बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीको शरणमा पुग्दा पनि व्यवसायीहरु महिनौँदेखि सडकमा

बुधबार, १५ साउन २०७६, १२ : २४
बुधबार, १५ साउन २०७६

 बुटवल– प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा रहेका व्यवसायीहरुकै प्रतिष्ठित नेताका रुपमा चिनिएका छन्, महेशमान सिंह । उनै सिंह उद्योग वाणिज्य संघ बुटवलका निर्वतमान अध्यक्ष र विवाद समाधान उपसमितिका संयोजक पनि हुन् ।
 

तर उनी आफ्नै कम्पनीको विवाद मिलाउन सकेका छैनन् ।  जसका कारण डेढ दर्जन पसलेहरु विगत ८ महिनादेखि पीडित हुँदै आएका छन् ।

हुन त सिंह व्यवसायीका मात्रै नेता होइनन् । उनी प्रदेश सभाको गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्वर–३, ‘ख’ बाट नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्यमा उमेद्वार समेत बनेका थिए । 

उनै नेता सिंहले सञ्चालन गरेको ‘सिंह कप्लेस’मा २०६९ सालदेखि पसल भाडामा लिएर ब्यवसाय सञ्चालन गर्दै आएका १९ जना पसलेहरुलाई गत पुस १२ गतेदेखि विद्युत र  पानी बन्द गराइदिएका छन् । विद्युत र पानी बन्द भएपछि पीडित व्यवसायीहरुले सिंहले ‘अमानवीय’  र ‘सामन्ती’ सोचबाट   सिर्जित दादागिरीको संज्ञा दिएका छन् । 

‘भाडा वृद्धिका विषयमा वार्ता गर्ने क्रममै उहाँले विद्युत र पानी बन्द गर्नुभयो । बिद्युत र पानी बन्द गरेपछि पसल सञ्चालन गर्नसक्ने कुरै भएन’,पीडित १९ मध्येका शुभप्रताप राणाले भने, ‘उहाँ एक जनाको कारण धेरै ब्यवसायीहरु ८ महिनादेखि सडकमा छौं । मुख्यमन्त्री शंकर पोखरेलकहाँ पुग्दापनि न्याय पाउन सकेनौ ।’  

पीडितमध्येकै अर्की व्यवसायी शान्ता भट्टराईले भनिन्, ‘हाम्रैसामु मुख्यमन्त्रीले सिडियोलाई फोन गरेर समस्या समधान गराउन निर्देशन दिएपनि निकास आएको छैन ।’

न्यायिक समितिको फैसला कार्यन्वयनमा अटेरी  
पीडित ब्यवसायीहरु यस अवधीभर विभिन्न सरकारी र सरोकारवाला निकायहरुमा न्यायका लागि भौतारिदै आएका छन् ।  बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा पीडित ब्यवसायीहरुबाट परेको उजुरी उपर वहस पैरवी हुँदा उक्त हाउजिङ्ग कम्पनीले  मुलुकी देवानी ऐन २०७४ को दफा ३९० बमोजिमको कर्तब्य र दायित्व निवेदक वादीबाट पालन भएको  तर प्रतिवादी हाउजिङ्ग कम्पनीबाट मुलुकी देवानी संहिता ऐन २०७४ को ३८९ को देहाय ‘ख’  विपरितको कार्य गरेको ठहर गरेको छ । समितिले तत्काल विद्युत लाईन जडानगरि पसल सञ्चालन गर्न दिनुपर्ने फैसलाअनुसार पत्र पठाएपनि फैसला कार्यन्वयनमा कम्पनीले अटेरी गर्दै आएको छ  ।

२०६९ साल देखि पसल सञ्चालन गर्दै आएका ब्यवसायीहरु मध्ये एएए नामक पसलका सञ्चालक राणाले गत आठ महिना देखि बन्द आफ्नो पसल भित्रका  लाखौं मुल्य बराबरका सामानहरु ढुसी लागेर नष्ट हुने र म्याद सकिन थालेको तर ती समानहरु झिक्न समेत हाउजिङ्ग कम्पनीले नदिएको गुनासो गरे ।

‘हामी धेरै संघसंस्था र ब्यक्तिसँग न्यायका लागि हात जो्डन पुग्यौं । बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले  दुबै पक्षलाई न्याय हुन  गरि फैसला ग¥यो तर कार्यान्वयन भएन । जसका कारण १९ जना ब्यापारीहरु सडकछाप बन्न पुगेका छौं’,राणाको गुनासो छ । 

व्यवसायी गंगा पोखरेलले आठ महिनादेखि बन्द हुँदा कति मार परेको होला भन्दै प्रश्न गरिन् । लाखौं रुपैयाँ बैकको ऋण लिई हाउजिङ्ग कम्पनीमा पसल भाडामा लिई राजधानी सुट हाउस सञ्चालन गरेका केशव मरासीनीले पसल बन्द हुँदा बैंकको ऋणले घरबासै उठ्ने  अवस्थामा पुगेको बताए । यमप्रसाद शर्मा सापकोटाले लोयल कष्टमेटिक सामनहरुको म्याद सकिन लागेको भन्दै लाखौ नोक्सान हुन लागेकोमा चिन्ता ब्यक्त गरे ।
 हामी पनि मर्कामा छौंः प्रबन्धक पौड्याल
हाउजिङ्ग कम्पनीको विवादबारेको प्रतिकृया माग्दा सञ्चालक सिंहले कम्पनीका प्रवन्धक मनिष पौड्याललाई भेट्न आग्रह गरे । तर, पौड्यालले व्यवसायीहरुकै कारण हाउजिङ्ग कम्पनी पनि मर्कामा परेको दावी गरे ।
‘आरोप लगाएजस्तो हामीले विद्युत र बत्ति बन्द गराएका होईनौ, उहाँहरुलाई पटक पटक आउनुस् पसल सञ्चालन गर्नुस् भनेर आग्रह गर्दै आएका छा,ैं’प्रबन्धक पौड्यालले भने,‘तर हामीलाई बुटवल उपमहानगरपालिकाको न्यायिक समितिको फैसला मान्य हुन सकेन । हामी अदालती प्रकृयामा जान बाध्य भएका छौ । उहाँहरु पनि उच्च अदालतमा जानु भएको छ ।  फेरीपनि दुबै पक्ष मिलेर विवाद समधान गर्ने हो भने पनि हामी तयार छौं ।’

  मिल्न दुबै पक्ष बराबर हुनुपर्छः उवा संघ
 बुटवल उद्योग बाणिज्य संघ कार्य समिति सदस्य तथा विवाद समधान उपसमितिका सदस्य मुक्ति अधिकारीले दुबै पक्षलाई राखेर  विवाद समधान गर्ने प्रयास असफल भएको बताए । सुरुमा सिंह कम्पेलेक्सले बत्ति बन्द गर्नु गलत भएको र पछि ब्यवसायीहरु कम्पनीसँगै छलफल गर्नुको साटो अन्त जानु गलत भएको उनको भनाई छ । संघ सबै ब्यवसायीहरुको हक हितको पक्षमा रहेको उनले  दावी गरे ।

सिंह ब्यवसायीका नेता रहेनन्
रुपन्देही ब्यापार संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठले संघका निवर्तमान अध्यक्ष समेत रहेका महेशमान सिंहले ब्यवसायीहरुमाथि गरेको अमानवीय ब्यवहारका कारण  उनलाई ब्यवसायीहरुको नेता मान्न नसकिने प्रतिकृया दिए  ।उनले सिंह ब्यवसायीको मात्रै नेता नभइ जनप्रतिनिधिको समेत हैसियत भएकाले समाधान गर्न आफैले पहल गर्नु पर्ने बताए । 

सिंहको कार्य गलतः सरोकारवाला
 घरवहाल सरोकार नेपाल  महासंघका केन्द्रीय अध्यक्ष तथा विवाद समधान रुपन्देहीका विवाद समधान समिति संयोजक शंकर कोईरालाले सिंह कप्लेसबाट ब्यवसायीहरु माथी भएको उक्त कार्य गलत भएको प्रतिकृया दिए । 

यस्तै होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले सिंह कम्लेसमा ब्यवसायीहरु माथी भएको अकर्मन्यता देशभर आफूले अन्त कतै नदेखेको प्रतिकृया दिए । 

यसैबीच  बुटवल उपमहानगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी संयोजक गुमादेवी आचार्यले त्यस कम्पनीको सबै डकुमेण्ट हेरेरै फैसला गरेको प्रतिकृया दिइन् । उनले भनिन,‘सिंह कम्पेलेक्सले विद्युत बन्द गराई पसल बन्द गर्न बाध्य पारेकोमा न्यायिक  समितिमा उजुरी परेपछि हामीले धेरै पटक  मेलमिलाप गराउने प्रयास ग¥यौं । तर सञ्चालक आएनन् । मैले फोन गरेर पनि उजुरी परेको जानकारी दिएँ तर उहाँले अन्य प्रतिनिधी मात्रै पठाउनु भयो ।’ उनले डकुमेन्ट हेर्दा कम्पनी सञ्चालककै कमजोरी देखिएको पनि बताइन् । 

समस्या समधान गर्नुहोस् : मुख्यमन्त्री
यहि साउन ९ गते उद्योग बाणिज्य संघसहित विभिन्न ब्यवसायी संघ संस्थाहरु मुख्यमन्त्री शंकर पोखरेल कहाँ  सरकारले ल्याउन लागेको ‘भेहिकल एण्ड कन्साईनमेण्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) का विरुद्ध  डेलिगेशन पुगेका थिए । त्यस सन्दर्भमा मुख्यमन्त्री पोखरेलले सिंह कम्पेलेक्सको पसशंग आफै उठाए ।

‘तपाईहरु आफ्नो हक हितको बिषय उठान गरिरहँदा सिंह कम्पेलेक्सले विद्युत कटौती गरि थुप्रै ब्यवसायीहरु महिनौ अघिदेखि  पसल बन्द गरेर सडकमा पुगेको जानकारी हामीले पाएका छौ  । ब्यवसायी संघ संस्थाका तपाईहरुले ब्यवसायीहरुको उक्त समस्याको समधान तत्काल गर्नेतिर लाग्नुहोस् अन्यथा राज्य कानुन अनुसार अगाडी बढ्यो भने सिङ्गो  सिंह कम्पेलेक्स नै बन्द हुन पनि सक्छ’, मुख्यमन्त्रीले यस्तो चेतावानी दिएको छलफलमा सहभागी एक व्यवसायीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप