शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानविरुद्ध नेपालको दोस्रो जित

बिहीबार, ३० साउन २०७६, १९ : ५७
बिहीबार, ३० साउन २०७६

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोली अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ । लगनखेलस्थित सैनिक शारिरिक तथा तालिम केन्द्रमा बिहिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हरायो । यसअघि नेपालले बुधबार भएको खेलमा पनि ३–२ सेटकै जित निकालेको थियो । सुरुवाती दुई सेट लगातार गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो सेट अफगानिस्तानले २५–२२ ले जित्यो । दोस्रो सेटमा पनि अफगानिस्तालले २५–१५ को जित निकाल्यो । दोस्रो सेटमा नेपालको रक्षाप्रक्ति कमजोर बन्यो । कुलबहादुर थापाले अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपाल दबाबमा देखिएको थियो । तेस्रो सेटमा लयमा फर्किएको नेपालले २६–२४ को जित निकाल्यो । चौथो सेटमा पनि नेपालले २६–२४ कै नतिजा निकाल्यो । अन्तिम तथा निर्णायक सेटका नेपाल १५–१२ ले विजयी भयो ।

पछिल्ला सेटमा नेपालका स्पाइकर राजकुमार निरौला र राजेन्द्र विष्टले शानदार प्रदर्शन गरेका थिए । कप्तान इम रानामगर र धनबहादुर भट्ट घाईते बन्दा नेपाललाई दबाब परेको थियो । अघिल्लो खेलमा कप्तान रानामगरले मांशपेशीको चोटले खेपेका थिए । भट्टको कुर्कुच्चामा चाट लागेको छ ।

यद्यपि, दुवै खेलाडीले भदौं २ गतेदेखि सुरु हुने पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता खेल्ने बताइएको छ । नेपालले सेन्ट्रल जोनको तयारीका लागि अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको हो । भदौ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप