शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीबाट चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीकै प्रस्ताव !

शनिबार, १८ साउन २०७६, १४ : १३
शनिबार, १८ साउन २०७६

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् ।

यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखेपनि ओलीले नै प्रस्ताव गरेको यो पहिलो पटक हो ।

बालुवाटार स्रोतका अनुसार केही दिन अगाडि बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रस्ताव गरेका हुन् ।

‘पार्टीले जिताउने पूरै कोशिष गर्छ । र, त्यो सम्भव पनि छ,’ प्रधानमन्त्री ओलीले गौतमलाई भनेको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपाईं कास्कीबाट चुुनाव लड्नुस् ।’

तर, प्रधानमन्त्री ओलीको प्रस्तावमा गौतमले अन्तिम निर्णय नदिइसकेको स्रोतको भनाई छ । ‘पार्टी र रवीन्द्र अधिकारीको परिवारका सदस्यले निर्णय गरे मात्रै चुनाव लड्न सकिने मनस्थितिमा उँहा भएको देखिन्छ । तर हुन्छ, म चुनाव लडुछु, भन्ने उहाँको निर्णय आएको छैन,’ प्रधानमन्त्री ओली निकट स्रोतले रातोपाटीसँग भन्यो ।

यस अघि नेता गौतम काठमाडौं, डोल्पा, प्युठानलगायतका जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । तर, पाटीभित्र सहमति जुटन नसक्दा उपचुनाव लड्ने उनको चाहना अधुरै रहेको थियो । विगतमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै गौमतलाई चुनाव लड्न रोकेको आंशका पनि गरिएको थियो । तर, ती आंशका चिर्दै प्रधानमन्त्री ओलीले अहिले आफै नै नेता गौमतलाई चुनाव लड्न प्रस्ताव गरेका छन् ।

के प्रधानमन्त्रीले आलोचकलाई फकाउने रणनीति लिएका हुन् ? 

पछिल्लो समय ओली गौतमप्रति उदार बन्दै गएका छन् । केही दिन अगाडि नेकपामा संगठन विभागको जिम्मेवारीका विषयमा पनि ओलीले लचकता देखाएका थिए । यसै शिलशिलामा प्रधानमन्त्री ओलीले गौतमलाई कास्कीबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा नेता गौतम सम्पर्कमा आएनन् ।

रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्कीमा कतिपयले उनकै पत्नीलाई चुनाव लडाउन पनि प्रस्ताव गरेका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

यसैबीच निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ती जारी गर्दै विभिन्न कारणले रिक्त भएका स्थानमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने जनाएको छ ।

निर्वाचन आयोगले तोक्यो मंसिर १४ गते उपनिर्वाचन

आयोगका अनुसार उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य तीन र प्रतिनिधिसभा सदस्य एक गरी कूल ५० पदका लागि उपनिर्वाचन हुनेछ । मिति तोकिएसँगै उपनिर्वाचनको तयारी थालिएको आयोगले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उपनिर्वाचनको मिति आयोगले तोक्ने प्रावधान छ । यसअघि बुधबार आयोगले प्रधानमन्त्रीसँग उपनिर्वाचनको बारेमा परामर्श लिएको थियो भने बिहीबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप