केन्द्रीय संस्करण
समाचार

साझा यातायात : जब ट्राफिक कारवाहीमै वार्षिक १ करोड ४४ लाख तिरिन्छ भने ....

person explore access_timeसाउन २५, २०७६ chat_bubble_outline1

‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपेको टिकट काट्दछ.... ।’

यो गीत नसुन्ने र नगाउने नेपालीहरु सायदै होलान् । यो गीत हरिवंश आचार्यले धेरै पहिले गाएका थिए । यद्यपि यो गीत आज पनि उत्तिकै लोकप्रिय नै छ । नेपालीहरुको मन, मस्तिष्क र जिब्रोमा आचार्यले गाएको त्यही गीत झुण्डिएको छ । कारण गीतको लयले भन्दा पनि गीतको शब्दले छोएको छ । साझा बसमा जो पनि चढ्छ ... गीतले साझा बसको विरासत र लोकप्रियतालाई बोकेको छ ।

अहिले समय फेरिएको छ । दुई रुपैयाँको टिकट काटेर साझा बसमा चढ्न नपाए पनि अहिले विद्यार्थीले १० रुपैयाँ र अन्यले औसत १५ रुपैयाँ तिरेर साझा बसमा यात्रा गर्न पाउँछन् ।

***

चिटिक्क परेको निलो र लामो बस, धनी देखि गरिब, सहरदेखि गाउँ बस्ती र सस्तो भाडादरमा यातायात सेवा प्रदान गर्ने साझा बसलाई सबै नेपालीहरुले मन पराए । तर, व्यवस्थापकीय कमजोरीको कारण साझा यातायात २०५८ सालमा आएर बन्द भयो ।

तस्विर : साझा यातायात

लामो समय सेवा सञ्चालन गर्न नसकेको साझा यातायातले २०७० सालबाट भने फेरि पनि काठमाडौँ उपत्यकाबाट आफ्नो सेवालाई सुचारु गर्यो नयाँ सुविधासम्पन्न बस भित्र्याएर । साझा यातायातले नेपाल सरकारसँग मिलेर उपत्यकामा धेरै सीट क्षमता भएको हरियो रङको लामो बस ल्याएर उपत्यकामा फेरि पनि आफ्नो उपस्थिति बलियो बनायो ।

नयाँ बस ल्याएर सेवा सुचार गरेपछि साझा यातायातले पहिलेको जस्तै माया, सद्भाव र उत्साह पाइरहेको छ । साझा यातयातमा अधिकांश समय यात्रु पनि खचाखच नै देखिन्छन् । तर, साझाको त्यो वर्षौँ वर्षदेखिको विरासत जोगाउन भने पुनर्जीवन पाएको आजको साझालाई पनि हम्मेहम्मे परेको छ ।

उपत्यकामा सञ्चालित अधिकांश बसहरु नाफामा चलिरहँदा साझा यातायात भने वार्षिक सरदर एक करोडको घाटामा सञ्चालन भइरहेको छ ।

***

लामो समयसम्मको बन्दपछिको पुनर्जीवन र कमजोर व्यवस्थापनले फेरि पनि साझाको जग डग्मगाउन थालिसकेको छ । पुनस्र्थापना भएको ५ वर्ष पनि नहुँदै साझा वार्षिक करोडौँको घाटामा चल्न थालेको छ ।

आर्थिक वर्ष २०७०/७१ मा पुनः सेवा सुचारु गरेको साझा यातयात आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा करिब साढे चार करोड घाटामा पुगिसकेको छ । साझाको १२ औं वार्षिक साधारण सभाले सार्वजनिक गरेको प्रतिवेदनलाई हेर्ने हो भने, साझा यातायात यतिबेला ४ करोड ५९ लाख घाटामा देखिन्छ ।

गत आर्थिक वर्षहरु ०७१/७२ र ०७२/७३ मा सामान्य नाफामा गएको साझा यातायात त्यसपछि भने निरन्तर घाटामा चलिरहेको छ । जब साझा यातायातले नयाँ बस थप्यो, त्यसपछि भने साझा यातायात झन् झन् घाटामा गइइरहेको छ ।

आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा साझाले पुनस्र्थापनाको ५ वर्ष पूरा गरिसकेको छ । तर ५ वर्षको अवधि पूरा गरिसकेको साझाको घाटा पनि करिब ५ करोडकै हाराहारीमा पुगिसकेको छ ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार स्थापना कालको २०७०/७१ मै साझा यातायात ३ करोड ६९ लाख घाटामा गएको थियो । आर्थिक वर्ष २०७१/७२ मा साझाले ६२ लाख ७८ हजार रुपैयाँ र आर्थिक वर्ष २०७२/७३ मा १ करोड ९४ लाख नाफा आर्जन गरेको थियो । त्यसपछि भने साझा यातायात निरन्तर घाटामा गइरहेको छ ।

साझा यातायातको घाटा चुलिँदै जाँदा संस्थाप्रति फेरि पनि सर्वसाधारणमा पुनः शंका जन्माएको छ । सरकारले ‘ज्वाइँ’ जसरी पालेको साझाको भविष्यमाथि समेत प्रश्न उठ्न थालिसकेको छ ।

यस्तो छ साझाको सेयर संरचना

सरकारको ठूलो लगानी साझा यातायातमा परेको छ । संस्थाको १२औं साधारण सभाको प्रतिवेदन अनुसार कुल लगानी ४२ करोड ८३ लाख ४६ हजार ५ सय) को करिब ९९ प्रतिशत लगानी सरकार एक्लैको छ । त्यसपछि बाँकी रहेको एक प्रतिशत सेयरमा भने सर्वसाधरण तथा अन्य व्यक्तिहरुको लगानी छ ।

जसमा नेपाल सरकार र विभिन्न ६३ वटा मन्त्रालयको मात्र २५ करोड माथि अर्थात् ६३.०४ प्रतिशतको लगानी छ । त्यस पछि काठमाडौं महानगरपालिकाको १५ करोड अर्थात् ३५.०२ प्रतिशत, ललितपुर महानगरपालिकाको एक करोड (२.३३ प्रतिशत), गोदावरी नगरपालिकाको १० लाख (०.२३ प्रतिशत) र महालक्ष्मी नगरपालिकाको १५ लाख (०.३५ प्रतिशत) सेयर रहेको छ । जुन साझाको १२ औं साधारण सभाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, साझा यातायातमा विभिन्न ७ संघ संस्था सहित १५४ जना सर्वसाधारणको समेत सेयर लगानी रहेको छ । ११ लाख १३ हजार ३ सय ७ अर्थात् कुल शेयरको ०.२६ प्रतिशत शेयर लगानी संस्थानहरुले गरेका छन् भने, बाँकी ३२ लाख ५६ हजार बराबरको ०.७६ प्रतिशतको सेयर सर्वसाधारणको रहेको छ । यसले संस्थाको बहुसंख्यक सेयर सरकारकै रहेको पुष्टि गर्छ ।


तुलाधरले अगाडि थपे, ‘अन्तर्राष्ट्रिय बजार हेर्ने हो भने पनि सार्वजनिक सेवा प्रदायक संस्थाहरु नाफामा गएका उदाहरण छैनन् ।’ सार्वजनिक यातायातको कुरा गर्ने हो भने भारतका सबै सार्वजनिक यातायात घाटामा छन् । विश्वलाई हेर्ने हो भने पनि हङकङबाहेक अन्य सबैजसो देशको सार्वजनिक यातायात घाटामा चलिरहेको छ ।’


किन जाँदै छ त साझा घाटामा ? कारण के हो ?

ठूलो सरकारी लगानी रहेको सार्वजनिक संस्था फेरि पनि घाटामा चल्न थालेको छ । संस्थान घाटामा जानुको कारण खोज्दा समस्या व्यवस्थापन मै देखिन्छ । संस्थाको सञ्चालन देखि व्यवस्थापन र कर्मचारीतन्त्रकै कारण साझा यातायात फेरि पनि घाटाको बाटोमा गएको छ र विस्तारै विलिन हुने खतरा बढेको छ । पहिलेको साझाले जुन नियति भोग्यो, अहिलेको साझा यातायात पनि त्यही बाटोमा प्रवेश गरिसकेको छ । साझाको पछिल्लो आर्थिक अवस्था र गतिविधि हेर्दा पनि साझा यातायात फेरि पनि पुरानै अवस्थामा पुगेर विलिन हुने त होइन भन्ने आशंका जन्मन थालेको छ ।

खचाखच यात्रु भरिने र यात्रुको पहिलो रोजाई बनेको साझा आखिर किन घाटामा जाँदै छ ? निजी क्षेत्रले प्यासेन्जर नपाएर रिक्तो गाडी हल्लाउँदै हिँड्दा पनि नाफामा जाने तर खचाखच यात्रु बोकेर पनि साझा यातायात कसरी घाटामा ? प्रश्न स्वाभाविक छ । धेरैले सोच्ने एउटै विषय हो साझामा ‘गडबड घोटाला’ भएकै छ । चालक र कन्डक्टर, व्यवस्थापन, मर्मत, दैनिक खर्च, इन्धन आदिमा केही न केही त गडबड भएकै छ ।

साझाले सेवा दिएकाले घाटामा : कार्यकारी निर्देशक तुलाधर

साझा यातायात किन घाटामा जाँदै छ ? भन्ने प्रश्नमा साझाका कार्यकारी निर्देशक भुषण तुलाधर सार्वजनिक संस्थान भएकाले सेवा भाव राख्दा नाफामा जान नसकिएको दाबी गर्छन् ।

रातोपाटीसँगको कुराकानीमा कार्यकारी निर्देशक तुलाधरले भने, ‘साझा विशुद्ध व्यवसायिक संस्था होइन । यसले सामाजिक उत्तरदायित्व बहन गर्दै सेवा प्रवाह गरिरहेको छ । स्वभाविकरुपमा सेवामुखी संस्था विरलै मात्र नाफामा जान्छन् । सार्वजनिक यातायात नाफा भन्दा पनि सेवाको भावले परिचालित भएका हुन्छन् । जुन अन्तर्राष्ट्रिय प्रयोग पनि हो ।’

तुलाधरले अगाडि थपे, ‘अन्तर्राष्ट्रिय बजार हेर्ने हो भने पनि सार्वजनिक सेवा प्रदायक संस्थाहरु नाफामा गएका उदाहरण छैनन् ।’ सार्वजनिक यातायातको कुरा गर्ने हो भने भारतका सबै सार्वजनिक यातायात घाटामा छन् । विश्वलाई हेर्ने हो भने पनि हङकङबाहेक अन्य सबैजसो देशको सार्वजनिक यातायात घाटामा चलिरहेको छ ।’

तुलाधरका अनुसार अहिले साझा घाटामा जानुको प्रमुख कारण भनेको सामाजिक उत्तरदायित्वमा जिम्मेवार हुनु नै हो । साझा यातायातले सामाजिक उत्तरदायित्व अन्तरगत वृद्धवृद्धा तथा अपाङ्गलाई प्रदान गरिने निःशुल्क सेवा, विद्यार्थीलाई विशेष छुट, बस चलाउने चालक, सहचालक र गाडीको मेन्टिनेन्स (मर्मत खर्च) तथा इन्धन खर्च र सामान्य संस्थागत खर्च नै हो । यसले कम्पनीको आयमा प्रतिकुल प्रभाव पारिरहेको तुलाधारको भनाई छ ।

यात्रुहरु खचाखच भएपनि साझाले निर्भाह गर्दै आएको सामाजिक उत्तरदायित्व र आरक्षणको कारण कम्पनीको आम्दानी बढ्न नसकेको साझाका प्रबन्ध निर्देशक महेन्द्र राज पाण्डे दाबी गर्छन् ।

पाण्डे भन्छन्, ‘संस्थाले कहिलेपनि घाटामा जाने गरेर योजना बनाउँदैन । तर आम्दानी भन्दा खर्च बढी हुँदा घाटामा जानु स्वभाविक नै हो । साझाको पनि त्यस्तै भएको छ ।


अहिले सञ्चालनमा आएको साझा यातायात जस्तो ठूलो विद्युतीय बस ल्याउने हो भने एउटै बसको मूल्य १ करोड ६० लाखको हाराहारीमा पुग्छ । यो बसको ब्याट्रीलाई मात्रै करिब ६० लाख पर्ने तुलाधर बताउँछन् ।


 

४० प्रतिशत आम्दानी इन्धनमै खर्च

अहिले साझा यातायातले दैनिक ७ हजारको हाराहारीमा मात्रै कमाउने गरेको छ । कमाईको ४० प्रतिशत अर्थात् २ हजार ८ सयको हाराहारीमा भने डिजेलकै लागि खर्च हुने गरेको छ । अहिले ल्याएको साझा यातायातले प्रति लिटर २ दशमलब ५ किलोमिटरमात्रै माइलेज दिने गरेको छ । यो त बस नयाँ हुँदाको इन्धन खर्च हो । जब बस पुरानो हुँदै जान्छ, यसले दिने माइलेज पनि कम हुन थाल्छ र इन्धनकै लागि करिब ५० प्रतिशतसम्म खर्च गर्नुपर्ने अवस्था आउँछ । यहाँ प्रश्न उठ्छ – के साझाले चयन गरेको बस काठमाडौँ उपत्यकाका लागि अनुपयुक्त त छैन ?

साझाका प्रबन्ध निर्देशक पाण्डेका अनुसार साझा यातायात आफैमा सेवामुखी संस्था हो । सेवामुखी संस्था भएकै कारण शिक्षा, स्वास्थ्य तथा विविध सेवा दिने अन्य संस्थानहरु पनि फाइदामा गएका छैनन् । उनले भने, ‘अधिकांश संस्थाहरु घाटामा नै छन् । यसो भनिरहँदा मैले संस्था घाटामा जानुपर्छ भन्न खोजेको होइन । हामी साझालाई माथि उकास्ने प्रयत्नमा नै छौँ ।’

साझा घाटामा जानुको कारण सोध्दा साझा प्रशासनले जहिले पनि सेवामुखी संस्थान भएकाले साझा घाटामा गइरहेको बताउने गरेको छ । संस्थाका जिम्मेवार व्यक्तिहरु सार्वजनिक संस्थान, त्यसमाथि सामाजिक सेवाभाव र संस्थागत प्रावधान र व्यवधानका कारण साझा फाइदामा जान नसकेको बताउँछन् । यद्यपि, संस्थासँग सामाजिक उत्तरदायित्व वहन गर्दा वास्तवमा कति लागत लाग्छ भन्ने यकिन तथ्याङ्क छैन ।

घाटाको कारोवार कहिले सम्म ?

निरन्तर घाटामा गएर त सेवा दिन सकिने कुरा पनि भएन । यसको जिम्मेवारी कसले कसरी लिने ? अनि निरन्तर घाटामा गएर साझा यातायात कसरी सञ्चालन गर्ने ? संस्थाका कार्यकारी निर्देशक भूषण तुलाधर विद्युतीय बस नल्याएसम्म साझा यातायात नाफामा जान नसक्ने दाबी गर्छन् ।

‘अहिले साझाको आम्दानीको करिब ४० प्रतिशत खर्च त इन्धनमै जान्छ । त्यस पछि विविध प्रशासनिक खर्च, कर्मचारी, गाडी मेन्टेनेन्स लगायतको खर्च बढ्दा साझा नाफामा जान नसकेको हो । अब साझा फाईदामा जाने एउटै विकल्प भनेको विद्युतीय बस मात्रै हो । जबसम्म विद्युतीय बस आउँदैन, तबसम्म साझा नाफामा जान सक्दैन’ तुलाधरले रातोपाटीसँगको कुराकानीमा भने ।

‘अहिले साझा यातायातले दैनिक आम्दानीको ४० प्रतिशत रकम यन्धनकै लागि खर्च गर्ने गरेको छ । तर जब विद्युतीय बस आउँछ, त्यसपछि यस्तो खर्च १० प्रतिशतमा सीमित हुन्छ । कुल आम्दानीको ९० प्रतिशत बचाउन सकिन्छ ’ तुलाधरले रातोपाटीलाई बताए ।

विद्युतीय बसकै पर्छ करिब १ करोड ७० लाख

अहिले सञ्चालनमा आएको साझा यातायात जस्तो ठूलो विद्युतीय बस ल्याउने हो भने एउटै बसको मूल्य १ करोड ६० लाखको हाराहारीमा पुग्छ । यो बसको ब्याट्रीलाई मात्रै करिब ६० लाख पर्ने तुलाधर बताउँछन् ।

विद्युतीय बसमा अन्य मर्मत खर्च अत्यन्तै कम हुने भएकाले यसले आम्दानीमा वृद्धि गराउने उनको दाबी छ ।

अहिले मोबाइलमा प्रयोग हुने लिथियम आयोन ब्याट्री नै नयाँ आउने बसमा प्रयोग हुन्छ । यो ब्याट्रीको ग्यारेन्टी नै ८ वर्ष हुन्छ । तर यो ब्याट्री कम्तीमा पनि १० वर्ष चल्ने तुलाधरको दाबी छ ।

यसरी हेर्दा इन्धनमा हुने खर्चमध्ये ७० प्रतिशत बचाउन सकिने उनको भनाई छ ।

तुलाधरले अगाडि थपे, ‘हामीले भारतमा विद्युतीय बस कसरी चलेको छ, सो को अध्ययन गरेर आएका छौँ । जुन व्यवहारिक पनि देखियो । पेट्रोलियम बसको तुलनामा विद्युतीय बसले झण्डै ७० प्रतिशत खर्च बचत गर्ने देखियो । जुन हाम्रो लागि उपयोगी पनि छ । अहिले हामी यही बस भित्र्याउने प्रक्रियामा छौँ । सम्भवत अब छिटै साझाले विद्युतीय बस पाउने छ ।’

तर विद्युतीय बस आएपनि एउटै बसको मूल्य १ करोड ६० लाख रुपैयाँभन्दा बढी पर्छ । यदि नेपालमा हाल चलेको बैंकको ब्याजलाई नै आधार मान्ने हो भने मासिक मात्रै १ लाख ३३ हजार रुपैयाँ हुन आउँछ । एउटै बसले मासिक १ लाख ३३ हजार रुपैयाँ ब्याज तिर्नुपर्ने अवस्था आउने हो भने चालक, सहचालक र अन्य कर्मचारीको खर्चका लागि पनि एउटा विद्युतीय बसले दैनिक १२ हजारको हाराहारीमा कमाउनु पर्ने हुन्छ । तर अहिले साझा यातायातले दैनिक ७ हजारको हाराहारीमा कमाई गरिरहँदा अब विद्युतीय बस आउँदा दैनिक १२ हजारको हाराहारीमा कमाउन सक्ने अवस्था पनि देखिँदैन । त्यसकारण साझाले नयाँ बस ल्याएपनि दैनिक प्रशासनिक र मर्मत तथा कर्मचारीको तलब भत्तामा मात्रै खर्च गर्नसक्ने क्षमता राख्दछ । बस किन्दा लिएको रकमको रिकभर गर्न सक्ने क्षमता भने राख्न सक्दैन । यसकारण विभिन्न सरकारी निकायहरुले गरेको लगानी भने फिर्ता नहुने निश्चित नै हुन्छ ।

ट्राफिककारवाहीमैदैनिक४०हजारखर्च !

साझा यातायातले केही समयअगाडि सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्कमा दैनिक ४० हजार रुपैयाँ ट्राफिक कारवाहीकै नाममा तिरेको उल्लेख गरेको छ । ७१ वटा बसमध्ये कम्तीमा आधा बस प्रत्येक दिन ट्राफिक कारवाहीमा पर्ने गरेको तथ्याङ्क देखिएको थियो । दैनिक ४० हजारको दरले हिसाब गर्दा मासिक १२ लाख र वार्षिक १ करोड ४४ लाख त साझा यातायातले ट्राफिक कारवाहीकै नाममा बुझाउने गरेको रिपोर्ट सार्वजनिक भयो । जुन रकम आर्थिक वर्ष २०७४/७५ मा भएको साझा यातायातको कुल घाटाको करिब ३१ प्रतिशत हुन आउँछ ।

ट्राफिककारवाहीकोशुल्कअबचालकलाई

ट्राफिक कारवाहीकै नाममा वार्षिक १ करोड ४४ लाख रुपैयाँ साझा यातायातले ट्राफिक जरिवानामा बुझाउनु पर्ने भएपछि आर्थिक वर्ष २०७५/७६ बाट भने चालकको कारणले जरिवाना तिर्नुपर्ने भएमा त्यसको जिम्मेवार स्वहेम चालकलाई नै बनाउने गरेको तुलाधर बताउँछन् । कहिलेकाहीँ मेसिनरी वा अन्य प्राविधिक कारणले पनि ट्राफिक जरिवाना तिर्नुपर्ने अवस्था आएको भन्दै चालकको लापरवाही वा अन्य कारणले जरिवाना तिर्नुपर्ने भएमा त्यो चालकले नै तिर्नुपर्ने वा चालकको तलबबाट कट्टा हुने तुलाधरले बताए । साझाले यो व्यवस्था गरेसँगै वार्षिक करिब १ करोड बचत हुने बताएको छ ।

यस्तोसाझाकोइतिहासउतारचढाव

सहकारी ऐन २०२६ अन्तरगत साझा यातायात सहकारी संस्थाको रुपमा विक्रम सम्वत् २०१८ साल चैत्र ३ गते स्थापना भएको थियो । ‘साझा’ नाम मात्रको साझा नभएर नेपाल सरकार, विभिन्न मन्त्रालय, निकाय, संघ–संस्था र सर्वसाधारण जनताको समेत सेयर संकलन गरेर स्थापना गरिएको संस्था हो ।

सहज र सर्वसुलभ यातायात सेवा प्रदान गर्ने उद्देश्यले स्थापित साझाले २०१९ साउन १ गतेदेखि नै काठमाडौंबाट आफ्नो यातायात सेवा शुरु गरेको थियो । उपत्यका, जिल्ला सदरमुकाम हुँदै छिमेकी देश भारत–चीन सम्मको यात्रालाई साझाले आफ्नो गन्तव्य बनायो । तर त्यो सफलताले निरन्तरता पाइराख्न सकेन । सरकार, राजनीतिक दल, संस्थाका कर्मचारीका कार्यशैली र लापरवाहीका कारण अन्ततः साझा यातायात २०५८ सालमा बन्द हुन पुग्यो ।

साझाको विघटन पछि यातायात क्षेत्रमा निजी क्षेत्रको दबदबा सुरु भयो । सर्वसाधारण जनताहरु साझाको सस्तो र सुलभ सेवाबाट बञ्चित हुन पुगे । २०५८ मा विघटनमा परेको साझा एक वर्ष पछि २०५९ मा अदालतको आदेशले फुकुवा भयो । तर यातायात सेवा भने सुचारु हुन सकेन । २०६०/६१ मा फेरि सेवा सुरु भएपनि ०६४ मा गएर साझाको यातायात सेवा पूर्णरुपमा अवरुद्ध हुन पुगेको थियो । पछि ०७०/७१ मा आएर साझाले पुनर्जीवन पायो । यातायात सेवा पुनः संचालनकै लागि भनेर सरकारसँग विशेष रुट परमिट माग ग¥यो । सरकारले पनि साझालाई उसले भने जति र छानीछानी रुट दियो । उपत्यकाका राम्रा राम्रा रुटमा साझाले तत्कालै १६ वटा बस सञ्चालनमा ल्यायो । त्यसपछि क्रमशः बिस्तार गर्दै साझाले हाल उपत्यका सहित दुई बाहिरी क्षेत्र बाग्लुङ्ग र बुटवलमा बस सेवा विस्तार गरेको छ । १६ वटा बसबाट पुनः यातायात सेवा सुचारु गरेको साझाले हाल ७१ वटा बस पु¥याएको छ ।

 

कमेन्ट

  1. Aug. 10, 2019, 6:38 p.m. पुण्य प्रसाद पौड्याल
    टिकट वेच्ने कन्डक्टरले यात्रु चढ़ने ढोकामा वसेर चढ़न लग्दा नै टिकट दिनु पर्छ, अिहले अगाडी वसेर पैसा लिने टिकट नंदिनी गरेका छन । अनुगमन कर्ताले टिकट र पैसा दिए लिएकेा लुकेर भिडियोवाट गर्नु पर्छ ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...