शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री योगेश भट्टराई मन्त्रालय प्रवेश गर्दा जे देखियो (फोटोफिचर)

बुधबार, १५ साउन २०७६, १७ : ३७
बुधबार, १५ साउन २०७६

दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं सांसद योगेश भट्टराईलाई आफ्नो कार्यकक्षमा बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरे । मन्त्रालयमा पद बहाली गर्दै मन्त्री भट्टराईले पार्टीका सबै बरिष्ठ नेताहरुसँग छलफल गरेर आफुलाई यो जिम्मेवारी सुम्पिएको उल्लेख गरे । 
दिउसो ४ बजे शितल निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सपथ लिएर लैनचौरमा रहेको शहिद स्मारकमा फूल गुच्छा अपर्ण गरेर आफू मन्त्रालय आएको उनले बताए । 
मन्त्रालयका कर्मचारी तथा पत्रकारसँग कुरा गर्दै उनले आफूलाई सो मन्त्रालयको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई धन्यवाद दिए । साथै उनले आफूलाई निर्वाचित गराउने मतदाताहरुलाई पनि धन्यवाद दिए । 
मन्त्री भट्टराईले यसअघिका मन्त्री रवीन्द्र अधिकारीलाई सम्झदै उनी सिर्जनशील र जागरुक मन्त्री रहेको बताए । उनले एउटा असल साथी र नेता गुमाएको बताउदै खाली हुन पुगेको मन्त्रालयमा परिस्थितिबस स्वर्गीय अधिकारी बसेको कुर्सीमा बस्न आइपुगेको बताए ।  उनले रवीन्द्र अधिकारीलाई सम्झँदै अधिकारीको नै नेतृत्व आवश्यक देखेर प्रधानमन्त्रीले उनलाई जिम्मेवारी दिएको उल्लेख गर्दै परिस्थितिबस अधिकारीको उत्तराधिकारीको रुपमा आफू मन्त्रालय आइपुगेको बताए । 
पूर्व मन्त्री अधिकारीले अगाडि बढाएका कुराहरुलाई मन्त्रालयमा छलफल गरेर अगाडि लैजाने प्रतिबद्धता जनाए । उनले आफूभन्दा अगाडिका पूर्वमन्त्रीहरुसँग समेत सल्लाह गरी अगाडि बढ्ने बताए । 
उनले आफू मन्त्रालयमा निर्देशन दिन आएको नभई कर्मचारीसँग काम सिक्दै हातेमालो गर्न आएको बताए । 
मन्त्री भट्टराइले आफूले अब के के गर्ने भन्ने सन्र्दभमा प्रधानमन्त्रीसँग करार सम्झौता गर्नुपर्ने बताउदै सल्लाह गरेर केही दिनभित्र सम्झौता गर्ने बताए । आउने एक बर्ष के गर्ने हो प्रधानमन्त्रीले त्यो खोजेको बताउदै अन्य मन्त्रालयले आज सम्झौता गरेपनि आफ्नो मन्त्रालयले केही दिन पछि गर्ने उल्लेख गरे । 
उनले जे हुन सक्छ त्यो गर्ने र गर्न नसकेको कुरा पारदर्शी ढंगले बताउने उल्लेख गरे । 
उनले आफू सञ्चार जगतसँग नभाग्ने बताउदै सञ्चार जगतको भूमिका ठूलो रहेको उल्लेख गरे ।  उनले भने–‘पत्रकार साथीहरु क्यामेरा लिएर मलाई खिचिराख्नु भएको छ, हामी तपाईहरुको निगरानीमा छौँ, तपाईहरुको निगरानीमा हाम्रो मन्त्रालयको टिम छ, म त्यो पनि अपेक्षा गर्छु कि देश बनाउने दायित्व प्रधानमन्त्रीको, मन्त्रीको मन्त्रालयका सचिवको मात्र हैन हामी सबैको हो, सञ्चारकर्मीको पनि दायित्व हो । देश बनाउने कुरामा यहाँहरुको भूमिका पनि रहन्छ भन्ने मैले अपेक्षा गरेको छु ।’
उनले आफू पत्रकारहरुका लागि खुल्ला रहेको बताए । 
यस्तै उनले मन्त्रालयमा कार्यालय सहयोगीदेखि सचिवसम्म सबै समान रहेको भन्दै पहिले जस्तो आइसो गइसो नचल्ने बताए । उनले सबैका लागि तपाई सम्बोधन पर्याप्त हुने बताए । 
उनले काम देखाउन सकेको अवस्थमा मात्रै खादा लगाउनुको अर्थ हुने बताउदै भने– ‘मलै आज सचिवज्यूलाई खादा माला केही नल्याउनु भनेको थिएँ, सायद सूचना पुगेन होला, यो हाम्रो परम्परा हो, मैले यो अपेक्षा गरेको छु कि यो मन्त्रालय मैले छोडेर जाँदा तपाईहरुले लगाइदिएको खादा मालाको महत्व हुन्छ, त्यसको अर्थ पनि हुन्छ, त्यस हिसावले हामीले काम गर्नुपर्नेछ ।’ 
यस्तै मन्त्री भट्टराईले आफूलाई पैसा खर्च नगरी शुभकामना दिन पनि आग्रह गरे ।  उनले सामाजिक सञ्जालबाट शुभकामना दिन आग्रह गर्दै कुनै पनि कम्पनी, बिजनेश हाउस वा  व्यवसायीलाई पैसा तिरेर पत्रिका र टेलिभिजनमा बिज्ञापनको रुपमा बधाई नदिन आग्रह समेत गरे । फोटो/भिडियोः शम्भु दङ्गाल/रातोपाटी  

हेर्नुहोस् भिडियो:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप