बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ: प्रदिप गिरी

बुधबार, २९ साउन २०७६, १७ : २५
बुधबार, २९ साउन २०७६

काठमाडौं– नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफल भईरहँदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई इंगित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङयुद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे ।

उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए । नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसात गरि पहलकदमी गर्न उनले आग्रह गरे ।

उनले भने, ‘विपक्षमा रहेर कहिलेही पनि त्यस्ता मागलाई उठाउनुहुँदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कुटनीति भनेको चुनाव लड्नका लागि गर्ने भाषण होइन । सबैभन्दा ठूलो विफलता कुटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो ।’

नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठुलो भू–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए । उनले विशेषज्ञहरुकाअनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू–भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सिमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारत तर्फबाट अतिक्रमण गर्ने काम भइरहेको दाबी उनले गरे ।

त्यसैगरी  सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक वहाव रोकिने गरि संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्षेनी ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै उनले सिमा विवाद सुल्झाई अतिक्रमण रोक्नु पर्नेमा जोड दिए ।

नेपाल भारत सिमाविवाद, अतिक्रमण तथा  डुबान लगायत समस्या बारेको छलफलमा समिति सदस्यहरुले तत्काल कुटनीतिक पहल गरि डुबान लगायत समस्याको दीर्घकालिन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप