केन्द्रीय संस्करण

पदीय दायित्व हस्तान्तरणको किचलो

person explore access_timeसाउन ३०, २०७६ chat_bubble_outline0

   दलीय राजनीतिको इतिहास नेपालमा त्यति लामो त छैन । पहिलो दल प्रजापरिषद्देखि हिसाब गर्दा झन्नै असी वर्षको दलीय टकराव, तनाव र सङ्घर्षका उकाली, ओराली पार गर्दै आएको छ । २०१५ सालदेखि करिब डेढ दर्जन पटक नेपाली जनताले भिन्न भिन्न कालखण्डमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रतिनिधि छान्ने अभ्यासमा लागे ।

पछिल्लो संविधान सभाको चुनावमा भने अत्यधिक (८० प्रतिशत) मतदान गरेर जनताले नेपालका दलहरुलाई साइजमा ल्याई संविधान बनाउन समन्वयकारी सन्देश प्रवाह गरिदिएका थिए । बिडम्बना, नेपालका दलहरु भने अन्तरपार्टी समन्वय गरी नेपालमा कानुनी राजमार्ग खनेर समृद्धि र विकासका सुकाम निष्पन्न गर्न कछुवा गतिमै अलमलिन पुगेका छन् ।

कमिलालाई मुतको पैरो भनेझैँ आफ्नै दलभित्र लोकतान्त्रिक अभ्यासलाई नकारेर टीकावादमा हाइकमान तय गरी गुटीय गञ्जकमा रमण गरिरहेको कहाली लाग्दो दृश्य नै नेपालको वर्तमान यथार्थ हो । आन्तरिक व्यवस्थापन गर्न नसक्ने हुतिहारा नायकत्वले कसरी अन्तरपार्टी विमतिहरुको निराकरण गरी राष्ट्रिय एकता कायम गरेर विकास र संवृद्धिको फल जनतालाई चखाउलान् भन्ने पेचिलो प्रश्न छ । यो केवल ‘आकाशको फल आँखा तरी मर्’ सावित हुने त हैन ? 

बहुदलीय लोकतान्त्रिक गणतन्त्र प्रणालीमा राजनीतिक दल भनेका मेरुदण्ड मात्र नभएर विचारका ढुकढुकी पनि हुन् । जससित निश्चित उद्देश्य, सिद्धान्त र सबल सङ्गठनको तीन तारा चम्किनुपर्छ । राष्ट्रिय स्वार्थ मुटु र मगजमा राखेर जनसरोकारसित एकाकार हु‘दै गैरराजनीतिक रचनात्मकतातिर पनि दलहरु समाहित हुने राजनीतिक संस्कार नेपालका दलमा अझै बसेन ।

जुनबिना नेपालले संवृद्धि र विकासको अग्रगति पाउन किमार्थ सक्दैन । त्यसै भएर चिन्तक मेरियम भन्छन्– ‘दल सरकारको पूरक संस्था हो, अमूर्त मतदातालाई मूर्तता प्रदान गर्ने तागत यसैसित हुन्छ ।’ तर यहाँ त मतदाताका आस्था, विश्वास र भरोसा एक सुप्रिमोको सनकमा सेरिएका छन् । वास्तवमा राजनीतिक दलहरुलाई राजनीतिज्ञ, चिन्तक, विश्लेषक र यसका अभिकर्ताहरुले ‘लोकतन्त्रको प्राणवायु, विचारका संवाहक, सरकारलाई नियन्त्रण र सन्तुलन गर्ने महत्त्वपूर्ण कडी तथा सुशासनका पक्षधर भनेर चिनाएका छन् ।’ 

 नेपालको सन्दर्भमा हाम्रो मुलुकमा क्रियाशील दलहरु यतिखेर विचार सिद्धान्त र कार्यदिशामा निकै कमजोर हु‘दै गइरहेका छन् । पार्टीभित्रका इने गिनेका नेताहरु पदीय आशक्तिमा लठ्ठ भएर महत्त्वाकाङ्ले चुलिदै सङ्गठन निर्माणमा भन्दा गुटउपगुट उत्पादनमा अस्वस्थ होडबाजी गरेर दलभित्र भुसको आगोजस्तो कलह सल्काइदिएका छन् । लोकतन्त्रमा त दलीय सङ्गठनभित्रका क्षमतावान्, क्रियाशील, जनप्रिय, जुझारु, लोकतान्त्रिक सङ्ग्राममा खारिएर आएका इस्पाती व्यक्तित्वहरु भिजनेबल नव युवाहरुलाई पदीय दायित्व हस्तान्तरण गर्न पुरानो पुस्ता तयार हुनुपर्छ । दुःखको कुरा यहाँका दलका शीर्ष र आफूलाई वरिष्ठ भन्ने अगुवाहरुको मनोवृत्ति भने एक पल्ट पाइएको उत्तरदायित्वलाई आजीवन पाउनुपर्छ भन्ने निरङ्कुश एवं वितण्डवादी मासिकताले अरिङ्गालवादको प्रवृत्ति जन्म हुन थालेको छ । त्यसैले त भुक्तभोगीहरु भन्छन्– ‘नेपालमा एउटा राजा त गए, तर धेरै श्रीपेचहीन राजाहरु जन्मिए ।’ यो धेरै हदसम्म सिद्ध हुँदै गइरहेको छ । 

 नेपाली काङ्ग्रेसजस्तो लोकतान्त्रिक दल अर्को अधिवेशनको तिथि आइपुग्नलाग्दा पनि आफ्नो केन्द्रीय समितिका विभागहरुको पूर्णता दिन असमर्थ छ । प्रायः सबै भ्रातृ र भगिनी सङ्गठनलाई अधिवेशनविहीन बनाएर भावी नेतृत्व विकासमा भोटे ताल्चै झुन्ड्याइदिनु यसको इतिहासलाई खिल्ली उडाउनु मात्र नभएर सङ्गठनको आगामिता अँध्यारोतिर धकेल्नु हो । नेवि सङ्घजस्तो काङग्रेसको नर्सरी संस्थालाई अधिवेशनको यज्ञशालामा नलैजानु काङ्ग्रेसको विचार र सिद्धान्तमा मन्दी आउनु हैन र ? यो रमिते चालबाट धारिलो काङ्ग्रेस, मर्यादा, आदर्श तथा लोकतन्त्रको काङ्ग्रेस बन्ला त ? विगतको चुनावमा भएको लज्जाजनक पराजयबाट पनि चेत नखाने काङग्रेसको यो भाङ्गे्रस ताला देख्दा सबै शुभेच्छुकमा उदासीनता छाएको छ । शीर्ष नेताहरु मिटिङको नाममा चर्काचर्की र आरोप प्रत्यारोपमै समय अपव्यय गरिरहेका छन् । 

उता जनताको जनवाद भन्ने शब्दको आवरण दलको केन्द्रीय धमनी ठम्याएको नेकपा स्कुलविभागको विभागाधीश तोक्न पटक पटकका मिटिङ निर्णायक बनाउन नसकेर हालाबाला भएको छ । विगतको एमाले दल मात्रात्मक रूपमा स्वस्थ राजनीतिक संस्कारबाट आन्तरिक लोकतन्त्र मजबुत बनाउँदै गाउँतहसम्म दरिलो सङ्गठनमा सङ्गठित भएको नेपालको व्यवस्थित दल थियो । विडम्बना ! हाल आएर पुरानो माकेसित कथित एकताको नाममा पार्टीभित्र भागबन्डावादको सेपले कैयौँ लडाकू त्यागी र ओजनदार व्यक्तित्वहरु खुम्चिनुपरेको थिति छ । पुरानो माके दल जो टुटफुटले निरीह र क्षतविक्षत भइसकेको थियो उसले एकताको माध्यमबाट सङ्गठनको बचाउ गर्न तथा पार्टीभित्र पदीय कमान सङ्हाल्न पाएकोमा दङ्ग छ धेरै मात्रमा । माकेभित्र पनि नवागन्तुकहरुकै हाकोडाको बढी छ भनेर एक ज्यूँदा सहिद भन्दै थिए ।

पुराना अनुभवी पात्रहरु माकुने, जे एन् खनाल, प्रदीप नेपाल, अमृत बोहरा, अमिक शेरचन, अष्टलक्ष्मी शाक्य र नयाँ पुस्ताका सुरेन्द्र पाण्डे, घनश्याम भुषालजस्ता ऊर्जाहरुलाई पाखा पारिएको छ । एकताको रोइलोले पुरानो एमाले दल आफ्नै दलभित्रका सहयात्री एवं सहयोद्धाहरुलाई नाङ्गो बनाएर हिलो छेप्दै खुराफात र गुटबन्दीको नेपथ्यीय अभ्यासमा अभ्यस्त छ ।

अन्तर्यमा डनवाद, धनवाद, टाई सुटधारी सुकिलामुकिलाका जमात र ओजनहीन भाषण एवं उखानटुक्काले मात्र नेकपा पार्टी नचल्ने देखिन्छ । यतिखेरको नेकपा न त मदन भण्डारीको जबजजमा छ न त एक्काइसौँ शताब्दीको जनवादमा । ओली र प्रचण्डको हाइ कमानको आदेशविरुद्ध चल्नै नपाइने बनाएर इतिहास, योगदान र वैचारिक सङ्घर्षका बाहकहरुलाई अपमानित गर्न पाइन्न भन्ने स्वरले स्वर भर्दैछ । अहिले यो दल वैचारिक अन्योलमा कुहिराको काग बन्दै गएको देख्दा दलीय पद्धतिका पक्षधरहरु सन्तापित भएका छन् ।

उपेन्द्र यादव बाबुरामसमेत अन्य सनातिना दलहरु नेकपाको अम्रेलामा ओत लागेर मात्र सत्ताको न्यानो स्वाद लिने काममै मस्त छन् । विवेकशील साझा पार्टी, राप्रपाका विभिन्न पसल, विजुक्छेको किसान मजदुर पार्टी, जनमोर्चा, राजपा र अन्य साना दल सशक्त बन्न सकेका छैनन् । सामूहिकतालाई त्यागेर केपी र प्रचण्डकै कानेखुसीमा नेकपा दलभित्र कतै अरिङ्गालवादले त खुट्टो घुमाउँन थालेको त हैन ? लोकतान्त्रिक प्रगतिशीलतालाई संवरण गर्ने प्रायः सबै वामहरुका मन मस्तिष्क यतिखेर यही प्रश्नले उद्वेलित बनिरहेका छन् । 

यसरी नेपालमा दलीय प्रणाली नै क्रमशः क्षयीकरणको दिशातिर उन्मुख छ । प्रसिद्ध राजनीति चिन्तक फैगेटले एक प्रसङ्गमा भनेका थिए– ‘दलतन्त्र अनभिज्ञताले भरिएको शासन व्यवस्था हो । यसमा इमानदारितालाई लखेटिन्छ, झुटो बोल्नु र निन्दा गर्न सक्नु नै राजनीतिको आधार बन्न जान्छ ।’ यो भनाइको नजिक नजिक त कतै हामी पुगिरहेका छैनौँ ? दलतन्त्रमा आएको विकृतिदेखि वाक्क परेर राजनीति शास्त्रका प्रकाण्ड चिन्तक ब्राइस यसरी पोखिएका थिए– ‘राजनीतिक दल कपटलाई उत्साहित बनाउँछन् ।

स्वाभाविक आदर्शलाई हीन बनाउ‘दै राष्ट्रको जीवनमा टुटफुट ल्याएर लुटको माल बाँडी खान्छन् ।’ यही तीतो यथार्थकै सेरोफेरोमा त छैनौँ हामी ? विचारको संवाहक, जनमुद्दाका प्रस्तोता, लोकतान्त्रिक राजनीतिको श्वास प्रश्वासको रूपमा परिभाषित राजनीतिक दलहरुमा बेथिति, विसङ्गति, स्वेच्छातारिता, वैचारिक विचलन, बण्डावादी सोच बाक्लिँदै जानु लोकतान्त्रिक राजनीतिक खिइनु हो । आज नेपालका दलहरु सिद्धान्त, मूल्यमान्यता, आदर्शबाट टाढिँदै स्वार्थी र आत्मकेन्द्रित दिशातिर यात्रारत हुनु पक्कै सुखद् हैन ? दलप्रेमीहरुका अन्तर मनमा हुरीबतास चलेको छ ।

लोकतन्त्रको प्राणवायु र मेरुदण्डका बिम्ब राजनीतिक दलहरु विचारविहीन बनेर गुट, गिरोह, धन र डनतन्त्रबाट प्रताडित हुनुहुन्न । सत्ताधारी र प्रमुखप्रतिपक्षी दलहरु सधैँ मिटिङको नाममा आआफ्नै साथीको खोइरो नखन । संसारको कम खराब प्रणालीका रूपमा रहेको यो व्यवस्थालाई आफ्ना निहित स्वार्थले बेकम्मा बनाइनु यतिखेरका राजनीतिक रङ्गशालाका खेलाडीहरुको मात्र भविष्य अन्धकार नभएर देशै छङ्गासुर भीरमा पुग्नु हो । यसैले आज कतै नेपालका राजनीतिक दलहरु श्रीहीन त हुँदै छैनन् ? गम्भीर हुन जरुरी छ ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...