बराबरीमा रोकियो बायर्न
साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा बायर्नले हर्था बर्लिनसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
घरेलु मैदान भएको प्रतिस्पर्धात्मक खेलमा रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपनि बायर्नले जित निकाल्न सकेन । हर्था बर्लिनका डोडी लुकेबाकियो र मार्काे ग्रुजिकले गोल गरे ।
खेलमा सुरुवाती अग्रता बायर्नले लिएको थियो । २४औं मिनेटमा लेवान्डोस्कीले पहिलो गोल गरेका थिए । त्यसपछि ३६औं मिनेटमा हर्था बर्लिनका डोडीले बराबरी गोल फर्काए ।
३९औं मिनेटमा मार्कोले गोलगर्दै हर्था बर्लिनलाई अगाडी बढाए । हर्था बर्लिनको अग्रतापछि जोसिएको बायर्नका लागि लेवान्डोस्कीले पेनाल्टीमार्फत ६०औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
हर्था बर्लिनका मार्कोल डिबक्स भित्र लेवान्डोस्कीलाई लडाएपछि बायर्नले पेनाल्टीमा मौका पाएको थियो ।
त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् ।