केन्द्रीय संस्करण
अन्तरवार्ता

‘बीआरआईमा जोडिने नेपालको आन्तरिक मामिला हो, यसमा भारतलाई जोड्न आवश्यक छैन’

मैले भन्दैमा सी जिनपिङ नेपाल आउने नआउने हुँदैन : प्राडा राजीव कुमार झासँगको अन्तरवार्ता

person explore access_timeसाउन २८, २०७६ chat_bubble_outline0

प्राध्यापक डाक्टर राजीव कुमार झा सन् १९९७ देखि चीनमा अध्ययन तथा अध्यापन गर्दै आइरहेका छन् । उनले पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालयबाट विद्यावारिधी र त्यसपछि विद्या बाचस्पति गरेका छन् । पेसाले चिकित्सक उनी हाल सियानस्थित सियान मेडिकल युनिभर्सिटीमा रिसर्चमा केन्द्रीत रहेका छन् । चाइना नेपाल फ्रेन्डिसीप मेडिकल सेन्टर अफ प्रोफेसर राजीव कुमार झा स्थापना गरेर उनी त्यसमा सक्रिय रहेका छन् । प्रस्तुत छ चीन नेपाल सम्बन्ध, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, बीआरआईमा नेपालको सहभागिताबारे रातोपाटीले डा. झासँग गरेको कुराकानीको सम्पादित अंशः

नेपालमा अहिले दुई तिहाइको सरकार छ । यो सरकारले अवलम्बन गरेको विदेश नीतिलाई तपाईंले कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?

–विदेश नीति हरेक देशले आफैले निर्धारण गर्ने विषय हो । अरूको दबाबमा होइन । पछिल्लो समय हामीले आफ्ना दुई छिमेकीलाई प्राथमिकतामा राख्ने जुन नीति लिएको छौँ, त्यो मलाई धेरै मन परेको छ ।  विश्वको उदयमान अर्थतन्त्रको रुपमा रहेको भारत र विश्वको दोस्रो अर्थतन्त्र बनेको चीनको सहयोगबिना पनि अघि बढ्न सक्दैनौँ । हाम्रो विदेश नीतिले दुवै देशसँग छिमेकीको हिसाबमा मात्र होइन, मित्रवत बनाउने प्रयास गरेको छ । भनाइ छ नि टाढाको भतिजोभन्दा छिमेकी नै काम लाग्छ । त्यसैले नेपालले जुन खालको विदेश नीति लिइराखेको छ, त्यो सकारात्मक कुरा हो ।

तर, सञ्चार माध्यममा भने नेपाल विस्तारै दक्षिणको प्रभावबाट उत्तरतर्फ ढल्कँदै गएको टिप्पणीहरु आइरहेका छन् । समदुरी स्थापित गर्ने भन्दाभन्दै पनि नेपाल विस्तारै उत्तरी छिमेकीतर्फ ढल्किएको हो ?

– यो गलत कुरा हो । नेपालमा कम्युनिस्ट सरकार हुने बित्तिकै उत्तरतर्फ ढल्कियो भन्ने प्रवृत्ति देखिएको छ । यसअघि लोकतान्त्रिक सरकार आउँदा दक्षिणतर्फ ढल्कियो भन्ने गरिन्थ्यो । चीनमा कम्युनिस्ट शासन भएको आधारमा यहाँ कम्युनिस्ट सरकार बन्नासाथ उता ढल्किएको भन्न मिल्दैन । आजभोलि मिडिया सत्य कुरा लेख्नेभन्दा पनि ध्यान तान्नको लागि विषयलाई सनसनीपूर्ण बनाउन खोज्छन् । अहिलेको सरकार संसदमा दुई तिहाइ मत भएको कम्युनिस्ट सरकार हो । तर प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले गर्नुभएको पहिलो भ्रमण भारतको थियो । एकाथरी छन्, जो हरेक कुरामा नकारात्मक मात्र देख्छन् । यस्ता सोच नेपालको प्रगतिमा बाधक बनेको छ । हाम्रो विदेश नीतिले राम्रोसँग काम गर्न नसक्नुको कारण पनि नकारात्मक सोच नै हो ।

*****

भारत बीआरआईमा नआउनुको उसको आफ्नै कारणहरु  होलान् । भारत बीआरआईमा नजाँदैमा हामी जान हुँदैन भन्ने कुरा सुन्दा मलाई अचम्म लाग्छ । हामी आफ्ना हरेक कुरालाई भारतसँग किन जोडेर हेर्छौं ? हामी हरेक कुरा नकारात्मक रूपले किन प्रस्तुत गर्छौं ?

*****

तर नेपाल चीनले अघि सारेको बीआरआईमा सहभागी भएकोमा भारत सशङ्कित छ भनिन्छ  नि ।

–बीआरआईमा के गर्ने भन्ने नेपालको अन्तरिक मामिला हो । तर नेपालको अवस्थिति नै त्यस्तो ठाउँमा छ कि एउटा छिमेकीसँग चालेको कदमले अर्को छिमेकीको मनमा आशङ्का उत्पन्न गराउने खतरा हुन सक्छ । त्यही भएर हामीले के बुझाउन आवश्यक छ भने हामीले चाल्ने कदम एक अर्काविरुद्ध नभएर हाम्रो आफ्नो भलाइका लागि चालिरहेका छौँ । हामी दुवै राष्ट्रका चासोलाई समान महत्त्व दिन्छौँ भनेर भन्न सक्नुपर्छ ।

तर भारत बीआरआईमा नगएको अवस्थामा नेपाल चीनको उक्त महत्त्वकाङ्क्षी योजनामा सहभागिता हुँदा केही त असर पर्छ होला नि ?

–भारत बीआरआईमा नआउनुको उसको आफ्नै कारणहरु  होलान् । भारत बीआरआईमा नजाँदैमा हामी जान हुँदैन भन्ने कुरा सुन्दा मलाई अचम्म लाग्छ । हामी आफ्ना हरेक कुरालाई भारतसँग किन जोडेर हेर्छौं ? हामी हरेक कुरा नकारात्मक रूपले किन प्रस्तुत गर्छौं ?

चीन हाम्रो पनि मित्र भएको अवस्थामा हाम्रो अवश्यकता अनुसार बीआरआईमा संलग्न हुँदा पूरा हुन्छ भनेर लागेर हामीले त्यसो निर्णय गर्यौँ । भारतलाई अहिले बीआरआईमा जोडिन आवश्यकता छैन । आफै पनि विकसित हुन सक्छौँ भन्ने लाग्यो होला । भारतको अर्थतन्त्र आफैमा तीव्र रूपमा वृद्धि भइरहेको अवस्थामा उसलाई बीआरआईमा जोडिनुपर्ने अवश्यकता लागेन होला । यसलाई लिएर नेपालमा बहस हुनुपर्ने आवश्यकता नै छैन ।

बीआरआईमा जोडिने त भन्यौँ तर नेपालले त्यसमा एउटा सिन्का पनि भाचेको छैन । त्यसबाट लाभ लिनका लागि कम्तिमा त्यसतर्फ काम त हुनुपर्ने हो नि ?

बीआरआईमा के कति प्रगति भएको छ भन्ने त्यति धेरै जानकारी छैन । तर यसमा हामीमा कमजोरी छ । बीआरआईबारे जान्नका लागि संसारभरीको जानकारी लिनुपर्छ । कहाँ के हुँदैछ भनेर हामीकहाँ अध्ययन नै छैन । समस्या अध्ययन र बुझाइको अभावमा छ ।

*****

हामीले हेर्ने त बृहत्तर चित्रमा हो । नेपालमा बीआरआई भनेको सडक बनाउने भन्ने मात्र हो । त्यो गलत बुझाइ हो । हामीलाई सडक चाहिएन भने नि बीआरआईमा अर्को व्यवस्था छ । बीआरआईमा हामीले आफूलाई जे आवश्यकता छ, त्यही बनाउने हो ।

*****

नेपालको सन्दर्भमा बीआरआई किन महत्त्वपूर्ण छ बुझाइदिनुस् न ?

बीआरआईले हाम्रो ‘सम्पर्क’ बढाउँछ । ‘सम्पर्क’ भनेर हामीकहाँ सडक सम्पर्क मात्र बुझ्ने चलन छ । सम्पर्कलाई राम्रो बनायौँ भने नेपाल विकास गर्नका लागि हामीलाई ठूल्ठूला उद्योग ल्याउनै पर्दैन । हामीलाई त पर्यटनले नै विकसित बनाउँछ ।

जस्तो आज नेपालमा आउनका लागि विदेशीलाई सय डलर लागेको छ । भोलिको दिनमा ‘सम्पर्क’ बढेपछि त्यो मूल्य ५० डलरमा घट्नेछ । त्यसले मानिसलाई आवजावतमा झन् वृद्धि गर्नेछ । 

हामीले हेर्ने त बृहत्तर चित्रमा हो । नेपालमा बीआरआई भनेको सडक बनाउने भन्ने मात्र हो । त्यो गलत बुझाइ हो । हामीलाई सडक चाहिएन भने नि बीआरआईमा अर्को व्यवस्था छ । बीआरआईमा हामीले आफूलाई जे आवश्यकता छ, त्यही बनाउने हो ।

जस्तो हाम्रो लागि पर्यटन आवश्यकता छ भने बीआरआईमा त्यसको लागि पनि व्यवस्था छ । भोलि हामीलाई होटेलहरु चाहियो भने चिनियाँ लगानीकर्ताहरुसँग सम्झौता गरेर होटेलहरु ल्याउन सक्छौँ । हामीकहाँ विज्ञान र प्रविधि छैन, त्यसमा सहकार्य गर्न सक्छौँ । विज्ञान र प्रविधिबारे मिडियामा त्यति लेखेको जस्तो पनि लाग्दैन ।

जे कुरालाई पनि राजनीति जोडेर हेर्नुहुँदैन । अनुसन्धान र विकासमा पनि बीआरआईमा सहकार्य हुनसक्छ । बीआरआईमा संलग्न जति पनि देश छ, त्यहाँ हामीले जडीबुटी अनुसन्धान गर्न सक्छौँ । यो कुरामा लेखेको कतै देखिँदैन । यसबारे रचनात्मक कुरा लेखौँ र बहस गरौँ न ।

तपाईंको विचारमा नेपालमा बीआरआईबारे सकारात्मकभन्दा पनि नकारात्मक कुरा बढी भयो भन्ने हो ?

यसमा नकारात्मक कुरा पनि होइन । बीआरआईले फाइदा गर्छ भनेर सबैलाई थाहा छ । तर कसरी फाइदा गर्छ भन्ने कुनै कुराबारे बहस भएको छैन । हामी बीआरआईमा यो भएन, बीआरआईमा जाँदा त्यो रिसायो मात्र भन्छौँ । बीआरआईमा हामी अनुसन्धान र विकास गरौँ न त्यसले सबैलाई फाइदा गर्छ ।

बीआरआईसँग जोडिँदा त्यसले चीनको स्वार्थलाई पनि निम्त्याउँला नि होइन ?

–सरकार सरकारबीच के स्वार्थ छ, मलाई थाहा भएन । मलाई मतलब भनेको बीआरआई अन्तर्गत नेपालमा अनुसन्धान र विकास होस् । नेपालमा उब्जिने जडीबुटी विदेश निर्यात गर्न सकियोस् । त्यो मेरो मतलबको कुरा हो । सरकार र सरकारबीच के स्वार्थ हुन्छ भने त्यो त सरकारले बुझ्ने कुरा हो । हामी आम मानिसले त्यसमा के नै गर्न सक्छौँ र ? 

मेरो चासोको विषय भनेको बीआरआईमा जोडिएर अनुसन्धान र विकास गर्दा मेरो पेट पाल्न सक्छु कि सक्दिनँ भन्ने हो । जहाँसम्म नीतिगत समन्वयका कुरा छन्, म आफै त्यसमा नरहेकाले केही भन्न सक्दिनँ ।

नेपाललाई बीआरआईबाट आवश्यकता पूरा हुन्छ भन्ने लाग्छ भने त्यसमा सहभागी हुन सक्छ । आवश्यकता छैन भने त्यसमा अनिवार्य संलग्न हुनै पर्छ भन्ने पनि होइन नि ।

*****

हामीकहाँ कस्तो देखियो भने, अरूले आएर खेत खनिदिनुपर्ने, त्यसमा बीउ पनि अर्कोले नै हालिदिनुपर्ने अनि मलदेखि अन्न काट्नेसम्म अरूले गरिदिनुपर्ने आस गर्छौं । अझ अरूले नै पकाएर खान दिएपछि चामल कति नमिठो रहेछ भन्ने हाम्रो प्रवृत्ति छ ।

*****

बीआरआईबाट नेपाली जनताले लिन ठ्याक्कै सक्ने लाभ चाहिँ के हो त ?

पहिलो नम्बर पर्यटन नै हो । पर्यटनमा ध्यान पुर्याउन सक्यौँ भने हामीले अन्य कुरामा ध्यान दिन पर्दैन ।

अर्को, हामीकहाँ अनुसन्धान र विकासको कार्य शून्य भयो । बीआरआईमा विश्वविद्यालयको सहकार्य गराउन पनि सकिन्छ तर त्यतातर्फ कसैको ध्यानै छैन । मिडियामा पनि यसले स्थान पाएको छैन । मिडियाले पनि शिक्षा, विज्ञान र प्रविधिमा ध्यान दिऔँ ।

कुनै पनि देश विज्ञान र प्रविधिमार्फत मात्र विकास हुन्छ । तर हामीकहाँ विज्ञान र प्रविधिको अनुसन्धानमा कति खर्च हुन्छ ? हाम्रो विश्वका शीर्ष विश्वविद्यालयसँग कतिको सहकार्य छ ?

हामीकहाँ कस्तो देखियो भने, अरूले आएर खेत खनिदिनुपर्ने, त्यसमा बीउ पनि अर्कोले नै हालिदिनुपर्ने अनि मलदेखि अन्न काट्नेसम्म अरूले गरिदिनुपर्ने आस गर्छौं । अझ अरूले नै पकाएर खान दिएपछि चामल कति नमिठो रहेछ भन्ने हाम्रो प्रवृत्ति छ ।

त्यो किन भयो भने शिक्षाको कारणले हो । त्यही भएर बीआरआई परियोजनामा शिक्षामा ध्यान दिऊँ ।

चीन, भारत र नेपाललाई बौद्ध धर्मले जोडेको छ । हामीले यसैले मात्र पनि गर्न सक्छौँ नि । जसले जे भने पनि हामी तीन राष्ट्र सांस्कृतिक रूपमा बौद्ध धर्मबाट जोडिएका छौँ । त्यसलाई हामीले किन उपभोग गर्न सक्दैनौँ ?

हामी गाली मात्र गर्छौं, मलाई मन नपर्ने कुरा यही हो । केही रचनात्मक कुरा पनि लेखौँ न । हामी नकारात्मक रूपमा मात्र गइरहेका छौँ । बीआरआईलाई विदेश नीतिको लेन्सले मात्र नहेरौँ ।

******

नेतागिरीले विकास हुँदैन । हामीकहाँ त तीन करोड जनता भएको ठाउँमा ६ करोड नेता भएको जस्तो देखियो ।

******

नेपाल सरकारले बीआरआईमा हस्ताक्षर गर्दा पर्याप्त अध्ययन, अनुसन्धान र गृहकार्य नगरेकाले यसो भएको हो ?

बीआरआई आएकै सन् २०१३ मा हो । त्यति ढिलो भएको छैन । हस्ताक्षर गरिसकेपछि पनि अनुसन्धान गर्न सकिन्छ । मेरो विचारमा सबैभन्दा ठूलो कमजोरी भनेको अध्ययन र अनुसन्धान नगर्नु हो ।

तपाईं २३ वर्ष चीनमा बस्नुभयो । त्यहाँ बसेर चीनले नेपाललाई हेरिरहेको ख्याल गर्नुभएको होला । त्यहाँ बसेर हेर्दा चिनियाँहरुले नेपालमा के भइदियोस् भन्ने चाहेको देख्नुभएको छ ? नेपालबाट चिनियाँहरुले के अपेक्षा गरिरहेका छन् ?

म मुख्यत त चिकित्सक क्षेत्रमा छु । त्यसैले म त्यही क्षेत्रबारे बढी भन्न सक्छु । तर चिनियाँले हामीबाट लाभ चाहेको जस्तो लाग्दैन । हामी आफैले के लाभ चाहिएको ख्याल गर्नुपर्छ । तर हामी आफैलाई के चाहिएको हो थाहा छैन । जस्तो चिकित्सक क्षेत्रमा हामीहरु धेरै पछाडि छौँ । चिकित्सक क्षेत्रमा आवश्यक अनुसन्धानका लागि हामी विदेशमा बसेका सहयोगका लागि आवश्यक स्रोत जुटाउन सहयोग गर्न सक्छौँ । 

रुस, चीन, भारत र अमेरिका शिक्षाकै कारणले आजको स्थानमा आएका हुन् । नेपालमा चाहिँ शिक्षाले विकास नहुने भन्ने हुँदैन । नेतागिरीले विकास हुँदैन । हामीकहाँ त तीन करोड जनता भएको ठाउँमा ६ करोड नेता भएको जस्तो देखियो ।

बीआरआईप्रति पर्याप्त अनुसन्धान नहुँदा, यसबाट हामीलाई जोखिम हुने सम्भावना छ ?

जोखिम कसरी भयो ? जेमा हामीले काम नै सुरु गरेका छैनौँ भने त्यसमा जोखिम कसरी हुन्छ ? जोखिमपूर्ण एउटा मात्रै क्षेत्र देखाउनुस् त ? जोखिम छ भन्दैमा व्यवसाय नै नगर्ने ? जोखिम र फाइदाको मूल्याङ्कन त परिणाम आएपछि हुन्छ नि । कामै गरेको छैन, जोखिमबारेमा सोच्न थाल्ने ?

तपाईंले नेपालले पर्याप्त गृहकार्य गरेन भन्नुभयो । त्यस अर्थमा परियोजना आफैमा जोखिम भनेको होइन कि त्यसलाई कसरी हामीले कार्यन्वयनमा ल्याउन खोज्दै छौँ, त्यसले जोखिम ल्याउँछ कि भन्ने मेरो जिज्ञासा ।

–त्यसो हो भने मार्ग परिवर्तन गर्नुस् । त्यो नेपालको समस्या हो, बीआरआईको होइन । नेपालको समस्या बीआरआईबारे बुझाइमा भन्दा काम गराइमा छ । त्यसो किन भयो भने बुझ्दै नबुझेका मानिसहरु काम गर्ने ठाउँमा छन् । मानिस घाटा छ भन्छन् तर के कुरामा घाटा हो भन्नेमा प्रष्ट छैनन् । हरेक कुरालाई तथ्य दिएर पुष्टि गर्नुपर्छ ।

त्यही भएर नेपालले अध्ययन गर्नुपर्छ । संसारभरीका अभ्यासको अध्ययन गर्नुपर्छ । हामीले बीआरआईमा के चिज गर्दा दुवै छिमेकीलाई सन्तुलनमा राख्न सक्छौँ ? हामीले एउटा छिमेकीसँग काम गर्दा अर्कोलाई हामीप्रति शङ्का नहोस् ।

हामी उसै पनि गरिब देश हौँ । बीआरआईबाट ऋण लिँदा ‘ऋण पासो (डेब्ट ट्र्याप)’मा पर्छौं भनेर डराउने हो भने नेपाल कसरी विकास हुन्छ ? कहाँबाट पैसा ल्याउने ? कसले पैसा दिन्छ ?

विश्व बैङ्कका अनुसार नेपालले अनुसन्धान र विकासमा न्यून पैसा खर्च गर्छ । अनुसन्धान र विकासमा पाँच वर्षसम्म केन्द्रित हौँ न, त्यसपछि देख्नुहुन्छ नेपाल कहाँ पुग्छ भनेर ।

तपाईंलाई शिक्षामा बढी चासो छ भन्नुभयो । नेपालको शिक्षा क्षेत्रलाई पक्कै पनि अध्ययन गरिरहनुभएको होला । तपाईं नेपालको शिक्षा सही दिसातर्फ अघि बढिरहेको जस्तो लाग्छ ?

म राम्रो पाउदिनँ । पहिलो कुरा, शिक्षा राजनीतिभन्दा टाढा हुनुपर्छ । सबै तहको शिक्षालयमा त्यसो हुनु आवश्यक छ । मेरो भनाइ के भने, राजनीति गर्न चाहनेले राजनीति गरौँ र विश्वविद्यालय गएकाले अध्ययनमा संलग्न हौँ । विश्वविद्यालयका विद्यार्थीदेखि शिक्षकसम्मको सोच बढीभन्दा बढी अनुसन्धान गरौँ, पेपर प्रकाशित गरौँ भन्ने हुनुपर्छ ।

हरेकजसो देशमा सरकारी विश्वविद्यालय देशको सबैभन्दा राम्रो शिक्षालय हुन्छन् । नेपालमा भने त्यस्तो छैन । नेपालमा विद्यार्थी कलेज छिरेदेखि राजनीतिक चाहना प्रवेश गरेको देखियो । अनि शिक्षकहरु पनि यो पार्टी या त्यो पार्टीमा विभाजित छन् । विश्वविद्यालय कार्यकर्ता उत्पादन गर्ने थलो भयो ।

तपाईंले चिकित्सा क्षेत्रमा जडीबुटीको सम्भाव्यताको कुरा गर्नुभयो । यो क्षेत्रमा नेपालले के–के गर्न सक्छ ?

चिकित्सक पर्यटन एकदम महत्त्वपूर्ण हुन्छ । थाइल्यान्डले किन प्रगति गर्यो ? यसैको कारण हो ।

कैयौँ रोग औषधिले मात्र ठीक हुँदैन, हावा पानीको पनि असर हुन्छ । हामीकहाँ जुन खालको हावापानी छ, त्यो हाम्रा लागि फाइदा हो । हामी प्रदूषणको कुरा गर्छौं । तर हाम्रो प्रदूषण जमिनमा छ, आकाशमा होइन । विकसित देशमा जमिनमा प्रदूषण देखिँदैन तर आकास (हावा)मा प्रदूषण हुन्छ । फेरि आकासको प्रदूषण खतरनाक हुन्छ । हाम्रो प्रदूषण सडकलाई राम्रो व्यवस्थापन नगर्दा धुलो उडेर भएको हो, जुन काठमाडौँ र केही ठूला सहरमा मात्र देखिन्छ । सडकलाई मर्मत सम्भार गर्यौँ भने त्यो पनि हराउँछ । हाम्रो प्रदूषण उद्योगले ल्याएको होइन । विकसित देशका धेरै सहरमा त निलो आकाश नै देखिँदैन ।

त्यही भएर हामीले पूर्वाधार बनाउन ध्यान दिनुपर्छ । फेरि अस्पताल बनाएर मात्र हुँदैन, सीपमूलक कामदारमा पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यसो गर्न सक्यौँ भने हामीले रिटायर्ड भएपछिको जीवन व्यतित गरिरहेकाहरुदेखि बालबच्चा जन्माउने पर्यटकसम्मलाई आकर्षित गर्न सक्छौँ ।

जापान र अन्य विकसित देशका नागरिकले रिटायर्डपछि १५ सय डलर पाउँछन् । उक्त रकम त्यही त धेरै नहोला तर नेपालमा त डेड लाख रकम ठूलो हो । हामीले त्यो वर्गलाई आकर्षित गराउन सक्नुपर्यो ।

अर्को कुरा सम्पन्नता बढेपछि मानिसमा एक खालको आस्था पनि बढ्दै जान्छ । सबै कुरा भएपछि मानिसमा आध्यात्मिक खोज बढ्छ । यो संसारभरी नै देखिन्छ । हामीले के गर्न सक्छौँ भने लुम्बिनितिर अस्पतालसँगै सानो सानो कटेज बनाउने, म्याटरनिटी घर बनायौँ भने बच्चा जन्माउनकै लागि कैयौँ आउनेछन् । बौद्ध धर्मावलम्बीले आफ्नो बच्चा बुद्धको जन्म दिएको स्थानमा जन्म दिन नचाहलान् र? जन्मका लागि आएका मानिसको बसाइ अवधि पनि लामो हुने गर्छ । पर्यटन भनेको यहाँ आउनेलाई बढी पैसा खर्च गराउन सके मात्र राम्रो हुन्छ । हामी त्यसमै असफल भइरहेका छौँ ।

******

मलाई पूर्व नेपालीसमेत भने । चीनमा सयौँ वर्षदेखि विदेशीहरु आइरहेका छन्, विदेशीहरुलाई नागरिकता दिने चलन त्यहाँ छैन । चीनमा वर्किङ भिषा लिन त गाह्रो छ । वर्किङ भिसा पनि पीएचडी गरेका लागि अलि सजिलो हुन्छ र त्यो पनि केही वर्षमा नवीकरण गराइरहनु पर्छ ।

******

तपाईं आफैले पनि अनुसन्धान गर्नुभएको होला, नेपालको जडीबुटीको सम्भावना कतिको पाउनु भएको छ ?

नेपालमा पनि जडीबुटी पहिलेदेखि प्रयोग भएको हो । भारतमा आर्युवेद अहिले पनि छ । चीनमा पनि परम्परागत औषधोपचारको प्रचलन छ । अरबमा पनि त्यस्तै खालको चिकित्साको अभ्यास छ । यी कुरा एलोप्याथी आउनुभन्दा अघिदेखि नै अभ्यासमा थियो । हाम्रा गन्थ्रहरुमा पनि त्यसको उल्लेख छ ।

अहिले चर्चामा रहेको यार्सागुम्बालाई प्रशोधन गरेर विदेश पठाउन सक्ने हो भने कत्तिको राम्रो हुन्छ । त्यसको क्यान्सरविरुद्ध उपचारदेखि फोक्सोका रोगसम्मलाई काम दिन्छ । मुख्य कुरा अनुसन्धान हुनुपर्यो ।

हाम्रो भूगोलको जुन खालको विभिधता छ, त्यस्तोमा अनेक औषधि उपचारको सम्भावना छ । यस्तोमा हामीले संसारमा संयुक्त सहकार्य गरेर अघि बढ्न सक्छौँ ।

यसका लागि बुझाउन पनि आवश्यक छ । जस्तो, पहिले जापानमा लसुन र बेसारलाई राम्रो मानिदैन थियो । तर अहिले तिनले रोगविरुद्ध प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउँछ भन्ने कुरा प्रचरमा आएपछि खान थालेका छन् । लगानीका लागि हामीले प्रवर्धन पनि गर्नुपर्छ ।

फरक प्रसंगमा तपाईंकै एउटा रिपोर्टलाई लिएर चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न रिपोर्ट ल्याएको भन्ने कुरा आयो । वास्तविकता के हो ?

मलाई त्यो सुन्दा हाँसो पनि उठ्यो, रिस पनि उठ्यो । तर भनाइ छ नि जुन ढुङ्गा छिनोबाट डराउँछ, त्यो कहिले मूर्ति बन्न सक्दैन । यो चाहिँ मेरो लागि पहिलो अवरोध थियो ।

मलाई पूर्व नेपालीसमेत भने । चीनमा सयौँ वर्षदेखि विदेशीहरु आइरहेका छन्, विदेशीहरुलाई नागरिकता दिने चलन त्यहाँ छैन । चीनमा वर्किङ भिषा लिन त गाह्रो छ । वर्किङ भिसा पनि पीएचडी गरेका लागि अलि सजिलो हुन्छ र त्यो पनि केही वर्षमा नवीकरण गराइरहनु पर्छ । पछिल्लो समय उसले देशमा काम गरिरहेका विदेशीको सजिलोको लागि पाँच वर्ष अवधिको ग्रिनकार्डको व्यवस्था गरेको छ । तर ग्रिनकार्ड पाउन पनि त्यति सजिलो छैन ।

*****

मेरो व्यक्तिगत चाहना भन्नुहुन्छ भने नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुनुपर्छ । त्यो नेपालको लागि ऐतिहासिक अवसर हुनेछ । यसले दुई देशको मित्रतालाई सगरमाथाको उचाईसम्म पुर्याउन सकोस् भन्ने मेरो कामना छ । आतिथ्यको मर्यादा उल्लङ्घन नगरी दुई देशले लाभ लिनसक्नुपर्छ ।

*****

यदि चीनमा विदेशमा जन्मेर उतै पढेलेखेका नागरिक छन्, उनीहरुका बाबु आमा चीनमै बसिरहेको अवस्थामा समेत अब चीनमा फर्किएर यतै जीवन बिताउँछु भन्दा पनि चिनियाँ नागरिकता पाउँदैनन् । झन् हामीले पाउने भन्ने कुरा हुँदैन ।

सी जिनपिङ मैले आउनुहोस्भन्दा आउने नआउनु भन्ने नआउने होइनन् । मेरो सम्पर्क त्यतिको बलियो भएको भए के म मेरा परिवार, साथीभाई, समाजलाई यहाँ छाडेर वैदेशिक रोजगारीमा हुन्थेँ ?

मैले पहिले पनि भने चीनमा राजनीतिबारे धेरैलाई चासो नै हुँदैन । हामी सियानमा बस्छौँ । त्यहाँ सी आउजाउ गरिरहेका हुन्छन् तर पनि त्यहाँ थाहै हुँदैन । एक देशको राष्ट्रपति अर्को देशमा आउने कुरा हामी जस्तो चिकित्सकसँग मतलब हुने कुरा होइन । त्यो जानकारी यहाँको परराष्ट्र मन्त्रालयलाई थाहा होला र त्यहाँको परराष्ट्र मन्त्रालयलाई थाहा होला ।

नेपालमा लामो समयदेखि चीनको उच्च नेतृत्वले भ्रमण गरेको छैन । सी जिनपिङले नेपाल भ्रमण गर्ने सम्भावना कतिको देख्नुहुन्छ ?

मेरो विश्लेषणमा सन् २०१९ मा सीको नेपाल भ्रमणको प्रबल सम्भावना देखिन्छ । यसमा एउटा कारण स्थिर सरकार हो । जबसम्म सरकार स्थिर हुँदैन, तबसम्म भ्रमण गाह्रो हुन्छ । सरकार स्थिर भएको भएको भए भ्रमण पहिले नै भइसकेको हुन्थ्यो । तर फेरि चीनको राष्ट्रपति अर्को देशको भ्रमणबारे निर्णय बाहिर नआएसम्म स्वयं राष्ट्रपतिबाहेक अरूलाई थाहा हुँदैन ।

मेरो व्यक्तिगत चाहना भन्नुहुन्छ भने नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुनुपर्छ । त्यो नेपालको लागि ऐतिहासिक अवसर हुनेछ । यसले दुई देशको मित्रतालाई सगरमाथाको उचाईसम्म पुर्याउन सकोस् भन्ने मेरो कामना छ । आतिथ्यको मर्यादा उल्लङ्घन नगरी दुई देशले लाभ लिनसक्नुपर्छ ।

तपाईं लामो समय चीन पनि बस्नुभयो । चीनमा सबैतिरको अध्ययन गर्न थिङ्क ट्याङ्कको व्यवस्था पनि भएको बताइन्छ । त्यहीँबाट हेर्दा चीनले नेपाललाई कसरी हेरिरहनुभएको पाउनुभयो ?

नेपालमा थिङ्क ट्याङ्क भन्ने वित्तिकै नेतागिरी गर्ने अझ विदेश नीतिको कुरा गर्ने ठाउँ मात्र भन्ने बुझाइ छ । थिङ्क ट्याङ्क विभिन्न प्रकारका हुन्छन् । हाम्रो थिङ्क ट्याङ्क भनेको अनुसन्धान र विकाससँग जोडिएको छ । मैले भर्खरै पनि नेपालमा पाउने जडीबुटीको सबै नाम सूची सङ्कलन गरेर कुन जडीबुटी कुन रोगमा काम लाग्छ भनेर लेखेको छु । मैले थिङ्क ट्याङ्कमा काम गर्ने भनेको त्यस्तो हो । म विश्वविद्यालयको थिङ्क ट्याङ्कमा काम गर्छु परराष्ट्र ममिलामा होइन ।

नेपालमा तीन करोड जनताको ६ करोड कान छन् र ती सबैमा अत्यधिक राजनीतिकरण भयो । चीनमा त्यस्तो छैन । त्यहाँ ९९ प्रतिशत जनता आफ्नो क्षेत्रमा ध्यान दिन्छन् । राजनीति गर्ने बाँकी एक प्रतिशतले मात्र राजनीतिमा चासो दिन्छन्, बाँकी सबै आ–आफ्नो काममा ध्यान दिइरहेका हुन्छन् । जस्तो मेरो विश्वविद्यालयमा कसैलाई पनि राजनीतिबारे मतलब छैन । किनकि त्यो उनीहरुको पेसा होइन । नेपालमा भने हरेक पेसामा राजनीतीकरण भएको छ । मेरो विश्वविद्यालयले संसारभरिका परम्परागत औषधिमा के भइरहेको छ भनेर अध्ययन गर्छ ।

पछिल्लो केही दशकमा चीनमा उल्लेख्य विकास भएको छ । तपाईं त्यहाँ बसेर हेर्दा चीनले कसरी प्रगति हासिल गर्यो र नेपालले त्यहाँबाट के पाठ सिक्न सक्छ ?

कडा मिहिनेत, राष्ट्रवाद, विश्वास, आफ्नो काममा एकाग्रता, सबै देशसँग राम्रो सम्बन्ध, स्थायी सरकार, अधिकांश मानिसलाई राजनीतिभन्दा बाहिर राख्ने ता कि युवाको अमूल्य ऊर्जावान अवधि राजनीतिमा नास नहोस्, जुन व्यक्तिले जे राम्रो गर्न सक्छ त्यो व्यक्तिलाई त्यही काम दिनेजस्ता कुरा चीनबाट सिक्न सकिन्छ ।

हामी कहाँ भने राजनीतिक दलका मानिस भएकै आधारमा पद दिइन्छ । खुल्ला प्रतिस्पर्धा गराउनु एकदम महत्त्वपूर्ण छ । योग्य मानिसलाई पदमा ल्यायौँ भने मात्र त्यसले राम्रो गर्छ । त्यसका लागि सबैका लागि क्राइटेरिया तोकिदिनुपर्छ, त्यसमा खरो उत्रनेलाई पदमा राख्नुपर्छ ।

अर्को महत्त्वपूर्ण कुरा, बलियो र निर्णय गर्न सक्ने क्षमता भएको सरकार हुनुपर्छ । त्यसले मात्र परिवर्तन हुन्छ ।

यहाँ ससाना कुरामा पनि हडताल भइहाल्छ तर म २३ वर्ष बस्दा चीनमा एक दिन हडताल भएको देखिनँ । हो नेपाल ठूलो परिवर्तनको समयबाट गुज्रियो । तर अब त स्थायित्व छ । सम्पूर्ण नेपाली मिलेर नेपाललाई कसरी अघि बढाउने भन्ने निर्णय गर्न सकिँदैन ?

हामी सबै सँगसँगै अघि बढौँ । थोरै जनसङ्ख्या भएको देश भएकाले विकास गर्न त्यति धेरै गाह्रो पनि छैन ।

तर यहाँ के देखियो भने सरकार बन्न पाएको हुँदैन, खेदो गर्न थालिहालेका हुन्छन् । त्यो चाहिँ मैले चीनमा देखिनँ । चीनमा जसले नराम्रो काम गर्यो उसले दण्ड सजाय पाइहाल्छ नि भनिन्छ ।

हामी विज्ञान तथा प्रविधि, अनुसन्धान तथा विकास, संस्कृति, पर्यटनमा केन्द्रित हुनु पनि अत्यावश्यक छ । राजनीतिभन्दा बाहिर पनि देशको प्रगति गर्नुपर्ने थुप्रै क्षेत्र छन् । तर हामी भने राजनीतिमै मात्र लागिरहेका छौँ । राजनीतिक काम सरकारलाई नै छाडिदिऔँ न । नराम्रो गर्यो भने पाँच वर्षपछि सजाय पाइहाल्छ ।

बरु बाहिर बसेर विज्ञता हासिल गरेका हामी जस्ताहरुलाई देशको सम्भावनाका क्षेत्र देखाउनुस् । तर त्यसको लागि सरकारले अग्रसरता लिनुपर्यो ।

खासमा नेपालको विकास हुन त्यति गाह्रो छैन । भारत र चीनसँगको सम्बन्धलाई राम्रो उपभोग गर्न सक्यौँ भने मात्रै पनि देशको विकासमा उलेख्य सहयोग पुग्छ । मुख्य कुरा हामीले देशप्रति इमानदार हुनुपर्छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...