बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एलएलएम प्रवेश परीक्षाको नतिजामा कसले गर्यो ‘हेराफेरि’?

पहिले ५९ अंक अहिले ८४ अंक ! ४० जना विद्यार्थीको अङ्कमा फेरबदल
मङ्गलबार, २८ साउन २०७६, १९ : ३६
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ‘फ्याकल्टी अफ ल’ ले एलएलएम अध्ययनका लागि लिएको प्रवेश परीक्षाको नतिजामा ब्यापक फेरबदल गरेको पाइएको छ ।  त्रिभुवन विश्वविद्यालयको कानुन शंकायले २०७६ साल असार १३ गते एलएलएम प्रथम सेमेष्टरमा भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो । त्यसको  नतिजा डीन कार्यालयले ३५ दिनमा साउन १८ गते प्रकाशन गरेको थियो । 

तर पहिले प्रकाशित गरेको नतिजामा प्राविधिक त्रुटी रहेको भन्दै पछि ब्यापक फेरबदल गरिएको नयाँ नतिजा साउन २६ गते फेरि प्रकाशन गर्यो । त्यसपछि भने कानुन शंकायले लिएको प्रवेश परीक्षामा व्यापक हेराफेरी भएको तथ्यांक बाहिर आएको हो । 

कानुन शंकाय अन्तर्गत एलएलएम अध्ययनका लागि नेपाल ल क्याम्पसमा ८५ सीट र नेशनल ल क्याम्पसमा ५० सीट गरी १ सय ३५ सीट उपलब्ध छ । जसमध्ये ल क्याम्पसमा बिहानी सत्रमा ३५ सीट र दिवा सत्रमा ५० सीट तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेशनल ल क्याम्पसमा ५० सीटमा मात्रै अध्ययन गर्न पाइन्छ ।

जम्मा १ सय ३५ जनाले अध्ययन गर्न पाउनेमा ३ सय ४६ जनाले प्रवेश परीक्षा दिएका थिए । जसको मेरिट लिष्ट डीन कार्यालयले दुईपटक प्रकाशन गरेको छ ।  डीन कार्यालयले साउन १८ गते प्रकाशन गरेको प्रवेश परीक्षाको नतिजामा गुल्मीका गिरिराज अर्याल प्रवेश परीक्षामा ८१ प्रतिशत अंक ल्याई पहिलो नम्बरमा थिए । उनको स्नातक तहको लब्धांक मात्र ४३ दशमलब ८७ प्रतिशत मात्रै थियो । 

अहिले नयाँ प्रकाशित नतिजामा भने उनी ३ नम्बरमा पुगेका छन् । यद्यपि उनले प्राप्त गरेको अंक भने त्यही नै कायम गरिएको छ ।  साउन १८ गते प्रकाशन गरेको पुरानो नतिजामा १ सय ३४ औं स्थानमा थिइन्, प्रकृति मल्ल । पहिले प्रकाशित नतिजामा उनको अंक ५९ दशमलब ८३ अंक पाएको देखाइएको छ, जबकि एलएलबीको लब्धांकपत्रमा उनको प्रतिशत ७७ दशमलव ८६ प्रतिशत थियो । 

तर उनले आफ्नो प्रवेश परीक्षामा चित्त नबुझाएपछि भएको छानबिनमा उनी पहिलो नम्बरमा आइन् । अहिले भने उनी पहिलो नम्बरमा आएकी छिन् र उनले प्रवेश परीक्षामा ८४ दशमलव ८३ प्रतिशत अंक पाएको उल्लेख गरिएको छ ।

त्यसैगरी पहिले २ सय ९१ औं स्थानमा रहेका शिवप्रसाद आचार्य अहिले दोस्रो नम्बरमा आइपुगेका छन् ।  पहिले ४६ दशमलव ३३ प्रतिशत अंक पाएको भनिएको आचार्यले अहिले भने ८२ दशमलब ३३ प्रतिशत अंक पाएका छन् । 

पहिले ३८ औं नम्बरमा रहेका नुवाकोटका सोहन श्रेष्ठ अहिले २ सय ९७ औं स्थानमा पुगेका छन् । पहिले सोहनले पाएको अंक ७१ थियो भने अहिले उसले पाएको अंक ४६ उल्लेख गरिएको छ ।  पहिले ३ सय ४१ नम्बरमा रहेकी गोरखाकी सुस्मिता अमगाईको अंकमा पनि परिवर्तन भएको छ । पहिले ४० अंक पाएकी सुस्मिताको अहिले १८ अंक थपिएको छ । यससँगै उनी नयाँ लिष्टको १ सय ५१ औं स्थानमा आइपुगेकी छिन् । 

त्यसैगरी पहिले २ सय ९८ औं स्थानमा रहेका काठमाडौंका सुवास भण्डारी यतिबेला २२ नम्बरमा पर्न सफल भएका छन् । पहिले उनले पाएको अंक ४५ दशमलब ३३ थियो भने अहिले ७३ दशमलब ३३ अंक पाएर २२ औं नम्रमा पर्न सफल भएका छन् । 

यसरी नै डीन कार्यालयले साउन १८ गते प्रकाशन गरेको प्रवेश परीक्षाको नतिजा र साउन २६ गते संशोधनसहित प्रकाशन गरेको नतिजामा व्यापक हेराफेरि भएको पाइएको छ । 

सहायक डिन भन्छन्, ‘पहिले गल्ती भयो, अहिले सही छ’

यस विषयमा के कसो भएको हो भनी सोध्दा त्रिभुवन विश्वविद्यालय कानुन शंकायका सहायक डीन तथा प्रवेश परीक्षा समितिका संयोजक ज्ञानेश्वर पराजुली भने पहिले प्राविधिक त्रुटी भएकाले त्यस्तो भएको र अहिले पछिको नतिजा सबै सही भएको दाबी गर्छन् । 

उनको अनुसार उक्त गल्ती नियतवश गरेको नभई कम्प्युटर इन्ट्रिमा समस्या भएको कारण अंक फरक पर्न गएको उनको दाबी छ । 

एक्सेलमा अंक तलमाथि पर्यो
सहायक डीन पराजुलीका अनुसार प्रवेश परीक्षाको काप डिकोडिङ गरी परीक्षार्थीको नामसमेत थाहा नहुनेगरी राखिएको हुन्छ । ३ जना शिक्षकले उक्त कापी जाँच गर्छन् र फरकफरक नम्बर दिन्छन् । त्यसपछि ३ जना नै शिक्षकको नम्बर जोडी कायम हुन आउने नम्बरलाई ३ ले भाग गरी कायम हुने अंक प्रदान गरिएको हुन्छ । 

यहँ पनि त्यस्तै गरिएको थियो । तर जब कम्प्युटर इन्ट्री गरियो, एक्सेलमा नम्बर राख्दा तलमाथि पर्न गएकाले पहिलेको नतिजामा समस्या भएको उनको भनाई छ । उनका अनुसार पहिले नतिजा प्रकाशन गर्दा व्यक्ति र अंक तलमाथि परेको थियो । 

सहायक डीनले यसरी झुट बोले

सहायक डीन पराजुलीले रातोपाटीसँगको कुराकानी व्यक्तिको अंक तलमाथि परेको जवाफ दिएपनि फ्याक्ट चेकमा भने त्यस्तो हुने सम्भावना देखिँदैन । किनभने व्यक्तिको अंक तलमाथि परेको भएपनि सबैभन्दा बढी पाउने व्यक्तिको प्राप्तांकमा परिवर्तन हुन सक्दैन । किनभने सबैभन्दा बढी पाउने व्यक्तिको अंक पहिले र अहिले बराबर नै हुनुपर्ने थियो । किनकि काम गर्दा व्यक्तिको नाम र अंक तलमाथि पर्न सकेपनि प्राप्तांक अंक भने त्यही नै हुनुपर्ने थियो । 

तर पहिले पहिलो नम्बरमा आउने व्यक्तिको प्राप्तांक ८१ भएको र पछि पहिलो नम्बरमा आउने प्रकृति मल्लको अंक ८४ दशमलब ८३ हुनुले यहाँ कम्प्युटर वा एक्सेलको प्राविधिक त्रुटी भन्दा पनि नियतवश गरिएको गडबडी हो कि भन्ने आशंका उब्जिएको छ ।

४० जनाभन्दा बढी विद्यार्थीको अंकमा ब्यापक फेरबदल भएपछि यतिबेला डीन कार्यालयमा तालाबन्दी भएको छ । जसको कारण बिए एलएलबीको परीक्षा नै अन्योलमा परेको छ भने अन्य धेरै शैक्षिक गतिविधिमा असर पर्ने देखिन्छ । 

पहिले (साउन १८ गते) प्रकाशित नतिजा



साउन २६ गते प्रकाशित संशोधित नतिजा



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप