शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दर स्वीट्जरल्याण्ड !

शनिबार, ३२ साउन २०७६, १२ : १५
शनिबार, ३२ साउन २०७६

नेपालजस्तै एक भूपरिवेष्ठित देश स्वीट्जरल्याण्ड । नेपाल भन्दा सानो (४१,२८५ वर्गकिलोमिटर) क्षेत्रफल भएको यो देश विकासको हिसावले संसारकै एक नमुना देश मानिन्छ ।

जीवनको गुणस्तर, आर्थिक प्रभाव, शक्ति, शिक्षा, वातावरणमैत्री लगायतका गुणको आधारमा यो देशलाई विश्वकै उत्कृष्ट मुलुकको रुपमा लिइन्छ ।

३६ मुलुकका व्यवसायीक नेतृत्व र नागरिकले ८० मुलुकको मूल्यांकन गर्दा यसवर्ष स्वीट्जरल्यान्ड उत्कृष्ट मुलुकको सूचीमा दरिएको थियो । हुन त यसअघिका वितेको दुई वर्षपनि स्वीट्जरल्याण्डले यही स्थान हासिल गरेको थियो ।

आर्थिक स्थायित्व, पुँजीमा पहुँच र बलियो कानुनी फ्रेमवर्क तथा प्रतिष्ठाको मामिलामा पनि स्वीट्जरल्यान्ड उत्कृष्ट मुलुक ठानिन्छ ।

अझ नेपालको सन्दर्भमा अधिकांश नागरिकले स्वीट्जरल्याण्डलाई एक सपनाको देशका रुपमा ठान्छन् । राजनीतिक दलका नेतासमेतले विभिन्न कालखण्डमा आफ्नो सम्बोधनका क्रममा नेपाललाई स्वीट्जरल्याण्ड जस्तै बनाउने भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।

आर्थिक सुरक्षा, कानुनी राज, विकासको चरमचुली, ऊर्बरभूमिका साथै उपयुक्त बासस्थानलगायतका कारणले स्वीट्जरल्याण्डलाई विश्वकै एक नमुना देशका रुपमा लिइन्छ । ग्रामिण क्षेत्रमा समेत समानुपातिक विकासप्रणाली अबलम्बन गरेको यो देशमा संघीय शासन प्रणाली रहेको छ ।

यसैसाता यस पंक्तिकारलाई पनि नेपालीहरुको सपनाको देश, विश्वकै एक आकर्षक गन्तव्य स्वीट्जरल्याण्ड पुग्ने अवसर मिल्यो । विशेषगरी जेनेभा र आसपासको क्षेत्रको अवलोकन भ्रमण गर्दा स्वीट्जरल्याण्डको त्यसै चर्चा र बखान गरिएको होइन रहेछ भन्ने भान भयो ।

सानो हुँदादेखि नै नेपाली समूदायमा स्वीट्जरल्याण्डलाई संसारकै सुन्दर देशकोरुपमा बखान गरिन्थ्यो । त्यतिनै बेला राजाको स्वीस बैंकमा अथाह पैसा छ भनिन्थ्यो, अलिपछि परिवर्तनको आन्दोलनबाट शान्ति प्रक्रियामा आएकाहरुले नेपाललाई स्वीट्जरल्यान्ड बनाउने भनेपछि थप कौतुहलता पलायो । कतिले यो देशलाई धर्तीकै स्वर्ग पनि भने । यसरी चर्चा परिचर्चा भएको देशमा एक पटक पुग्ने रहर कसलाई पो नहोला र !

