बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाढीबाट दर्जन सडक क्षतिग्रस्त, चार दिन विद्यालय बन्द

शनिबार, २८ साउन २०७४, २० : ५४
शनिबार, २८ साउन २०७४

राजविराज (सप्तरी) –अविरल वर्षासँगै आएको भीषण बाढीका कारण सप्तरीका विभिन्न ठाउँमा रहेका एक दर्जन सडक क्षतिग्रस्त भएका छन् ।  जिल्लाको शहरी तथा ग्रामीण क्षेत्र जोडने मुख्य तथा सहायक सडक र कृषि सडक बाढीले ठाउँठाउँमा टुटफुट भएको छ भने कतिपय ठाउँमा बाढीले कटानसमेत गरेको छ । बाढीको निकास नभएका कारण कतिपय सडकलाई सरकारीस्तरबाट डोजर लगाएर पानीको निकास दिइएको छ । 

राजविराज नगरपालिका भित्र पनि ठाउँठाउँमा डोजर लगाएर सडकहरु काटिएको स्थानीय प्रशासनले जनाएको छ । राजविराज–कुनौली सडक खण्डको तिलाठी, बोदेवरसाईन, शम्भुनाथ, हनुमाननगर–राजविराज सडकखण्ड, तोपा–कञ्चनपुर–फत्तेपुर सडकखण्ड, मोहुवा–बेलही जाने बाटो, सकरपुरा, कोइलाडी बसाईनलगायत ग्रामीण क्षेत्रको पक्की ग्राभेल तथा कच्ची सडक बाढीले क्षतिग्रस्त भएको स्थानीयबासिन्दाले बताएका छन् । 

वर्षा र बाढीका कारण सप्तरीका करिब ७० हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । 
अधिकांश सडक, गाईगोठ, कच्ची तथा पक्की घरमा पानी पसेको र दैनिक क्रियाकलाप र व्यापार व्यवसाय ठप्प भएको छ । बाढीले उद्योग, कलकारखाना, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्थाको कामसमेत प्रभावित भएको बताइएको छ । 

यसैबीच, आइतबारदेखि बुधबारसम्म सप्तरीका सम्पूर्ण विद्यालय बन्द हुने भएका छन् । 

बाढीबाट अत्यन्त प्रभावित राजविराज नगरपालिका–९ लगायत केही वडा तथा ग्रामीण क्षेत्रमा स्थानीय प्रशासनले च्यूरा, भूजालगायत खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । मोहुली र खाँडो खोलाको बाँध आज पनि केही ठाउँमा क्षतिग्रस्त भएको र त्यस क्षेत्रका जनता त्रसित अवस्थामा रहेको बताइएको छ । 

राजविराज बजारमा चार फिटसम्म पानी जमेको र घरघरमा पानी पस्न थालेपछि स्थानीय प्रशासनले डोजर लगाएर पानीको निकास दिएको राजविराज नगरपालिकाले जनाएको छ । बाढीले केही दिन अगाडि राजविराज–५ स्थित पडरीयामा ग्राभेल गरिएको बाटो तथा हुलाकी सडकसमेत क्षतिग्रस्त भएको छ । 

त्यसैगरी, जिल्ला सिँचाइ कार्यालय, भूसंरक्षण कार्यालयले विभिन्न ठाउँमा निर्माण गरेको नहर र जलाधार संरक्षण कार्यसमेतमा क्षति पुगेको बताइएको छ । 

त्यस्तै, अविरल वर्षासँगै खाँडो नदीमा आएको बाढीले बाँध भत्काएर गाउँतर्फ पसेपछि सप्तरीको एकमात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । पानी ३÷४ फिट सम्म जमेपछि औधोगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग बन्द भएका छन् भने औद्योगिक क्षेत्र नजिकै राजविराज–रुपनी सडक कटान गर्न थालेको छ भने सडकमाथिबाट पानी बग्न थालेको छ । 

अविरल वर्षासँगै नदीमा आएको बाढीका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत कठौना नजिकै रहेको पुल नजिकै कटान हुन थालेपछि खतराको संकेतस्वरुप रातो झण्डा गाडिएको छ भने अहिले एकतर्फीमात्र यातायात सञ्चालन भइरहेको प्रहरी चौकी कठौनाले जनाएको छ । 

सप्तरीको खडक खोलामा आएको बाढी बाँध भत्काएर गाउँमा पसेपछि बोदे बर्साइन नगरपालिका–१ स्थित जाँजर टोल जलमग्न भएको छ भने सोही वडाको भाटिनस्थित सडकमा दुई फिटसम्म पानी बग्न थालेको छ । पानीको मुल थुनिएपछि सोही नगरपालिका वडा नं १३ स्थित सिलहट परसाहीस्थित आधारभूत स्कुलको कम्पाउण्ड वाल भत्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप