शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेता नेपालले भने : कांग्रेस र मधेशी दल पनि पार्टी हुन् र ?

शनिबार, ३२ साउन २०७६, १५ : ५८
शनिबार, ३२ साउन २०७६

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेस र मधेश केन्द्रित दलको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गरेका छन् । नेता नेपालले शनिबार पोखरामा कांग्रेस र मधेशी दल पनि पार्टी हुन् र ? भन्दै संशय व्यक्त गरेका हुन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । सोही कार्यक्रममा नेता नेपालले नेपाली राजनीतिमा कम्युनिष्ट पार्टी बाहेक अरु कसैको विकल्प नभएको समेत दाबी गरे । 

‘कम्युनिष्ट पार्टीलाई गतिलो बनाएर लै जाने बाहेक अरु केही विकल्प छैन,’ उनले भने, ‘हामीले धेरै उतार चढाब पार गरि सकेका छौं । पार्टी एकतादेखि विभाजनसम्मको पिडा पनि भोगि सकेका छौं । अब, पार्टीलाई गतिलो बनाएर जानुको विकल्प छैन ।’ पार्टीको सर्कुलर पालना गरे सबैलाई न्याय हुने समेत उनको धारणा छ । 

पार्टी नयाँ ढंगले अघि बढ्न खोजि रहँदा यस्को शैलिमा केही सुधार गर्न आवश्यक रहेको समेत उनले स्वीकार गरे । फरक प्रसंगमा मंसिर १४ गते हुन् लागेको उप निर्वाचनबारे नेता नेपालले जो कोही उम्मेदवार उठे पनि नेकपालाई नै जिताउनुपर्ने भनाई राखे । ‘उमेदवार जो उठे पनि नेकपालाई नै जिताउनुपर्छ,’ उनले भने, ‘पार्टीले विचार गरि सकेपछि त्रुटि नै भए पनि दायाँबायाँ नगरि पार्टी जस्लाई उठाएको छ । उसैलाई जिताउँन लाग्नुपर्छ, निर्वाचनको समय रिस पोख्ने बेला होइन ।’

कम्युनिष्टलाई सत्ताको मात कहिले पनि लाग्न नहुने उनले भनाई राखे । विरोधीले कम्युनिष्टलाई कमजोर बनाउँन लागि परे पनि कमजोरीहरु सुधार्दै लै जानु पर्ने उनले बताए । राजतन्त्रको विरुद्धमा सुनामी ल्याएको स्मरण गर्दै नेता नेपालले परिवर्तनको संवाहक एक मात्र नेपाल कम्पुनिष्ट पार्टी मात्र रहेको उनले दाबी गरे । 

परिवर्तनका विरोधीहरुले पुरानो व्यवस्था फर्काउने सपना देख्न थाले पनि कम्युनिष्टहरुले होसियार भएर त्यस्तो बद्मासी गर्न नदिने उनले उल्लेख गरे । देश विकासको गतिमा गतिशिल भई रहेको हुनाले अहिले नै निराश हुनु आवश्यक नरहेको समेत उनले भनाई राखे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप