केन्द्रीय संस्करण
संगीत

‘सङ्गीतबिना म अधुरो जस्तो लाग्छ’

प्रितम पहिले प्रतिस्पर्धी, अहिले मिल्ने साथी : आयुष केसीसँगको अन्तरवार्ता

person explore access_timeसाउन १३, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

बाल गायकद्वय प्रितम आचार्य र आयुष केसीको चर्चा चुलिएको छ । अहिले यी दुईलाई सम्मान र अवसरको ओइरो लागेको छ ।

गीत सङ्गीतका क्षेत्रमा छोटो समयमै उचाइ हासिल गरेका गायकद्वय आचार्य र केसीको व्यस्तता कुनै स्टार कलाकारको भन्दा कम छैन ।

भारतीय चर्चित रियालिटी सो सारेगमप लिटिल च्याम्पियनमा नेपालबाट सहभागी आचार्य र केसी क्रमशः तेस्रो र चौथो हुन सफल भएका थिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरूलाई प्रभावित पार्दै तोस्रो हुन सफल भए भने सिन्धुपाल्चोक ठोकरपा स्थायी घर भई भक्तपुरमा बसोबास गर्ने १२ वर्षीय आयुषले पनि आफ्नो सुमधुर आवाजबाट भारतीय जजहरूलाई प्रभावित पार्न सफल भए ।

भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत आयुषले सानै उमेरबाट गीत गाउन थालेका थिए ।

नेपालकै प्रथम खोजी बालप्रतिभाको राष्ट्रव्यापी बालगायन प्रतियोगिता ‘सुरसाला आइडल जुनियर’मा आयुष केसी प्रथम र प्रितम आचार्य दोस्रो भएका थिए । उनीहरूलाई सुरसाला म्युजिक एकेडेमीले नै सारेगमपको मञ्चसम्म पुर्याएको थियो ।

केही दिन अगाडि नेपाल मेडिसिटी अस्पतालले उनीहरूलाई दुई लाखको स्वास्थ्य बिमाबाट सम्मान गर्यो । सोही कार्यक्रमको सिलसिलामा उनीहरूमा गायकीसँगै व्यक्तित्वमा पनि आएको परिवर्तनबारे आयुष केसीसँग हामीले कुराकानी गरेका छौँ ।

–सारेगमपको मञ्चमा तपाईंहरूले दिएको प्रस्तुतिसँगै तपाईंहरूको व्यक्तित्वमा आएको परिवर्तनले जुरीहरू मात्रै होइन धेरै दर्शक र श्रोता पनि प्रभावित भए । गायकीसँगै बोल्ने कला कसरी सिक्नुभयो ?

हिन्दी भाषा बोल्न सुरुमा अलि कठिन थियो । बोल्दा अफ्ठ्यारो लाग्थ्यो । बोल्दा बोल्दा बानी पर्यो । साथीहरूले धेरै सहयोग गरे । बोल्दा नमिलेपछि उनीहरूले सच्याइदिए । कार्टुन हेर्ने गीतहरू धेरै सुन्दा सुन्दा हिन्दी भाषा बोल्न सजिलो भयो ।

अनि प्रस्तुति दिने समय कसरी बोल्ने, जज, जुरी अनि दर्शकहरूसँग कसरी बोल्ने भन्नेबारे पहिले सुरसाला आइडलको समयमा पनि अमृत क्षेत्री सर अनि जजहरूले धेरै सिकाउनुभएको थियो ।

उता (इन्डिया)मा पनि सिकाउनुहुन्थ्यो । अनुशासनमा कसरी बस्ने क्यामेरा कसरी फेस गर्ने, माइक कसरी ह्यान्डल गर्ने अनि दर्शकहरूलाई कसरी आफ्नो प्रस्तुतितर्फ आकर्षित गर्न सकिन्छ, त्यो सबै सिकाउनुभयो ।

परिवारले पनि हौसला दिँदै बोल्न सिकाउनुभयो ।

–नेपालको रियालिटी सो र इन्डियाको रियालिटी सोमा कस्तो फरक महसुस गर्नुभयो ?

धेरै नै फरक छ । इन्डिया साङ्गीतिक जगतमा नम्बर वान देश हो । त्यसैले पनि अन्तर हुनु स्वाभाभिक हो । उता सिकाउने शैली नै निकै भास्ट छ । अनुशासनमा बस्नुपर्छ । सिक्ने अनि अभ्यास गर्ने निश्चित समय हुने ।

हाम्रो ह्वाट्स एप ग्रुप बनाइदिनु भएको थियो । कुन समयमा के गर्ने भनेर म्यासेज आउँथ्यो । रियाज गर्ने समय, खाना खाने समय, खेल्ने, परिवारसँग विताउने समय निश्चित थियो । उहाँहरूले जतिबेला यो गर्ने भन्नुहुन्छ, त्यो समयमा तयार हुनुपथ्र्यो । कडा मिहिनेत गर्न सिकाउनु भयो । हामीलाई सिकाउने तरिका नै उता फरक छ ।

नेपालको रियालिटी सोको समयमा पनि निकै राम्रो भयो । त्यो समयमा धेरै कुरा सिकेँ । सुरुमा धेरै डर लागेको थियो तर पछि त्यो डरलाई आत्मविश्वासमा परिणत गरेँ ।

–‘सुरसाला आइडल जुनियर’मा तपाईं पहिलो, प्रितम दोस्रो हुनुभयो र ‘सारेगमप लिटिल च्याम्प्स’मा प्रितम तेस्रो र तपाईं चौथो हुनुभयो, प्रितम र आयुष प्रतिस्पर्धी धेरै कि साथी ?

हामी बराबर भयौँ । सुरसाला आइडलमा म पहिलो र ऊ दोस्रो अनि सारेगमपमा प्रितम तेस्रो र म चौथो । पहिला प्रतिस्पर्धा हुन्थ्यो तर पनि एकअर्कालाई हामीले साथ दिएका थियौँ । यहाँ म विजेता बन्दा पनि उसले यसले जित्यो भन्ने भावना देखाएन र उता ऊ मभन्दा अगाडि हुँदा मैले पनि त्यस्तो देखाइनँ ।

सारेगमपमा नेपालबाट हामी दुई चुनियौँ र अन्तिमसम्म सँगै भयौँ । देशको नाम राख्नुपर्छ भन्ने मात्रै भयो, एकअर्कालाई साथ दियौँ । प्रतिस्पर्धाको भावना नै आएन । हामी त झन् खुसी भयौँ कि हामीले हाम्रो देशबाट प्रतिनिधित्व गर्ने मौका पायौँ ।

पहिला हामी एकदमै नमिल्ने थियौँ । निकै प्रतिस्पर्धा हुन्थ्यो । हामी सबैभन्दा साना पनि थियौँ । जब फाइनलतिर पुगियो बल्ला त्यस्तो भावना अलि कम भयो । सारेगमपमा गएपछि चाहिँ देशको प्रतिनिधित्व गर्दैछौँ भन्ने नै बढी आयो र हामी मिल्ने साथी भयौँ । अहिले पनि हामी एकदम मिल्ने साथी हौं ।

–सारेगमपबाट फर्किएपछि जुन चर्चा र सम्मान पाउनुभयो कस्तो लाग्छ ? अब कसरी अगाडि बढ्नुहुन्छ ?

एकदमै खुसी लाग्छ । प्रितम र मैले निकै कडा मिहिनेत गर्यौँ आज त्यही मिहिनेतको फल पनि पाइरहेको छौँ जस्तो लाग्छ । मिहिनेतविना केही हुँदैन भन्ने सिकेका छौँ । आउने दिनमा पनि सङ्गीतमा धेरै मिहिनेत गर्नु छ ।

हामीले यति मिहिनेत गर्यौँ नि । खाली हामीलाई लागेको थियो कि देशको प्रतिनिधित्व गर्दैछौँ र देशको नाम राख्नुपर्छ । दिनरात नभनी गरेको मिहिनेतको फल मिलेको छ ।

पढाइलाई पहिलो प्राथमिकता दिन्छु अनि सङ्गीत त छँदैछ । सङ्गीतबिनाको जीवन त अब कल्पना गर्न पनि सकिन्न जस्तो लाग्छ । किनकि सानैबाट मलाई गीत गाउन निकै मन पर्थ्यो ।

अझ ममी बाबा निकै खुसी हुनुहुन्छ ।

–सारेगमपमा प्रतिस्पर्धा गर्दा निर्णायक मण्डलबाट तपाईंहरूमा कुनै भेदभाव भएजस्तो लाग्यो कि लागेन ?

त्यस्तो त कति पनि महसुस नै भएन । धेरै माया गर्नु हुन्थ्यो । हामी दुईलाई त झन् धेरै साथ दिनुभयो । पर्फर्मेन्स सुरु हुनुभन्दा अगाडि जजहरू नै स्टेजमा आएर हामीलाई सहज बनाउन पानी पिउन दिने अनि यस्तो गर, यसरी गर, नडराउनु भन्दै हौसला दिनुहुन्थ्यो । राम्रोसँग गाउनु, खुलेर निर्धक्क गाउनु भन्दै धेरै सपोर्ट गर्नुभयो ।

साथीहरूले झनै सपोर्ट गर्थें । हामीलाई भाषा सिकाउनदेखि त्यहाँको वातावरणमा घुलमिल हुन निकै साथ दिए ।

–सुरसाला आइडल जुनियरको निर्णायक र सारेगमपका निर्णायकमा केही फरकपन महसुस भयो ?

एउटै हो । हामीलाई नेपालमा पनि हौसला अनि सुझाव दिनुहुन्थ्यो भने सारेगमपमा पनि हौसला अनि सुझाव दिनुहुन्थ्यो । यता र उता एउटै सुझाव आउँथ्यो कि निके मिहिनेत गर्नुपर्छ आफूलाई निखार्नुपर्छ भन्नु हुन्थ्यो ।

अर्को सिमिलर कुरा के भने यता र उता हामीलाई उहाँहरूले घमण्ड कहिल्यै नगर्नु भनेर सिकाउनुभयो । यो सबैभन्दा ठूलो पाठ सिक्यौँ ।

–सानै हुनुहुन्छ । भविष्यबारे सोच्ने समय त भएको छैन तर पनि सारेगमपले तपाईंहरूको भविष्य कोरिदियो भनेर चर्चा हुने गरेको छ । के भन्नुहुन्छ ?

सङ्गीतभन्दा अरू केही सोच्न सक्दिनँ होला सायद । यदि अन्य पेसा लिए भने पनि सङ्गीतलाई सँगसँगै लैजान्छु । सङ्गीतबिना म अधुरो जस्तो लाग्छ ।

पहिलो कुरा पढाइ हो । सँगसँगै गायन छँदै छ । डान्स गर्न पनि आउँछ मलाई । चित्र कोर्ने पनि जानेको छु ।

–अहिले तपाईंले पाएको सफलता देख्दा आमा बाबा के भन्नु हुन्छ ? तपाईं सङ्गीतमा लाग्दा घर परिवारबाट रोक्नुभएन ?

घरबाट आमा बाबाबाट त त्यस्तो केही भएन । तर आफन्त छिमेकीहरूले चाहिँ अलि हेपेको जस्तो लाग्थ्यो । गीत गाउँछ, पढाइमा ध्यान दिँदैन के गर्छ यसले ? भन्नु हुन्थ्यो । तर मैले पढाइ विगारेको थिइनँ ।

सुरसाला आइडल जुनियरमा विजेता भएपछि र इन्डियाको सारेगमपा जस्तो त्यति ठूलो मञ्चमा देख्दा चाहिँ ओहो यसले केही गरेर देखायो भन्नु भएछ । हिजो के गर्छ यसले भन्नेहरूले आज मैले गाएको देखेर निकै प्रशंसा गर्नुभएको छ । तिम्रा सबै पर्फर्मेन्स हेर्छु साह्रै राम्रो छ भन्दा चाहिँ धेरै खुसी लाग्छ ।

यस्ता कुराले मेरो आमा बाबालाई पहिले धेरै पीर परेको थियो तर अहिले धेरै खुसी मिलेको छ । खुसी हुनुहुन्छ ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...