बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ लाखमा भारतमा बेचिँदै थिइन् युवती, जब उनले नै ‘दलाल’ चिनिन्...

आइतबार, २६ साउन २०७६, १९ : १३
आइतबार, २६ साउन २०७६

नुवाकोटका २८ वर्षीय एक युवकमाथि मानव बेचबिखनको आरोपमा एक महिलाले प्रहरीलाई ठाडो उजुरी दिन्छिन् । मानव बेचबिखनजस्तो संवेदनशील विषयमा उजुरी परेपछि प्रहरीलाई ती युवकलाई पक्राउ गर्छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ती युवकलाई एक रात प्रहरी हिरासतमा राखेर अनुसनधान गर्छ । तर युवकले मानव बेचबिखन गरेको कुनै प्रमाण पाउँदैन र उसलाई छाडिदिन्छ ।

गत वर्षको कुरा थियो यो । (परिवर्तित नाम) सीता भएकी युवतीको उजुरीको आधारमा पक्राउ परेका अजय तामाङ प्रमाण नपुगेपछि सहज रुपमा छुटेका थिए ।

तर तिनै अजयसहित अर्का एकजनालाई शनिवार साँझ प्रहरीले फेरि मानव बेचबिवखनको आरोपमा पक्राउ गरेको छ ।

मानव बेचबिखनको आरोपमा दुप्चेश्वर गाउँपालिका ७– नुवाकोटका २८ वर्षीय अजय तामाङ र २० वर्षीय राजु तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । 

जसले एकवर्ष अघि थुनायो उसैको कारण फेरि समातियो

सीतालाई आर्थिक प्रलोभनमा पारेर भारतको कोलकाता लैजाने क्रममा अजय र राजु पक्राउ परेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए । ‘सीताले नै पहिला चौकीमा थुनाएर निस्केका अजयलाई सीताले नै फेरि प्रहरीलाई खबर गरेपछि पक्राउ गरेका छौं,’ डीएसपी बोगटीले भने ।

कोटेश्वरबाट काँकडभित्ता जान लागेको अवस्थामा भक्तपुरको जगातीबाट उनीहरुलाई पक्राउ गरिएको डीएसपी बोगटीको भनाई छ । हाल उनीहरुविरुद्ध मानव बेचविखन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसरी समातिए

साउन २४ गते साँझतिर अजय र राजुको समूह मध्येकै एक जनाले सीतालाई फोन गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । फोनमार्फत सीतालाई आर्थिक प्रलोभनमा पार्न उनीहरु सफल हुन्छन् ।

सीतालाई फोन गर्ने व्यक्तिले भारतको कोलकातामा राम्रो जागिर (६० हजारदेखि १ लाखसम्म) हुने भन्दै प्रलोभनमा पारेको हुन्छ । सोही राती सीताले परिवारसँग छलफल गर्छिन् र घरबाट भारत जान अनुमति लिन्छिन् ।


गाडी चढ्ने बित्तिकै सीताले अजयलाई चिन्छिन् । अजय त्यही व्यक्ति थिए, जसलाई एक वर्षअघि सीताले महाराजगञ्ज चौकीमा एक रात थुनाएकी थिइन् । गाउँमा रहँदा अजयले मान्छे बेच्ने गरेको सीताले पनि सुनेकी थिइन् । सोही आधारमा सीताले एक वर्षअघि ठाडो उजुरी दिएर अजयलाई एक रात थुनाएकी थिइन् ।


सीताले पछि जो व्यक्तिले फोन गरेको हो उसलाई ‘कल ब्याक’ गरेर भोलि नै जाने कुरा गर्छिन् । त्यसपछि सीतालाई एउटा नम्बर म्यासेजमा पठाइएको छ । म्यासेजमा भनिएको छ– ‘काठमाडौं पुगेपछि ९८४१....... नम्बरमा फोन गर्नुहोस् उहाँ लिन आउनुहुन्छ ।’

त्यसपछि सीता भारत जानको लागि चाँजोपाँजो मिलाउन लाग्छिन् ।

साउन २५ गते

बिहानै सीता एउटा सानो झोला बोकेर आफ्नो घरलाई छाड्दै विदेश जान भन्दै काठमाडौं आउँछिन् । बिहान १० बजेतिर सीता नयाँ बसपार्क आइपुग्छिन् ।

नयाँ बसपार्क आएपछि सो नम्बरमा फोन गर्छिन् । त्यो नम्बर बोक्ने अरु कोही नभएर अजय हुन्छन् । अजयले पनि राजुलाई फोन गरेर सीतालाई ‘रिसिभ’ गर्न भन्छन् ।

लगत्तै राजु नयाँ बसपार्क पुग्छन् । फोन गर्छन् । नयाँ बसपार्कको पुलमुनि सीता कुरेर बसिरहेकी थिइन् । सीतालाई देख्ने बित्तिकै राजुले ट्याक्सीमा हालेर कोटेश्वरतर्फ लान्छन् । 

यता अजय कोटेश्वरमा उनीहरुलाई कुरेर बसिरहेका थिए । कोटेश्वरमा अजयले काकडभित्ता जाने ३ वटा माइक्रो बसको टिकट काटेर बसेका हुन्छन् ।

राजु र सीता कोटेश्वर पुग्ने बित्तिकै माइक्रो बसमा चढ्छन् । अजय भने अलि अगाडि जडीबुटी चोकबाट गाडीमा चढेको पाइएको छ ।

गाडी चढ्ने बित्तिकै सीताले अजयलाई चिन्छिन् । अजय त्यही व्यक्ति थिए, जसलाई एक वर्षअघि सीताले महाराजगञ्ज चौकीमा एक रात थुनाएकी थिइन् ।

गाउँमा रहँदा अजयले मान्छे बेच्ने गरेको सीताले पनि सुनेकी थिइन् । सोही आधारमा सीताले एक वर्षअघि ठाडो उजुरी दिएर अजयलाई एक रात थुनाएकी थिइन् ।

अजयको गतिविधिबारे जानकार भएकी सीताले तत्कालै प्रहरीलाई खबर गर्छिन् । प्रहरीका अनुसार सीताले अत्तालिँदै फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् ।

लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली परिचालन भयो । परिसरको टोली फलो गर्दै जाँदा गाडी भक्तपुरको जगाती पुगिसकेको हुन्छ । प्रहरीले त्यो गाडीलाई त्यहीँ रोकेर उनीहरुलाई पक्राउ गर्छन् ।

सीताले प्रहरीलाई दिएको बयानमा ‘अजयले पहिले पनि केटी बेच्ने गरेको सुनेकाले मलाई पनि बेच्न सक्छ भन्ने लागेर प्रहरीलाई खबर गरेको’ बताएकी छिन् ।

अजयले यसअघि पनि दुई युवतीलाई भारत पुर्याएका थिए

पक्राउ परिसकेपछि अजयले प्रहरी समक्ष यसअघि पनि २ युवतीलाई भारतको कोलकाता पुर्याएको स्वीकारेका छन् ।

प्रारम्भिक बयानको क्रममा अजयले नुवाकोटकै नाम परिवर्तन (ए र बी) लाई नुवाकोटकै संगीता तामाङले सञ्चालन गरेको भारतको कोलकातास्थित कोठीमा पुर्याएका थिए ।


भारतको कोलकातामा कोठी सञ्चालन गर्ने संगीता आफ्नो श्रीमती भएको अजयले प्रहरीको बयानमा बताएका छन् । संगीताले आफूसँग बिहेको नाटक गरेर अहिले छाडेको समेत उनले बताए । ‘अहिले म सँग अलग भएर संगीता अर्कै मान्छेसँग बिहे गरेर नुवाकोटमै बस्दै आएकी छन्,’ अजयले प्रहरी समक्ष भनेका छन् । 


७ महिना कोलकता बसेर हाल उनीहरु नेपाल फर्किसकेका छन् । नुवाकोटमा नै बस्दै आएका उनीहरुले अहिले विवाह पनि गरिसकेको अजयले बताएका छन् ।

को हुन् संगीता ?

भारतको कोलकातामा कोठी सञ्चालन गर्ने संगीता आफ्नो श्रीमती भएको अजयले प्रहरीको बयानमा बताएका छन् । संगीताले आफूसँग बिहेको नाटक गरेर अहिले छाडेको समेत उनले बताए ।

‘अहिले म सँग अलग भएर संगीता अर्कै मान्छेसँग बिहे गरेर नुवाकोटमै बस्दै आएकी छन्,’ अजयले प्रहरी समक्ष भने, ‘कोलकातामा ए र बीलाई संगीताको जिम्मा लगाएको हुँ ।’

अजयले प्रहरीसमक्ष भनेका छन्, ‘संगीताले २ जना केटी लिएर आए बिहे गर्छु भनिन् । त्यही भएर उनीहरुलाई लगेको हुँ ।’ संगीतालाई आफूले माया गर्ने भएको कारण युवती लगेबापत पैसा पनि नलिएको अजयले बताएका छन् ।

सीतालाई नुवाकोटकै एक युवतीको कोठीमा लैजाँदै थिए

सीतालाई नुवाकोटकै एक युवतीले कोलकातामा सञ्चालन गर्दै आएको कोठीमा लैजान लागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुले सीतालाई नुवाकोटकै (नाम परिवर्तन) गीताको कोठीमा लैजान लागेको प्रहरीसमक्ष बयान दिएका छन् । उनीहरुले भने, ‘गीताको कोठीमा बेच्नको लागि लैजान लागेका हौं । एक देखि डेढ लाखसम्म पाउथ्यौँ ।’

काँकडभित्ताबाट यसरी लगिन्छ कोलकाता

अजयले प्रहरीलाई दिएको बयान यस्तो छ :

‘हामी केटीहरुलाई विभिन्न प्रलोभन देखाएर यहाँ (काठमाडौं) बोलाउछौँ । यहाँबाट गाडीमा हालेर काकडभित्ता लान्र्छौँ । काठमाडौंबाट काँकडभित्ता पुगेपछि एउटा गाडी रिजर्भ गर्छौँ । त्यहाँ हाम्रो चिनजान छ । त्यहाँबाट बोर्डर सजिलै क्रस गराउछौँ । बोर्डर क्रस गरेपछि कहिँ कतै चेकिङ हुन्न । त्यसपछि सिधै कोलकाता पुर्याउँछौं ।’

यद्यपि सीतालाई कोलाकाताको कोठीमा बेचेर डेढ लाख रुपैयाँ कमाउने उनीहरुको योजना भने सफल हुन पाएन । यतिबेला अजय र राजु प्रहरी हिरासतमा छन् भने सीताले उनीहरुविरुद्ध मानव बेचबिखन मुद्दामा उजुरी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप