शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अवैध टहरा भत्काउँदै नगरपालिका, व्यापारीको विरोध

शनिबार, ३२ साउन २०७६, १८ : ४६
शनिबार, ३२ साउन २०७६

काठमाडौं । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँ–बायाँ सामुदायिक वन मासेर निर्माण गरेको अवैध घरटहरा भत्काएपछि स्थानीयवासी साना व्यवसायीले विरोध गरेका छन् ।

वन क्षेत्रमा अवैध रूपमा निर्माण गरी सञ्चालन भएको २० व्यावसायिक घरटहरा नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि यहाँका साना तथा मझौला व्यवसायीले विरोध गरेका हुन् । 

नगरपालिकाले अटेर गरेर सञ्चालनमा रहेका थप अवैध टहरा भदौ २ गतेदेखि भत्काउन माइकिङ गरे पनि व्यवसायीहरुले नगरपालिकाले विकल्प नदिई हटाउन हुने भन्दै विरोध गरेका छन् । 

नगरपालिकाको अवैध टहरा हटाउने अभियानविरुद्ध अवैधरूपमा सञ्चालित होटल तथा रेष्टुरेष्ट सञ्चालकलाई सत्तापक्षबाहेकका दलहरुले साथ दिएका छन् । 

आज नगरकोट बसपार्कमा साना तथा मझौला व्यवसायीले नेतृत्वमा नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, क्रान्तिकारी माओवादीलगायत राजनीतिक दल र स्थानीय व्यवसायीले विरोध ¥यालीसहित कोणसभाको आयोजना गरी नगरपालिकाको अवैध टहरा हटाउने अभियानको विरोध गरेको हो ।
 
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले स्थानीय सरकारले जनताको भावनाविपरीत उनीहरु बस्दै र व्यवसाय सञ्चालन गर्दै आएको टहरा भत्काएर जनताको भावनालाई कुल्चिएको आरोप लगाए । 

काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ का पूर्वसभापति कृष्ण भडेलले नगरपालिकाले नगरकोटका बासिन्दाले नगरपालिका भएको आभाष गर्न नपाएको भन्दै अहिले एउटा वडा कार्यालयबाट हुने सरकारी सेवा प्रवाहमा पार्टीको झण्डा राखेर राजनीतिक आस्थाका आधारमा विभेद हुने गरेको आरोप लगाए । 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका युवानेता कुमार तामाङ, क्रान्तिकारी माओवादीका सुरेन्द्र तामाङ, सङ्घर्ष समितिका संयोजक दिलीप गुरुङ, व्यवसायी धनबहादुर लामा, स्थानीय साना तथा मझौला व्यवसायीहरुले नगरकोटमा अतिक्रमण गरी बनेका घरटहरा भत्काउँदा नगरपालिकाले विकल्प दिनुपर्ने बताए । 

नगरकोट बजार क्षेत्रमा काठमाडौँ, भक्तपुर र काभ्रेमा समेत गरी करीब ३०० घरटहरा वनको जग्गा अतिक्रमण गरी बनेका छन् । यी जिल्लाका वन कार्यालय, जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहले अतिक्रमण गरी घरटहरा भत्काउन सूचित गरेपनि स्थानीयवासीले भत्काएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप