केन्द्रीय संस्करण

नसर्ने रोग भयावह बन्दै, समाधानका लागि गठित उच्चस्तरीय समिति नै सुस्त

person explore access_timeसाउन १६, २०७६ chat_bubble_outline0

काठमाडौँ । स्वास्थ्य अनुसन्धान परिषदले केही दिन पहिला ३ वर्ष लगाएर गरेको अनुसन्धान सार्वजनिक गर्यो । पहिला अनुमानको भरमा तथ्याङ्क प्रस्तुत गर्दै आएको परिषद्ले अहिले अनुसन्धान नै गरेर नेपालमा निधन हुनेमध्ये ६६ प्रतिशत नागरिकको नसर्ने रोगको कारणले हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । २२ प्रतिशतको मृत्युका कारण भने मुटु तथा रक्तनली सम्बन्धित रोग भएको देखिन्छ । 

६६ प्रतिशतलाई सरकारले अनुमानित भन्दै आएको कुरा नै अनुसन्धानपछि तथ्य पक्का भएको सावित भयो । सर्ने रोगको चुनौती झेल्दै आएको नेपाललाई अब नसर्ने रोगको चुनौती रहेको अनुसन्धानले ठहर्याई दियो ।

अनुसन्धान परिषद्ले सन् २०१६ देखि ०१८ सम्म अनुसन्धान गरेको थियो । जनसङ्ख्याका आधारमा समुदाय केन्द्रित भएर ७२ जिल्लामा अनुसन्धान गरिएको थियो ।  अनुसन्धानमा उमेरका हिसाबमा २० वर्षमाथिका १३ हजार २ सय नेपालीमा अनुसन्धान गरिएको थियो । 

अनुसन्धानमा श्वासप्रश्वास, मुटु, क्यान्सर र मधुमेह रोगलाई प्राथमिकता दिइएको थियो । तीमध्ये श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग लाग्नेमा ११.७ प्रतिशत, मधुमेह रोग लाग्नेमा ८.५ प्रतिशत, मिर्गौला सम्बन्धी रोग ६ प्रतिशत र मुटुसम्बन्धी रोग ३ प्रतिशत रहेको जनाएको थियो । सर्ने रोगमध्ये पनि प्रमुख रूपमा श्वासप्रश्वाससम्बन्धी रोग, मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौला रोगका कारण बढी ज्यान जाने गरेको अध्ययनले देखाएको छ ।
प्रदेशगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी बिरामी कर्णाली प्रदेशमा २५.१ प्रतिशत रहेको जनाएको छ । प्रदेश नं. १ मा ६.२, प्रदेश नं. २ मा १६.४, प्रदेश नं. ३ मा मधुमेहको बिरामी सबैभन्दा धेरै ११.५, प्रदेश नं. ५ मा ९.५ र गण्डकी प्रदेशमा ९.५ प्रतिशत बिरामी रहेको सरकारी अनुसन्धानको तथ्याङ्कमा उल्लेख छ ।

नसर्ने रोगमा मुटु तथा रक्तनलीको रोग, हृदयघात–मस्तिष्कघात, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर (महिलामा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर) नसर्ने रोगमध्ये प्रमुख रोगमा पर्छन् । अहिले नसर्ने रोग लागेपछि नागरिक लाखौँ खर्च गेरेर जीवनभर औषधि खान बाध्य छन् ।  ओल्लोघर, पल्लोघर, घरपरिवार, छरछिमेकमा नसर्ने रोग (मधुमेह, क्यान्सर, ब्लडप्रेसर, मुटुरोग) जस्ता रोग नलाग्ने नागरिक भेट्न नै गाह्रो भइरहेको छ । यो स्थितिमा अब सरकार तीव्र रूपमा लाग्नुपर्ने देखिन्छ ।  

देशभरका स्वास्थ्यकर्मीलाई तालिम दिइँदै 
स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्रप्रसाद बरालका अनुसार अहिले नसर्ने रोग नियन्त्रणको सवालमा स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोगसम्बन्धी पेन तालिम दिने काम भइरहेको बताए ।

पेन तालिम जिल्ला स्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थपोस्टमा स्वास्थ्यकर्मीलाई सहभागी गराइने छ । तालिम सञ्चालपछि स्वास्थ्यकर्मीले नागरिकलाई नसर्ने रोगका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चालन भइरहेको सरकारको भनाइ छ । पेन प्याकेज तालिम गत वर्ष ३० जिल्लामा, यो आर्थिक वर्षमा २१ जिल्ला र आउने आर्थिक वर्षमा ७७ जिल्लामा नै सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख बरालले बताए । यो तालिमले औषत आयुभन्दा अगाडि नै नसर्ने रोगबाट निधन हुने नागरिकको सङ्ख्या कम गर्ने पेन कार्यक्रमको उद्देश्य रहेको सरकारको भनाइ  छ ।
गत वर्षभन्दा राम्रो काम गर्न सकिन्छ
 नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्रप्रसाद बरालका अनुसार भयावह बन्दै गएको नसर्ने रोगका लागि यो वर्ष प्राथमिकतालाई नै मध्यनजर गर्दै बजेट विनियोजन भएको हुँदा कममा तीव्रता आउने बताउँछन् । गएको आर्थिक वर्ष ०७५÷०७६ मा प्रत्येक प्रदेशमा ५०, ५० लाख र केन्द्रमा ४ करोड बजेट विनियोजन गरिएको थियो । यस आ.व. (०७६÷०७७) मा सबै स्थानीय तहमा ५ करोड, प्रत्येक प्रदेशमा १, १ करोड र केन्द्रमा ३ करोड गरी झण्डै १५ करोड बजेट विनियोजन भएको छ । उनी भन्छन्, ‘नसर्ने रोग नै नेपालका लागि नयाँ रोग भयो । नेपालभर नसर्ने रोगका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ र आवश्यक बजेट विनियोजन हुने हो भने न्यूनीकरण सम्भव हुन्छ ।’

नागरिकको पहुँचमा स्वास्थ्य सेवा नहुनु
नेपालमा नसर्ने रोगको बिरामी बढ्दै जानुमा स्थानीयस्तरसम्म सबै प्रकारका रोगको उपचार गर्ने स्वास्थ्य सेवाको व्यवस्था नहुँदा समस्याले भयावह रूप लिर्दै गएकोे स्वास्थ्य विज्ञहरुकै भनाइ छ । जस्तै सामान्य मुटुसम्बन्धी रोगको उपचारका लागि पनि काठमाडौँमा रहेको गङ्गालाल अस्पतालमै आउनुपर्ने बाध्यता अहिलेसम्म कायमै छ ।

प्रमुख डा. बराल भन्छन् ‘प्रदेशगत रूपमा नै सबै रोगको राम्रो उपचार गर्ने अस्पताल सञ्चालन गर्न सकेको खण्डमा उदाहरणको लागि झापाका नागरिक काठमाडौँमा आउनुपर्दैन थियो ।’ प्रदेशका नागरिकले आफ्नै प्रदेशमा नसर्ने रोगको उपचार गर्न पाउने हो भने नसर्ने रोगबाट निधन हुनेको सङ्ख्यामा कमी आउने सरकारी अधिकारीहरुकै भनाइ छ । यसरी नै नसर्ने रोगको बिरामी बढ्दै जाने र जीवनभरी औषधि खानुपर्ने अवस्थालाई सरकारले कसरी व्यवस्थित गर्ने भन्ने कुरामा पनि सोच्नुपर्ने जरुरी देखिन्छ । 

उच्च स्तरीय समिति गठन भए पनि काम भएन
नेपाल सरकारले नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्य योजना  सन् २०१४ देखि सन् २०२० लाई तयार गरेको थियो । मुख्य सचिवको अध्यक्षतामा सम्बन्धित विभिन्न १७ वटा मन्त्रालयका सचिवहरु सदस्य रहने उच्चस्तरीय समिति गठन गरिएको थियो । 

यस्तै स्वास्थ्य सचिवको अध्यक्षतामा १७ वटा मन्त्रालयका सहसहचिव सदस्यरहने गरी मन्त्रालय स्तरको समिति पनि गठन गरिएको थियो । यो समितिको लक्ष्य नसर्ने रोगको उपचारको नियन्त्रण, रोकथाम, हुनसक्ने शारीरिक अशक्तता तथा अकालमा हुने मृत्यु कम गर्नुपर्ने छ । सन् २०१४ मा गठन भएको उच्च स्तरीय समितिको प्रगति भने खासै देखिएको छैन ।

अबको ६ महिनापछि बहुक्षेत्रीय कार्य योजनाका लागि तोकिएको समयसीमा सकिने छ तर अहिलेसम्म खासै देखिने प्रगति आएको पाइँदैन । यस्ता जिम्मेवारी बारेमा निर्णय गरे पनि समितिहरुमा नै कार्यान्वयको पाटो फिलतो देखिएको छ । 

नसर्ने रोग नियन्त्रणका लागि खाद्य, कृषि, वातावरण, सडक निर्माण लगायत सबै कुरामा ध्यान दिनुपर्ने जरुरी देखिएको छ । सबै मन्त्रालयले आआफ्नो जिम्मेवारी पूरा गर्ने हो भने समस्या समाधान हुने सम्भावना देखिन्छ । बढ्दो सहरीकरणसँगै व्यायम गर्ने स्थान, हिँड्ने सडक, साइकल लेन, प्रदूषण जस्ता कुरामा ध्यान नदिँदा नसर्ने रोगको बिरामी बढेको देखिन्छ ।  

नसर्ने रोग लाग्नुको मुख्य कारण निस्क्रिय जिवनशैली, धूमपान, मध्यपानको प्रयोग तथा अस्वस्थ खानपान नै प्रमुख कारण रहेको अनुसन्धानले देखाएको छ । यी ४ प्रमुख कारक तत्वलाई रोकथाम तथा नियन्त्रण गर्न सकेको खण्डमा झण्डै ८० प्रतिशत रोगको भार कम गर्न सकिने विश्व स्वास्थ्य सङ्गठनले भन्दै आइरहेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...