केन्द्रीय संस्करण

यसरी मनाइयो काठमाडौंमा पाकिस्तानको ७२ औं स्वतन्त्रता दिवस

person explore access_timeसाउन २९, २०७६ chat_bubble_outline0

काठमाडौं- पाकिस्तानको ७२औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आज राजधानीमा एक स्वागत समारोह आयोजना ग¥यो । पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समस्यारहित नेपाल–पाकिस्तान सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगको सराहना गरे । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कठिन परिस्थितिमा पनि पाकिस्तानले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै दुवै देशले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), असंलग्न आन्दोलन (नाम) र संयुक्त राष्ट्रसङ्घमा साझेदारी एवं सहकार्य गरिरहेको बताए । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इस्लामावाद र काठमाडौँ महानगरबीच भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । पूर्वमन्त्री सिपी मैनालीले नेपाल–पाकिस्तान सम्बन्धलाई सार्कका माध्यमबाट अझ सुदृढ तुल्याउन मद्दत मिलेको भए पनि सार्कलाई गति दिन नसक्दा दक्षिण एशियाको प्रगतिमा आशातित सफलता हासिल नभएको विचार व्यक्त गरे । 
    
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानको तक्षशिला र नेपालको लुम्बिनीको समानताले दुई देशबीच हजारौँ वर्ष पुरानो सम्बन्ध रहेको तर कूटनीतिक सम्बन्ध भने  भर्खर ५९ वर्ष पुगेको बताए । 

सङ्घका अध्यक्ष हिमालय शम्शेर जबरा र महासचिव मञ्जुरत्न शाक्यले सङ्घका गतिविधिबारे जानकारी दिएका थिए । यसअघि आजै बिहान पाकिस्तानी दूतावासमा आयोजित एक समारोहमा उक्त देशको राष्ट्रिय झण्डा राजदूत जाबेदले फहराएका थिए। सोही समारोहमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएका सन्देश वाचन गरिएको थियो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...