शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दर्जनौँ बस्ती पहिरोको जोखिममा

सोमबार, १३ साउन २०७६, १३ : २९
सोमबार, १३ साउन २०७६

–प्रेम रौले
बाजुरा– जिल्लामा आएको लगातारको वर्षाले जताततै पहिरो बग्न थालेपछि जिल्लाका हजारौँ परिवार जोखिममा बस्न बाध्य भएका छन् । 

स्थानीयवासीका घरआँगनमै पहिरो बग्न थालेपछि जिल्लाका दर्जनौँ बस्तीमा बसोबास गर्ने स्थानीयवासीलाई उठीबासको चिन्ता बढेको छ । अविरल वर्षासँगै यहाँका दर्जनाँै बस्तीहरु जोखिममा परेका छन् । 

नौ वटै स्थानीय तहका जनताले हरेक वर्ष पहिरोको डरले पालमुनि रातभर जागराम बस्नु परेको स्थानीयवासी दुःखेसो गर्न थालेका छन् । जिल्लामा गएको तीन दिनदेखि लगातार भारी वर्षा भइरहेको छ । रातदिन कुनै क्षण पनि पानी पर्न रोकिएको छैन । जसका कारण कमजोर र भिरालो जमिन भासिन थालेको छ भने पाखो जमिनमा पहिरो बग्न थालेको छ । 

बर्सेनी जिल्लाका अधिकांश बस्ती पहिराको जोखिम मोल्दै आइरहेका छन् । यहाँका पूर्वी उत्तरी भेग र दक्षिणी भेगका अधिकांश बस्तीहरु पहिरोको जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्याङ्क छ । 

जिल्लाका सबैभन्दा बढी जोखिममा रहेका ९५ बस्तीलाई उपयुक्त ठाउँ खोजी गरी सार्ने निर्णयसहित केन्द्रमा पठाएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रजिअ गङ्गाप्रसाद न्यौपानेले बताएक छन् । 

उनले बाढीपहिरो आउने भएकाले  जिल्लामा उद्धार समिति तयारी अवस्थामा रहेको न्यौपानेले बताए । पहाडी क्षेत्र र भिरालो जमिनमा बस्दै आएका स्थानीयवासीले रातभर जागराम बस्ने गरेका छन् । गाउँको तल डोजरले बाटो खनेपछि खप्तड छेडेदह गाउँपालिका–६ नाइना र सुदाडाका ५० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा बस्न बाध्य छन् । पानी परेको दिनको रातदेखि घरमा बस्न नपाएको स्थानीयवासीले गुनासो गरेका छन् । नजिकका आफन्त र गोठ छानामा बस्ने गरेको स्थानीयवासी माने साउँदले बताए । 

खप्तड छेडेदह गाउँपालिका–६ नाइनामा ३० भन्दा बढी परिवारको बसोबास रहेको छ । तीमध्ये १२ परिवार पहिरोबाट विस्थापित नै बनेका छन् । घरको अगाडि पहिरो बग्न थाल्यो, सडक नखन्दासम्म यति डर हुदैन थियो, यो वर्ष त बस्ती नै नरहने भयो, दीपक नाथको गुनासो छ ।

गाउँमा यो वर्ष मात्र खप्तड छेडेदह गाउँपालिकाले डोजर लगाएर बाटो निर्माण गरेको छ । क्षतिको पूर्वअनुमान नै नगरी जथाभावी डोजरले बाटो निर्माण गर्दा पहिरोको जोखिम बढेको स्थानीयवासी खगेन्द्र नाथले बताए ।

सडक बाटो निर्माण गरेपछि सोही वडाको सुदाडामा पनि दर्जनभन्दा बढी परिवार विस्थापित हुने खतरा बढेको छ । हिरा सार्कीसहितका १२ बढी परिवार जोखिममा रहेको प्रेम नेपालीले बताएका छन् । गाउँमा विकासका नाममा विनाश गरिएको स्थानीयवासीको आक्रोश छ । डोजरको प्रयोग गरी सडक निर्माण गरिएका सबैजसो क्षेत्रमा बस्ती पहिरोको जोखिममा छ । जिल्लाका खप्तड छेडेदह गाउँपालिका–७ स्थित गुम्लागाउँका २० परिवार र सोही गाउँपालिका–४ गुइवनका ३० परिवार पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । 

यसैगरी  बूढीगङ्गा नगरपालिका–२ बजेडीका दुई सय परिवार, निमनीका ३०, साहुवाडाका डेढ सय, गडतोलाका ३५ परिवार, बसालीका डेढ सय परिवार वर्षांैदेखि पहिरोको जोखिममा रहेको बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् । 

राज्यले बस्ती विकास कार्यक्रममार्फत उनीहरुलाई व्यवस्थापन गर्ने बताए पनि कार्यान्वयन हुन सकेको छैन । बडीमालिका नगरपालिका क्षेत्रभित्रमा रजाली, पाटा, जिल्लीका २०० भन्दा बढी परिवार वर्षाको समयमा घर छोडेर अन्यन्त्र बस्ने गरेका छन् । 

विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी सडकमा डोजर लगाउनु र जथाभावी बाटो काट्ने पहिरोको पहिलो कारण भए पनि भिरालो र पाखो जमिन अनि कच्चा पहाडी जमिनको सतहकै कारण पहिरोको जोखिम बढी भएको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराले जनाएको छ  । 

बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख शाहले पहिरोको जोखिममा रहेका स्थानीयवासीलाई अन्यत्र बस्ती सार्नका लागि पहल गर्ने बताए । उनले बस्ती स्थानान्तरण गर्नका लागि उपयुक्त ठाउँको खोजी गर्नुपर्ने भएकाले तत्काल बस्ती सार्न नसकिने बताए । खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले स्थानीय विपद् ऐन पारित भएकाले पहिरोको जोखिममा रहेका बस्तीलाई अन्यत्र सार्न गाउँपालिकाले उपयुक्त ठाउँ खोज्न थालेको बताए । गाउँपालिकाभित्रका जोखिम बस्तीहरुको पहिचान गरी सरकारसँग बस्ती सार्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप