शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपचार खर्च लिनेमा पूर्वप्रधानमन्त्रीसम्म, ३ सय ५० रुपैयाँमा पनि सांसदको आँखा

सङ्घीय संसद् सुरु भएयता ५० सांसदले बुझे उपचार खर्च
सोमबार, २७ साउन २०७६, १२ : १३
सोमबार, २७ साउन २०७६

सङ्घीय संसद् सुरु भएयता प्रतिनिधि सभा र राष्ट्रिय सभाका ५० सांसदले संसद् सुविधा शाखाबाट असार मसान्तसम्म ८ लाख ६५ हजार २ सय ५२ रुपैयाँ उपचार खर्च बुझेका छन् । यसरी उपचार खर्च लिनेमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा नेता माधवकुमार नेपालसम्म छन् । नेता नेपालको त्रिवि शिक्षण अस्पतालमा गरिएको उपचार खर्चबापत ३० हजार ५० रुपैयाँ गत जेठ ४ गते सङ्घीय संसद् सचिवालयले भुक्तानी गरेको हो ।

उपचार सुविधा लिने सांसदहरुमा सबैभन्दा धेरै १ लाख ११ हजार ४ सय ८३ रुपैयाँदेखि सबैभन्दा कम ३ सय ५० रुपैयाँसम्म उपचार खर्च बुझेका छन् । सबैभन्दा धेरै उपचार खर्च राष्ट्रियसभा सदस्य शान्तिकुमारी जिसीले १ लाख ११ हजार ४ सय ८३ रुपैयाँ बुझेकी छिन् । बागलुङकी सांसद जिसीले २०७५ माघ २५ गते ६३ हजार २ सय ६२ रुपैयाँ र २०७६ फागुन १० गते ४८ हजार २ सय २१ रुपैयाँ बुझेकी थिइन् ।

यस्तै सबैभन्दा कम उपचार खर्च सांसद रेनुकुमारी गुरुङलाई गत वैशाख १० गते ३ सय ५० रुपैयाँ उपचार खर्च भुक्तानी गरिएको छ । सांसदहरुले उपचारको बिल पेश गरेको आधारमा चिकित्सक बोर्डको निर्णय, महासचिव तथा सचिव स्तरीय स्वीकृतिका आधारमा रकम भुक्तानी गर्ने गरिएको सङ्घीय संसदले जनाएको छ ।

धेरै पटक उपचार खर्च लिनेमा प्रतिनिधि सभाका सांसद स्मृतिनारायण चौधरीले लिएका छन् । उनलाई गएको फागुन ९ गते ३ हजार ५ सय २० रुपैयाँ र ३ हजार ४ सय ५५ को उपचार बिल सदर गरिएको थियो भने गत माघ २५ गते १० हजार ५ सय ९० रुपैयाँ भुक्तानी गरिएको थियो । यस्तै गत फागुन ७ गते ३ हजार ५ सय ३० रुपैयाँ, वैशाख २५ गते १० हजार ४ सय ५६ रुपैयाँ, असार २ गते ५ सय रुपैयाँ र असार २४ गते ६ हजार ९ सय ८६ रुपैयाँ भुक्तानी गरिएको थियो ।


को सांसदले कति लिए उपचार खर्च ?

सङ्घीय संसद सचिवालले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार प्रतिनिधिसभाका सांसद स्मृतिनारायण चौधरीले ३२ हजार ५१ रुपैयाँ, राष्ट्रिय सभाका सांसद भैरव सुन्दर श्रेष्ठले २ हजार १ सय ५८ रुपैयाँ, प्रतिनिधि सभाका सांसद मानबहादुर विश्वकर्माले ६ हजार ८ सय ७३ रुपैयाँ, अगम वान्तवा राईले ४ हजार ९ सय ६६ रुपैयाँ, राष्ट्रिय सभाका सांसद शेरबहादुर कुँवरले ५ हजार १ सय २५ रुपैयाँ, युटोल तामाङले १६ सय ३२ रुपैयाँ, लिलानाथ श्रेष्ठले २ हजार ९९ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

सांसदहरु रामलखन चमारले ४ हजार ८ सय १५ रुपैयाँ, रेखाकुमारी झाले २ हजार २ सय ३९ रुपैयाँ, शान्तिकुमारी अधिकारीले १ लाख ११ हजार ४ सय ८३ रुपैयाँ, राष्ट्रिय सभा सदस्य कमलाकुमारी ओलीले ५ सय ७७ रुपैयाँ, प्रतिनिधि सभा सदस्य आशा विकले १० हजार ४ सय १५ रुपैयाँ, राष्ट्रिय सभा सदस्य दीपा गुरुङले ८ हजार ३ सय १५ रुपैयाँ, एकबाल मियाँले ४ हजार ६ सय ३५ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

यस्तै सांसद यज्ञबहादुर बोगटीले ११ हजार ४ सय ३१ रुपैयाँ, सानु सिवाले ७९ हजार १ सय ८० रुपैयाँ, ज्ञानकुमारी छन्त्यालले ४७ हजार ५ सय ५३ रुपैयाँ, रामचन्द्र राईले १४ हजार ६ सय ५२ रुपैयाँ, लक्ष्मणलाल कर्णले ३१ हजार ६ सय ५० रुपैयाँ, सांसद प्रमिला कुमारीले २ पटक गरी ४२ हजार ६ सय ५४ रुपैयाँ बुझेकी छिन् ।

नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले ५ हजार ८ सय उपचार खर्च बुझेका छन् भने अर्का सांसद यशोदा सुवेदी गुरुङले ९ हजार २ सय १४ रुपैयाँ बुझेकी छिन् ।

यता सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले २९ हजार ३ सय ४३ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

यस्तै सांसद सरिताकुमारी गिरीले १० हजार ७१ रुपैयाँ, रेनुका गुरुङले ३ सय ५० रुपैयाँ, नवराज रावतले ५ हजार ९ सय ५५ रुपैयाँ, चन्द्रबहादुर खड्काले २१ हजार ६ सय ६४ रुपैयाँ, आशाकुमारी विकले २७ हजार ९ सय २३ रुपैयाँ, भवानीप्रसाद खापुङले ५ हजार ४ सय १४ रुपैयाँ, मीना पाण्डेले ३३ हजार ९ सय ७५ रुपैयाँ र सत्यनारायण शर्मा खनालले ६९ हजार ४१ रुपैयाँ उपचार खर्च लिएका छन् ।

यता पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका नेता एवं सांसद माधवकुमार नेपालले ३० हजार ५० रुपैयाँ उपचार खर्च बुझेका छन् । सांसद उमा रेग्मीले १८ हजार १ सय २३ रुपैयाँ, सुजाता परियारले १५ हजार ४ सय ८४ रुपैयाँ, रङ्गमती शाहीले ८ हजार ९ सय ५९ रुपैयाँ, वृषेशचन्द्र लालले १२ हजार २ सय ४८ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

यस्तै सांसद मैनाकुमारी भण्डारीले ११ हजार ५ सय ३२ रुपैयाँ, दुलारीदेवी खत्वेनीले ३२ हजार ६ सय ८१ रुपैयाँ, दुर्गाकुमारी विकले ३ हजार ३ सय ७८ रुपैयाँ, नैनकला ओझाले ६ हजार ९ सय २५ रुपैयाँ, नारायणप्रसाद खतिवडाले २६ हजार २ सय ८२ रुपैयाँ, डिला सङ्ग्रौला पन्तले ३ हजार ८ सय ७० रुपैयाँ उपचार खर्च लिएका छन् ।

यता राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले ८ हजार ४ सय ४३ रुपैयाँ, कलुदेवी विश्वकर्माले ६ हजार ४ सय ७० रुपैयाँ, सरिताकुमारी गिरीले ५ हजार ९१ रुपैयाँ, नन्दा चपार्इंले १० हजार १ सय ६६ रुपैयाँ, मिना बुढाले २ हजार रुपैयाँ, लिलानाथ श्रेष्ठले ४ हजार २ सय ६१ रुपैयाँ र पवित्रा निरौला खरेलले ७ हजार ५० रुपैयाँ उपचार खर्च लिएकी छिन् ।

सांसदहरुको उपचारका लागि सङ्घीय संसद् सचिवालयमा चिकित्सक सहितको स्वास्थ्य इकाई पनि सञ्चालनमा छ । उनीहरुले त्याहाँबाट निःशुल्क उपचार सेवासमेत लिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप