बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भोटिङलिष्टमा नाम लेखाउन पाँच बजेदेखि नै भीड, ४२ हजार भए दर्ता (फोटो/भिडियो)

शुक्रबार, २७ साउन २०७४, १६ : १४
शुक्रबार, २७ साउन २०७४

काठमाडौँ । नाकाबन्दीको समयमा बिहानैदेखि ग्यास, तेलका लागि मान्छेहरुले ठेलम ठेल गरेर लाइन बसेको दृश्य तपाईले बिर्सनुभएको कि छैन ? काठमाडौंका केही स्थानमा हिजोआज पनि यस्ता दृश्य देख्न सकिन्छ । काठमाडौंको जिल्ला समन्वय समितिको कार्यालय र राष्ट्रिय सभा गृहको अगाडि केहीदिन देखि मानिसहरु बिहान पाँच नबज्दै लाइनमा बस्न शुरु गर्छन् । सडक किनाराको दुबैतर्फ यसरी बसेको उनीहरुको लाइन झन्डै १ सय मिटरभन्दा लामो बनेको हुन्छ । 

उनीहरु कुनै सामग्री खरिद वा बिक्रीका लागि लाइन बसेका भने होइनन् । उनीहहरु त आउदो चुनावमा भोट हाल्ने तयारीका लागि यसरी लाइनमा बसेका हुन् ।

निर्वाचन आयोगले गत साउन १ गतेबाट प्रदेशसभा र संसदीय निर्वाचनका लागि मतदाता नामावली संकलन थालेपछि भोटङ लिस्टमा आफ्नो नाम दर्ता गराएर मतदाता परिचय पत्र लिनका लागि फोटो खिचाउन उनीहरु लाइनमा बसेका हुन् । उनीहरु हिलाम्मे सडक र झरीको पर्वाह नगरी लाइन बसेका हुन् । 

यसरी लाइनमा बस्नेमा भर्खरका युवादेखि जेष्ठ नागरिक समेत रहेका छन् । कतिपय बैदेशिक रोजगारीबाट हालै फर्किएर आएका व्यक्ति पनि छन् । 

काठमाडौंको जिल्ला समन्वय समितिको कार्यालय अगाडि बिहिबार दोलखा चरिकोटकी सीतामाया लामा बिहान ८ बजे लाइनमा उभिएकी थिइन् । उनी अहिले काठमाडौमा बस्छिन् । तर दोलखा जान नसकेका कारण उनले यहीँ नाम दर्ता गराउन लागेकी थिइन् ।

उनीजस्तै दोलखाकै मनमाया तामाङले गएको चुनावमा भोट दिन पाइनन् । उनी पनि बिहान ६ बजेदेखि नाम दर्ताका लागि लाइनमा थिइन्  । 

दीपकबहादुर ओझा बैदेशिक रोजगारीमा थिए । उनले यसअघि निर्वाचनमा भोट हाल्न पाएका थिएनन् । उनी पनि नाम दर्ताका लागि लाइनमा बसेका थिए ।  

४२ हजारले नाम दर्ता गराए 
काठमाडौैंको जिल्ला समन्वय समितिको कार्यालयमा ११ काउन्टर, राष्ट्रिय सभा गृहमा १३ काउन्टर र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा ५ काउन्टर राखेर मतदाता नामावली संकलन भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार हालसम्म ४२ हजार नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  यसरी आयोगले राखेको छुट्टै काउन्टरबाट ४२ हजार मध्ये काठमाडौं बाहिरका २७ हजारले नाम दर्ता गराएका छन् भने यसमा राजधानीका स्थानीय तहका कार्यालयमा नाम दर्ता गराउनेको आँकडा छैन । ती निकायबाट झन्डै १० हजारले नाम दर्ता गराएको आयोगको अनुमान छ । 

निर्वाचन आयोगले साउन १ गतेदेखि साउन ३२ गतेसम्म सम्बन्धित जिल्ला निर्वाचन कार्यालय मार्फत मतदाता नामावलीमा नाम लेखाँउने व्यवस्था गरेको थियो तर पछि राजनीतिक दलहरुसँगको छलफलपछि राजधानी बस्नेहरुका लागि भदौ १६ गतेदेखि काठमाडौंका विभिन्न स्थानमा काउन्टर राखेर मतदाता नामावली संकलन कार्य शुरु गरेको थियो ।

आयोगले काठमाडौं बाहिरका मतदातालाई काठमाडौंमै नाम दर्ता शिविर राखेका कारण सजिलो भएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप