शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग तयार, अरू के–के हुँदैछ काम ?

शुक्रबार, २४ साउन २०७६, ११ : ५०
शुक्रबार, २४ साउन २०७६

४० वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति भएको छ । विगतमा सामान्य मर्मतबाटै उडान हुने गरे पनि अहिले भने पुरानो कालोपत्रे भत्काएर नयाँ कालोपत्र गरिएको छ ।

गत चैत १८ गतेबाट सुरु भएको धावनमार्ग मर्मतको काम समयमै (३ महिना) सम्पन्न भई सञ्चालनमा आएको हो ।

नेपालमा कुनै आयोजना सुरु भएपछि समयमै पूरा नहुने परम्पराले राम्रैसँग जरो गाडेको छ । यस्तो अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम समयमै पूरा हुनु एक उदाहरण हो ।

ठूला ठूला आयोजनादेखि साना साना आयोजनाको जिम्मा लिएकाहरूले अनेकन बहानामा कामलाई पर धकलिरहने र कमिसनको खेल खेल्ने गरेका उदाहरण नेपालमा थुप्रै छन् ।

सरकारी काम घरी बजेट अभाव, घरी ठेकेदारको बदमासी, घरी कामदारको लापरबाही त घरी सम्बन्धित पक्षको असहयोग भन्दै टार्ने प्रवृत्तिमा यस्ता कामले सरकारी कामको इज्जत ढाक्ने गरेका छन् ।

नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण कार्य समयमै सम्पन्न गरेर अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण, निर्माण कम्पनी र विमानस्थल व्यवस्थापनले राम्रै प्रशंसा कमाइरहेका छन् ।

धावनमार्ग मर्मतको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी ‘चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन’ले सरकारको अपेक्षाअनुसार तोकेको समयमै काम सम्पन्न गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए ।

उनले भने, ‘प्रधानमन्त्री अनि प्रधानमन्त्री आफैले सम्हाल्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्राधिकरण अनि विमानस्थल व्यवस्थापन लगायतको अथक प्रयास र मिहिनेतले काम सम्पन्न भएको छ ।’

विमानस्थल मर्मतको कार्य राष्ट्रिय आवश्यकता भएको र यसमा सबै निकायले साथ दिँदा समयमै मर्मत कार्यले पूर्णता पाएको महाप्रबन्धक क्षेत्रीले बताए । विमानस्थलको धावन मार्गको स्तारोन्नतिको काम सम्पन्न भएसँगै हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको एउटा सपना पूरा गर्न सफल भएको उनले बताए ।

निर्माण कार्यमा संलग्न सबै निकायको दृढ इच्छाशक्तिका कारण तीन महिना (९० दिन)को समय लिएर निर्माण कार्य थालेको चिनियाँ कम्पनीले समयमै काम पूरा गर्न सफल भएको महाप्रबन्धक क्षेत्रीले बताए । हाल विमानस्थल २१ घण्टा नै सञ्चालनमा आउन थालिसकेको छ ।

४० वर्षपछि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको मर्मतको काम कोटेश्वरतर्फको ‘जिरो टु’देखि भएको छ । विगतमा सामान्य मर्मतको काम हुँदै आए पनि अहिले भने धावनमार्गको कालोपत्रे पूर्णरूपमा परिवर्तन गरिएको छ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमास्थल जहाँ हरेक दिनजसो ५ सयको हाराहारीमा साना ठूला उडान हुने गरेको छ । यस्तोमा १० घण्टा विमानस्थल बन्द गराएर काम गर्नु सहज पक्कै थिएन ।

धावन मार्ग निर्माण त्यति सहज नभएको त्यसमा पनि समयमै काम सम्पन्न गर्नु चानचुन थिएन । १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) विमानस्थल बन्द हुँदा विमानस्थलको चाप व्यवस्थापन पक्कै सहज थिएन । वैकल्पिक विमानस्थल नहुँदा योबाहेक अन्य विकल्प पनि थिएन महाप्रबन्धक क्षेत्रीले भने, रातभरी काम हुन्थ्यो तर कसैले पत्तै पाउँदैन थियो ।

वर्षायाम लागेपछि विमानस्थलमा धेरै समस्या आउने गरेकाले पनि स्तारोन्नति छिटै गर्नुपर्ने बाध्यता थियो । कहिले खाल्डो पर्ने कहिले पिच उक्किने त कहिले ढिस्को जस्तो निस्कने समस्याले विमान उडाउन र अवतरणमा धेरै समस्या हुँदै आएको थियो । अझ आन्तरिक उडान भर्ने विमानहरू त अवतरण गर्दा हल्लिने समस्याले यात्रु त्रासित थिए । अब यो समस्या हटेको छ ।

गत दुई वर्षको अवस्थालाई हेर्ने हो भने एक दिनमा चार पटकसम्म पनि धावन मार्ग विग्रिएका घटना छन् । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार धावन मार्गको पूर्ण मर्मतबाहेक अन्य विकल्प नै थिएन । जसका लागि केही समय विमानस्थल बन्द गराएरै भए पनि स्तारोन्नति गर्ने निर्णय भएको थियो ।

निर्माणकार्यको जिम्मा लिएको निर्माण कम्पनीले ३ हजार ५० मिटर लामो धावनमार्गमा आवश्यकता अनुसार नयाँ कालोपत्र राखेको छ । कालोपत्रे २० देखि २५ सेन्टिमिटरसम्म हालिएको महाप्रबन्धक क्षेत्रीले बताए ।

मूल्य अभिवृद्धि करसहित ४ अर्ब २७ करोडको लागतमा धावनमार्ग स्तरोन्नतिको काम भएको छ । सन् १९७५ मा निर्माण गरिएको विमानस्थलको धावनमार्ग यसअघि सामान्य मर्मत मात्रै हुँदै आएकोमा यस पटक भने पुरानो कालोपत्रे उक्काएर नयाँ कालोपत्रे गरिएको छ ।

तत्कालीन पर्यटनमन्त्री, नेपाल वायुसेवा निगमका पदाधिकारी र विमानस्थलका महाप्रवन्धकको टोलीले विमानस्थलको धावन मार्ग स्तरोन्नति गर्ने निर्णय गरेबमोजिम काम भएको हो । अब अन्य बाँकी काम पनि छिट्टै हुने क्षेत्रीले बताए ।

विमानस्थलको अन्य छुटफुट कामका लागि भाद्र १५ देखि पौस १५ सम्म पुन ७ घण्टा धावनमार्ग बन्द हुने भएको छ । राति ११ः३० देखि बिहान ६ः३० बजेसम्म धावनमार्ग बन्द गरेर ट्याक्सी रोड र लिङ्क रोड बन्ने भएको छ ।

विमानस्थलको धावन मार्ग र ट्याक्सी मार्ग जोड्ने लिङ्क रोडको निर्माण कार्य पनि समयमै सम्पन्न हुने विश्वास विमानस्थलका महाप्रबन्धक क्षेत्रीको छ ।

त्यसैगरी धावन मार्गको सेन्टर लाइन (बीच भागमा) लाइट राख्ने काम दोस्रो चरणमा हुँदैछ ।

विमानस्थलका महाप्रबन्धक क्षेत्रीले विमानस्थलको बाहिरी भागमा केनोपी राख्ने योजना भएको र उक्त कार्यलाई भने समय लाग्न सक्ने बताए । त्यसपछि भने यात्रुलाई आवत जावत गर्न अझ सहज हुने विश्वास उनको छ ।

त्यसैगरी ट्याक्सी पार्किङ स्थलसम्म जानका लागि लिफ्टको व्यवस्था गर्ने भनिए पनि काम भने हुन सकेको छैन । रसुवा केडी जोइन्ट भेन्चरले ट्याक्सी पार्क स्थल भाडामा लिएर निर्माणको जिम्मा लिएको छ । तर ट्याक्सी पार्क स्थल बने पनि अन्य काम हुन सकेको छैन । निर्माण कार्य छिटो सम्पन्न गर्न बारम्बार दबाब दिइरहेको महाप्रबन्धक क्षेत्री बताउँछन् ।

विमानस्थलमा यात्रु आगमनका लागि भिन्दै मार्गको निर्माण कार्य पनि भइरहेको छ, त्यसैगरी ब्यागेज लिन निकै समस्या झेल्दै आएका यात्रुहरूले अब त्यो समस्याबाट छुट्कारा पाउने दाबी क्षेत्रीको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल करिब ८५ अन्तर्राष्ट्रिय उडान हुने गरेको र घरेलु उडानहरू ३ सयको हाराहारीमा हुने गरेको छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिसकेको छ । भ्रमण वर्षमा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।

बाँकी काम पनि समयमै सम्पन्न भएमा हाल २१ घण्टा सञ्चालनमा अएको विमानस्थल आगामी नेपाल भ्रमण वर्ष २०२० सम्म २४सै घण्टा सञ्चालनमा आउनेमा विश्वस्त हुन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप