शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

११ पटक गरी डा. केसीको १ सय ३८ दिन अनसन : यस्तो छ टाइमलाइन

शनिबार, २८ साउन २०७४, १५ : ३६
शनिबार, २८ साउन २०७४

काठमाडौं–मेडिकल शिक्षा सुधारका लागि भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक गोविन्द केसी एघारौं पटक आमरण अनसनमा  छन् । 


२०६९ साल देखि  केसीले निरन्तर ११ पटक अनसन बसेका छन् । उनले अनशन थालेयता ६ वटा सरकार परिवर्तन भइसकेको छ तर उनी आफ्नो माग पूरा नभएको भन्दै अनसन बस्दै आइरहेका छन् । गत साउन ९ गतेबाट उनले थालेको अनसन २० दिन पुगिसक्दा पनि सरकारसँगको बार्तामा सहमति नजुटेका कारण उनी अनसन बसिरहेका छन् । 


चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने, माथेमा आयोगको प्रतिबेदन कार्यान्वयन गर्नुपर्ने, निजी मेडिकल कलेजहरुलाई सम्बन्धन दिन बन्द गर्नुपर्ने, गैरकानुनी ढंगले मेडिकल कलेज खोल्न दिइएको र दिन लागिएको इजाजतपत्र प्रक्रिया बन्द गरी छानबिन गर्नुपर्ने,  विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएकोले कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेर डा केसी अनसन बस्दै आइरहेका छन् । यसपटकको अनसनमा उनका प्रतिनिधी र सरकारबिचको बार्ता अझै पनि सफल हुन सकेको छैन् । 


टाइमलाइनमा हेर्नुहोस डा. केसीको अनसन
पहिलो अनसन 

केसी पहिलो अनसन २०६९ असार २१ देखि २४ गतेसम्म बसेका थिए । त्यतिबेला डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका थिए । उनको पहिलो अनसन ४ दिनको थियो । 
दोश्रो अनसन 
पहिलो अनसन बसेको १ महिना पछि नै २०६९ साउन २७ देखि भदौ १ गतेसम्म अनसन बसेका थिए ।  प्रधानमन्त्री डा. बाबुराम भट्टराई र शिक्षामन्त्री दीनानाथ शर्मा रहेका थिए । उनको दोश्रो अनसन ६ दिनको थियो । 
तेश्रो अनसन 
तेश्रो अनसन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी भएका बेला २०७० पुस २७ देखि माघ १० सम्म १४ दिन अनसन बसेका थिए । 
चौथो अनसन 
तेश्रो अनसन बसेको दुई साता पछि नै केसीले चौथो अनसन शुरु गरेका थिए । २०७० माघ २५ देखि फागुन ३ गतेसम्म ८ दिन अनसन बसेका थिए । 
पाँचौ अनसन
उनी पाँचौ अनसन बस्ने बेला सुशील कोइराला प्रधानमन्त्री थिए । २०७१ फागुन ८ गतेदेखि १९ गतेसम्म उनी अनसन बसेका थिए । जतिबेला शिक्षा मन्त्रीका रुपमा चित्रलेखा यादव रहेकी थिइन् । उनको पाँचौं अनसन १२ दिनको थियो । 
छैटौं अनसन
डा. केसी २०७२ भदौ ७ देखि २० गतेसम्म अनसन बसेका थिए । उनी १४ दिन अनसन बसेका थिए ।  
सातौं अनसन 
छैंटौँ अनसनबाट आफ्नो माग पूरा नभएको भन्दै उनले सातौँ अनसन शूरु गरेका थिए । असोज २ गतेदेखि १२ गतेसम्म ११ दिन उनी अनसन बसेका थिए । 
आठौं अनसन 
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा डा. केसी आठौँ अनसन बसेका थिए । २०७३ असार २६ देखि साउन १० सम्म उनी अनसन बसेका थिए । उनका आठौँ अनसन १५ दिनको थियो । 
नवौैँ अनसन 
डा. केसी २०७३ असोज १० देखि २२ गतेसम्म नवौँ अनसन बसेका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए भने शिक्षा मन्त्री धनीराम पौडेल थिए । उनी यो पटक १२ दिन अनसन बसे । 
दशौँ अनसन 
२०७३ कार्तिक २८ देखि मंसिर १९ सम्म उनी दशौं अनसन बसेका थिए । यो उनको सबैभन्दा लामो अनसन थियो । यसपटक उनी २२ दिन अनसन बसेका थिए । 
एघारौँ अनसन 
गत साउन ९ गतेदेखि उनी एघारौँ पटक आमरण अनसन बसिरहेका छन् । शनिवार सम्म यो पटक उनी २० दिन अनसन बसेका छन् । आजका दिनसम्म उनी १ सय ३८ दिन आमरण अनसन बसेका छन् । 
उनको अनसनका कारण त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल लगायतका चिकित्सकहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका छन् । जसका कारण बिरामीहरु स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप