शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘यार्तुङ’मय मुस्ताङ

सोमबार, २७ साउन २०७६, २३ : ०७
सोमबार, २७ साउन २०७६

मुस्ताङ-माथि डाँडा कुहिरोले ढाक्दै थियो । यता घोडचढी युवाहरु आफ्नो घोडचढी कौशल देखाउन तल्लिन देखिन्थे । वेगले कुँदिरहेको घोडाबाटै घोडचढी युवाले जब बाटोमा छरिएको खादा, पैसा टिप्थे । माहोल मज्जैले ताथ्यो । सोमबार, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुक्तिनाथ रानीपौवा मुस्ताङ क्षेत्रमा सुरु भएको ‘यार्तुङ’ महोत्सवमा देखिएको दृश्य हो यो । यतिबेला मुस्ताङ ‘यार्तुङ’मय बनेको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा सुरु भएको महोत्सव बिहीबारसम्म चल्ने छ । 

महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । मुख्यमन्त्री गुरुङले घोडामा चढेर महोत्सव सुरु गरेका थिए ।  ‘यार्तुङ’को शाब्दिक अर्थ ‘यार’ बर्खा र ‘तुङ’ मेला भन्ने हुन्छ । बर्खायामलाई बिदाई गर्ने पर्वको रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाइन्छ । यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको स्थानीय बताउँछन् । 

गाउँपालिकाकी उपाध्यक्ष डिकी गुरुङले ‘यार्तुङ’ ऐतिहासिक महत्व बोकेको मेला रहेको बताइन् । ‘यार्तुङ मुस्ताङको चिनारी पनि हो,’ उनले भनिन्, ‘बर्खायाम सकिएर हिउँद सुरु हुँदा रमाइलो हुने भएकाले पनि यो मेला मनाइन्छ ।’ विशेषगरी घोडचढी कौशल देखाउने महोत्सवको रुपमा लिइने ‘यार्तुङ’मा स्थानीय सेब्रु नाच, स्थानीय परिकार, साँस्कृतिक कार्यक्रम, हिमाली याक लगायत अन्य खेलकुद प्रस्तुति पनि जोडिने उनले जानकारी दिइन् ।

मेलामा ३.५ र १.५ किलोमिटर गरि दुई फरक दुरिको घोडा दौड प्रतियोगिता, सेभेन ए साइड फुटबल र विभिन्न जातजातिको भेषभुषा समेत प्रदर्शन गरिने छ । घोडा दौडमा विजेता हुनले ५०, दोस्रोले ३० र तेस्रो हुनले २० हजार पाउने छन् । 

मेला अवधि भर १० हजार दर्शकले अवलोकन गर्ने आयोजकको लक्ष्य लिएको छ । केही वर्षयता स्थानीय युवा क्लब आयोजना गर्दै आएको महोत्सव यसपालि गाउँपालिका र क्लबको संयुक्त आयोजनामा सुरु भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप