बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीले किन लुकायो र्‍याल परीक्षणको रिपोर्ट ?

मृतकका काका बलराम भन्छन्, ‘हत्यारा किशोरीलाल र दीपा नै हुन्’
बिहीबार, २३ साउन २०७६, १३ : ३६

बाँके, नेपालगञ्जको रानी तलाउबाट पूर्व एमपी स्कुलतर्फ जाने बाटोमा शान्तिमार्ग भन्ने बस्ती छ । नेपालगञ्ज नगारपालिकाको वडा नम्बर ८ को शान्तिमार्गमा सबैको पक्की घर छन् । तर त्यही शान्तिमार्गको ५ सय मिटरभित्र टिनको छाना भएको एउटा सानो घर छ । यो घर बलराम हेमकारको हो ।

कुनै समयका चर्चित अधिवक्ता, जिल्ला बार एसोसिएसनमा काम गरिसकेका बलराम प्राध्यपकसमेत हुन् । यद्यपि यतिबेला उनी ज्योतिषको काम गरिरहेका छन् ।

यी व्यक्ति हुन् नेपालगञ्जको चर्चित हेमकार परिवार हत्याकाण्डका सम्बन्धमा किटानी जाहेरी दिने व्यक्ति अर्थात् बलराम हेमकार ।

उमेरले उनी यतिबेला ६५ वर्षका भए । कपाल र दाह्री फुलेर सेतै भए पनि बलराम अझै पनि आफ्ना आमा गुलाबदेवी, दाजु जगदेव हेमकार, भाउजू सीतादेवी हेमकार, भतिज दीपक हेमकार र घरमा काम गर्ने १५ वर्षीय किशोर राशनिश्चर चौधरीको हत्यारालाई कानुनी कठघरामा ल्याएर कारबाही गराउने भन्दै लागिपरेका छन् ।

नेपालगञ्ज सदरलाइनको १४ वर्ष पुरानो हेमकार परिवार हत्याकाण्डका दोषी दीपक हेमकारको आफ्नै ससुरा किशोरीलाल सोनी र श्रीमती दीपा सोनी भएको भन्दै घटनाको ठीक दुई वर्षपछि अर्थात् २०६४ साल फागुन २४ गते मृतक दीपक हेमकारका काका बलराम हेमकारले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

सुरुमा आफै जिल्ला प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिन खोजे पनि प्रहरीले लिन नमानेकाले उनले हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए । त्यही किटानी जाहेरीमार्फत प्रहरीले किशोरीलाल सोनी र दीपा सानीविरुद्ध कर्तव्य ज्यानको अनुसन्धान गर्दै मुद्दा दायर गरेको थियो ।

पहिले २०६४ साल फागुन २४ गते मृतक दीपक हेमकारका काका तथा जगदेव हेमकारका भाइ बलराम हेमकारले दिएको यो जाहेरी हेरौँ ।

बलरामको परिचय प्राध्यापक, अधिवक्तासँगै ज्योतिषी पनि हो । बलराम यी तीनवटा परिचयसँगै नेपालगञ्जको हेमकार परिवार हत्याकाण्डमा ५ आफन्त गुमाएका व्यक्ति पनि हुन् । आफन्तको हत्या गर्ने अपराधीमाथि कानुनी कारबाहीका लागि निरन्तर लडिरहने परिपक्व व्यक्तित्व पनि हुन् उनी । महेन्द्र बहुमुखी क्याम्पस बाँके र बबही बहुमुखी क्याम्पस बर्दियाका पूर्वप्राध्यापक समेत रहेका यी वृद्ध अचेल घरमै बसिरहेका हुन्छन् । रातोपाटीको टिम केही समयअगाडि नेपालगञ्ज पुग्दा उनी घरमै भेटिए ।

२०६२ फागुन २३ गते जिल्ला बाँके जिल्ला साविकको नेपालगञ्ज नगरपालिका वडा नम्बर १५ सदरलाइनमा आफ्नै घरमा जाहेरवालाको आमा गुलाबदेवी हेमकार, दाजु जगदेव हेमकार, भाउजू सीतादेवी हेमकार, भतिज दीपक हेमकार र घरमा काम गर्ने रामशनिश्वर खुना (चौधरी)को हत्या भएको थियो ।

हत्यासँगै तत्कालीन समयमै करिब २९ लाख रुपैयाँको सुन, चाँदी तथा अन्य धनमालसमेत लुटिएको थियो । हत्याकाण्डबाट पारिवारिक पीडामा परेका बलरामले अपराधीलाई न्यायको कठघरामा ल्याउनका लागि १३ वर्षसम्म निरन्तर सङ्घर्ष गरेको रातोपाटीलाई बताए । १३ वर्षमा अभियुक्त पक्राउ गरे पनि त्यसको करिब १ वर्ष नपुग्दै अभियुक्तलाई सर्वोच्च अदालतको आदेशबाट छुटाइएपछि भने उनमा झन् पीडा थपिएको छ । अब अपराधी नै पत्ता नलाग्ने वा अपराधी ठहर भए पनि नेपाल ल्याउन नसकिने हो कि भन्ने त्रास बलराममा रहेको छ । यद्यपि न्याय नपाउन्जेल लडाइँ जारी राख्नुको विकल्प नभएको भन्दै मर्ने बेलासम्ममा पनि लडिरहने उनी बताउँछन् ।

 


प्रहरीले स्यालिभा (र्याल) टेस्टको रिपोर्ट कहाँ लुकायो ?

जतिबेला हत्याकाण्ड भयो र अपराधीबारे कुनै सुराक पत्ता लागेन, त्यतिबेलासम्म बलराम हेमकार पनि चुपचाप बसिरहेका थिए ।

जब दीपककी श्रीमती दीपाको गतिविधि शङ्कास्पद देखिन थाल्यो र धनमाल पनि धमाधम बिक्री हुन थाल्यो, बलराममा आशङ्का र डर पैदा हुन थाल्यो ।

घटनाबारे के भइरहेको छ भन्दा निरन्तर ‘अनुसन्धान जारी’को जवाफ मात्रै आइरह्यो । यद्यपि उपलब्धि भने शून्यप्रायः नै थियो । यतिसम्म कि अपराधीप्रति सङ्केतसम्म प्रहरीले गरेन ।

अधिवक्तासमेत रहेका बलरामका अनुसार अपराधीले जति चलाखीपूर्ण तबरले अपराध गरेको भए पनि उसले केही न केही प्रमाण वा सुराक भने छाडेकै हुन्छ ।

नेपालगञ्जका हेमकार परिवारको हत्याकान्डमा पनि अपराधीले एउटा महत्त्वपूर्ण सुराक अर्थात् प्रमाण छाडेको थियो । घटनास्थलका विभिन्न स्थानमा गुट्खा खाएर थुकेको र गुट्खाको फोहोर र २७ प्याकेट गुट्खा फेला परेको थियो ।

त्यो गुट्खा अपराधीकै भएको जाहेरवाला बलराम हेमकारको दाबी छ । किनभने दीपक हेमकारको परिवारमा गुट्खा खाने कोही व्यक्ति थिएनन् । त्यसकारण पनि पाहुना बनेर आएका अपराधीले नै गुट्खा ल्याएको, खाएको बलरामको दाबी छ ।

तर बाँकेको तत्कालीन प्रहरी प्रशासनले त्यति ठूलो र महत्त्वपूर्ण प्रमाणलाई गायब बनाउनतिर लागेको र मुचुल्का नै गायब पारेको बलरामको आरोप छ ।

किनभने त्यही गुट्खाको प्याकेटमा अपराधीको औँलाको छाप (फिङ्गरप्रिन्ट) लिन सकिन्थ्यो भने अझै महत्त्वपूर्ण खाएर थुकेको गुट्खामा रहेको स्यालिभा (र्याल) बाट अपराधी पत्ता लगाउन सकिन्थ्यो । र्यालको नमुना लिएर राख्दा पछि अभियुक्तको र्यालसँग म्याचिङ गराउन सकिने ठूलो प्रमाण हुन्थ्यो । तर त्यसलाई प्रहरीले आफ्नो सबुत प्रमाणमा नै राखेन ।

अधिवक्तासमेत रहेका बलरामले त्यो प्रमाणलाई सुरक्षित राखेका थिए । प्रहरीले त्यो प्रमाणलाई महत्त्व नदिएपछि उनी आफै नमुना बोकेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पुगे । त्यो रिपोर्टसमेत बलरामले प्रहरीलाई दिए र निरन्तर अपराधी पक्राउ गर्न प्रहरी प्रशासन र गृह मन्त्रालयलाई दबाब दिइरहे । बलरामको त्यो रिपोर्ट अपराधी पत्ता लगाउने महत्त्वपूर्ण सुराक हुन सक्थ्यो ।

गोमती गुड्खा नै किशोरीलालको अपराधको पहिलो प्रमाण

जतिबेला नेपालगञ्जमा हेमकार परिवारको हत्या भएको थियो, त्यतिबेला नेपालगञ्ज आसपासमा गोमती गुड्खाको प्रयोग खुबै बढेको थियो । यद्यपि हेमकार परिवारका कसैले पनि उक्त गुट्खा खाने गरेका थिएनन् । तर दीपक हेमकारका ससुरा तथा दीपा सोनीका बुवा किशोरीलाल सोनी भने गोमती गुट्खाका अम्मली रहेका थिए ।

तर हत्याकाण्डका समयमा घरमा गोमती गुट्खा खाएर थुकिएको थियो भने २७ वटा पोका पनि छाडिएको थियो । तर प्रहरीले त्यो गुट्खा कसले खायो, किन खायो र गुट्खा र हत्याको कनेक्सन कहाँ छ भनेर खोजबिन गर्नसमेत चाहेन । जबकि त्यो महत्त्वपूर्ण प्रमाण थियो र त्यसलाई प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउनुपर्ने थियो । जहाँ परागमा रहेको स्यालिभा अर्थात् थुकको माध्यमबाट सहजरूपमा तत्कालै अपराधी पत्ता लगाउन सकिन्थ्यो ।

तर उक्त प्रमाणलाई न प्रहरीले थप खोजबिन गर्यो, न त बलरामलाई नै उक्त रिपोर्ट दिइयो । करिब एक वर्षसम्म प्रहरीले उक्त रिपोर्ट गायब नै बनायो । बलराम आफैँ काठमाडौँ पुगेर रिपोर्ट माग गर्दा पनि दिइएन । धेरै मिहिनेत र दबाब दिएर त्यो रिपोर्ट बलरामले नेपालगञ्ज ल्याएका थिए । त्यही नै हत्यामा किशोरीलालाको संलग्नता थियो कि थिएन भनेर एउटा महत्त्वपूर्ण प्रमाण बन्न सक्थ्यो ।

प्रहरीले लुकाएको थियो स्यालिभा टेस्टको रिपोर्ट

प्रहरीले अनुसन्धान गरी १ सय २२ पेज लामो मिसिल सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । तर घटनाको १३ वर्षमा पेश गरिएको उक्त मिसिलमा पनि एक पेजको स्यालिभा टेस्टको रिपोर्ट भने गायब थियो । पुरानै प्रहरी अधिकारीले, उक्त रिपोर्ट गायब पारेको बलरामको दाबी छ । बलरामको दाबी छ कि अनुसन्धानबाट किशोरीलाल सोनी दोषी देखिने भएपछि मिलेमतोमै तत्कालीन प्रहरी प्रमुख शिव लामिछानेले उक्त रिपोर्ट गायब पारेका थिए । अपराधी किटान नगराउन तथा अनुसन्धानमा प्रभाव पार्नका लागि मिलेमतोमै उक्तको ल्याब टेस्ट गायब पारिएको बलरामको आरोप छ ।

अपराधी पत्ता लगाउन अरू के–के गरे बलरामले ?

सुरुमा प्रहरीको टाउको दुखाइको विषय बनेको हेमकार परिवार हत्याकाण्डका सम्बन्धमा प्रहरीले लामो समयसम्म पनि कुनै अभियुक्तलाई पक्राउ गर्न सकेको थिएन ।

दीपा सोनी (हेमकार) र निजको बाबु किशोरीलाल सोनीसमेतले सम्पत्ति लिन तथा खानका लागि एक आपसमा मिलेमतो एवम् योजना बनाई नियोजित तवरले अन्य ४, ५ जना व्यक्तिहरु समेतलाई साथ ल्याई धारिलो हतियारले घाँटी रेटी हत्या गरेको बलरामलाई सुरुदेखि नै आशङ्का रहेको थियो ।

यो कुरा उनले तत्कालीन प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृतहरुलाई पनि भनेका थिए । तर प्रहरी अधिकारीहरुले यस विषयमा चासो नै दिएनन् । अनुसन्धान कहाँ पुग्यो भन्ने बलरामको प्रश्नमा प्रहरीको रेडिमेड जवाफ ‘अनुसन्धान हुँदै छ’ मात्रै आउने गर्थ्यो ।

प्रहरीले किटानी जाहेरी नै लिएन

जब किशोरीलाल र दीपा सम्पूर्ण सम्पत्ति बिक्री गरी भारत जान खाजे, बलरामले अपराधी ती आफन्त नै हुन् भन्दै प्रहरी कार्यालयमा जाहेरी दिन पुगे । हत्याकाण्डको २ वर्षपछि २०६४ साल फागुन २४ गते बलराम हेमकारले जिल्ला प्रहरी कार्यालय बाँकेमा भारत लखउनका किशोरीलाल सोनी र दीपा सोनीविरुद्ध किटानी जाहेरी दिन जाँदा प्रहरीले किटानी जाहेरी लिन नै चाहेन ।

बाँकेका तत्कालीन प्रहरी प्रमुख कार्यालयमा थिएनन् । प्रहरी निरीक्षकले जाहेरी लिनै मानेनन् । त्यसपछि अनि कानुन जानेका बलरामले जिल्ला हुलाक कार्यालयमार्फत किटानी जाहेरी पठाए । त्यसको १५ दिनपछि उनलाई प्रहरी कार्यालयमा बोलाएर किटानी लिएको ठीक साँचो भन्दै हस्ताक्षर गराइएको थियो । किटानी दिए पनि बलरामले प्रहरीलाई ताकेता गर्नेदेखि गृह मन्त्रालयसम्म पहुँच पुर्याउँदै छानबिन गर्न  पटक पटक आग्रह गरेका थिए ।

फागुनमा मुद्दा दायर, चैतमा दीपा फरार

२०६२ फागुन २३ गते बाँके जिल्ला नेपालगञ्जको सदरलाइनमा हेमकार परिवारको हत्या भयो । हत्याको लगत्तै दीपक हेमकारको नाममा रहेको सम्पत्ति हडप्न दीपा सोनी र उनका बुबा किशोरीलाल सोनी लागिपरेका थिए ।

त्यो सबै ‘चलखेल’ बलरामले थाहा पाए । त्यति बेलासम्म प्रहरीले पनि उनीहरुमाथि शङ्का र अनुसन्धान गरेको थिएन । सबै सम्पत्ति बेचेर भारत जान लागेको थाहा पाएपछि बलरामले २०६४ साल फागुन २४ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । जाहेरीमा बलरामले सम्पत्ति रोक्का गर्न पनि आग्रह गरेका थिए ।

तर किटानी जाहेरीपछि पनि प्रहरीले दीपालाई नियन्त्रणमा लिएन । त्यतिबेलासम्म किशोरीलाल सोनी भने भारत पुगिसकेका थिए । प्रहरीले समयमै सम्पत्ति रोक्का नराख्दा र दीपालाई नियन्त्रणमा नलिँदा दीपा पनि सबै सम्पत्ति बेचेर त्यसको १५ दिनपछि चैतमै दीपा पनि माइती भारतको लखनउ पुगिन् र कहिल्यै नेपाल फर्किनन् ।

किशोरीलाल सोनी र दीपा सोनीमाथि किटानी जाहेरी परेपछि प्रहरीले सोधपुछ सुरु गरेको थियो । त्यसै समयमा दीपाले लखनउमा रहेका आफ्ना बुबालाई फोन गरी ‘पुलिसको जानकारी मिलचुकी है, वापस मत आना । मुझे रोज बुलाके पुछताछ हो रही है । मैं यहाँका प्रोपर्टी जल्दी बिक्री करके आउङ्गी’ भनेको फोन धनीले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

प्रहरीले लामो अनुसन्धान र प्रयासपछि हत्यामा संलग्न किशोरीलाल सोनी र दीपा सोनी नै भएको ठहर गर्दै प्रहरीले किशोरीलाल सोनीलाई लखनउबाट अपरहणको शैलीमा पक्राउ गरेर नेपाल ल्याई २०७५ साल कात्तिकमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्चको आदेशपछि परिवारमा त्रास र निरासा

हत्याकाण्डको १३ वर्षपछि प्रहरीले धेरै दुःख र मिहिनेत गरेर किशोरीलाल सोनीलाई पक्राउ गर्दा परिवारले अब त न्याय पाइएला भन्ने अपेक्षा गरेका थिए ।

किशोरीलाल सोनी पुर्पक्षका लागि थुनामा गएपछि त अझ धेरै आस लागेको थियो बलराम र उनको परिवारलाई । तर असारको २७ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालै प्राप्त प्रमाणका आधारमा कसुरदार ठहर गर्न नसकिने भन्दै साधारण तारेखमा छाड्ने आदेश दिए । उक्त आदेशसँगै किशोरीलाल सोनी भारत पुगेर परिवार तथा साथीभाइलाई पार्टी दिए ।

यता पीडित परिवारका बलराम हेमकार, मृतक दीपकका दाजु तथा बहिनीमा भने झनै त्रास बढेको छ । अभियुक्त जेलबाट छुटेपछि आफूहरुविरुद्ध कुनै घटना गराउने पो हुन् कि भन्ने चिन्ता र त्रास उनीहरुमा बढेको छ ।

घटनाका सम्बन्धमा रातोपाटीले कुरा गर्न खोज्दा मृतकका दाजु तथा बहिनीहरुले आफूलाई खतरा भएको भन्दै ‘बाँच्नु नै भाग्य’ भन्दै यस विषयमा मिडियासँग कुराकानी गर्न असमर्थ रहेको बताए ।

अधिवक्तासमेत रहेका बलराम हेमकार भने प्रहरीले २०६८ सालमा तयार गरेको कमजोर मिसिल मात्रै हेरेर सर्वोच्च अदालतले आदेश दिएको र प्रहरीको पूरै मिसिल अध्ययनसम्म नगरेको आरोप लगाउँछन् ।

के हुँदैछ जिल्ला अदालतमा

जिल्ला अदालत बाँकेका स्रेस्तेदार यदुराम शर्माले अदालतले मुद्दाको फैसला गरिनसकेको बताए । किशोरीलाल सोनीलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको बताए । त्यसविरुद्ध उच्च अदालत गएका सोनीलाई उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।

तर जिल्ला र उच्च अदालतको आदेशविरुद्ध गएको चैत ५ गते सर्वोच्च अदालतमा निवेदन दिएका सोनीलाई सर्वोच्च अदालतले भने साधारण तारेखमै छाड्ने आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप
मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप