शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महानगर माटो झिक्ने, व्यक्ति सिमसार पुर्ने

रामसार सिमसारमा राज्यले गाडि उडाएर लै जाओस्: जग्गा
मङ्गलबार, २१ साउन २०७६, १९ : ४५
मङ्गलबार, २१ साउन २०७६

पोखरा– आर्थिक वर्ष २०७६/०७७ मा पोखरा महानगरपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । महानगर प्रमुख मेयर मानबहादुर जीसीले नयाँ आर्थिक वर्षको बजेटले ‘विकटलाई निकट ल्याउने’ लक्ष्य लिएको केही समयअघि रातोपाटीलाई बताएका थिए । 

‘विकटलाई निकट ल्याउने’महानगरको सोही नीतिअनुसार सबै वडालाई महानगरसँग कनेक्टिङ रोडले जोड्ने महानगरको योजना छ । कनेक्टिङ रोडको लागि महानगरले टेन्डर निकालेर काम पनि थालिसकेको छ । 
महानगरको ‘विकटलाई निकट ल्याउने’ कनेक्टिङ रोड योजना अन्तर्गतको सडक पोखरा २४ पामे– खपौदी सडक चक्ल्याउने काम थालिएको छ । उक्त बाटो चक्ल्याउने काम सँगसँगै सिमसार क्षेत्र पुर्ने काम पनि धमाधम भइरहेको छ ।  

डाँडा कटानबाट निस्केको ढुंगा, माटो स्थानीय हरि भण्डारी र मनोज कुँवरको दलदल भएको जग्गामा पुर्ने काम अहिले भइरहेको छ । स्थानीयका अनुसार पामे, चंखपुर लगायतको क्षेत्रमा विभिन्न बहानामा व्यक्तिगत स्वार्थको निम्ति दलदल पुरेर घडेरी बनाउने उद्धेश्यले अझै पनि सिमसार क्षेत्र पुर्ने काम भइरहेको छ ।

यतिबेला उक्त क्षेत्रमा महानगरले २ वटा स्काभेटर प्रयोग गरेर धमाधम बाटो चक्ल्याउने नाममा व्यक्तिको घडेरि बनाउने काम गरिरहेको । स्थानीय हरि भण्डारी र मनोज कूँवरकै जग्गा कटान गरेर उनीहरुकै सिमसार भू–भाग पुर्न सहयोग गर्ने काम महानगरबाटै भइरहेको छ । 

बाटो चक्ल्याउने कामको ठेक्का पाएका ‘चन्द्र बिष्णु कन्स्ट्रक्सन’ का ठेकेदार सोम गुरुङले महानगरले स्थानीय जग्गा धनीले भने अनुसार नै गर्नु भनेकाले त्यसै अनुसार गरि रहेको बताउँछन् । ‘हामीले त जे गर भन्यो त्यही गर्ने हो,’ उनले भने, ‘हामीले डाँडा कटान गरिरहेका छौं । दुईवटा टिपरले माटो ओर्साछन्, दुईवटा स्काभेटरले माटो झिक्छन् ।’

सोही वडाका अध्यक्ष ओमप्रसाद सुवेदीले सडक छेउमा माटो अड्याएर राख्न अप्ठ्यारो भएकाले सिमसार क्षेत्रमा राखेको बताए । ‘कटिङको क्रममा निस्केको माटो व्यवस्थापन गर्न अप्ठ्यारो पर्यो,’ उनले भने, ‘डिलमा माटो अड्याएर राख्न पनि गाह्रो ! व्यवस्थापन गर्न अप्ठ्यारो भएपछि सिमसार क्षेत्र पुरियो ।’ 

माटो व्यवस्थापनका लागि मेयरसामु पनि कुरा पु¥याएको उनले सुनाए । महानगरमा बैठक बसेर ठेकेदारसँग कुरा गरि तत्काल व्यवस्थापनका लागि महानगर लागि परेको उनले सुनाए ।  यता, मेयर मानबहादुर जीसीले भने यसबारे बुझ्न खोज्दा छोटो प्रतिक्रिया तत्काल केही पहल थाल्ने बताउँदै फोन राखे ।

रामसार सिमसारमा राज्यले गाडि उडाएर लै जाओस्: जग्गा धनी 

सोही क्षेत्रका जग्गा धनी मध्येका एक हरि भण्डारीलाई सम्पर्क गरेर यसबारे बुझ्न खोज्दा रामसार र सिमसार भनेर राज्यले व्यक्तिको जग्गा हडप्न नपाउने भन्दै आक्रोश पोखे । ‘लालपुर्जा सहितको जग्गालाई रामसार र सिमसारको नाममा व्यक्तिले हडप्न पाउँदैन,’ उनले भने, ‘रामसार र सिमसार नै बनाउँने हो भने उचित क्षतिपूर्ति देओस् ।’ 

आफुहरु विकास विरोधी नभएको उनको तर्क छ । ‘हामी विकास विरोधी होइनौं,’ उनले भने, ‘हाम्रो आफ्नो जग्गालाई रामसार र सिमसार भनेर भन्छ भने यी जग्गामा राज्यले गाडि उडाएर लै जाओस् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप