शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई सूचना दिनुहोस्, १० लाखसम्म लिनुहोस् !

सोमबार, २७ साउन २०७६, १४ : २८
सोमबार, २७ साउन २०७६

सरकारलाई सूचना (सुराकी) दिए १० लाख सम्म पुरस्कार पाइने कुरा तपाईंलाई थाहा छ ? हो, सरकारलाई सूचना दिएकै भरमा तपाईंले १० लाख रुपैयाँसम्म पाउन सक्नुहुन्छ । कुनैपनि वस्तु चोरी पैठारी भएको छ भने सोको सूचना सरकारलाई दिनुहोस् र १० लाखसम्म पाउनुहोस् ।  यस्ता खालका सूचनामा सरकारले १० लाखसम्म पुरस्कारको व्यवस्था गरेको छ । 

यद्यपि, सो रकम सुराकीको प्रकृतिको आधारमा निर्धारण गरिएको छ । सबै खालको सुराकीमा १० लाख पाइँदैन । 

भन्सार विभागले सुराकीलाई पुरस्कार दिँदै आएको छ । तर, अब त यस्तो पुरस्कारको राशीसमेत बढेर आएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत पुरस्कारको राशीसमेत बढाइएको छ । भन्सार नियमावली २०६४ मा यस्तो व्यवस्था गरिएको हो ।

भन्सार नियमावलीलाई संशोधन गरेर पुरस्कारको राशी बढाइएको हो । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरे भनसार नियमावलीको संशोधनले सुराकी दिनेको पुरस्कारको रकम बढाइएको बताउँछन् । 

सुराकीको प्रकृति अुनसार सुराकी दिएबाट पक्राउ भएको माल वस्तु लिलाम विक्री गरिसकेपछि विक्री पश्चात प्राप्त भएको रकमको निश्चित प्रतिशत सुराकीले पाउँछ । भन्सार नियमावली २०६४ को १ मा पुरस्कारसम्बन्धी व्यवस्था गरेको छ । 

कसैले कुनै वस्तु चोरी पैठारी गर्न लागेको सुराकी दिन्छ भने उसले वस्तु लिलाम बिक्रिबाट आएको १५ प्रतिशतसम्म रकम पाउँछ । अहिले यो रकम ५ प्रतिशत बढाइएको छ । यस अघि १० प्रतिशत मात्र दिने व्यवस्था थियो । 

यस्तै चोरी निकासी वा पैठारी गर्न लागेको मालवस्तुसहित मानिस पक्रेर पेश गर्नेले दिने पुरस्कार १० प्रतिशले बढेर ३० प्रतिशत पुर्याइएको छ । यसअघि २० प्रतिशत पुरस्कार दिइन्थ्यो । 

चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मात्र पक्रेर पेश गरेमा १० प्रतिशतसम्म पुरस्कार दिइन्थ्यो भने अब २० प्रतिशत पुर्याइएको छ । 

यो भन्सार नियमावली २०६४ को १० औ संशोधनले व्यवस्था गरेको हो । २०७६ असार २३ गते यो नियमावली राजपत्रमा प्रकाशित भएको थियो । 

तर, बहुमूल्य धातु ( सुन, चाँदी, जवाहरत) मुद्दामा सुराकी दिने वा मालवस्तु सहित मानिस पक्राउ गरेर पेश गर्नेलाई वस्तु लिलाम विक्रीबाट प्राप्त भएको १० प्रतिशत वा १० लाख रुपैयाँ मध्ये जुन घटी हुन्छ सोही रकम पुरस्कार दिइनेछ । यो बुँदामा भने परिवर्तन भएको छैन । 

भन्सार विभागका प्रवक्ता घिमिरे हालसम्म कतिले सुराकी दिएर यस्तो पुरस्कार पाए भन्ने यकिन तथ्यांक भनसार विभागसँग नहरको बताए । उनका अनुसार सम्बन्धित भन्सार कार्यालयमा सुराकी जाने र उनीहरुले नै सो पक्राउ परेको मालवस्तुबाट सुराकीको पुरस्कार भर्पाइ गर्ने भएकाले कसैसँग यसको तथ्याङ्क छैन । 

यसरी दिने सुराकी 
नियमावलीको नियम ४८ मा सुराकी  प्रतिवेदन वा सूचना सम्बन्धी व्यवस्था छ । मालवस्तु पक्राउ गर्नु अगावै सुराकी सम्बन्धी प्रतिवेदन वा सूचना पठाउनु पर्नेछ । पक्राउ परेपछि प्राप्त भएको सूचनालाई मान्यता दिइने छैन । सुराकी सम्बन्धी प्रतिवेदन सम्बन्धित भन्सार कार्यालयको प्रमुख वा महानिर्देशकलाई दिनुपर्नेछ । यसरी महानिर्देशकलाई प्राप्त भएको सूचना तत्काल महानिर्देशकले सम्बन्धित भनसार कार्यालयको प्रमुखलाई मौखिक वा लिखित जानकारी गराउनु पर्नेछ । दुई वा दुइ भन्दा बढी ठाउँबाट सूचना आएको छ भने पहिलोले मान्यता पाउनेछ । 

सुराकी दिँदा खुलाउनुपर्ने विवरण

हवाइजहाजबाट हुने चोरी निकासी तथा चोरी पैठारीको सुराकी दिँदा हवाइजहाजको उडान नम्बर चोरी निकासी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम वा राहदानी नम्बर, हुलिाय चोरी लगेको मालवस्तुको नाम र लुकाइ

छिपाइ ल्याउने वा लैजाने तरिकासमेत खुलाउनु पर्नेछ । 

यदि स्थलमार्गबाट चोरी निकासी भएको छ भने सो वस्तुको नाम, चोरी पैठारी हुन लागेको स्थान, सवारी साधनको किसिम, नम्बर, लुकाइ छिपाई ल्याउने लैजाने तरिका र सम्भव भए सो व्यक्तिको नाम र हुलिया खुलाउनु पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप