केन्द्रीय संस्करण
गाईजात्रा

काठमाडौँमा यसरी मनाइन्छ गाईजात्रा

person explore access_timeसाउन ३१, २०७६ chat_bubble_outline0
तस्बिरहरुः सुवास श्रेष्ठ
माया श्रेष्ठ

रातोपाटी

काठमाडौं– सीतापाइला श्ररणपुरस्थित एक घरमा बिहानै ६ बजेदेखि मानिस ओहोरदोहोर गरिरहेका थिए । त्यस घरमा धेरै सङ्ख्यमा मानिस आवतजात गर्नु कारण थियो आज श्रावण कृष्ण प्रतिपदा अर्थात सापारु पर्व भएकाले । सापारु अर्थात गाईजात्रा निकाल्नका लागि चार जना महिला बच्चाहरूलाई सिँगारपटार गर्न व्यस्त थिए । एक वर्षको अवधिमा एउटै घरका दुई जना सदस्यको मृत्यु भएकाले जात्रामा दुई गाई र दुई जोगी निकाल्ने तयारी हुँदै थियो ।

वर्षभरिमा दिवङ्गगत आत्माको नाममा आज उपत्यका लगायत देशभर नेवार समुदायले गाईजात्रा पर्व मनाउने चलन छ । दुई जना बच्चालाई गाईको आकार स्वरूप जस्तै बनाउन  महिलाहरु व्यस्त देखिन्थे भने अर्का दुई जनालाई जोगीको जस्तै भेषमा  बदल्न उनीहरु व्यस्त थिए । गाई र जोगीलाई  विभिन्न प्रकारका शृङ्गारले सजाउन व्यस्त उनीहरु कुन बच्चालाई राम्रो गाईको आकार  बनाउन सकिन्छ अनि जोगीको जस्तो भेषमा उत्रान सकिन्छ भन्नेमा प्रतिस्प्रर्धा जस्तो नै थियो ।

 गाईको आकार र स्वरूप बच्चाहरुको शिरमा दुईवटा सिङ  थियो भने बासको चोयाले बनाएको गाईको टाउकोमा रङ्गीचङ्गी कपडाले बेरेर गाई टाउको बनाएर बच्चाको शिरमा राखेर मिलाइदिँदै थिइनँ एक महिला । दुई जना गाईलाई गुन्युचोली लगाइदिन अर्का दुई जना महिला व्यस्त देखिन्थे । अर्का दुई जना बच्चालाई  जोगीको रूप धारण गराई हातमा झोली थमाइएको थियो ।

गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास भए पनि  आजभोलि गाई जात्रा निकाल्ने क्रममा साना नानीबाबुहरुलाई गाई जस्तै;  बनाएर केही समयमा लागि नगरपरिक्रमा गराउने गरिन्छ ।  गाईलाई जात्राका क्रममा एकाध स्थानमा बाहेक मान्छेलाई गाई बनाएर  नगरपरिक्रमा गराउने प्रचलन बढेको स्थानीय देवकृष्ण श्रेष्ठले बताए ।

‘घरमा गाई पालन छाडे, यहाँ गाई पनि पाइँदैन् उनले भने,  ‘उतउता खोजेर गाई ल्यायाँै भने पनि  नगरपरिक्रमा गराउँन सम्भव पनि छैन ।’ विगत २०, २२ वर्षदेखि गाईलाई जात्रामा पाइँदैन भने बच्चाहरुलाई जात्राका लागि गाई बनाउने प्रचलन पछिल्लो समयमा बढेको छ ।


 
घरको बाहिरपट्टि मूल दैलो अगाडि  रातो माटोले गोलाकार आकारमा घरकी बुहारी लिप्दै थिइन् । भित्र ती चार जना बच्चाहरु गाई र जोगीको भेषमा निकै खुसी देखिएका थिए । रातो माटोले पोतेको अर्थात लिपेको गोलाकार आकार सुक्न नपाउँदै घरभित्रबाट दुईवटा गाई र दुई जना जोगी निस्किए । जोगी र गाईलाई  मृतात्माको शान्तिको कामना गर्दै निराहार व्रत बसिरहेकी त्यस घरकी बुहारीले पूजा धूपबत्ति गर्नुका साथै सगुनका रूपमा फलफूल दहीचिउरा खुवाइन् । उनी पूजा गर्नेक्रममा भावविभोर हुँदै आँखाबाट आँसु झारिहेकी थिइन् ।


 जत्रामा आएका देवकृष्ण श्रेष्ठले मानिसको जीवन स्थायी नभएको भन्दै सबै मानिस यस धर्तीमा अस्थायी रूपमा पाहुना हुन आएको बताए ।  त्यसैले मानव भएर मानवीय व्यवाहार गर्न डराउनेहरु यो पर्वमा एकन एक दिन दिन मर्नुपर्छ भन्ने  सम्झेर राम्रो व्यवाहार र कर्म मानिसहरुले गर्ने उनको भनाइ थियो ।

गाई र जोगीलाई घरका सदस्य र आफन्तजनहरुले सगुन दिएर गाई र जोगीसँगै आफन्तजनहरु सीतापाइलाको आइतबारे मन्दिर हुँदै उपत्यका विभिन्न मन्दिरहरु परिक्रमा गरेर अन्त्यमा बसन्तपुर मन्दिरको पुगेर मृतकको घरलाई दायाँपारेर फकिर्ने चलन छ ।

गाई र जोगीलाई मन्दिर घुमाउने क्रममा घरबाट लगिएका फलफूल, विभिन्न प्रकारका रोटी, नगद, द्रव्य विभिन्न ठाउँ बाड्दै हिँड्ने भीमसेन बलामीले बताए । काठमाडौँका मन्दिरहरु परिक्रममा गर्ने क्रममा गाई र जोगीलाई दिएका सगुनहरु घरमा फर्किएर आफन्तजनसँगै बसेर खाने चलन छ । गरुड पुराणमा  उल्लेख भएअनुसार, यमलोकको ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालिसकेपछि यमलोकको ढोका खुल्ने हुनाले मृतात्मा यमलोक प्रवेश गरेर मुक्ति पाउने जनविश्वास रहिआएको छ ।


 
कसरी मनाइन्छ गाईजात्रा

नेपाल भौगोलिक रूपमा सानो भए पनि भिन्नभिन्न कला संस्कृति, जातजाति, भेषभूषा रीतिरिवाज, धर्मसंस्कृति, चालचलन परम्पराले भरिपूर्ण देश हो । नेपालमा मनाइने विभिन्न चार्डपर्वमध्ये गाईजात्रा पर्वलाई महत्त्वपूर्ण चार्ड रूपमा काठमाडौँ उपत्यकासहित देशभरका नेवार समुदायहरुले पितृको सम्झनामा जनैपूर्णिमाको भोलिपल्ट अर्थात श्रावण कृष्ण प्रतिपदाको दिन गाईजात्रा मनाउने चलन छ । यदि मलमास तथा पुरुषोतम महिना परेको समयमा भने  भाद्र कृष्ण प्रतिपदाको दिन मनाउने चलन छ ।

गाईजात्रा पर्वलाई सापारु पर्व पनि भनिन्छ । ‘सा’ भन्नाले नेपालभाषामा ‘गाई’ भन्ने बुझिन्छ भने ‘पारु’ भन्नाले ‘प्रतिपद’ भनिन्छ त्यसैले यो पर्वलाई सापारु भनिएको हो  । नेवार समुदायले मनाउने सापारु मौलिक पर्व हो । जुन घरका सदस्यको मृत्यु भएको छ त्यस घरका आफ्न्तहरुले दिवङ्गत आत्माको सम्झना गर्नुका साथै शान्तिको कामना गर्दै गाईजात्रा निकाल्ने प्रचलन छ । हिन्दुधर्म गरुड पुराणमा उल्लेख भएअनुसार, यमलोकको ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालिसकेपछि यमलोकको ढोका खुल्ने हुनाले मृतआत्मा यमलोक प्रवेश गरेर मुक्ति पाउने छन् । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आत्माहरुले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक जनविश्वास छ । मृतकका आफन्तको सम्झनामा गाईजात्रामा सहभागी हुन आउनेहरुले श्रद्धालुलाई दूध, दही, चिउरा, रोटी, फलफूल, अन्न र द्रव्य दान गर्ने प्रचलन छ ।


 
गाईजात्राको  सुरुवात कसले गरे
मध्ययुगका तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तीन्द्रको निधन भएपछि विह्वल भएकी आफ्नी रानीलाई अरूले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने कुरा रानीलाई देखाउन जनताहरुलाई जुन घरका सदस्यको मृत्युहुन्छ  त्यस घरपरिवरका अन्य सदस्यहरुले मृतकका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएको थिए ।

उपत्यकाका जनताहरुले मृतकको नाममा गाईजात्रा निकाले पनि रानीको मन शान्त नभएका कारण गाईजात्रामा राजा प्रतापको आदेशअनुसार नै छोरा मरेको भए जोगीको भेषमा प्रत्येक घरबाट झाँकी निकालेर नगरपरिक्रमा  गराउने र छोरी मरेको भए गाईको भेषमा नगरपरिक्रमा गराउने अनि विभिन्न किसिमका बाजागाजा बजाउने, झाँकी निकाल्ने र गाईजात्रामा सहभागी भएका सबैजना राजाको दरवार हुँदै घुम्नुपर्ने थियो ।

मृतकका आफन्तले राजाको दरबारको बाटो हुँदै जात्रामा सहभागीहरुले नगरपरिक्रमा गरिसकेपछि सहरका अन्य जनताका छोराछोरीको पनि मृत्यु हुने रहेछ मेरो छोराको मात्रै मृत्यु भएको रहेछ भनेर रानीले चित्त बुझाइछिन् ।  मान्छेको जीवन स्थायी छैन भन्ने कुरा राजा प्रतापले आफ्नी रानीलाई बुझाउनका लागि प्रत्येक वर्ष गाईजात्रा मनाउने घोषण गरेका थिए । सुरु सुरुमा मृतकको घरबाट गाईलाई नै सिँगरेर निकाल्ने प्रचलन थियो । पछिल्लो समयमा भने गाईको सट्टामा  गाईको मुकुन्डो बनाएर जात्रा निकाल्ने गरिएको छ ।

 


गाईजात्रामार्फत विकृति विसङ्गतिप्रति व्यङ्ग्य
 पछिल्लो समय गाईजात्रा समाजमा भएमा विभिन्न खालका विकृति विसङ्गतिप्रति व्यङ्ग्य गर्ने पर्वका रूपमा समेत चिनिएको छ । सामाजिक, आर्थिक, राजनीतिक लगायतका विभिन्न विषयहरुमा हुँदै आएका विकृति विसङ्गतिप्रति कलाकार, विद्युतीय सञ्चार माध्यम, छापामाध्यम र अनलाइनहरुले गाईजात्रा आउँनुभन्दा ४, ५ दिन अगाडिबाट नै मनोरजनात्मक तवरबाट समाजमा विद्यामान विषयहरुलाई प्रस्तुत गर्ने गरेका छन् । कलाकार तथा सञ्चार माध्यमहरुले विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी हास्यव्यङ्ग्य शृङ्खला समेत प्रसाण प्रदर्शन र प्रकाशित गर्दै आएका छन् ।

गाईजात्राको अवसर पारेर विभिन्न राजनीतिक दलका नेतृत्वकर्ता, कर्मचरीले र समाजमा हुने गरेका  विसङ्गति, भ्रष्टाचार, बेथितिलाई  रामायण करुण रसको शैलीमा गीत गाउने, नाट्यशैलीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रदर्शन, प्रसारण, श्रव्यदृश्यमार्फत मनोरञ्जनात्क रूपमा व्यङ्ग्य गर्ने चलन छ ।

गाईजात्रामा विशेष गरेर हास्य कलाकारहरुले देश तथा विदेशमा गएर कलाकारितामा मार्फत समाजमा भएका नकारात्मक गतिविधिहरुलाई मनोरञ्जनात्मक शैली अपनाएर प्रस्तुति दिने गरेको पाइन्छ । काठमाडौँ उपत्यका बाह्यक देशका विभिन्न स्थानहरुमा गाईजात्रा नेवार समुदायहरुले मनाउँदै आएका छन् ।


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...