स्वीट्जरल्याण्डमा सशरीर उपस्थित भएर नियाल्ने अवसर प्रदान गरेको थियो– गैरआवासीय नेपाली संघ (एनआरएन) युरोपले । जसअनुसार त्यहाँ पुग्ने अवसर प्रदान गरेका थिए–एनआरएन अभियन्ता कृष्ण तिमल्सिना र रामशरण सिम्खडा लगायतले । जेनेभाको प्रमुख पर्यटकीय क्षेत्र लेक जेनेभा–जसलाई नेपालीहरुबीच लेकसाइडका नामले पनि परिचित रहेछ–जहाँको दृश्यले स्वर्गीय आनन्त प्राप्त हुनेरहेछ । जेनेभामा बस्दै आएका पत्रकारसमेत रहेका लक्ष्मण देवकोटा भन्दै थिए–तालको किनार आसपास विश्वकै अर्बपतिहरुको बङ्गला रहेको छ भने आसपासका होटल यति महँगो छ कि एक रातको ५० हजार डलरसम्म तिर्नुपर्नेसमेतका रहेका छन् ।

समग्रमा जेनेभा महँगो त छ तर पर्यटकको आकर्षण कम छैन । त्यसैले त त्यहाँ पर्यटकको भीडभाड हुन्छ । लेक जेनेभा, टेम्पल डी साइन्ट, इङ्लिस गार्डेन, बोटानिकल गार्डेन, युएन अफिस, कला तथा एतिहासिक म्युजियम, रेडक्रसका संस्थापक हेनेरी ड्युनाको स्मारक क्षेत्र जेनेभाको घुम्न लायक क्षेत्र रहेछन् । जेनेभाका यी स्थानमा पुग्दा साँच्चैकै आकर्षक, मनमोहक र ज्ञानबद्र्धक ठाउँ भएको अनुभूति भयो ।

सुन्दर र हराभरा जेनेभा सिटीमा व्यवस्थित यातायातका साधन, पार्क, मनोरञ्जन स्थलको व्यवस्थापन अनुकरणीय छ । सँगसँगै ग्रामिण क्षेत्रमा समेत विकास र सुविधाको पूर्णताले नेपालमा पनि यस्तो विकास र व्यवस्थापन कहिले होला भन्दै लोभ्यायो । जेनेभा क्षेत्र मस्तले घुमाउने लक्ष्मण देवकोटा भन्दै थिए–यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्छ सक्छ । नेताहरु स्वीट्जरल्याण्ड आउँदा कति सुन्दर भन्नुहुन्छ तर देशमा गएर सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न सक्नुहुन्न ।

स्वीट्जरल्याण्डमा प्रत्येक नागरिक १८ वर्ष पुगेपछि सैन्य तालीम लिएर देशको लागि भइपरि आएको बेलामा सैनिक सेवा गर्नु पर्ने प्रावधान रहेछ । देशलाई सेवा गर्नका लागि हरेक समयमा २० हजार सेना तयार रहनुपर्ने नियम रहेछ । स्वीसवासीहरुलाई आफ्नो देशको लागि गौरवगर्ने धेरै कुराहरु छन् । भौगोलिक हिसाबमा भूपरिवेष्टित भएतापनि युरोप तथा संसारभरिमा यस्को आफ्नै बेग्लै पहिचान छ । सँगसँगै  संसारको सबैभन्दा धनी राष्ट्रको गणनामा पनि पर्छ यो देश ।

नेपालमा बाटोका लागि एउटा सुरुङ खन्न वर्षौँ लाग्छ तर, यहाँ सयौँ सुरुङ मार्गहरु उहिले नै निर्माण भइसकेका रहेछन् ।  यहाँको यातायात सुरुङहरुको कारणले गर्दा पहाडी क्षेत्र भएपनि छिटो छरितो र एकदमै सुगम छ । स्वीट्जरल्याण्डको ९५ प्रतिशत भूभाग पहाडी छ । नेपालको जस्तै पहाड र तालको सौन्दर्यले यो देश स्वर्गजस्तो लाग्दछ ।

तर फरक यति हो स्वीट्जरल्याण्डमा विकासको चरम रुप छ भने नेपाल विकासको बहसमै रुमल्लिरहेको छ । स्वीट्जरल्याण्डको सपना देखाउनु भन्दा व्यवहारमै नेपाललाई स्वीट्जरल्याण्ड जस्तै बनाउन लागिपर्ने हो भने नेपालपनि विकासको गतिमा लम्किने निश्चित छ ।

जेनेभा सहर आसपास क्षेत्रका तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप