शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमाथि नेपालको प्रतिस्पर्धात्मक जित

बुधबार, २९ साउन २०७६, २३ : ५६
बुधबार, २९ साउन २०७६

काठमाडौं-अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा स्तब्ध बनाएको हो ।

भदौं २ गतेबाट सुरु हुने पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीका लागि नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल खेलाएको हो । पहिलो सेट २२–२५ गुमाएको नेपालले दोस्रो सेटपछि उत्कृष्ट पुनरागमन गर्यो । नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–१७, २५–२१ ले जितेको थियो । नेपाल चौथो सेटमा २५–२३ ले पछि परेको थियो । निर्णायक तथा अन्तिम सेटमा नेपालले १५–१३ को रोचक जित निकालेको थियो ।

टोलीका प्रशिक्षक हान एबिङले पहिलो सेटमा खेलाडीबीच तालमेल नमिल्दा पछि परेको बताए । ‘खेलाडीले राम्रो तयारी गरेकका छन् । युवा खेलाडीको प्रदर्शनमा विस्तारै सुधार देखिएको छ । आजको जितले खुशी छौं । हामी कमजोरी पनि सुधारेर अगाडी बढ्नेछौं । ठूलो प्रतियोगिता अगि अफनिस्तानसँगको खेलले धेरै फाइदा पुगेको छ,’ हानले भने । नेपाली भलिबल टोलीलाई दुई महिनादेखि प्रशिक्षण गराईरहेका हानले खेलाडीको मनोबल उच्च रहेको पनि बताए ।

नेपालका कप्तान इम रानामगरले पहिलो सेट गुमेपनि समग्रमा सबै खेलाडीले राम्रो खेलेको बताए । ‘हामीले सुरुमा खासै खेल्न सकेनौं । सेन्ट्रल जोनअघि यस खेलले धेरै राम्रो भएको छ । यस नतिजाले अन्य खेल जित्न सबैलाई प्रेरित गरेको छ । सेन्ट्रल जोनमा सहभागी टोली तुलनात्मक रुपमा बलिया छन् । तरपनि नेपालको लक्ष्य फाइनल पुग्ने रहेको छ,’ रानामगरले भने । सेन्ट्रल जोन भदौ ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । 

यसअघि नेपालको पुरुष टोलीले २०७३ सालमा माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलमा कांस्य जितेको थियो । नेपालले ४१ वर्षपछि जितेको यो ऐतिहासिक पदक थियो । जुन नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)बाट मान्यताप्राप्त प्रतियोगितामा जितेको पहिलो पदक पनि हो । प्रतियोगिता अघि नेपालले बिहिबार पनि अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अफगानिस्तान टोली सेन्ट्रल जोनमा सहभागीता जनाउन मंगलबार नेपाल आएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप