बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अबिरल वर्षा : अहिलेसम्म कहाँ-कहाँ के-के भयो ?

शनिबार, २८ साउन २०७४, १३ : ००
शनिबार, २८ साउन २०७४

काठमाडौं -देशका विभिन्न भागमा परेको अविरल बर्षाले जनजीवन प्रभावित भएको छ । केही ठाँउमा डुवानको समस्या देखिएको छ ।  

बाढीबाट एक हजार परिवार विस्थापित, उद्धार जारी

राजविराज -चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् । 

अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । साथै सप्तकोशी नदीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी नजिकका बासिन्दा त्रसित भएका छन् । 
जिल्लाको खाँडो, बिगुल, जिता, मोहुली, खडक र बलान खोलामा आएको बाढीले जिल्लाको दक्षिण पूर्र्वी तथा पश्चिमी भेगका अधिकांश गाउँ तथा शहरी क्षेत्र डुबानमा परेको छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिका आज डुबानमा परेका छन् । 

बाढीका कारण यातायात, कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । राजविराज लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा रहेका सरकारी कार्यालयको परिसरमा तीन फिटसम्म पानी पसेको छ । 

राजविराजको मुख्य सडकमा तीन फिट भन्दा माथि पानी जमेको छ भने राजविराजको वडा नं १, २, ३, ४, ५देखि १५ वडासम्म डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

जिल्लाको पूर्वी भेगको मोहुली खोलामा आएको बाढीले कंचनरुप नगरपालिका– ७ र ८ वडा, तिरुहुत गाउँपालिकाको भेडिया, मैनाकडेरी, गोइठी पिप्राहीलगायतको ठाउँ डुबानमा परेको स्थानीय विनाइ तिवारीले बताउनुभयो । 

हनुमाननगर कंकालनी नगरपालिका– १ देखि १४ वडाको पोर्ताहा, भारदह, मधुवापुर, बेरवा, सकरदही, जोगीनीयाँ, हनुमानगर र सप्तरीकै अति विकट मानिएको कोशी टप्पुमा अवस्थित कोशी नदीबाट आएको पानीले गोवरगाढाको बस्ती पूर्णरुपमा जलमग्न भएको छ । 

त्यस्तै सोही नगरपालिका– २ स्थित सकरदही र भारदहको बीचमा रहेको पश्चिमी नहरमा पानी निकासी बन्द हुँदा सयौँ घर डुबानमा परेको हनुमानगर कंकालनी नगरपालिकाका श्यामसुन्दर खड्काले बताउनुभयो । 

यसैगरी जिल्लाको पश्चिममा रहेको बलान खोलामा आएको बाढीले डाकनेश्वरी, बोदेवरसाइन नगरपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन् । 

खडक नदीमा आएको बाढीले बोदेवरसाइन नगरपालिका–६ स्थित जोगीयाटोलमा कटान सुरु भएको र त्यहाँ त्रासको अवस्था रहेको स्थानीयवासीले जनाएका छन् । 

सो नदीले करिब दुई सय मिटर गाउँकोसमेत जमिन कटान गरेको स्थानीयवासी रोशन गोइँतले बताउनुभयो । यसैगरी कोशी नदी र खाँडो नदीमा अत्यधिक बाढी आएका कारण जिल्लाको दक्षिणी भेगका देउरी भरुवा, तोपा, कजोली, लोनीया, सकरपुरा, रम्पुरा मलहनीया, इनरुवा र तिलाठी गाउँ पूर्णरुपमा डुबानमा परेको र त्यहाँका बासिन्दा गाईभैँसी, बाख्रालिएर सुरक्षित स्थान र सडकमा आएर खुला आकाशमुिन पानीमा भिज्दै बसेका छन् । 

उनीहरुलाई खाद्यान्न र त्रिपालको आवश्यकता रहेको छ । यसैबीच सप्तरीको इनरुवामा रहेको एउटा मुगा फर्मलाई बाढीले बगाएको छ । राजविराज– ७ स्थित पाँचवटा घर र कारागार छेउमा रमियादेवी मेहतरको दुईवटा घरसमेत बाढीले क्षतिग्रस्त भएको छ । 

त्यस्तै राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्णरुपमा जलमग्न भएको छ, भने कम्पाउण्डवालसमेत भत्केको छ र उद्योगको काम ठप्प भएको त्यहाँको प्रशासनले जनाएको छ । 
त्यहाँ रहेका मलेठ, रायपुर, रुपनी, पोवापिप्राही, शम्भुनाथ , तैरोहता वीरेनबजार बर्दाही बनैनीया पूर्णरुपमा जलमग्न भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालका प्रमुख जिल्ला अधिकारी कृषबहादुर कटुवालले पानीको बहाव नहुने क्षेत्रमा डोजर लगाएर पानी निकासको लागि बाटो काटने, नदी कटान क्षेत्रमा बोरामा बालुवा हालेर राख्ने र सुरक्षा निकाय तथा गैर सरकारी संस्थालाई सञ्चालन गरिएको जानकारी दिए । 

साथै क्षतिको विवरण समेत संकलन कार्य भइरहेको र उद्धार र राहत वितरणको कार्यसमेत भइरहेको छ, भने । 

पोखरीमा डुबेर एकको मृत्यु


कपिलवस्तु -कृष्णनगर नगरपालिका– ९ बहादुरगञ्जमा पोखरीमा डुबेर एक जनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय गबी भन्ने शंखा मुराउ रहेको प्रहरीले जनाएको छ । 

मृतक मुराउ बहादुरगन्जस्थित नेपाली सेनाको ब्यारेक पछाडि रहेको पोखरीमा सिंगाडाखेती अवलोकनका लागि पुग्दा सो पोखरीमा डुबेर मरेको स्थानीयवासीले बताएका छन् । मुराउको शव परीक्षणका लागि शिवराज अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

बाढीले बगाउँदा एकको मृत्यु, दर्जनौँ घर डुबानमा


दाङ गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा दाङमा एकजना महिलाको मृत्यु भएको छ । 

मृत्युहुनेमा तुलसीपुर–१३ का भगवती सुनार रहेको छ । स्थानीय तुईखोलामा आएको बाढीले घर बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

त्यसैगरी राप्ती नदीमा आएको बाढीले दर्जनाँै घर डुबानमा परेको प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

त्यस्तै लमही नगरपालिका–५ मा दुईवटा घर पूर्णरुपले क्षति भएका छन् भने छवटा घर डुबानमा परेका छन् । यसैगरी बबई नदीमा आएको बाढीले दुईवटा घर बगाएको छ भने ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ । 

गएराति १ः३० बजेदेखि तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा यातायात ठप्प भएको छ । बबई नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । 

अविरल वर्षाका कारण दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को बखरिया, गोल्टाकुरीको कलम खोला, मोतीपुर, बाँकी गाउँ जलमग्न भएको छ । त्यसैगरी घोराही तुलसीपुर सडकखण्डको मोतीपुरमा पनि बाढीले सडक बगाएको इप्रका तुलसीपुरले जनाएको छ ।

खोलाले बगाउँदा दुई जनाको मृत्यु,पाँच बेपत्ता

झापा - झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । 

झापा गाउँपालिका– २ की कमला घोर्साइनेलाई कनकाई नदीमा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नदीमा आएको बाढीले आमाछोरीलाई दुबैलाई बगाउँदा छोरी कमलाको मृत्यु भएको र आमा बेपत्ता भएको प्रहरीले जनाएको छ । 

झापा गाउँपालिका– २ कै कलिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवारलाई कनकाई नदीले बगाएको छ । नदीले बगाएर बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

यता, शिवसताक्षी– १ धरमपुरका २८ वर्षीय विजय पाण्डेलाई झिलझिले खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सशक्त प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणले बेपत्ताको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिए । 

मोरङमा बाढीले करिब दुई हजार परिवार विस्थापित


विराटनगर -निरन्तररुपमा गएरातिदेखि बर्षा जारी रहेको कारणले मोरङमा अन्दाजी दुई हजार घर डुवानमा परेको छ । 

बर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध भएको छ र विमानस्थलको सुरक्षागार्डको भवनमा समेत पानी पसेपछि कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ । 

विराटनगर महानगरपालिकाको १९ वटै वडाका अधिकांशको घरमा पानी पसेको छ । सोमध्ये, विराटनगरको ४, ५, ६, ११ र १२ नम्बरका वडा पूर्ण डुबानमा परेको र ती वडाबाट ६ सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । 

यसका साथै विराटनगरको नोबेल अस्पतालभित्र पानी पसेको छ र नेपाल आयल निगमको पर्खाल भत्किएको छ । विराटनगर–२ मा सिंग्याही खोलाको पानी दर्जनौँ घरमा पसेका छन् विराटनगरका मुख्य सडकका साथै सहायक सडक खोलाको रुपमा परिणत भएको छ । 
सुन्दरहरैचाको ४ र ६ वडामा पर्ने पुलको पश्चिमपट्टिको भागलाई गछिया खोलाले कटान गरेपछि केही बेर आवागमन ठप्प भए पनि यतिखेर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 
यसका साथै बूढीगंगामा अन्दाजी ३५० घरपरिवार डुबानमा परेका छन् । बौंराहा टोलको १५० घर, मुडेरी टोलका १५० घर र दिपु टोलका ५० घर छन् । प्रहरीको टोली पीडितलाई उद्धार गरी सुरक्षित स्थानमा राख्ने कार्यमा जुटेका छन् । 
उर्लाबारी– ८ को माझीटोलमा बक्राहा नुनसरी खोलाले १५ घर र मिक्लाजुङको खाँबेझाडो गाउँको– ६ परिवारलाई डुबानमा पारेको छ, भने धनपालथानको ५,६ र ७ वडाका तीन सय परिवारको घर डुबानमा परेको छ । 
पीडित परिवारको उद्धार कार्यमा प्रहरी जुटेको छ । 

त्यसैगरी, रतुवामाई नगरपालिकाको ७, ८, ९ र ५ मा रतुवा र बक्राहा खोलाको पानी पसेपछि सात सय परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रहरी टोली यतिखेर जुटेका छन् । धनपालथान–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर १५० घर डुबानमा परेको र रंगेलीको आमतोलामा चार घर डुबानमा परेको छ, भने एकराही र जामुनगाछिको मानव बस्तीमासमेत पानी पसेको छ । 

यसैबीच, गएरातिदेखि विराटनगरमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । नेपाल टेलिकमको इन्टरनेटसेवा बिहान ९ः३० बजेदेखि सुचारु भएको भए पनि मोबाइल र टेलिफोनको एसटिडी सेवा सुचारु हुनसकेको छैन् ।

बाढी–पहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् । 


शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकै परिवारका चारको मृत्यु भएको छ । 


प्रधानमन्त्री देउवाले शुक्रबार विहानै बाढी–पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिए ।  


बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

नवलपरासीमा राजमार्ग भत्केर यातायात ठप्प, यात्रु अलपत्र

परासी–पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा हाईवे भत्केर यातायात अवरुद्ध भएको छ ।
 हिजो बिहानदेखि लागतार परिरहेको भारी बर्षाका कारण दाउन्नेको एस मोडबाट पुर्व तर्फ एक किलोमिटरको दुरीमा हाईवेको एक साईड बाटो भत्केपछि रातीदेखिनै यातायात ठप्प भएको छ ।

 हाईवेको एक साईड बाटो भत्केर पुरै बाटौ नै चर्किएपछि पुर्व पश्चिम यात्रा गर्ने साना तथा ठुला सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । पानीले हाईवे करिब १० मिटर भत्केर त्यस ठाउँको हाईवे पुरै चर्केको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।  
भारी वर्षा कारण दाउन्ने र दुम्कीबासको विभिन्न ठाउँमा पहिरो पनि झरेको छ । एक हप्ता अगाडी नै ठाउँठाउँमा पहिरो झरेर ठप्प बनेको याताया एकतर्फी सुचारु गरिएको थियो तर फेरि राती पहिरो झरेपछि अहलिेसम्म यातायात पुर्ण रुपमा ठप्प छ ।

 साना तथा ठुला सवारीहरु समेत आवत जावत गर्न सकेको छैन । रातीदेखि यातायात ठप्प परेपनि यात्रुहरु अलपत्र परेका छन् । छिनछिनमा पहिरो झरने र बाटो भत्किने क्रमले बाटोको पहिरो पन्छाउने कार्यपनि ठप्प छ । यात्रुहरु पहिरोको उच्च जोखिममा अलपत्र परेको अवस्था रहेको बताए । राजमार्ग वरिपरिका भिर (पहाड) लागातर झरिले गर्दा निकै कम्जोर भई ठाउँठाउँ पहिरो भरीरहेको छ । पुर्वपश्चिम यात्रा गर्ने यात्रीहरु उच्च जोखिम मोललिएर यात्रा गर्न बाध्य छन् ।  पुर्वपश्चि यात्रा गर्ने यो एक मात्र राजमार्ग हो । 


त्यस्तै निरन्तर भारी बर्षाले परासी क्षेत्रमा फेरि ठुलो बाढीले हजारांै घर डुबानमा परेका छन् । पहाड हुदै बगेको झरही, तुरिया, खजुरा, पानभार लगायतका खोलाहरुको बाँध फुटेर र ओभरफ्लो भएर बाढी गाउँहरुमा पस्दा थुप्रै गाउँ टोलहरु डुबानमा परेका छन् । यस क्ष्ोत्रमा एक हप्ता अगाडी नै गएको बाढीले प्रतापपुर, सरावल, सुस्ता, पाल्हीनन्दन, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका गरि करिब ३ हजार घर डुबानमा परेका थिए जसमध्ये १ सय ४४ घरधुरीको घर नै भत्केर विस्थापित हुन पुगेका थिए ।

विस्थापित र प्रभावित घरपरिवार पुर्न स्थापित हुन नपाउदै फेरि यस क्षेत्रमा बाढी पसेर हराजांै घरहरु डुबानमा परेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताए । शर्माका अनुसार खजुरा खोलाको ठाउँठाउँमा बाँध फुटेर गाउँगाउँमा बाढी पसेको बताए । बाढीले पं्रतापुर गाउँपालिकाको वार्ड नं. ३ को बरगदवा, अमहवाँ, नन्दपुर, कजडहिया, फडरहनी टोलाहरु पुनः बाढीको डुबानमा परेका छ भने वार्ड नं. ४ को ठुलोखैरेटवा, पर्सा, दरखासे, कालीबर्था वार्ड नं. ८ को फटकी टोला र ९ को माधवपुर, गोबरकटवा टोलाहरु डुबानमा परेको छ । 

त्यस्तै बाढीले सुुस्ता गाउँपालिकाको वार्ड नं. ३ का सेखुवानी, फेनहरा, रडवारेता गाउँहरु डुबानमा परेका छन् । यता सरावल गाउँपालिकाको वार्ड नं. ६ रामपुर खडौना, पुसौली, र वार्ड नं. ७ को भुजहवाँ गाउहरुँ बाढीको डुबानमा परेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । यि गाउँटोलहरु गएको साता पनि डुबानमा परेका थिए । त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको वार्ड नंं १ का रमपुरवा, शंकरपुर, चम्कीपुर, वार्ड नंं ३ पर्सीया, बेलासपुर, वार्ड ४ को पाल्ही, ५ को गेरमी र ६ को सनई गाउाँहरु बाढीको लेभल बढदै जाँदा बाढी पस्ने सम्भावना देखिएको छ भने यता बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका र सुनवल नगरपालिका केहि वाडहरुमा पनि बाढी पस्ने सम्भावना बढेको पाइएको छ । 
 

बाढी पहिरोबाट अहिलेसम्म ३० को मृत्यु
 

कस्तो छ गृहमन्त्रालयको तयारी ?काठमाडौं -सरकारले तराईका केही जिल्ला बाढी र डुबानबाट प्रभावित भएको तथा कतिपय स्थान अझै पनि जोखिममुक्त नरहेको भन्दै विशेष सर्तक रहन सर्वसाधरणलाई आग्रह गरेको छ । 


विभिन्न जिल्लामा नदीको सतहको पानीमा उच्च बहाव आएको तथा सो क्रम केही समय जारी रहन सक्ने भन्दै सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सर्तक रहन आग्रह गरेको हो । केन्द्रीय दैविक प्रकोप तथा उद्धार समितिको सिंहदरबारमा सनिबार बसेको आकस्मिक बैठक पछि   सरकारले मुलुकका पुर्वी तराई र पश्चिमका केही जिल्लामा आएको बाढी र डुबानमा परेकाको तत्काल उद्धार गरी राहत वितरणमा उच्च प्राथमिकताका साथ उद्धार टोली परिचालन भईरहेको भन्दै कठिन घटीमा राहत सामग्री र उद्धारकार्यमा सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक संघ संस्था लगाएत लाई अपिल पनि गरेको छ । खाद्य सामाग्री तथा सरसफाई लगायत कारणले फैलन संक्ने संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी टोली पठाउने तयारी भईरहेको पनि सरकारले जनाएको छ ।
गएराती देखिको भारी बर्षा पछि स्थानीय नदीमा आएको बाढीका कारण झापा ,मोरङ, सुनसरी, सर्लाही, रौतहट, सप्तरी लगायत पुर्वका जिल्ला र पश्चिममा बाँके र दाङ डुबानमा परेका छन् । ती जिल्लामा नेपाली सेनाको व्यारेक, विमानस्थल सबै जलमग्न हुनुको साथै सर्वसाधरणका घर डुबानमा परेका छन् भने जनजीवन पुर्णतया अस्तव्यस्त बनेको छ ।

सरकारले गएराती देखिको बाढीका कारण मोरङमा ३, झापामा २, सुनसरीमा ७, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ जनागरी ३० जनाको ज्यान गई सकेको र केही हराईरहेको पुष्टि गरेको छ । त्यसैगरी झापाको मोदनामा र पश्चिम बाँकेमा वाढीमा फसेकालाई उद्धार गर्ने काम भईरहेको पनि सरकारले जनाएको छ ।

झापाको मदरगाछी र कपनकपास भन्ने स्थानमा पनि उद्धारका लागि टोलि पठाएको जानकारी गराएको छ । बैठकपछि गृहमन्त्री जनाद्र्धन शर्माले बाढी पहिरो र डुबानको समस्या देखिएका जिल्लामा गृह मन्त्रालयले उद्धार तथा राहत उपलब्ध गराउनका लागि टोलि परिचालन गरिएको बताउनुभयो । पश्चिममा ओभरी, गावर र गन्धनी पुल तथा पुर्वको गछिवा पुल क्षतिग्रस्त भएको तथा बागमति सिंचाईको ड्याममा खतरा आउने संकेत देखिएकाले केही डोजर र एक्जाभेटर पठाईएको, बाटोमा भएको अवरोध खोल्ने काम भईरहेको भन्दै गृहमन्त्री शर्माले सबैलाई धैर्य हुन आग्रह गरे । 


उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोलि परिचालित रहेको र विमानस्थलमा हेलिकप्टर  र तालिम प्राप्त फोर्स कमाण्डको टोलीलाई तयारी अवस्थामा राखिएको भन्दै गृहमन्त्री शर्माले मौसम अनुकुल हुने वित्तिकै सम्बन्धीत स्थानमा परिचालित हुने जानकारी दिए । 


जल तथा मौैसम विज्ञान विभागले पनि बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।

सडक अवरुद्ध

तम्घास -वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आज बिहानदेखि अवरुद्ध बनेको छ । 

मुसिकोट नगरपालिका–६ अन्तर्गत भुवाचिदी नजिकै पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेकोे जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । 

सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट तम्घास, पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने सम्पूर्ण सवारीसाधन ठप्प बनेका छन् । सवारीसाधन सञ्चालनमा आउन नसकेपछि घरबाट यात्रामा निस्केका सयौँ यात्रु समस्यामा परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । 

वर्षासँगै सडकमा पहिरो खस्ने र पानीले ठूलाठूला खाडल बनाएका कारण जिल्लाका अधिकांश ग्रामीण सडकमा समेत यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

पहिरोले गोठ पु¥यो, चौपाया मरे 

गएराति अविरल वर्षासँगै गएको पहिरोले गुल्मीमा एक गोठ पुरिँदा दुईवटा चौपाया मरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–६ कुर्घास्थित कृष्ण परियारको गोठमा रहेका गोरु र भैँसीको पाडी पहिरोले पुरिएर मरेको जिप्रका गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए । 

वर्षासँगै गएको पहिरोले सोही ठाउँकै टीका पछाईको पक्की घरमाथिबाट पहिरो खस्दा पछाई परिवार विस्थापित भएका छन् । गएराति पानीसँगै आएको पहिरोले उनको घर गोठ जोखिममा परेको स्थानीयवासी व्यापारी ज्ञानहरि सापकोटाले जानकारी दिए । 

अविरल वर्षाले रौतहटको जनजीवन अस्तव्यस्त, महेन्द्र राजमार्ग बिहानैदेखि अवरुद्ध


रौतहट –अविरल बर्षाको कारण रौतहटको जनजीवन अस्तब्यस्त भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गका साथै जिल्लाका अधिकांश ग्रामिण सडकहरु समेत अवरुद्ध भएको छ । 
पछिलो ४० घन्टा भन्दा बढी समयदेखि  परेको बर्षाले महेन्द्र राजमार्ग अन्तरगत चन्द्रपुरको जुुडिबेला छेउ लचकामा पानी बढेकाले आज बिहान छौ बजेदेखि सम्पुुर्ण यातायात अवरुद्ध भएको हो ।
लचका छेउमा बिहानै फँसेको दुुईवटा गाडीलाई प्रहरीले निकालेको छ ।


बंकुल कोपवा बीचको नहरको पुुल, देवाहीबाट सोनरनिया हुँदै  हरनहिया जाने बाटो र त्यहाँ रहेको पुुल बाढीले बगाएको छ ।
बाटो र पुुल बगाए पछी देवाहीबाट मौलापुर, बंकुलबाट कोपवा,तथा मौलापुरबाट बारातर्फ जाने सडक आज अवरुद्ध भएको छ ।
बर्षाको पानी सडक सतहदेखि माथी सम्म बगिरहेकाले जिल्लाको पुुर्वीभेग समनपुर,मत्सरी,मध्यभाग कटहरिया तथा पश्चिमीभेग बिजयपुुर, बंकुल, दुअिवा, बडहरवालगायतका क्षेत्रमा पनि यातायात सञ्चालन हुन सकेको छैन । 


पानीको तीब्र बहावले गरुडाछेउ झाँझपुल नजिकै दुुईवटा बिद्युुतको पोल ढलेपछि दक्षिणीभेगमा  विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
बर्षाको पानीले पुुर्वीभेग मत्सरी,सरुअठा,मलहिनिया,समनपुुर, पश्चिमीभेग देवाही, करुनिया, जिंगडवा, मर्यादपुर, ईनरवा, मटिअर्वा, कटहरिया, कर्कचकर्मैया, भसेढवा, बडका बडेरवा, फतुुआ, हर्षाहा, लक्षमिनिया, सितलपुर, बरगिनियतलगायत चारदर्जन बढी गाँउ डुुबानमा परेको छ ।
गरुडा नपा चार मलहिनिया लगायतका गाँउको चारैतर्फ पानी जमेकाले टापुु सरह बनेको छ ।


डुुबानमा रहेका अधिकांस घरहरुमा पानी पसेकाले घर परिवारका मानिस हिजो राती देखी खाना समेत खान नसकेको भसेढवाका स्थानिय राजुु उपाध्यायले बताएका छन ।
सिडिओ उद्धव बहादुुर थापाले अविरल बर्षापछि उत्पन्न बिपतपछिको राहत र उद्दारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा नेपाली सेनाका टोली युुद्धस्तरमा खटीरहेको बताए ।
 

बाढीपीडितको उद्धारका लागि एकीकृतरुपमा सुरक्षाकर्मी परिचालन

काठमाडौँ-सरकारले बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थान प्रभावित भएकाले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार र राहतका लागि परिचालित भएको जनाएको छ । 

गृहमन्त्रालयले आज एक सार्वजनिक अपिल जारी गर्दै प्रभावितको खोज तथा उद्धारका लागि तालीम प्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको हो । 

मन्त्रालयले झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके जिल्लाका विभिन्न स्थान बाढी र डुबानबाट बढी प्रभावित भएको भन्दै सरकारका सबै निकायबीच आवश्यक समन्वय गरी प्रतिकार्य अगाडि बढाइएको उल्लेख गरेको छ । 

मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले यस कठिन घडीमा खोज, उद्धार र राहत कार्यमा सहयोग पु¥र्याउन र समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृहमन्त्रालयले आग्रह गरेको बताए । 

देशका विभिन्न नदीको जल सतह बढिरहेको र केही नदीको जल सतह खतराको तहभन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आ–आफ्नोतर्फबाट उच्च सतर्कता अपनाउन हुनसमेत मन्त्रालयले अनुरोध गरेको छ । 

इटहरीमा सात जनाको शव पानीमा भेटियो

विराटनगर - सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ । 
भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उहाँकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०÷३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

एक घर पुरियो, दुई घर जोखिममा

रामपुर-गएरातिदेखि परेको अबिरल वर्षाले रामपुर नगरपालिका– १० मा एक घर पुरिएको छ भने दुई घर जोखिममा परेका छन् । 

कालीगण्डकी करिडोरको आडैमा रहेको दुर्गा मन्दिर टोलमा रहेको छमबहादुर आलेको घर पुरिएको हो । 

कालीगण्डकी करिडोरको बाटोमा खनिएको कच्ची नाली बाढीले भत्काउँदा घर पुरिएको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो ।बाढीले घर पुरिएपछि आलेको परिवार अहिले आफन्त र छिमेकीको शरणमा बसेका छन् । 

त्यस्तै सोही स्थानकै देवनाथ अधिकारी, भोलानाथ पाण्डेय र आनन्द पाण्डेको घर जोखिममा रहेको छ । कालीगण्डकी करिडोरले कच्ची नाली निर्माण गरेका कारण यहाँ क्षति हुन पुगेको हो । करिडोरको बाटोमा करिब पाँच मिटर चौडाइदेखि १० मिटर गहिराइसम्म पानीले खोलेको छ । 

यस क्षेत्रमा करिडोरको बाटोको नाली भत्किँदा करिब पाँच बिगाहा क्षेत्रफलमा लगाइएको धान पुरिएको कृषकले बताएका छन् । 

दरमखोला लघुजलविद्युत् परियोजना अवरुद्ध

गुल्मी -मुसिकोट नगरपालिकाको वडा नं ७ स्थित दरमखोला लघुजलविद्युत् परियोजनाको नहर पहिरोले बगाएपछि आज बिहान परियोजना अवरुद्ध भएको छ । 

अविरल वर्षाका कारण बसेरीमा झण्डै २०० मिटरमाथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेको हुँदा विद्युत् अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । 

विद्युत् नहरको निर्माणकार्य तथा मर्मत संहार गरी सञ्चालन गर्न अझ केही दिन लाग्ने उनले बताए । 

८५ किलोवाट क्षमता भएको सो विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको वडिगाड गाउँपालिकाको वडा नं ३ गरी चार वडाका ९०० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । 

विद्युत् अवरुद्धपछि कलकारखाना उद्योगधन्दा, सञ्चार क्षेत्र प्रभावित भएका छन् । 

 

बाढी पहिरोले जाजरकोटका गाउँ अन्धकार

जाजरकोट - लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति 

बन्द भएको छ । विद्युत् उत्पादका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । 

लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । त्रिवेणी नलगाड नगरपालिका –३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ । 

कुलो बाढीले भत्काउँदा ६५ घरधुरी अध्यायारोमा बस्न बाध्य भएको त्रिवेणी नलगाड नगरपालिका – ३ का वडा अध्यक्ष प्रचण्ड बलीले बताउनुभयो । सोही नपाकै वडा नं – ९ तात्रामा रहेको रु ७२ लाख बराबरको १८ किलोवाट क्षमता भएको दोवीया खोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको वडा अध्यक्ष विष्णु विकले बताए । 
यो विद्युत् अवरुद्ध भएपछि यहाँका ५० भन्दा बढी घर अन्धकारमा बस्न बाध्य भएका छन् । 

कुशें गाउँपालिका– २ मा रहेको झण्डै रु एक करोड ४० लाखको लागतमा निर्माण गरिएको खाराखोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको छ । झण्डै ३६ किलोवाट विद्युत् खपत क्षमता भएको सो लघु जलविद्युत् आयोजनाको कुलो बाढीले भत्काएसँगै चारसय घरधुरीका स्थानीय बासिन्दाले अध्याँरो झेल्नुपरेको कुशें गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । 

बारेकोट गाउँपालिका –२ रोकायगाउँमा रहेको गाग्रा खोला लघु जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन रोकिएको हप्ता दिन पुगिसक्दा पनि निर्माण कार्यमा सरोकारवाला निकायले चासो नदेखाएको स्थानीय गोरख घर्तीले गुनासो गरे । 
बर्षायाममा जताततै खोलामा पानीको मात्रा बढेका कारण सजिलै सामग्री ढुवानी गर्न समस्या भएको उपभोक्ताले बताएका छन् । 

माडीका बस्ती डुबानमा, सडक बगाउँदा यातायात अवरुद्ध

रत्ननगर - बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । 

रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनाँै बस्तीका सयौँ घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिनुभयो । 

उहाँले यहाँका तीन÷चार सयभन्दा बढी घर डुबानमा परेको जानकारी आएकाले यस सम्बन्धी विवरण संकलन भइरहेको बताउनुभयो । मानवीय क्षति भने भएको छैन । 

माडीको वनकट्ठा, अमिलिया, सिमरा, धोवाह, रतनीका बस्ती डुबानमा परेका छन् । यहाँका ठाडा खोला र रिउ नदीमा बाढी आएको छ । 

उहाँकाअनुसार डुबानमा परेका बस्तीको बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ र अहिले जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकायसहितको उद्धार टोली माडी पुगेको छ । 

चितवनका प्रजिअ तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टले बस्ती र लगाइको बाली डुबानमा परेको जानकारी दिँदै डुबान क्षेत्रमा पुगेर विवरण संकलन गरी जोखिमा परेकाको उद्धार जारी रहेको बताए । 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बाढीले ३०÷४० घरलाई पूर्णरुपमा क्षति पु¥याएको छ भने २०० जति घरमा आंशिक क्षति पु¥याएको जानकारी दिए ।

चितई खोला, बाँदरमुढे खोला र घाँगर खोलामा आएको बाढीले यहाँका विभिन्न क्षेत्रमा सडक भत्काएको छ । जसका कारण आज बिहानैदेखि भरतपुर– माडी ठोरी यातायात अवरुद्ध भएको स्थानीय पत्रकार गोविन्द न्यौपानेले जानकारी दिए । 

उहाँका अनुसार माडीका विभिन्न क्षेत्रका माछापोखरीमा समेत बाढीले क्षति पु¥याएको छ । माडीमा विद्युत् सेवा बन्द भएको आज २५ दिन पुगेको छ भने विद्युत् नहुँदा यहाँको फोन सेवासमेत प्रभावित भएको न्यौपानेले बताए । 

महोत्तरीका ४१ वटा सडक बाढीले अवरुद्ध

गौशाला- अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

तीन÷चार दिनदेखि लगातार भइरहेको वर्र्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

लगातारको वर्षाका कारण जिल्लाको मुख्य पक्की सडक जलेश्वर जनकपुरसहित ग्रामीण सडक मटिहानी जलेश्वर परिक्रमा सडक, भिठ्ठामोड जलेश्वर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपट्टी सडक खण्डको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने स्थानीयवासीलाई निक्कै कष्ठपूर्ण भएको छ । 

यसबीच जिल्लाको एकमात्र जलेश्वर बर्दिवास सडकखण्ड सुचारु रहेको छ । 
वर्षाका कारण १७ घर विस्थापित 

यसैगरी अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको दुई गाउँका १७ परिवार विस्थापित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअुनसार लगातारको वर्षाका कारण जिल्लाको पिपरा गाउँपालिका – ४ पासवान टोलमा स्थानीय वृहस्पति पासवान, नथुनी पासवान, दिनेश पासवान, मला पासवान र पिपरा– २ का इब्राहिम राईनका घर पूर्ण रुपमा ढलेर विस्थापित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतकाअनुसार पिपरा पासवान टोलका पाँचै जनाको घर भत्किँदा उनीहरुको घरबार र घरभित्र रहेका अन्नपातसहित रु सात लाखको क्षति भएको छ । 

वर्षाका कारण विस्थापित भएका पिपराका पासवान केही छिमेकीको घर र केही स्थानीय विद्यालयमा शरण लिएर बसेका छन् । 
त्यस्तै लगातारको वर्षाकै कारण जिल्लाको सम्सी गाउँपालिका– ४ गँैंढाभेटपुरमा १२ घर मुसहर र दुसाध विस्थापित भएका छन् । 

गाउँभन्दा दक्षिणपट्टी एउटा साने टोलमा स–साना छाप्रा बनाएर बसिरहेका उनीहरुको घर÷घरमा बर्षाका पानी पसेर– चार जनाको घर भत्किएको र अन्य सबै जनाको घरको सबै सरसामान डुबानमा परेको स्थानीय ललन झाले बताए ।

बर्षाको पानी घर÷घरमा पसेको र केही व्यक्तिको घरसमेत भत्किएपछि १२ जनालाई स्थानीयवासीले सार्वजनिक माध्यमिक विद्यालयमा उद्धार गरी अस्थायी बास दिलाएका छन् । 

नदीमा बग्दै गरेका दुईको उद्धार

कञ्चनपुर - वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ । 

कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले राति ८ बजे उद्धार गरेका हुन् । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीबाट घरतर्फ जाँदै गर्दा नदीमा दुवै जना बगेको स्थानीयवासी सुरतबहादुर साउदले बताए । “बगेको स्थानभन्दा झण्डै ७०० मिटर दक्षिणबाट दुवै जनालाई उद्धार गरेका छौँ”, उनले भने । 

स्थानीयवासी जनकलाल चौधरीसहितको टोलीले दुवै जनालाई उद्धार गरेको बताइएको छ । नदीमा पुल नहँुदा यहाँका बासिन्दाले बाढी आएका बेला पनि नदी तर्नुपर्ने बाध्यता छ । 

घर घरमा पानी पस्यो


जनकपुरधाम - अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ । 

पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय परिसर डुबानमा परेका छन् । 

जनकपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा अधिक पानी जमेको छ भने रासस र हुलाक कार्यालयका कोठामा पानी पसेर कागजातलाई भिजाएको छ । अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीले सास्ती भोग्नुपरिरहेको छ । यहाँका नालाका पानीले परिसर दुर्गन्धित भएको छ । 
 

माडी क्षेत्रका दुई सय घर डुबानमा

चितवन - दुई दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् । 

बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० बिन्दुमा पुगेपछि स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान भनिएको बताए ।  राति डुबानमा परेका घरबाट स्थानीयवासी अग्ला ठाउँमा गएर सुरक्षित रहेको उहाँले जानकारी दिए । 

माडी नगरपालिका वडा नं १, २, ४ र ६ का पूरै तथा वडा नं ३ र ४ का केही भाग डुबानमा परेका छन् । बाढीले कुन्तीपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा क्षति पु¥याएको छ । ठूलो मात्रामा धान खेत डुबाएको स्थानीयवासीले बताएका छन् । 

माडी–ठोरी हुलाकी सडक अवरुद्ध 
वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार माडी–ठोरी हुलाकी सडकको चितई खोलाको पुल बाढीले ढल्काएपछि सो सडक अवरुद्ध भएको छ । त्यसैगरी बरुवा बजारबाट लक्ष्मुनिया क्षेत्र जाने डाङ्ग्रे खोलाको पुल पनि बाढीले क्षति पु¥याएपछि सो सडक पनि अवरुद्ध बनेको उहाँले बताए । 

ती ठाउँमा मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विस्तृत विवरण संकलन भइरहेको छ । डुबानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, स्थानीयवासीसहित निकुञ्जका सात हात्ती उद्धारमा परिचालन गरिएको छ । जिल्लाबाट प्रजिअ नारायणप्रसाद भट्ट, सुरक्षा निकायका प्रमुखसहितको टोली बिहान डुबानस्थलतर्फ प्रस्थान गरेको छ । 

विभिन्न गाउँ डुबानमाः पीडितलाई हेलिकप्टरमार्फत उद्धार

खजुरा - लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । 
गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् । 

यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् । 

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताए । 

उहाँका अनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ । 

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताउनुभयो । राप्ती नदीको तह बढेर अहिले ८।५८ मि पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मि सामान्य मानिन्छ । 

दाङमा बाढीले सडक बगायो : यातायात सेवा बन्द​
-तुलसीपुर घोराही सडक खण्डको हातिखौवामा बाढीले करिव १० मिटर सडक बगाउँदा यातायात सेवा बन्द भएको छ । 

-राप्ती राजमार्गको तुलसीपुर अमिलीया सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । 

-तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ अम्वापुरमा ३ वटा घर भत्किएका छन् ।

-तुईखोलामा आएको बाढीका कारण अम्वापुरका डिल्लीबहादुर चौधरी, पूर्णबहादुर चौधरी र साईती चौधरीको घर भत्किएको छ । 

-सोही वडाको चन्दनपुरमा समेत बाढी पस्ने त्रासका कारण स्थानीय रातभर सुतेका छैनन् ।
 

२०७२ सालमा बाढीका कारण अत्यन्त प्रभावित क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मोतिपुर गाँउ छेउछाउसम्म बबई नदिको बहाव पुगेको स्थानीय लिलाध्वज बस्नेतले जानकारी दिए । 

बाढीका कारण जिल्लामा पुल नभएका सडक खण्ड अबरुद्ध भएका छन् यसैगरि तुलसीपुर उपमहानगरपालिकाले उद्दार टोलि परिचालन गरेको बताएको छ । 

उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले सवैलाई सजग रहन आग्रह गरेका छन् ।

पहिराले घर पुरिँदा महिलाको मृत्यु

उर्लाबारी - पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ । 

दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले राससलाई जानकारी दिए । मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन् । 

पूर्वपश्चिम राजमार्ग अवरुद्ध 
अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवतजावत नै बन्द गरिएको सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिनुभयो । बेलबारी नगरपालिका–५ स्थित भित्री सडकखण्डमा लोहन्द्रा खोलामा रहेको पक्की पुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैँचाले जनाएको छ । 

यस्तै बूढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बूढीखोलाको बाढी पसेर एक सय ५० घर, मुडेरी टोलका एक सय ५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिएर पीडितको उद्धार गरिरहेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । त्यस्तै रतुवामाई नगरपलिका–५ गोविन्दपुरमा रहेको प्रहरी चौकी गोविन्दपुर पूर्णरुपमा डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी छतमा बस्नुपरेको छ । 

रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ । सो स्थानका विस्थापित अन्दाजी सात सय घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ । यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर एक सय ५० घर डुबानमा परेका छन् ।

दुई सडकखण्ड अवरुद्ध

हेटौँडा - हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत फाखेल सडकखण्डको सुकौरामा आज राति परेको वर्षाले पहिरो गई हेटौँडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ । 

कुलेखानी–काठमाडौँ र फाखेल–काठमाडौँ सडकखण्ड अवरुद्ध भएकाले बिहानदेखि भैँसेस्थित त्रिभुवन राजपथबाट काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी हेटौँडाबाट गएका यातायातका साधन चिसापानीगढीबाट फर्काई भीमफेदी हुँदै भैँसेतर्फ लगिएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले जानकारी दिए । 

वीरगञ्ज, जनकपुर, चन्द्रनिगाहपुर र हेटौँडा गरी दैनिक करिब ७५० सुमो जिप हेटौँडा,कुलेखानी हुँदै काठमाडौँ जाने गर्छन् । 

पहिराबाट घर पुरिँदा चारको मृत्यु


सिन्धुली - शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ । 
सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो । आज बिहान करिब २ बजे घर माथिबाट आएको पहिराले पुरिएर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र आठवर्षीय मनिष रहेको परिवार स्रोतले जनाएको छ । 

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो । जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको थियो । राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए । 

“राति २ बजेतिर पहिरो आएछ । म ढोकाको छेउमा सुतेको थिएँ । श्रीमती र छोराछोरी भित्तापट्टि सुतेका थिए । पहिरो आउनासाथ म भागेँ, उनीहरु भाग्न भ्याएनन् । राति २ बजेदेखि चिच्याएँ, ठूलो पानी परेकाले कोहीले थाहा पाएनन् क्यार, करिब ४ बजेतिर छिमेकीले प्रहरीमा खबर गरिदिए” खड्काले भने । 

पहिरामा परेकाहरुलाई ढिलो उद्धार गर्दा ज्यान गइसकेको थियो । शव सिन्धुली अस्पतालम राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार प्रयास गरेको थियो । राति परेको अविरल वर्षाको कारण अन्य क्षेत्रबाट भने कुनै क्षति विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लोहन्द्रा खोलाले बगाएर मृत्यु


उर्लाबारी - लोहन्द्रा खोलाले बगाउँदा शुक्रबार साँझ 
केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ । 
स्थानीय बेलबारी बजारबाट घरतर्फ फर्कने क्रममा साँझ खोलाले बगाएका थापाको शव खोजी गर्ने क्रममा केही पर फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । 

बाढीबाट हजारभन्दा बढी घर डुवानमा


राजविराज-अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेको छ । 

बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरी प्रशासनबाट थाहा भएको छ । जिल्लाको खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घर डुबानमा परेका हुन् । 

राजविराजको मुख्य बजार क्षेत्रमा समेत तीन फिटसम्म पानी जमेको छ । सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ३३ ओटा ढोका खोलिएको छ । टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानी पसेपछि स्थानीयबासिन्दा सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् । 

बाढीको प्रवाह नरोकिएकाले पीडितलाई थप समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३५० परिवार घर छाडेर सडक तथा सुरक्षित ठाउँमा बसेका बताइएको छ । 

त्यस्तै कोशीको बाढी पसेर हनुमाननगर कंकालनी नगरपालिका–७ र १४ को रमपुरा मल्हनियाँ र कोइलाडी तिलाठी गाउँपालिकाको तिलाठीमा ३१० घर डुबानमा परेको छ भने ५० परिवार विस्थापित भएका छन् । यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४०० घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै राजविराज नगरपालिका–१० विरौल गाउँ नजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिवथान, देउरीभरुवा, पकरीसहितका वस्ती बाढीको उच्च जोखिममा परेका छन् । 

खोलाले बगाएर मृत्यु

उर्लाबारी -मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित बक्राहा खोलाले बगाएर हिजो साँझ एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गाउँपालिका–२ का ३२ वर्षीय गंगाराम खतिवडा छन् । मधुमल्ला बजारस्थित आफन्तलाई भेटेर घर फर्कने क्रममा खतिवडालाई बक्राहा खोलाले बगाएको थियो । खतिवडालाई साँझ साढे ६ बजे मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । 

फालेलुङमा पहिरोमा परी चारको मृत्यु


पाँचथर- जिल्लाको फालेलुङ गाउँपालिका–३ साविक मेमेङ गाविसको ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर हिजो  तीनजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनीकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् । 

उनकै घरबाट झरेको पहिरोले पावर हाउसको कुरुवा बसेका उनीहरुलाई थिचेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुको शव अहिलेसम्म पहिरोबाट निकाल्न सकिएको छैन । 

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अहिले उक्त क्षेत्रमा उद्धार गरिरहेको भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिए । 

पहिरोले राईको घर पनि बगाएको छ भने स्थानीयको एक हल गोरु, दुई वटा गाई, नौवटा खसीबाख्रा, मरेका छन् । पहिरोबाट उक्त ठाउँमा आठवटा घर जोखिममा रहेको स्थानीय दिपशन चौहानले जानकारी दिए । 

यसैगरी फालेलुङ गाउँपालिका–२ एकतिनको चुक्पादिनमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरेको छ । 

बिपी राजमार्गमा रुख ढल्दा अवरोध, एकतर्फी मात्र सञ्चालन


सिन्धुली -बिपी राजमार्गको सडकखण्डअन्तर्गत २६ प्लस भन्ने स्थानमा रुख ढल्दा गए रातिदेखि सवारी आवागमनमा समस्या भएको छ । जनशक्ति लगाएर रुख पन्छाउन नसकिँदा समस्या भएको हो । 

राति २ बजे सडकमा खनियाखर्क नजिक लडेको सल्लाको रुखले केही समय सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए । 

सडकको रुख पन्छाउन प्रहरी परिचालन गरिएको भए पनि पूर्णरुपमा पन्छाउन नसक्दा अहिले एकातर्फ मात्र राजमार्ग सुचारु गरिएको उनले बताए ।
 प्रहरी परिचालन गरेर रुखका हाँगा काटेर एकतर्फी मात्र सवारीसाधन छाडिएको उनको भनाइ छ । सानो राजमार्ग भएकाले एकतर्फबाट सवारी सञ्चालन गर्दा यात्रु र सवारीसाधनको लाम लाग्ने गरेको छ । 

सडकमा ढलेको रुखलाई पन्छाउन कमलामाई नगरपालिका र सुनकोसी गाउँपालिकाको शीतलपाटीमा रहेको डोजर माग गरिए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको प्रहरीले जनाएको छ । 

वर्षात्को समयमा मरिण क्षेत्र र कमला नदी आसपासका क्षेत्र संवेदनशील भएकाले सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ । बाढी पहिरोका कारण समस्या उत्पन्न भएमा तत्काल प्रहरीलाई १०० मा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप