बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नजिकिँदै नेपाल भ्रमण वर्ष, ‘बुटिक एयरपोर्ट’को काम कति भयो ?

बुधबार, २९ साउन २०७६, १० : ०३
बुधबार, २९ साउन २०७६

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षलाई अभियानकै रूपमा सञ्चालन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई मुलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी विकाससमेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्त्वपूर्ण आयामका रूपमा लगिने बताएका छन् ।

भ्रमण वर्ष अभियानलाई विश्वस्तरमा प्रचार प्रसार गरी पर्यटन बजारमा नेपाललाई दिगो रूपमा स्थापित गर्ने योजना सरकारको छ । पर्यटकलाई आकर्षित गर्न कुन क्षेत्रमा के गर्न सकिन्छ, त्यसका लागि हरेक क्षेत्रले सहयोग गर्न सरकारले आग्रह गर्दै आइरहेको छ ।

भ्रमण वर्षसम्ममा नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थललाई आकर्षक बुटिक विमानस्थलको रूपमा सञ्चालनमा ल्याउने सरकारको लक्ष्य अनुसार बुटिक एयरपोर्टको काम पनि भइरहेको छ ।

पर्यटकहरुको आवत जावत हुने मूल बाटो हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थललाई दीर्घकालीन रूपमै बुटिक विमानस्थलको अवधारणाअनुसार परिमार्जन गर्ने र पर्यटक आकर्षित गर्ने योजनाअनुसार सरकारले काम थालेको ८ महिना भइसकेको छ ।


यसैगरी सरकारले जनवरी १, २०२० मा नेपाल भ्रमण वर्ष र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टको औपचारिक घोषणा एकैसाथ गरिने जनाएको छ ।

बुटिक विमानस्थल निर्माण कार्य कहाँ पुग्यो ? भन्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग हामीले प्रश्न गर्दा उनले निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए ।

६ महिनाभित्र विमानस्थललाई बुटिक अवधारणामा परिणत गर्ने लक्ष्यसहित गत पुसबाटै अलि अलि काम सुरु भएको थियो । वैशाख १ गतेबाट तीव्र गतिमा काम हुने बताइए पनि ८ महिना वितिसक्दा सामान्य सजावटबाहेक अन्य काम खासै हुन नसक्दा विमानस्थल व्यवस्थापनको आलोचना सुरु भएको छ ।

धावनमार्ग समयमै निर्माण सम्पन्न गरेर तारिफ कमाएको सरकार, नागरिक उड्डयन प्राधिकरण र विमानस्थल व्यवस्थापनले बुटिक एयरपोर्टको काम ढिला भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षेत्रीले स्वीकार गरे ।

उनी भन्छन्, ‘तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन र माघमा नै निकासा हुनुपर्ने बजेट ४ महिना ढिला गरी जेठमा मात्रै निकासा भएकाले काममा बाधा पुग्यो ।’

बुटिक एयरपोर्ट निर्माणको काम चार महिना ढिला गरेर सुरु भयो तर हाल काम रफ्तारमा भइरहेको महाप्रबन्धक क्षेत्री बताउँछन् ।

के–के भयो काम ?

महाप्रबन्धक क्षेत्रीका अनुसार विमानस्थलको आन्तरिक सजावटको काम त लगभग सकिइसकेको छ । विमानस्थलको भित्री भागमा कार्पेट राख्ने, सोफा, कुर्सी फेर्ने, रङ लगाउने, मौलिकता झल्कने विभिन्न मूर्ति तथा पोस्टरहरुले भित्ता सजाउने काम सम्पन्न भएको छ । त्यसैगरी, यात्रु आगमन क्षेत्रमा गार्डेन बनाउने काम पनि सम्पन्न भएको छ ।

यात्रु आगमन मूलद्वारमा आकर्षक बुद्धको मूर्ति राखिएको छ र सँगै नेपालका पर्यटकीय क्षेत्रका तस्बिरहरु सहितको ठूला अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ । गार्डेनमा गैँडाको माउ बच्चाको मूर्ति बनाइएको छ । जसले हरेक यात्रुलाई आकार्षित गर्ने गरेको छ ।

यात्रु आगमन क्षेत्रमै निर्माण गरिएको गार्डेनमा गणेशको मूर्ति स्थापना गरिएको छ र यात्रुहरुलाई स्वागत गर्न गेटमा ठूला ठूला गाग्रीमा पानी र फूल राखिएको छ । विज्ञापनका बोर्डहरु हटाएर नेपाली कला संस्कृति झल्कने तस्बिरहरु राखिएको छ ।

विमानस्थल व्यवस्थापन, इन्जिनियर र इन्टेरियर डिजाइनरले विमानस्थलका भित्री र बाहिरी सजावटलाई समयअनुसार परिवर्तन गर्न सकिने गरी निर्माण गरिएको बताएको छ । एउटै सामान एकै ठाउँमा राख्दा वा एउटै दृश्य मात्रै भन्दा फरक फरक दृश्य यात्रुले देख्न पाउन् भनेर त्यो अवधारणा ल्याएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

नेपाल बहुसांस्कृतिक देश भएकाले सबै कला संस्कृति झल्कने खालका सरसामानले सजाउने र समयअनुसार परिवर्तन गरिने विमानस्थलले जनाएको छ ।

यात्रु प्रतीक्षालय तथा आगमन कक्षका भित्ताहरुमा नेपालीपन झल्कने तामाका विभिन्न भाडाहरु, चोयाले बुनेका थुन्से, थान्का, विभिन्न देवी देवताका मूर्तिहरु, पेन्टिङ लगायतले सजाइएको छ ।

त्यसैगरी विमानस्थल प्रवेशद्वार (गोल्डेन गेट)को दुवैतिर ठूला ठूला गाग्रीमा पानी र फूल राखी सजाइएको छ । यसले शुभयात्राको सङ्केत गर्ने गर्छ ।

के के काम बाँकी छन् ?

विमानस्थलमा भौतिक संरचना निर्माणको कामहरु भइरहेका छन् । यात्रु आगमन कक्ष निर्माण भइरहेको छ भने बाहिरी क्षेत्रमा रङरोगनको काम बाँकी छ । विमास्थलको मुख्य भवन बाहिर क्यानोपी निर्माण हुने भएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय टर्मिनलमा थप दुईवटा कन्वेयर बेल्ट थप हुने भएको छ । सूचना बोर्ड थपिने भएको छ, जसले यात्रुले सहज रूपमा उडान लगायतको जानकारी प्राप्त गर्न सहज हुनेछ ।

यीबाहेक विमानस्थलमा सेन्टर लाइन लाइट, नयाँ स्टाइल जोन, भीआईपी कक्ष परिवर्तन हुने भएको छ ।

अन्तर्राष्ट्रिय टर्मिनलको डेकोरेसन नै परिवर्तन गर्ने, पार्किङलाई अझै व्यवस्थित गर्ने, गार्डेनको स्वरूपमै परिवर्तन गर्ने योजना विमानस्थलको छ ।

डोमेस्टिक भवनमा पनि कन्वेयर बेल्ट राखिने भएको छ, जसले यात्रुले ब्यागेज लिन झेल्दै आएको समस्याको समाधान हुनेछ ।

डोमेस्टिक भवनको भित्री भागमा पनि इन्टेरियर डेकोरेसनको काम हुने भएको छ । डोमेस्टिकलाई पनि बुटिककै अवधारणामा लैजान काम भइरहेको महाप्रबन्धक क्षेत्रीले बताए ।

महाप्रबन्धक क्षेत्रीले ६ महिनाको अवधिमा ८० प्रतिशतसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिए ।

बुटिक एयरपोर्ट निर्माण गर्ने भनेर सरकारले २७ करोड निकासा गरेको छ । यसमा आन्तरिक मर्मत सम्भारदेखि बाहिरी मर्मतसम्भार पनि गर्ने भनिएको छ । हालसम्मको मर्मतसम्भार र सजावटमा लगभग ७० लाख खर्च भएको महाप्रबन्धक क्षेत्री बताउँछन् ।

अन्य काम पनि समयमै सम्पन्न गर्नका लागि सम्पूर्ण टिम लागिपरेको र धावनमार्ग जसरी समयमै सम्पन्न भयो । त्यसैगरी सन् २०२० सम्ममा विमानस्थललाई आकर्षक बुटिक विमानस्थलको रूपमा प्रस्तुत गर्ने योजना सरकारको छ ।

पुरानो संरचना मर्मतमा समस्या

४० वर्ष पुरानो विमानस्थलको भवन बेलाबेला समस्या आइरहन्छ । कहिले पानी चुहिने समस्या त कहिले ट्वाइलेट, पानीको समस्या । समय समयमा मर्मतसम्भार गरिरहे पनि पुरानो संरचना भएकाले छिट्टै समस्या बल्झिरहने महाप्रबन्धक क्षेत्री बताउँछन् ।

पुरानो भवन त्यसमा पनि ७२ सालको गोरखा भूकम्पले भवनमा सामान्य क्षति पुर्याएको छ । त्यसको सुधारका लागि विमानस्थल व्यवस्थापन लागिपरेको महाप्रबन्धक क्षेत्रीले बताए ।

विमानस्थलमा प्रयोग हुने पानी धमिलो भएकाले ट्रिटमेन्ट प्लान्ट राखेर पानी शुद्धीकरण गर्ने योजना विमानस्थलको भएको क्षेत्रीले बताए । त्यसैगरी धाराहरु पनि नेपाली मौलिकपनको हुने उनले बताए ।

सरकारको योजना

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्ने र नेपालका अन्य पर्यटकीय क्षेत्रमा बन्ने संरचनाहरु पनि बुटक शैलीको बनाउने योजना सरकारको छ ।

अन्तर्राष्ट्रिय विमानस्थललाई प्रविधिमैत्री बनाउन कुनै कारणवस उडानमा ढिलाइ भएमा वा अन्य केही आकस्मिक समस्या वा असुविधामा यात्रुलाई छिटो सूचना दिन सकिने विमानस्थलको आफ्नै एप वा अन्य कुनै माध्यमको प्रयोगका लागि महाप्रवन्धक क्षेत्रीले सरकारसँग माग गरेका छन् ।

यता, पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थलमा अध्यागमन सेवालाई चुस्त बनाउन भिसा शुल्क अनलाइनबाट तिर्न सकिने व्यवस्था मिलाउन र उपकरणलाई दुरुस्त राख्न सरोकारवालालाई निर्देशन दिइसकेका छन् ।

त्यसैगरी, नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीका लागि डेडिकेटेड काउन्टरको व्यवस्था मिलाउन मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, बैठक, छलफलहरुमा आउने विदेशी अतिथिका लागि छुट्टै अध्यागमन काउन्टर स्थापना गरी छिटो सेवा दिने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

सरकारको याजनाअनुरूप समयमै काम सम्पन्न भएमा भ्रमण वर्ष सफल हुनेमा विश्वास लिन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप