शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिभित्रको ‘महाभारत’ कहाँ गएर टुंगिएला ?

शनिबार, २८ साउन २०७४, १२ : ००
शनिबार, २८ साउन २०७४

काठमाडौं–साउन २८ गते विहान ९ बजेतिर नयाँ शक्तिका असन्तुष्ट नेता देवेन्द्र पौडेलले एउटा  स्टाट्स लेखे, ‘एउटा चर्चित गीतमा ‘यहाँ देशको छ चिन्ता, तिमी माया–माया भन्छ्यौ’ भने जस्तै सबै परिवर्तनमा सहभागी भएका शक्तिहरु विभिन्न माओवादी धारा, मधेशी–थारू धाराहरु, आदिवासी जनजाती धाराहरु, दलित, मुस्लिम, अल्पसंख्यक आदि सबैलाई गोलवन्द गर्दै पुन राष्ट्रिय राजनीतिमा अगाडि बढेर नेतृत्व गर्न हामीले दिएको सुझावलाई अस्विकार गर्दै आफ्नै साथीहरूलाई समेत धकेल्ने वाटो लिनु भएको होला बाबुराम भट्टराईज्यूले । वाँकी सबै इतिहासको जिम्मा ।’

माओवादी हुँदादेखि नयाँ शक्तिसम्ममा जाँदा बाबुरामका नजिकका पात्रका रुपमा चिनिने देवेन्द्र पौडेलेको स्टाटस दुई नेतावीचको बढ्दो तिक्तता देखाउनका लागि प्रर्याप्त छ । र, बाबुराम र पौडेल दुवैले आफु निटकसँग अहिले जे परामर्श गरिरहेका छन्, ती कुराहरुलाई नजिकबाट नियाल्दा देखिन्छ–अव एकै ठाँउ बस्न तत्कालका लागि सम्भव छैन् । यद्पी पौडेलसहितका असन्तुष्ट नेताहरुले महाधिवेशनसम्म बहस चलाउने बताएका छन् । नयाँ शक्तिले प्रदेश र संघीय चुनावसकिपछि उपयुक्त समयमा महाधिवेशन गर्ने भनेको छ ।

आफ्नो पहिलो स्टाट्स भन्दा झन्डै १२ घण्टा अगाडि नेता पौडेलको अर्को स्टाट्स थियो, ‘यथास्थितिवादी र प्रतिगामीहरु देशमा हावी हुन नदिनका लगि सबै परिवर्तनकारी शक्तिहरुलाई एकतावद्द गर्ने हाम्रो अभियान शसक्तरुपमा अगाडि बढने छ । श्रमजीवी, उत्पीडित वर्ग र समुदायको पक्षमा हामी निरन्तर लडीरहने छौँ ।’

पौडेलको यो स्टाट्स एजेन्डा मिल्ने शक्तिहरुसँगको सहकार्यमा जोड दिने खालको छ । माअ‍ोवादीसँग पनि एकताको कोर्स खुला राख्ने खालको पौडेलेको स्टाट्स र माओवादीसँग कुनै पनि सहकार्य गर्न नसकिने बाबुरामको सोचवीचको अन्तरविरोध सतहमा आएको देखिन्छ ।

नेता पौडेलले यी दुई स्टाट्स यसकारण लेखेका थिए कि, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले पौडेलसहितका १५ नेतालाई स्पष्टीकरण सोधेका थिए । इमेल मार्फत स्पष्टीकरण पत्र पाएपछि नेता पौडेलले आफ्नो मत सामाजिक संजालमार्फत बाहिर ल्याएका थिए । योसँगै पार्टीको आन्तरिक वैठकबाट शुरु भएको नयाँ शक्तिभित्रको विवाद अहिले सामाजिक संजालमा छताछुल्ल भएको छ । अन्य नेता–कार्यकर्ताले पनि आ–आफ्नो सुविधा अनुसार विषयबस्तु सामाजिक संजालमा पस्केका छन् । नयाँ शक्तिभित्र पूर्व माओवादी र गैरमाओवादी पृष्ठभूमिकावीच शुरुदेखि नै तनाव र मतमुटाव थियो ।

नयाँ शक्ति पार्टी, नेपालले सो पार्टीका नेता देवेन्द्र पौडेल लगायतका १५ जना नेतालाई पार्टी हितविपरीत कार्य गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएपछि नेता पौडेलले सामाजिक संजाल फेसवुकबाटै जवाफ दिएका हुन् । पौडेलसहितका नेताहरुले २४ घण्टे स्पष्टीकरणको औपचारिक कुनै जवाफ नदिने बताएका छन् । डा.भट्टराई चाहीँ अहिले उपचारपछि आराममा छन् ।

आरामकैवीच पनि वैठक बसालेर उनले पछिल्लो निर्णय लिएका हुन् । पौडेलसहितका असन्तुष्ट नेताहरु पनि भावी कदममाथि आन्तरिक परामर्शमै छन् । पार्टीभित्र सघन संवाद नभएपछि आफुहरुको मत बहसका लागि बाहिर लगिएको पौडेल समूहका एक नेताले बताए ।

पार्टीको आन्तरिक विषय भएपनि डा.भट्टराईले प्रेस विज्ञप्ती जारी गरेर पौडेलसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिएका थिए । विज्ञप्तीमा नयाँ शक्ति पार्टी, नेपाल, देशमा एक वैकल्पिक वैचारिक, राजनीतिक कार्यक्रमसहित स्थापित अग्रगामी पार्टी भएको तथा वाम–लोकतान्त्रिक मार्गबाट ‘समुन्नत समाजवाद’ हासिल गर्ने यसको प्रष्ट राजनीतिक उद्देश्य रहेको पृष्ठभूमि उल्लेख छ ।

पार्टी स्थापनाको एक वर्ष पूरा भएको सन्दर्भमा पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय संघीय परिषदको तेस्रो बैठक (श्रावण ११–१३) सम्पन्न गरी यसले आफ्ना समसामयिक विचार, प्रस्ताव, कार्यनीति र कार्यदिशा प्रष्ट गरेकै तथा यी सबै विषयमा व्यापक लोकतान्त्रिक छलफल र बहस पनि भएकै विज्ञप्तीमा छ ।

‘तर मिति २०७४÷४÷२६ गते काठमाडौंको एउटा होटेलमा पार्टी संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनाले पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको समाचार प्राप्त भएको छ । उहाँहरुले भरखरै सम्पन्न पार्टीको संघीय परिषद बैठकमा कुनै फरक धारणा दर्ज गराउनुभएको थिएन । बरु पार्टी संयोजकका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाउनुभएको कुरा बैठकमा उपस्थित सबै सहभागीहरुलाई विदितै भएको विषय हो ।’ विज्ञप्तीमा छ, ‘तेस्रो संघीय परिषद बैठकको भावना र निर्णयको प्रकाशमा प्रतिवेदनलाई परिमार्जन गर्ने, पार्टी कार्यनीति र कार्यदिशालाई अझ प्रष्ट गर्ने, पार्टीको संगठनात्मक पुनर्गठन गर्ने आन्तरिक गृहकार्य भइरहेका वेला किन र कुन उद्देश्यले त्यस्तो पत्रकार सम्मेलन गर्नु परेको हो ? पार्टीभित्रै आफ्ना कुरा भन्ने पूर्ण लोकतान्त्रिक अधिकार हुँदाहुँदै किन त्यस्तो गर्नु प¥यो ? गम्भीर प्रश्न उठेको छ ।’

र, भनिएको छ, ‘उहाँहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको छ । उहाँहरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत पठाइएको छ । पार्टी र उहाँहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन्छ । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहित विपरित हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोंचलाई पार्टीले सहन गर्न सक्ने छैन । सबैखाले व्यवधान र षड्यन्त्रपूर्ण हर्कतलाई परास्त गर्दै नयाँ शक्ति पार्टी आफ्नो घोषित उद्देश्यमा अविचलित रुपमा अघि बढिरहनेछ ।’

पौडेलसहितका नेताहरुले धुव्रीकरणको जुन मुद्दा उठाएका थिए, त्यसवारे पनि संयोजक भट्टराईले विज्ञप्ती मार्फत आफ्नो धारणा राखेका छन् ।

पौडेलसहितका नयाँ शक्तिका नेताहरुले ‘बृहत ध्रुबिकरणको आवश्यकता’ वारे आफ्नो अपिलमा भनेका थिए, ‘नयाँ शक्ति पार्टी बैकल्पिक राजनीतिक धार हो । तर आदर्शवादी कुरा गरेर समाज र परिस्थितीको मूल्यांकन नगरी संघर्षबिना शक्ति आर्जन हुँदैन । बर्तमान देशको राजनीति यसले उव्जाएको स्थिरत र शक्तिको रुपमा देखा परेका पुराना राजनीतिक दलहरुलाई चुनौती दिन प्रत्यक्ष कार्यकारी राष्ट्रपति तथा पूर्णं समानुपातिक संसद संघियता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता र समाजिक न्यायसहित हामीले उठाएका ५ (स) का कार्यनीतिलाई स्वीकार गर्ने दलसित आग्रह पूर्वाग्रह नराखि सबैसित ध्रुबिकरण र पार्टी एकताको दिशामा अगाडि बढ्नु अहिलेको आवश्यकता हो । यदि त्यसो गरिएन भने प्राप्त उपलब्धि गुम्ने र प्रतिगमन हुँदै  बिशेषतः हामी माओावालाई आतंककारी घोषणा गर्ने र पहिचानवादीहरुलाई जातीय सम्प्रदायीकता भड्काउने भनेर आरोपित गर्ने स्थिती हुन सक्दछ यहाँनिर गम्भिर हुन जरुरी छ । आधारभूत विचार, दर्शन, राजनीतिक कार्यदिशा, मिल्नेसित बृहत छलफल गरेर बर्गियपक्षधर, पहिचानका पक्षधर, अग्रगामि विचार राख्नेहरुबीच ध्रुबिकरण होस् र यथास्थितीवादीको बिरुद्ध संघर्ष गर्न मोर्चा बनाउने पक्षमा हमी छाँै । सबैलाई यो अपील पनि गर्न चाहन्छौँ ।’

पौडेलसहितका नेताहरुको यो अपिललाई जवाफ दिदै भट्टराईले आफ्नो विज्ञप्तीमा भनेका छन्, ‘पार्टी संस्थागत रुपमा नै अहिले पनि निरन्तर ध्रुवीकरणका पक्षमा छ । विभिन्न व्यक्ति/व्यक्तित्व, समूह र पार्टीहरुसँग नियमित संवाद तथा ध्रुवीकरणको प्रयास भइरहेकै छ । आगामी निर्वाचनको सामना कसरी गर्ने, कस्तो प्रकारको निर्वाचन समीकरण वा मोर्चाबन्दी गर्ने वा नगर्ने ? यसमा पनि पार्टीव्यापी रुपमा छलफल चलिरहेकै छ । यी सबै विषयमा गम्भीर छलफल गर्न र उपयुक्त निर्णयमा पुग्न पार्टी पंक्ति र नेतृत्व तयार छ । यी विषयलाई अतिरञ्जित गरी कसैले कुनै अतिरिक्त चिन्ता लिइरहनु पर्ने अवस्था छैन । तर कसैसँग पार्टी एकता र ध्रुवीकरणका नाममा पार्टीले आफ्नो स्थापनाकालीन लक्ष्य र उद्देश्य, आफ्ना घोषित विचार, नीति, सिद्धान्त र कार्यक्रमहरु परित्याग गर्न सक्दैन । त्यो गर्नु वाञ्छित पनि हुँदैन ।’

नयाँ शक्तिका संयोजक डा.भट्टराईले पौडेलसहितका नेताहरु माअ‍ोवादी केन्द्रमा जान थालेको आफुसँग भरपर्दो सूचना भएको बताएको अर्कोदिन २४ घण्टे स्पष्टीकरण मागेका हुन् ।

विहिवार साँझ बाबुरामले जारी गरेको आन्तरिक सर्कुलरमा भनिएको थियो, ‘‘१०–बुँदे आरोपपत्र वहानावाजी मात्र हो । त्यसका अगुवाहरूले माकेमा विलीन हुन सबै तयारी गरिसकेका छन् भन्ने मसंग भरपर्दो जानकारी छ । यदि हस्ताक्षरकर्ता कोही साथीहरू अझै भ्रममा हुनुहुन्छ भने समयमै सत्यतथ्य वुझेर आफ्नो कदम सच्याउनुहोला ।’ बाबुरामको दावी छ, पौडेलसहितका नेता माओवादी केन्द्रमा जाँदैछन् । यदि उनीहरु माओवादीमा जाँदैछन् भने २४ घण्टे अल्टिमेटम के अ‍ैपचारिकता मात्र हुन सक्छ । पौडेलसहितका नेताहरुले कुनै जवाफ नफर्काउने भनेर आफ्नो पोजिशन स्पष्ट गरेका छन् ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा पार्टीले खाएको धक्का तथा संघीय समाजवादी पार्टीसग एकता भाँडिएपछि नयाँ शक्तिभित्रको संगठनात्मक अन्तरविरोध सतहमा आएको छ । पछिल्लो पटक केन्द्रीय कार्यकारी समितिको १३औं पूर्ण बैठक (साउन ९–१०) र संघीय परिषदको तेस्रो पूर्ण वैठक (साउन ११–१३) सम्पन्न भएको केही दिनभित्रै नयाँ शक्ति पार्टी नेपालमा संगठनात्मक अन्तरविरोध पैदा भएको हो । यसको असर लगत्तै बसेको पार्टीको महाधिवेशन आयोजक समितिको वैठकमा देखिएको थियो ।

महाधिवेशन आयोजक समिति सदस्य छनौटमा कामको मुल्याङ्कनलाई ध्यान नदिइएको तथा केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको तेस्रो पूर्ण वैठकको म्यान्डेड विपरित सहसंयोजक तोकिएको भन्दै नयाँ शक्तिभित्र संगठनात्मक अन्तरविरोध सतहमा आएको थियो ।  पाँच जना सह–संयोजक चयन भएका थिए । तर, पौडेलले चाहीँ आफु पदको भोको नभएको भन्दै सह–संयोजक पद अस्वीकार गरेका थिए ।

डा. भट्टराईले साउन २५ गते संगठन विभागको जिम्मा नेता गंगा श्रेष्ठलाई दिएका थिए । महाधिवेशन आयोजक समितिको निर्णय विपरित श्रेष्ठलाई जिम्मा दिइएको भन्दै केही नेताले असन्तुष्टि जनाएका थिए ।

 
पार्टीका दोस्रो र तेस्रो तहका नेताहरुले सम्बन्ध विच्छेद गर्न थालेपछि नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले विहिवार आन्तरिक सर्कुलर मार्फत अन्य नेता कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका थिए ।  
 
विहिवार साँझ आन्तरिक सर्कुलर मार्फत भट्टराईले हतासको मानसिकता बोकेर नयाँ वैकल्पिक शक्ति बन्न नसक्ने भन्दै कसैले पनि जालझेल नगर्न आग्रह गरेका थिए ।
 
डा.भट्टराईको अपिलमा भनिएको छ, ‘साथीहरू, धैर्य गर्नुहोला । हतासको मानसिकता बोकेर नयाँ वैकल्पिक शक्ति बन्दैन । यो रातारात बन्ने कुरा पनि हैन । कमीकमजोरीको समीक्षा गर्दै आफैलाई निरन्तर नयाँ बनाएर मात्र नयाँ शक्ति बन्छ ।’
 
त्यसैगरी भट्टराईले आफ्नो अपिलमा नयाँ विचार, सोच, संगठन र शैलीसहितको वैकल्पिक शक्तिको विकल्प नरहेको बताएका छन् । उनले नयाँ शक्तिप्रतिको निष्ठामा आफुमा एक रौं जत्ति पनि कमी नआएको बताएका छन् ।
 
‘पुराना कुरा भट्याएर र कुण्ठा बोकेर उही पुरानै गोलचक्करमा फस्ने मात्र हुन्छ । विभिन्न भित्री र वाहिरी शक्तिकेन्द्रहरू नयाँ शक्ति नबनोस्, पुरानै पत्रु, भ्रष्ट र दलाल पात्रहरूलाई खेलाएर देशलाई यो अल्पविकास, गरीबी र बेरोजÞगारीको  दुष्चक्रमा फसाउँदै आफ्नो प्रभुत्व कायम राख्न सकियोस् भन्ने ध्याउन्नमा थिए र छन् ।’ भट्टराईले भनेका छन्, ‘त्यसैले नयाँ विचार, सोच, संगठन र शैलीसहितको वैकल्पिक शक्तिको विकल्प छँदैछैन । त्यसैले अहिलेको अस्वस्थताको वेलामा पनि मेरो नयाँ शक्तिप्रतिको निष्ठामा एक रौं जत्ति पनि कमी आएको छैन । चुनाव हार्दा र सत्ता अलि पर देख्दा हतासा जाग्नु मानवीय स्वभाव नै हो । कठीन उकालो देख्दा हतासिएर पुरानै थोत्रो घरमै भए पनि फर्केर आराम गर्न पाए हुन्थ्यो भन्ने लाग्नु पनि स्वाभाविकै हो ।’
 
यी सवै घटनाक्रमले पौडेलसहितका नेताहरुले बाबुरामसँग डिभोर्स’ बाटो रोज्ने बढी सम्भावना छ । यद्यपी बाबुरामले सघन संवाद थालेर नयाँ तरिकाले नेताहरुलाईसँगै लिएर जान पनि सक्छन्, किनभने राजनीति सम्भावनाको खेल हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप