शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वसरकारी कर्मचारीको ‘सुसाइड नोट’ : अख्तियार प्रमुखको आयु २०० वर्ष होस् !

सोमबार, २७ साउन २०७६, १३ : ५९
सोमबार, २७ साउन २०७६

काठमाडौँ । पछिल्लो समय भ्रष्टाचारको आरोपमा अख्तियारले भटाभट पक्राउ गर्न थालेपछि केही आरोपित व्यक्तिहरुले आत्महत्याको बाटो रोज्न पुगेका छन् । यही क्रममा उदयपुर घर भएका एक पूर्वसरकारी कर्मचारीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नामसमेत जोडेर उनले शनिबार आत्महत्या गरेका हुन् ।

सुसाइड नोटमा प्रमुख आयुक्त घिमिरेको ‘आयु २०० वर्ष होस्’ भन्दै उदयपुर त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले शनिबार राति झुण्डिएर आत्माहत्या गरेका हुन् । 

अख्तियार प्रमुख घिमिरेको नाममा दुई पानाको सुसाइड नोट लेखेको पत्र प्रहरीले फेला पारेको छ ।

अख्तियारले एक वर्षअघि मालपोत कार्यालय कलङ्कीमा कार्यरत रहँदा आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यतिबेला आचार्यले सफाइसमेत पाएका थिए ।

आचार्य मालपोत कार्यालय कलङ्कीमा रहँदै भ्रष्टाचार गरेको भन्दै अख्तियारले फेरि गत जेठ २६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले आचार्यसहित ७ जनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रूपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराइएको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

के थियो आचार्यको सुसाइड नोटमा ?

‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर म देशको ठूलो भ्रष्टाचारी भए, अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको ‘आयु २ सय वर्ष होस्,’ म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ, काठमाडौँले सहयोग गर्नू ।

आफ्नो नाममा पुराण लगाउने काम नगर्नू र नउक्साउनू । मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिनँ । कामबाट चोखिने काम मात्र गर्नू । मैले काम गर्दा भएको गल्ती हो । स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ ।

‘ममीले छोराहरुसँग र सासूसँग मिलेर बस्नू र छोराले पनि ममीलाई राम्रो गर्नू । म बिदा भएँ । खातामा पैसा छन् । श्रीमती केही जान्दिनन् । साथीभाइले मनैले सहयोग गर्नू । मलाई बस्नेतको आँपगाछी हुँदै जङ्गलमा खोज्नू ।

कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिनँ, पापी भएँ । वाणिज्य, नेपाल, एनसीसी, एनआईसी बैङ्कमा के कति पैसा छ, चेक दराजभित्र सानो ब्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ । ‘वीरेन्द्र काकालगायत छिमेकीले भैँसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू ।’

सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौँ बस्नू । गोमाले रङ्गीन लुगा लगाउनू । १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी सङ्गठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू ।’

गाविस सचिव हुँदै वडा सचिवसम्म !

आचार्यले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा नायव सुब्बा भएरसमेत काम गरिसकेका थिए । आचार्य पछिल्लो समय झापाबाट मालपोत कार्यालय कलङ्की हुँदै समायोजनमा त्रियुगा नगरपालिका आइपुगेका थिए ।

आचार्य त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडासचिवका रूपमा काम गरेका आचार्य वडाध्यक्षसँग विवाद भएपछि राजीनामा दिएर घर बसेका थिए ।

अख्तियारले क–कसलाई मुद्दा दायर गरेको थियो ?

जेठ १३ गते अख्तियारले आचार्यसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार गरेको भन्दै अख्तियारले कलङ्कीका मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायव सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मिनाकुमारी थापा, सुयल हाउजिङ कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनी मिना कुमारी थापाको वारेस दीपेन्द्र विक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप