केन्द्रीय संस्करण
समाचार

काँग्रेसमा निर्वाचित महामन्त्री किन बन्छन् ‘निकम्मा’ ?

person explore access_timeसाउन २६, २०७६ chat_bubble_outline0

काठमाडौँ– काँग्रेसले गत १२औँ महाधिवेशनबाट निर्वाचित महामन्त्रीको व्यवस्था गर्यो ।  पार्टी विधानले दुई जना महामन्त्रीको व्यवस्था गरेपछि एक जना निर्वाचनबाट आउने र अर्का एक जना पार्टी सभापतिको मनोनयनबाट महामन्त्री बन्ने गरेका छन् ।

काँग्रेसको पहिलो निर्वार्चित महामन्त्री हुने सौभाग्य पार्टीका स्थापक नेता गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहलाई मिल्यो ।

१२औँ महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट सिंहले संस्थापन (शेरबहादुर देउवा) इतर पक्षका विमलेन्द्र निधि र तेस्रो धारका नरहरि आचार्यलाई हराएर महामन्त्रीमा बाजी मारेका थिए ।

त्यसबेला सिंह ठूलो मतान्तरबाट महामन्त्रीमा विजयी भए । सिंहले १६ सय ५६ मल ल्याउँदा  निधिले १२ सय २६ र आचार्यले १ सय ५२ मत मात्र पाएका थिए । यस्तै काँग्रेसमा देस्रो निर्वाचित महामन्त्री भन्ने अवसर पाए डा. शशांक कोइरालाले । शशांक काँग्रेसका स्थापक नेता तथा जननायक बीपी कोइरालाका पुत्र हुन् ।

१३औँ महाधिवेशनमा सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल पराजित हुँदा पनि सो प्यानलका शशांक महामन्त्रीमा सानदार रूपमा विजयी भए ।

उनी १४ सय १७ मत ल्याएर विजयी हुँदा देउवा पक्षका अर्जुननरसिंह केसीले १ हजार १७ र कृष्णप्रसाद सिटौला प्यानलका चर्चित युवा नेता गगन थापाले ५ सय ८४ मात्र पाए ।

१२औँ र १३ महाधिवेशनमा सिंह र कोइराला काँग्रेस कार्यकर्ताको अभिमतका साथ महामन्त्रीको पदमा आसीन हुन पुगे । यता मनोनित महामन्त्रीमा सभापतिको रोजाइमा परे क्रमशः कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का ।

*****

सुशीलले सिटौलालाई नै च्यापेको चर्चा पार्टीमा हुने गरेको पाइन्थ्यो । तर सिंहले यसप्रति न आपत्ति जनाए न विरोध । त्यसो त सिंहले आफूलाई क्रियाशील बनाउन पनि आवश्यक ठानेनन् । अहिले शशांकमा पनि सिंहको ‘रोग’ सरेको काँग्रेसका एकजना केन्द्रीय सदस्य बताउँछन् ।

*****

मनोनितको छायामा निर्वाचित

तत्कालीन पार्टी सभापति सुशील कोइरालाको कार्यकालमा सिटौला सचिवालयको काम गर्नेदेखि राजनीतिक छलफलमा समेत क्रियाशील थिए । गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालाको पनि विश्वास पात्र बन्न सफल सिटौला काममा पनि सफल देखिए । यद्यपि सुशीलले सिटौलालाई नै च्यापेको चर्चा पार्टीमा हुने गरेको पाइन्थ्यो । तर सिंहले यसप्रति न आपत्ति जनाए न विरोध । त्यसो त सिंहले आफूलाई क्रियाशील बनाउन पनि आवश्यक ठानेनन् । अहिले शशांकमा पनि सिंहको ‘रोग’ सरेको काँग्रेसका एकजना केन्द्रीय सदस्य बताउँछन् ।

ती नेताले भने, ‘मतदाताले कुन मान्छे के कामका लागि योग्य छ भनेर मतदाताले सोचिदिनु भएन । पार्टी र सङ्गठनलाई चलायमान बनाउन सभापति भन्दा महामन्त्री बढी क्रियाशील हुन सक्नुपर्छ । तर यो मामलामा न प्रकाशमान काबिल निस्किए न शशांक काबिल ?’

ती नेताका अनुसार २०७५ वैशाख २२ गते महाधिवेशनको २६ महिनापछि सभापति देउवाले महामन्त्रीमा मनोनित गरेका खड्काको क्रियाशीलता बढ्दो छ । काँग्रेस विधानमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले पदाधिकारी मनोनयन गर्ने र  त्यसलाई निर्वाचित केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ ।

सभापति देउवाले ढिलोगरी महामन्त्रीमा ल्याएका खड्काले सङ्घीय संरचनाअनुसार संशोधित तथा परिमार्जित विधान मस्यौदा समितिको संयोजकको जिम्मेवारी कुसलतापूर्वक सम्पन्न गरे । केन्द्रीय कार्यसमिति बैठकमा पनि विभिन्न एजेन्डा प्रस्तुत गर्ने काम खड्काले नै गरिरेको छन् । उता, निर्वाचित महामन्त्री शशांकमाथि केन्द्रीय समिति बैठकमा समेत नियमित उपस्थित नहुने गरेको आरोप लाग्दै आएको छ ।

उनी पार्टी बैठकमा मात्र होइन, संसद र संसदीय समितिमा पनि अत्यन्त कम मात्रै उपस्थित हुन्छन् । सङ्घीय संसद् अन्तर्गतको अर्थ समितिको सदस्य रहेका महामन्त्री कोइराला ४८ पटक बैठक बस्दा अहिलेसम्म २ पटक मात्र उपस्थित भएका छन् । सभापतिपछि शक्तिशाली पदमा रहेका महामन्त्री कोइरालाको निष्कृयता उदेकलाग्दो रहेको ती नेता बताउँछन् ।

त्यसैले पनि निर्वाचित महामन्त्री भएर पनि सिंह र कोइराला ‘निकम्मा’ सावित भएको काँग्रेस वृत्तमा चर्चा हुने गरेको छ ।

कार्यकर्ता भावनामा बगे

प्रकाशमान र शशांकलाई कार्यकर्ताले काम गर्न सक्षम छन् भनेर भन्दा पनि भावनामा बगेर जिताएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको तर्क छ ।

‘चुनाव जितेर आउनेहरु सक्षम नै हुन्छन् भन्ने छैन । काँग्रेसमा दुई जना (शशांक र प्रकाशमान) भावना बेचेर महामन्त्रीमा विजयी भएका व्यक्ति हुन् । उनीहरु एउटा गणेशमान सिंहको छोरो र एउटा बीपी कोइरालाको छोरो भएर चुनाव जितेका हुन् । काँग्रेस कार्यकर्ताले उनीहरु काम गर्ने सक्षम छन्, काँग्रेस लिड गर्न सक्छन् वा महामन्त्रीको हैसियतमा काम गर्लान् भनेर भोट हालेकै होइन,’ विश्लेषक आचार्यको दाबी छ ।

कार्यकर्ताले सक्षम नेतृत्व खोजेको भए १३औँ महाधिवेशनबाट गगन थापा महामन्त्रीमा निर्वाचित भइसकेको हुने विश्लेषक आचार्यको बुझाइ छ ।

‘यी बीपी, गणेशमानका छोरा हुन् । यिनीहरुलाई हार्न दिनु हुँदैन भनेर जिताइएको हो,’ उनले भने, ‘नभए त महामन्त्रीको हिसाबमा कामै गर्नका लागि, काँग्रेसको परिवर्तनका लागि र नेतृत्व गर्नका लागि भए त गगनले महामन्त्रीमा जितिहाल्थे नि ?’

*****

निर्वाचनबाट आएका भन्दा मनोनितले कसरी सक्छन् त राम्रो काम गर्ने भन्ने प्रश्नमा विश्लेषक आचार्यले भने, ‘सभापतिले काम चाहन्छन् । सभापतिले छान्दा काम गर्ने खालको व्यक्ति छनोट गर्ने भए न ? निर्वाचनबाट आएका महामन्त्री भन्दा काम गर्नसक्ने क्षमता भएकालाई मनोनयन गर्नुपर्ने हुन्छ । जो पछिल्लो समय कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्काले आफूलाई त्यही अनुसार स्थापित पनि गरेका छन्, गर्दैन छन् ।’

*****

नेपाली काँग्रेसमा नेतृत्व चयन गर्दा भावनात्मक कुराले धेरै प्रभाव पार्ने गरेको विश्लेषक आचार्य सुनाउँछन् ।

‘काँग्रेस कार्यकर्तामा यो परिवारवाद र भाववाद छ । अनि निर्वाचनमा भोट हाल्दा उत्तेजनाले धेरै हदसम्म भूमिका खेल्ने गर्दा काँग्रेसमा नेतृत्व विकास भइरहेको छैन । प्रकाशमान र शशांकको हकमा यो कुरा लागू हुन्छ,’ उनले अगाडि भने, ‘यिनीहरुले बाउको छाता ओढेका छन्, यिनीहरुलाई हराउनु हुँदैन भन्ने सोच कार्यकर्तामा जब्बर भएर बसेको छ । त्यसैले उनीहरु जितेर पनि आएर । तर जितेर पठाउँदा पनि काम गर्न नसक्नुले उनीहरुको कमजोरी प्रस्ट देखियो ।’

भावनामा बगेर भोट दिएकाहरुले आज काम नहुँदा पनि किन नगरेको भनेर प्रश्न नगरेको विश्लेषक आचार्यको विश्लेषण छ ।

उनले भने, ‘कामका लागि भन्दा पनि बाउले गरेको लगानीका कारण यिनीहरुलाई जिताउँ भनेर भावनामा बगेर भोट दिएका हुन् । त्यसकारणले उनीहरुलाई किन काम गरिनस् भनेर कसैले भनि पनि रहेको छैन ।’

निर्वाचनबाट आएका भन्दा मनोनितले कसरी सक्छन् त राम्रो काम गर्ने भन्ने प्रश्नमा विश्लेषक आचार्यले भने, ‘सभापतिले काम चाहन्छन् । सभापतिले छान्दा काम गर्ने खालको व्यक्ति छनोट गर्ने भए न ? निर्वाचनबाट आएका महामन्त्री भन्दा काम गर्नसक्ने क्षमता भएकालाई मनोनयन गर्नुपर्ने हुन्छ । जो पछिल्लो समय कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्काले आफूलाई त्यही अनुसार स्थापित पनि गरेका छन्, गर्दैन छन् ।’

अल्छी कि अपरिपक्व ?

प्रकाशमान सिंह २०३० सालमै काँग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । ०३६ सालमा सिंहले नेविसङ्घ काठमाडौँ जिल्ला अध्यक्षको जिम्मेवारी समालेका थिए । उनी नेविसङ्घ अध्यक्ष हँुदै ०४५ मा पार्टीको काठमाडौँ सभापतिसमेत भए । त्यसमा पनि दुई पटक जिल्लाको नेतृत्व सम्हालेको अनुभव छ सिंहसँग ।

०५७ सालमा पोखरामा भएको १०औँ  महाधिवेशनबाट सिंह केन्द्रीय सदस्यमा विजयी भए भने ०५८ सालमा काँग्रेस फुट्दा शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति नै हुन भ्याए ।

०६४ मा पार्टी एकीकरण हुँदा उपसभापति नै भए सिंह । ०६७ सालको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जितेका थिए । अहिले उनी केन्द्रीय कार्यसमितिमा छन् ।

सिंहले सरकारी लाभको पदको स्वादसमेत चाखिसके । ०४८ र ०५१ को चुनाव हारेका सिंह ०५३ मा राष्ट्रिय सभामा सदस्य भए । देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण, कृष्णप्रसाद भट्टराईको नेतृत्व जनसङ्ख्या मन्त्री भए उनी । सुशील कोइराला प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भएका सिंह ०७० सालमा संसदीय दलको उपनेता भए । यो पटक देउवासँग संसदीय दलको नेतामा पराजित भए । तर सिंहले पार्टी तथा राष्ट्रिय राजनीतिमा त्यस्तो उल्लेखनीय काम गरेको पाइँदैन ।

वर्तमान महामन्त्री कोइरालाको पनि आफ्नै कहानी छ । पेसागत दक्षताका हिसाबले आँखाका डाक्टर रहेका डा. शशांक ०४६ साल अघिसम्म सक्रिय राजनीतिमा थिएनन् ।

राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौँको टिचिङ र बीपी कोइराला मेमोरियल अस्पतालमा काम गरे । उनी बहुदल आएपछि सक्रिय राजनीतिमा प्रवेश भए । सक्रिय राजनीतिमा निकै पछि आए पनि शशांकले ०४६ को जनआन्दोलनमा भने सहभागिता जनाएका थिए ।

०६२ भदौ १–४ गते सम्पन्न ११औँ महाधिवेशनमा चिकित्सा पेसाबाट राजीनामा दिएर उनी केन्द्रीय सदस्यको उम्मेदवार बने र जिते पनि । यस्तै उनी पार्टीको १२औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा विजय भए ।

१३औँ महाधिवेशन महामन्त्रीमा जित हात पारेका बीपीपुत्र शशांक नेपाली काँग्रेसको पदाधिकारी टिममा कोइराला परिवारका एक मात्र प्रतिनिधि हुन् ।

तर उनको ‘पर्फरमेन्स’ दाजु (अङ्कल केशवका पुत्र) शेखर कोइरालाले पनि रुचाएका छैनन् । यता विश्लेषक आचार्य पनि सिंह र कोइरालामा राजनीतिक गुणको कमी देख्छन् ।

उनले भने, ‘राजनीति गर्छु भनेर मात्र हुने कुरा होइन । यसका लागि केही विषय पनि चाहिन्छ । कार्यकर्तासँग कति नजिक छ । पार्टीको भविष्य कोर्न सक्ने ल्याकत राख्छ कि राख्दैन भन्ने हो ।’

उनले अगाडि थपे, ‘उनीहरु अल्छी नै त होइन । तर पारिवारिक लिगेसीबाट आएकाले त्यति परिपक्व भने छैन । मुख्य कुरा उनीहरुमा नेतृत्व गर्नेसक्ने क्षमता देखिएन ।’

महामन्त्रीलाई विधानले दिएको क्षेत्राधिकार

विधान संशोधन २०७५ अनुसार महामन्त्रीको काम, कर्तव्य र अधिकार देहाय बमोजम हुनेछ ः

(१) नेपाली काँग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ । महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ ।

(२) महाधिवेशन, महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने गराउने जिम्मेवारी महामन्त्रीको हुनेछ ।

(३) दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग पुर्याउने र महत्त्वपूर्ण विषयमा सभापतिलाई जानकारी र सुझाव दिने ।

(४) पार्टीको सङ्गठन संरचना दुरूस्त, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टीसम्बन्धी गतिविधिबारे आवश्यकताअनुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरिवेक्षण गर्ने गराउने ।

(५) पार्टीसम्बन्धी कार्यमा सभापतिको निर्देशन अनुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति बनाउने ।

(६) केन्द्रीय कार्यसमिति, महासमिति र महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने ।

(७) पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने ।

(८) महाधिवेशन, महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने ।

९) पार्टी मातहतका निकायलाई पार्टीको निर्णयको जानकारी गराउने तथा निर्देशन जारी गर्ने । (थप गरिएको)

शशांकको कामप्रति कोइराला परिवार नै असन्तुष्ट

निर्वाचित महामन्त्रीका रूपमा शशांकले गरेको कार्यसम्पादन सन्तोषजनक नदेखिएकै कारण आगामी १४औँ महाधिवेशनमा सभापति पदमा कोइराला परिवारका तर्फबाट शेखर कोइरालाले दाबी गरिरहेका छन् । अघिल्लो पटक कोइराला परिवारको साझा उम्मेदवार भएर महामन्त्रीका प्रत्यासी भएका शशांकले जितेका थिए । अहिलेको केन्द्रीय कार्यसमितिमा सभापतिपछि सबैभन्दा बढी केन्द्रीय सदस्य पनि उनकै साथमा छन् । तर पार्टी सङ्गठन र संसद्मा उनको भूमिका कमजोर देखिन्छ । महामन्त्री पद सङ्गठनको मुटु मानिन्छ । काका गिरिजाप्रसादले त्यही पदको बलमा सङ्गठनलाई देशभर चलायमान मात्र बनाएका थिएनन्, आफूलाई पार्टी सभापति र प्रधानमन्त्री पदसम्म पुग्ने क्षमता निर्माण गरेका थिए । यस्तै सुशील कोइराला पनि महामन्त्री हँुदै पार्टी सभापति र प्रधानमन्त्री बन्न सफल भएका थिए । तर दुवै काकाले जस्तो काम गर्ने शैली शशांकमा देखिएन । सभापति देउवाले गरेका गल्तीलाई रोक्न सक्ने हैसियत देखाए, न पार्टीलाई सही बाटोमा हिँडाउने कुनै विचार नै दिनसके ।

 

 

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...