शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस कारण अमेरिकाद्वारा केशर महल र चार नारायण मन्दिर जीर्णोद्धारमा सहयोग

शुक्रबार, २७ साउन २०७४, २० : ४०
शुक्रबार, २७ साउन २०७४

काठमाडौँ – अमेरिकाले केशर महलको दक्षिणी खण्डको जीर्णोद्धारका लागि इम्प्याक्ट फाउन्डेशन र पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिरको जीर्णोद्धारका लागि काठमाडौँ उपत्यका संरक्षण कोषलाई अनुदान रकम प्रदान गर्ने भएको छ । 

भूकम्पबाट क्षति भएको केशर महलको दक्षिणी खण्डको संरक्षण तथा जीर्णोद्वारका लागि अमेरिकी दूतावासले एएफसिपी कार्यक्रमअन्तर्गत फाउन्डेशनलाई चार लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । 
सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी) कार्यक्रमअन्तर्गत यस वर्ष फाउन्डेशन तथा संरक्षण कोषलाई विश्वव्यापी प्रतिस्पर्धामार्फत परियोजना सञ्चालनका लागि छनोट गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । 

यस वर्षको दोस्रो एएफसिपी परियोजनाअन्तर्गत पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक मल्लकालीन चार नारायण मन्दिरको जीर्णोद्धारको सहयोगार्थ एक लाख अमेरिकी डलर प्रदान गरिनेछ । संरक्षण कोषको पञ्चवर्षीय भूकम्प प्रतिकार्य अभियानको हिस्साका रूपमा रहने उक्त परियोजनाले सर्वोत्तम अन्तर्राष्ट्रिय मापदण्ड तथा भूकम्पीय प्रबलीकरण अपनाउँदै नेपालका मूल्यवान् ऐतिहासिक कलाकृतिमध्येको महत्वपूर्ण संरचनाको जीर्णोद्वार गर्नेछ । 

सन् १८९५ मा निर्मित नवशास्त्रीय राणा शैलीको सो भवनलाई परियोजनाले स्थिर र भूकम्प प्रतिरोधी बनाउनाका साथै त्यसको मर्मतका लागि अत्यावश्यक जीर्णोद्वारलाई सहयोग गर्नेछ । ‘अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाउँदै गर्दा नेपालको सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रदान गर्न लागिएको यस सहयोगले संयुक्त राज्य अमेरिका र नेपालबीचको चिरस्थायी मित्रता प्रदर्शन गर्दछ,’ कावा राजदूत माइकल गोन्जालेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अमेरिकी कंग्रेसद्वारा स्थापित र अमेरिकी विदेश मन्त्रालयद्वारा सञ्चालित एएफसिपी कार्यक्रमले सन् २००१ देखि सांस्कृतिकस्थल, सांस्कृतिक वस्तु र परम्परागत सांस्कृतिक अभिव्यक्तिलाई सहयोग गर्दै आएको छ । स्थापनाकालदेखि नै एएफसिपी कार्यक्रमले अन्य देशका सांस्कृतिक सम्पदाप्रतिको अमेरिकाको सम्मान व्यक्त गर्दै आएको छ । कार्यक्रमले हालसम्म १२५ भन्दा बढी मुलुकमा ८०० भन्दा बढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनालाई सहयोग गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप