बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध स्मरण गर्दै नेता रामवृक्ष स्मृतिमा प्रचण्डले भने, ‘राजपासँगको सहमतिले मेरो ‘मिसन’ सफल भयो’

शनिबार, २८ साउन २०७४, २० : १३
शनिबार, २८ साउन २०७४

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनता पार्टी (राजपा)सँग भएको सहमतिले आफ्नो मिसन र मेहेनत सफल भएको बताएका छन् । 


शनिबार दिउँसो माओवादीका दिवङ्गत नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मधेशी दलहरुलाई चुनावमा ल्याउने आफ्नो मिसन सफल भएको बताएका हुन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन, ‘एकथरि मान्छे र शक्तिहरु मधेश र पहाडका बीच द्धन्द्ध बढाउने, भीडन्त गराउने र त्यसको राजनीतिक फाइदा लिने षड्यन्त्रमा थिए । मधेशी दललाई चुनावभन्दा बाहिरै राखेर परिस्थितिलाई भड्काउने उनीहरुको षड्यन्त्र असफल भएको छ । हिमाल, पहाड र तराई–मधेशलाई जोड्न, मधेश केन्द्रित दललाई संविधानको दायरामा ल्याउन र चुनावमा लैजान मैले निरन्तर कोशिस गरें । हिजो मात्रै बालुवाटारमा नयाँ सहमति भएको छ, यसबाट मेरो मिसन र मेहेनत सफल भएको छ ।’


अध्यक्ष प्रचण्डले माओवादी प्रगतिशील राष्ट्रवाद र राष्ट्रिय एकताको पक्षमा रहेको बताए । उनले भने, ‘देशमा दुईखाले अतिवाद छन् । एउटा अतिवादले पहाडको मात्र कुरा गर्छ र मधेशमाथि अत्याचार गर्छ । अर्को अतिवादले मधेशलाई छुट्टै देश ठान्छ र पहाडलाई बदलाको भावनाले हेर्छ । यी दुवै घातक नश्लीय चिन्तन हुन् । यसले अन्ततः निरङ्कुशता हुँदै फासीवादमा लैजान्छ । हामी यी दुवै अतिवादबाट सतर्क हुनुपर्छ ।’

आफूले राष्ट्रिय एकता र सबैको समान अधिकारको कुरा गर्दा लम्पसारवादको आरोप खेप्नुपरेको प्रचण्डले बताउनु भयो । उनले भन्नुभयो, ‘सामन्तहरुले मधेश होस् वा पहाड, उत्पीडित र गरीबहरुमाथि अत्याचार गर्दै आएका छन् । हामी सबै खाले उत्पीडन, अहङ्कारको विरुद्ध र न्यायको पक्षमा छौं ।
 देशका गरीब, किसान, मजदुर, जनजाति, महिला, मुस्लिम, दलित, मधेशीलाई हेप्ने, बिखण्डन गर्न खोज्नेहरु राष्ट्रवादी हुने अनि हिमाल, पहाड र तराई–मधेश जोड्ने र राष्ट्रिय एकता चाहने र त्यसका लागि लड्ने हामी चाहिँ लम्पसारवादी ? यो अतिवादको भण्डाफोर जरुरी छ ।’


अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले हिजो राजा महाराजाकै गुणगान गाउनेहरु अहिले मधेशी अधिकारको कुरा गरेको बताउँदै मधेशी जनतामाथि भएको उत्पीडनका विरुद्ध जनयुद्धमा १३०० जनाले बलिदान गरेको बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले राष्ट्रिय एकता र स्वाभिमानका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताए ।
पेरिसडाँडाको कार्यक्रमअघि नुवाकोट–काठमाडौं जनसम्पर्क मञ्चले बालाजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले १० वर्षे योजनाका साथ माओवादी आन्दोलनलाई पूनर्संगठित गर्ने बहस थालिएको बताए। उनले भने,  ‘माओवादी आन्दोलनलाई नयाँ उचाईमा लैजानेबारे शीर्ष तहमा बहस थालेका छौं । अब सबै माओवादीहरु एक ठाउँमा आएर नयाँ सोचसहित अगाडि बढ्न जरुरी छ । छिटै नै माओवादी धाराका साथीहरु आउनु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप