शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी अर्बपति व्यापारी एप्स्टाइनको आत्महत्याले खैलाबैला

आइतबार, २६ साउन २०७६, १६ : ०९
आइतबार, २६ साउन २०७६

न्यूयोर्क– बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् ।

एक बालिकाले गरेको उजूरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च राजनीतिक व्यक्तिहरुलाई समेत यौन दुराचारका कार्यमा सघाएको गम्भीर आरोप लागेको छ । 

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले संघीय थुनामै रहेका बखत एप्स्टाइनको मृत्युले आफू स्तब्ध भएको बताए । उनले एक वक्तव्य जारी गर्दै एप्स्टाइनको जेलभित्रै भएको मृत्युले उत्पन्न गरेका सुरक्षासम्बन्धी गम्भीर प्रश्नको उत्तर खोजी गर्नुपर्ने पनि बताए ।

संघीय कारागारका अनुसार शनिबार बिहान एप्स्टाइनलाई राखिएको कोठाबाट कुनै आवाज नआएपछि जाँच गर्दा उनको मृत्यु भएको पाइएको थियो । तत्कालै अस्पताल पु¥याइएका एप्स्टाइनको मुटुको चाल बन्द भएको भन्दै मृत घोषणा गरिएको थियो । ६६ वर्षीय एप्स्टाइनलाई अदालतले पनि जमानत दिन अस्वीकार गरेको थियो । उनले आफू निर्दोश रहेको बताउँदै आएका थिए ।

अमेरिकी न्यायाधीवक्ता जियोफ्री बर्मानले पनि संघीय अनुसन्धान जारी रहने बताएका छन् । एप्स्टाइनसँग जोडिएका अरु व्यक्तिको खोजी गरी कानुनको कठघरामा ल्याउन अनुसन्धान र कार्यवाही अघि बढ्ने पनि उनले जानकारी दिए ।

कारागारका एक पदाधिकारीले एप्स्टाइनले कागारभित्र यसअघि नै आत्महत्या गर्न खोजेको देखिएपछि उनको हातको नाडीमा विशेष घडी जडान गरिएको बताएका छन् । आत्महत्या गर्नेक्रममा उनले हातको नाडीमा बाँधिएको घडी फुकालेको पाइएको थियो । 

एप्स्टाइनको जीवन अत्यन्त विलासितापूर्ण रहेको र उनीसँग शक्तिशाली एवं प्रतिष्ठित व्यक्तिहरुको उठबस थियो । उनको सम्बन्ध राजा, राजकुमारी तथा राष्ट्रपतिहरुसँग पनि रहेको विश्वास गरिन्छ । उनको क्यारेबियन द्वीपमा १०० एकड निजी जमिनमा भव्य महल हुनुका साथै न्यूयोर्कमा भव्य महल रहेको थियो । –एपी/photo: Uncredited/AP/Shutterstock

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप