पनि अमृताको शव टिचिङ अस्पतालमा बेवारिसे बनेको छ । घर पक्षले शव बुझ्छु भन्दा पनि माइती पक्षले शव बुझ्न नदिँदा शव अस्पतालमै अलपत्र बनेको हो ।

किन बुझ्न दिइएन शव ?

अमृताको दाइ नरबहादुर कुँवरले बेहोश बनाएर बहिनीलाई झुण्ड्याएर मारेको भन्दै श्रीमान राजन कुँवर, दिदी गोमा कुँवर, सासुससुरा पवित्रा र खड्क कुँवरविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका छन् ।

परिवारले यातना दिने गरेको भन्दै बहिनीलाई झुण्ड्याएर मारेको आरोप लगाउँदै नरबहादुरले असार २६ गते किटानी जाहेरी दिएको महाराजगञ्जका प्रमुख डीएसपी प्रसाईंले रातोपाटीलाई जानकारी दिए ।

बहिनीको आत्महत्या नभई हत्या भएको भन्दै सत्यतथ्य छानबिन गर्न नरबहादुरको माग छ । बहिनीको हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै नरबहादुर असार २७ देखि शान्ति बाटिकामा रिले अनशनमा समेत बसेका छन् ।

अनशन बसेका नरबहादुरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

झुण्डिएको ठाउँमा मोबाइल भेटिएपछि...

आत्महत्या गरेकी अमृताको साथबाट मोबाइल बरामद भएको छ । झुण्डिएको ठाउँमूनि मोबाइल फेला परेपछि मोबाइल परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइयो ।

मोबाइलमा अमृताले आत्महत्या गर्नुभन्दा केही समयअघि मात्र विदेशमा रहेका श्रीमान राजनसँग कुराकानी गरेको पाइएको छ । अमृताले राजनलाई भिडियो कल गर्दै आत्महत्या गरेकी प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार राजनसँग भिडियो कल गर्नुभन्दा अघि अमृताले आफू राती २ बजे ‘सुसाइड’ गर्छु भन्दै ‘म्यासेज’ समेत गरेकी थिइन् । तर, अमृताले १२ बजे आत्महत्या गरेको पाइएको हो ।

अमृताले किन गरिन् आत्महत्या

असार २० गते ८ बजेतिर अमृतालाई नयाँ नामबाट फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । न्हू नाम गरेको । यहीबीचमा अमृतालाई तत्कालै ‘हेल्लो’ भन्दै म्यासेज आउँछ ।

अमृताले पनि रिप्लाई दिन्छिन् ‘हाई’ !

त्यसपछि...उनीहरुबीच कुराकानी भयो

न्हू : ‘ह्वयर आवर यू’

अमृता : नेपाल । एण्ड यू ?

न्हू : भीयतनाम ।

भीयतनामबाट म्यासेज गरेको न्हूले एक्कासी अमृतालाई ‘तिम्रो डिभोर्स’ भएको हो भनेर सोधे । डिभोर्सको कुरा गरेपछि अमृताले शंका गर्छिन् र त्यो मान्छेले किन सोध्यो भनेर चासो गर्छिन् । र विस्तारै सबै कुरा बाहिर ल्याउन खोज्छिन् । 

कुराकानीकै क्रममा भीयतनामका न्हू भनिएको मान्छे अरु कोही नभएर श्रीमानको ‘प्रेमिका’ रहेको थाहा पाइन् । अमृताले न्हूलाई फकाई–फकाई श्रीमान राजनको बारेमा सबै जानकारी पाइन् ।

अन्ततः न्हूले राजन आउँदो अगस्ट ४ मा भीयतनाम आउन लागेको भन्दै अमृतलाई म्यासेज गरिन् । राजन भीयतनाम आउने भनेर आफूले होटल समेत ‘बुक’ गरिदिएको भन्दै न्हूले अमृतालाई म्यासेज पठाइन् ।

आफूहरुबीच भिडियो कल भएको ‘स्क्रिन सर्ट’ गरेर पठाइन् ।

त्यसपछि अमृताले न्हूलाई राजन आफ्नो श्रीमान भएको बताइन् भने राजनको र आफ्नो फोटो समेत पठाइन् ।

त्यसपछि न्हूले ‘सरी’ भन्दै म्यासेज गर्न छाड्छिन् । त्यतिबेला साँझको ८ बजिसकेको हुन्छ ।

त्यसपछि श्रीमानसँग अमृताको ‘म्यासेज’

श्रीमानको प्रेमिका भनिएकी भीयतनामकी युवती न्हूसँग ‘म्यासेज’ हुन छोडेपछि अमृताले श्रीमानलाई म्यासेज गर्न थाल्छिन् ।

अमृता : ‘न्हू’ को हो ?

राजन :  मलाई थाहा छैन ।

लगत्तै अमृताले जथाभावी म्यासेज गर्न थालिन् । यता राजनले सम्झाउन खोजे तर अमृताले मानिनन् ।

अमृता : न्हू तिम्रो प्रेमिका हो ?

बल्ल मुख खोल्छन् राजन ।

राजन : पहिला–पहिला कुरा हुन्थ्यो । आजकाल हुँदैन ।

अमृताले त्यसपछि न्हूसँग गरेको कुराकानीको ‘स्क्रिन सर्ट’ गर्दै पठाइन् । राजनले अमृतालाई सम्झाउन खोजे । तर, अमृता राजनलाई जथाभावी गाली गर्दै प्रश्न सोधिरहिन् ।

 राजन : भोलि नेपाल आउँछु अनि बसेर सल्लाह गरौंला ।

अमृता : तँ नेपाल आउन्जेल म मरिसक्छु ।

राजन : त्यस्तो नभन । केही भएको छैन । म आउँछु ।

अमृता : रातीको २ बजे संसार त्याग्दै छु ।

राजन : के भयो ?

अमृता : ठिक २ बजे म आत्महत्या गर्छु । भोलि नेपाल आएर मेरो शव पशुपति लैजानु ।

राजन : त्यसो नभन ।

यतिबेलासम्म रातीको ११ बजेको हुन्छ । त्यसपछि उनीहरुबीच पटक–पटक गर्दै करिब ३० मिनेट जति म्यासेन्जरमा फोन हुन्छ ।

अमृताले त्यसपछि पनि राजनलाई म्यासेज गरिन्, ‘अब म मर्छु ।’ राजन सम्झाउन खोजिरहन्छन् । पहिलो पटक ११ः ५० मा अमृताले सलको पासो झ्यालको ग्रिलमा बाँधेर फोटो खिचेर राजनलाई पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

त्यसपछि राजनले जति सम्झाउने प्रयास गरेको भएपनि उनले नमानेको प्रहरीले जनाएको छ ।  घाँटीमा पासो लगाएर राजनलाई फेरि म्यासेज गर्दै उनले भनेकी छिन्, ‘म मर्न लागें । एक्लै मर्न गाह्रो हुँदोरहेछ ।’

राजनले लेखे, ‘म छु नि त । त्यस्तो नगर । त्यसो भए म पनि मर्छु ।’

प्रहरीका अनुसार तनावका आपसरी भनाभनका बीच अमृताले ११ः५७ मा राजनलाई पासो घाँटीमा लगाउँदै भिडियो कल गरिन् । राजन हेर्न सक्दैनन् र म्यासेज गरिरहन्छन् । तर उनको केही लागेन ।

श्रीमानसँग भिडियो कल गर्दै आत्महत्या

राजनलाई भिडियो कल गर्दै अमृताले राती १२ बजे आत्महत्या गरेकी प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । झ्यालको ग्रिलमा कपडाको पासो लगाएर आत्महत्या गर्नुअघि अमृताले राजनलाई भिडियो कल गरेकी हुन् ।

भिडियो कल गरेकी अमृताको श्वास रोकिएपछि मोबाइल आत्महत्या गरेको ठाउँमूनि भेटिएको हो । सोही मोबाइलको आधारमा अमृताले आत्महत्या गर्नुको कारण पनि खुलेको प्रहरीको भनाई छ ।

राजन विगत २ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । कतारमै रहँदा भीयतनाम युवती न्हूसँग राजनको फेसबुकमार्फत चिनजान भएको बताइएको छ ।

सोहीक्रममा उनीहरुबीच प्रेम अंकुराएको र न्हूको आग्रहमा राजन अगस्ट पहिलो साता भीयतनाम जाने तयारीमा रहेका थिए ।

पछि राजनको फेसबुकवाल हेर्दै जाँदा न्हूले अमृतासँगको फोटो भेटेपछि घटनाले नयाँ मोड लिन पुगेको थियो । न्हूले राजनलाई सोध्दा आफ्नी श्रीमती भएको बताएपछि नै अमृतालाई न्हूले फ्रेन्ड रिक्वेस्ट पठाएको हुन सक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

बिहेलगत्तै अमृता पनि कतार गएकी थिइन्

३ वर्षअघि राजन र अमृताको विवाह भएको थियो । बिहे भएको ६ महिनापछि दुवैजना वैदेशिक रोजगारीको लागि कतार गएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

काम गर्न थालेपछि अमृता बिरामी परिन् । अन्ततः कतार गएको ६ महिनामै अमृता नेपाल फर्किइन् भने राजन कतारमै बसे ।

श्रीमतीको मृत्यु भएको भोलिपल्टै नेपाल आए राजन

अमृताले भिडियो कल गर्दै आत्महत्या गरेको भोलिपल्टै राजन नेपाल फर्किए । नेपाल आउनासाथ उनीविरुद्ध माइती पक्षले किटानी जाहेरी दिएपछि राजन पक्राउ परे ।

पक्राउ परेका राजन ३१ हजार धरौटी तिरेर रिहा भइसकेका छन् । तर, दिदी गोमा, सासु पवित्रा र ससुरा खड्क भने अहिलेसम्म फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप