केन्द्रीय संस्करण

टानलाई पङ्गु बनाउने कि व्यावसायिक संस्था ?

person explore access_timeसाउन २७, २०७६ chat_bubble_outline1

-किरण धरेल

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सिङ्गो पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन हो । यो सङ्गठनको महत्व र आवश्यकता आजको दिनमा झन् बढी हुँदै जानुपर्नेमा कता कता टान र व्यवसायीबीचको सम्बन्ध दिन प्रतिदिन बिरानो र औचित्यहीन हुँदै गएको आभास हुँदैछ ।

यसो हुनुमा दोषी को ? सिङ्गो व्यवसायीहरूको टानप्रतिको मोहभङ्ग, टानमा हुने गरेको राजनीतिक दलको भागबण्डा वा टानमा जाने प्रतिनिधिहरु र उहाँहरुको कार्यशैली ? यो प्रश्न निकै गम्भीर छ । 

टानको सदस्य सङ्ख्या, वार्षिक संस्था नवीकरण शुल्क, टिम्स कार्डबापतको व्यावसायिक शुल्क, विभिन्न विभागीय सङ्घ संस्थाबाट प्राप्त हुने आर्थिक सहयोगहरू हेर्दा यो संस्था एक सफल, सबल र सक्षम टान भइसकेको हुनुपर्नेमा दिनदिनै समस्याको चाङले थिचिँदै गएको, दयनीय आर्थिक अवस्थाबाट गुज्रिरहेको देख्दा लाग्छ एक–अर्काप्रतिको अविश्वास, आरोप–प्रत्यारोप तथा मपाइँत्व नै विगतदेखि वर्तमानसम्मका टान नेतृत्वको भोगाइ हो । 

चाहे राजनीतिक रङ होस्, चाहे सामाजिक विभेद नै किन नहोस् नेतृत्व वर्गबीच झाँगिएर बस्ने गरेका यस्ता व्यक्तिगत विचलनले न त टानको भविष्य सुनिश्चित हुन्छ न त व्यावसायिक निष्ठा अनि एकता नै कायम रहन्छ । 
बदलिँदो पर्यटकीय प्रतिस्पर्धी विश्व बजार, अस्वस्थ आन्तरिक व्यावसायिक प्रतिस्पर्धा, राज्यबाट जबरजस्ती थोपरिएको विभिन्न शीर्षकको करको दायरा तथा विकासको नाममा विनाश हुँदै गएको पर्यटकीय गन्तव्य, धर्म, संस्कृति, भेषभूषा, मठ मन्दिरहरूको संरक्षण नगर्दा दिनदिनै थला पर्दै गएको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय पर्यटन नीति निर्माण तथा कार्यान्वयन गर्नु गराउन सहयोगी भूमिका खेल्नु नै टान नेतृत्वको आजको आवश्यकता देखिन्छ । 

खस्कँदै गएको टानको गरिमालाई स्थापित गर्न, पर्यटन व्यवसायमा व्याप्त अव्यावसायिक क्रियाकलापहरूको निवारण र पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिलाउनेतर्फ टानले खेल्नुपर्ने अहम् भूमिका निर्वाह गर्न दक्ष व्यावसायिक सहमतीय नेतृत्व चयन गर्दा सबैको जित हुनेछ । नत्र विगतको भोगाइले फेरि पनि निरन्तरता पाउन सक्छ ।

देशको आर्थिक विकासमा अहम् भूमिका खेल्न सक्ने उद्योगको मान्यता नपाएको तर एक सशक्त रूपमा रहेको उद्योग हो पर्यटन । देशको संस्कृति, रहनसहन, भेषभूषा, मठमन्दिरहरू, तालतलैया, वनजङ्गल, वन्यजन्तु तथा सुन्दर हिमशृङ्खलाहरूको सुन्दरता नै पर्यटन उद्योगको कच्चा पदार्थ हुन् । 

यस्तो प्रकारको कच्चा पदार्थको अवलोकनले न त देशको वातावरणमा कुनै नकारात्मक असर गर्छ न त कुनै आर्थिक क्षति नै पुग्छ । हुन्छ त केवल देशको आर्थिक विकास अनि समृद्धि । त्यसैले पर्यटन व्यवसायलाई राज्यले यथाशीघ्र उद्योगको मान्यता दिलाउनेतर्फ ध्यान दिएमा पर्यटन क्षेत्रको विकास र क्षमता वृद्धि हुनेमा कुनै शङ्का छैन । 

नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको छ । पर्यटन वर्ष घोषणा गर्नुपूर्व पर्यटन पूर्वाधारको अवस्था, पर्यटन व्यवसायमा व्याप्त नीतिगत तथा व्यवहारिक कठिनाइ, पर्यटन वर्ष प्रचार प्रसारमा व्यावसायिक तबरबाट खेल्न पर्ने भूमिकाको लेखाजोखा तथा सरकार र व्यावसायिक समूहको संयुक्त आयोजक समिति गठन गर्न नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय चुकेको देखिन्छ । 

भ्रमण वर्ष २०२० सफलताका लागि तुरुन्त व्यावसायिक विज्ञ समूहसहितको भ्रमण वर्ष आयोजक समिति पुनर्गठन गरी अभियान र उत्सव एकसाथ सम्पन्न गर्न सकिन्छ ।

जीर्ण अवस्थाबाट गुज्रिरहेको संस्था टानको पुर्नजीवनका लागि तथा नेपाल सरकारले घोषणा गरेको महत्त्वकाङ्क्षी घोषणा ‘भ्रमण वर्ष २०२०’  सफलताका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमतावान, सक्षम, व्यावसायिक कार्यसमितिको चयन नै आज टानको आवश्यकता देखिन्छ ।

(धरेल पर्यटन व्यवसायी हुन् ।)
 

कमेन्ट

  1. Aug. 12, 2019, 11:54 a.m. H R Pariyar
    जुन जोगी आए पनि कानै चिरिएको ...
  2.  1 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...