शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षक सरुवामा कमिशन, परम्परा बनेको छ: शिक्षक महासंघ

मङ्गलबार, २१ साउन २०७६, १४ : १८
मङ्गलबार, २१ साउन २०७६

बुटवल– रुपेन्देहीको एक विद्यालयमा शिक्षक सरुवाका लागि कमिशनको चलखेल सम्वन्धि समाचार बाहिरिएलगत्तै शिक्षकहरुको साझा सङ्गठन नेपाल शिक्षक महासंघ पाँच नम्वर प्रदेशसँग हामीले प्रतिकृया लिएका छौ ।

तिलोतत्तमा नगरपालिका ढिकुलीगढमा रहेको नमुना महिला आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले एक शिक्षक सरुवाका लागि दुई लाख रुपैयाँ विद्यालयको खातामा राखिदिनुपर्ने भन्ने समाचार बाहिर आएको छ नि ? भन्ने प्रश्नमा  नेपाल शिक्षक महासंघ पाँच नम्बर प्रदेशका अध्यक्ष प्रेमनारायण भण्डारीले भने, ‘साथीहरुले भनेअनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुमा पहाडबाट त्यता सरुवा भई जान चाहने शिक्षकहरुका लागि यो स्वभाविक परम्परा जस्तै बनेको बुझिन आएको छ ।’

उनले अगाडि थपे, ‘पहाडबाट तराईतिर बसाई सराईका कारण समस्यामा परेका शिक्षकहरुले विद्यालयलाई सहयोगस्वरुप स्वेच्छिक रुपमा तोकेको रकम दिने र सरुवा हुने कुरा स्वभाविक ठानिए पनि यो बाध्यकारी होइन । यसमा महासंघको गम्भीर आपत्ति छ ।’

उनी गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालयका प्रधानध्यापक समेत हुन । गुल्मीमा भने शिक्षक सरुवामा कमिशनको चलखेल नभएको तर राजनैतिक रंग भने यदाकदा लाग्ने गरेको उनको ठम्याई छ ।  तर गुल्मीमा शिक्षक सरुवामा मात्रै होइन नियुक्तिमा समेत घुस लिने गरेको गुनासो आउने गरेको छ । आधा तलब विद्यालयलाई, आधा शिक्षकलाई दिने सहमतिमा नियुक्ति गरिएका शिक्षकहरु लामो समयसम्म  शोषणमा परेपछि सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आएका छन् ।

तिलोत्तममा विभिन्न पार्टी निकट शिक्षक संगठनले शिक्षक सरुवामा कमिशनको भागबन्डा गरेको र माध्यामिक तहसम्म ५ लाख र आधारभूत तहका लागि ३ लाख रुपैयाँ तोकिएको समाचार बाहिर आएको छ । अध्यक्ष भण्डारी भन्छन्, ‘विद्यालयको सहयोगका नाममा दिइने कमिशन, विद्यालयकै विकासमा खर्च भएको छ कि वा सिमित ब्यक्ति मोटाएको छ त्यो भने बुझ्नुपर्ने भएको छ ।’ उनले तिलोत्तममा नगरपालिकाभित्र शिक्षकहरुका पेशागत संगठनले यदि शिक्षक सरुवामा कमिशनको भागबण्डा भएकै हो भने त्यो महासंघलाई मान्य नहुने प्रतिकृया पनि दिए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप