शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६० लाखको सभाहल २५ दिनमै सम्पन्न, पर्‍यो छानविनको दायरामा

बिना टेन्डर निर्माणको जिम्मा वडाअध्यक्षको ज्वाइँलाई, गुणस्तरहीन भएको विपक्षीको आरोप
आइतबार, १९ साउन २०७६, १० : ५८
आइतबार, १९ साउन २०७६

बुटवल । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर–३ का वडाध्यक्ष तोयनाथ सापकोटाले छोटो समयमै काम सम्पन्न गरेको प्रति खुसी व्यक्त गर्दै २५ दिनमै सभाहल सम्पन्न भएको भन्दै फेसबुकमा उक्त सभाहलको फोटो पोष्ट गरे ।

तर, त्यही फोटालाई विपक्षी राजनैतिक दलका कार्यकर्ताले ‘६० लाखको सभाहल कसरी २५ दिनमै कसरी सम्पन्न भयो ?’ भनेर प्रतिप्रश्न गरे । त्यही फोटो यति बेला भाइरल भइरहेको छ ।

असार मसान्तको मुख आएर टेण्डर नगरी उपभोक्ता समिति मार्फत् ईस्मा गाउँपालिकाले ६० लाख लागतमा बहुउद्देश्यी सभाहल केन्द्र रहेको स्थानबाट झण्डै चार किलो मिटर दुरीमा पर्ने वडा नम्वर–३ को ठाडुङ्गामा असारको पहिलो साताबाट सभाहलको निर्माण सुरु गरि असारको अन्तिम साता मै सम्पन्न गरेको थियो ।

२०७६ साल जेठ २८ गतेका दिन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर खत्रीको अध्यक्षतामा बैठक बसी भवन निर्माणको जिम्मा विष्णुप्रसाद अधिकारीलाई  दिइएको थियो । उनीबाट  पारिश्रमिक  पाउने गरि कोषाध्यक्ष खड्कबहादुर खत्रीलाई समेत रेखदेखका लागि नियुक्त गरिएको निर्णय गरिएको थियो ।

मञ्चबाहेक २५० जना सिट क्षमताको सभाहल निर्माण गरिएको वडा अध्यक्ष तोयनाथ सापकोटाले बताए । छाटो समय मै गुणस्तर काम भएको दावी गर्दै उनले भने, ‘बेलामै काम सम्पन भएको फोटो के राखेको थिएँ, विपक्षीहरुले बङ्ग्याएर कुरा काट्न शुरु गरे ।’

भवन निर्माणको जिम्मा पाएका अधिकारी त्यसै वडाका वडाध्यक्ष सापकोटाका आफ्नै छोरी ज्वाइँ हुन् । विपक्षी राजनैतिक दल नेपाली काँग्रेसका नेता कार्यकर्ताले आफ्नै ज्वाइँलाई सभाहल निर्माणको जिम्मेवारी दिइएको र पारदर्शी हनु नसकेको भन्दै  आलोचना गरेका छन् ।

नेपाली काँग्रेस ईस्मा गाउँपलिका छाया सरकार प्रमुख चन्द्रबहादुर महतले उक्त सभाहल निर्माणको पारदर्शीताको विषय शंकाको घेरामा रहेको बताए ।

‘हामीले अन्य गाउँपालिकामा बनेका सभाहलहरुको पनि अनुसन्धान गर्दैछौँ,’ महतले भने ‘छोटो समय मै सम्पन्न भयो भनिएको छ । हामीले हिसाव किताव मागेका छौँ । पारदर्शी हुन नसकेको हाम्रो बुझाई छ ।’ 

नेपाली काँग्रेस वडा नम्वर ३ का छाया सरकार प्रमुख केशवराज कुँवरले उक्त सभाहलको भुइँको प्लाष्टर ठाउँ  ठाउँमा चर्किने, फुट्ने भएपछि रातको समयमा हतारहतार टालिएको आफूहरुसँग प्रमाण रहेको दावी गरे ।  उनले मदाने र धुर्कोट गाउँपालिकाले निर्माण गरेको सभाहल त्योभन्दा कम खर्चमा गुणस्तरीय रहेको उदाहरण दिँदै ६० लाखको लागतमा बनेको ईस्मा गाउँपालिकाको सभाहल गुणस्तरीय हुन नसकेको आरोप लगाए ।

उता, उपभोत्ता समितिका अध्यक्ष शेर बहादुर खत्रीले भने काम समयमा नै सम्पन्न गर्नका लागि रातको समयमा पनि काम गर्नुपरेको बताए ।

छानविन समिति गठन : अध्यक्ष विष्ट

ईश्मा गाउँपालिका भवन निर्माणको विषयलाई एक हप्तादेखि सामाजिक सञ्जालमा निकै चर्चा छ । यति छिटो कसरी निर्माण सम्पन्न भयो ? गुणस्तरमा के भयो ? जस्ता प्रश्नहरु सामाजिक सञ्जालमा गरिएका छन् ।

सामाजिक सञ्जालमा उठेका विषयप्रति गाउँपालिका गम्भीर भएको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले रातोपाटीलाई बताए । बिभिन्न समाजिक सञ्जालमा आएपछि गाउँपालिकाले एक छानविन समिति नै गठन गरिएको ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले रातोपाटीलाई बताए ।

उनले कतै त्रुटी भएको भए, त्यसको जिम्मेवारी सम्बन्धित प्राविधिक र उपभोक्ता समितिले लिनुपर्ने भन्दै गल्ती गर्ने कसैलाई पनि छुट नदिने बताए । यद्यपि, सामाजिक सञ्जालमा जनप्रतिनिधीहरुको मान मर्दन गर्ने गरी विषय लेखिनु पनि गलत भएको पनि उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप