बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता हुन्छन् कुष्ठरोगका लक्षण, समयमै उपचार नगराए अङ्गभङ्ग हुने खतरा

शनिबार, ११ साउन २०७६, १० : ५७
शनिबार, ११ साउन २०७६

काठमाडौँ । कुष्ठरोगको सुरुवाती चरणमा बिरामीमा खासै समस्या देखिँदैन । जसले गर्दा बिरामी समयमानै अस्पतालसम्म पुग्दैनन् ।  तर कुष्ठरोग आम मानिसले सोचे भन्दा निकै भिन्न प्रकारको रोग हो । सुरुमा ठूलो समस्या नभए पनि पछि विस्तारै यसले अङ्गभङ्ग समेत गराउन सक्छ ।

 सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष सय जनामा कुष्ठरोग लागेकै सुरुको अवस्थामा अङ्गभङ्ग भएको पाइएको छ । समयमा उपचार गराईँ नियमित औषधि सेवन गर्ने हो भने कुष्ठरोग निको हुन्छ । कुष्ठरोग   लाग्नुको कारण, उपचार र सावधानीका विषयमा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डाक्टर रवीन्द्र बाँस्कोटाले जानकारी गराएका छन्  । 

के हो कुष्ठरोग ?
कुष्ठरोग माइकोब्याक्टेरियम लिप्रे नामक किटाणुले छाला र स्नायुमा असर पु¥याउने एक किसिमको रोग हो । यो रोग सबै उमेरका मानिसलाई लाग्न सक्छ । कुष्ठरोग सरिहाल्छ भन्ने पनि हुँदैन । तर सर्न सक्ने सम्भावना भएको रोग हो । कुष्ठरोग लागेपछि अङ्गभङ्ग हुने, हात–खुट्टाका औंलाहरु बाङ्गो हुने र झरेर जाने पनि समस्या हुन्छ । समयमा उपचार नहुँदा हात खुट्टाको औँला झर्ने, युवा उमेरमानै बाँच्नको लागि अन्य व्यक्तिको साहरा लिनु पर्ने समस्याहरु कुष्ठरोगीले भोग्दै आइरहेका छन् ।

कुष्ठरोग लागेको कसरी थाहा पाउने ? 
  फुस्रो, नचिलाउने, सुख्खा र रातो—रातो दाग छालामा देखा परेको छ भने कुष्ठरोग लाग्यो कि भनेर अनुमान लगाउन सकिन्छ । दाग गोलो कुनै साना र कुनै ठूला खालका पनि हुन्छन् । यस्तै दाग देखियो भने कतै कुष्ठरोग लाग्यो कि भनेर अनुमान लगाउनु पर्दछ । साथै हात—खुट्टाको स्नायू सुन्निनु, स्नायू सुन्निदा हात खुट्टा झम— झम गर्ने पनि हुन्छन् । अर्काे लक्षण भनेको कानको लोती बाक्लो हुँदै जानु हो । नाकको हड्डी थेप्चो हुने, आँखीभौँ खस्दै जानु पनि कुष्ठरोगका लक्षणहरु हुन् । यस्तो लक्षण देखा परेको खण्डमा सक्दो छिटो नजिकको स्वास्थ्य संस्थामा जानु पर्दछ । 

कुष्ठरोगको किसिम
अहिलेसम्म कुष्ठरोगको बिरामीलाई उपचारको हिसाबले दुई तरिकामा विभाजन गरिएको छ । एउटा कम किटाणु भएको र अर्काे बढी किटाणु भएको आधारमा विभाजन गरिएको हो । कम किटाणु भएको कुष्ठरोगको बिरामीले अरुलाई सार्ने सम्भावना पनि कम हुन्छ । शरीर र छालामा कुष्ठरोगका दागहरु पनि कम हुन्छ । कम किटाणु भएको कुष्ठरोगको उपचार पनि कम समयमात्रै हुन्छ । छिटो निको हुन्छ । 
बढी किटाणु भएको कुष्ठरोगमा शरीरमा बढी किटाणु देखिनुका साथै अन्य व्यक्तिलाई सार्ने सम्भावना पनि धेरै हुन्छ । शरीरमा दागहरु धेरै हुन्छ भने त्यस्तो बिरामीको लागि उपचार पनि लामो समय गर्नुपर्ने हुन्छ । 
किटाणु कम छ भने उपचार कम अर्थात ६ महिनाको लागि हुन्छ । धेरै किटाणु भएका कुष्ठरोगका बिरामीले भने एक वर्षको उपचार गर्नुपर्ने हुन्छ । समग्रमा भन्नु पर्दा ६ महिना देखि एक वर्षको उपचार हुन्छ ।

कुष्ठरोग कसरी सर्छ ? 
कुष्ठरोग वंशाणुुगत हुने रोग हो भन्ने कतिको बुझाई छ । तर कुष्ठरोग वंशाणुगत हुने रोग होइन । यो रोग श्वास—प्रश्वासको माध्ययमबाट सर्ने रोग हो । 

कुष्ठरोगले पार्ने असरहरु  
समयमा कुष्ठरोग पहिचान गरेर उपचार नगराइए हात, खुट्टाका औलाहरु बाङ्गो हुने अङ्गभङ्ग हुने खतरा हुन्छ । साथै कुष्ठरोग लागेको व्यक्तिको आँखामा पनि असर हुन सक्छ । कुष्ठरोगले आँखाको मांशपेशीलाई प्यारलाइसिस गराउँछ  । यसले गर्दा राती सुत्दा आँखा राम्रोसँग बन्द हुँदा आँखा खुल्ला हुँदा धुलो, किराहरु पर्न सक्छ, त्यसैले निदाउँने समयमा आँखालाई बचाउने उपायहरु उपनाउनु पर्नेहुन्छ । 

घरायसी उपचार 
कुष्ठरोगले छालाको स्पर्श शक्ति हराइदिन्छ । जसले गर्दा छोएको र दुखेको थाहा हुँदैन । हातखुट्टामा चोटकपटक लाग्ने तर नदुख्ने हुँदा घाउ हुने सम्भावना धेरै हुन्छ । जसले गर्दा अङ्गभङ्ग हुने सम्भावना हुन्छ । जस्तै कुष्ठरोग लागेको बिरामीले तातो चियाको कप समाउँदा तातो थाहा नपाउन सक्छ । तर थाहा नपाए पनि त्यो तातोले घाउ बन्छ । कतै ठोक्कीदा दुख्दैन तर घाउ बन्छ । त्यो घाउलाई घरायसी रुपमा ख्याल गर्नुपर्छ । तातोकुरा नसमाउने काम गर्दा पन्जा लगाउने, खुट्टामा चोटपकट लाग्न नदिने गर्नुपर्छ । एक पटक लागेको चोटपकट निको हुनको लागि कुष्ठरोग लागेको व्यक्तिलाई धेरै समय लाग्ने हुँदा घरायसी रुपमा पनि यस्ता कुरामा ख्याल गर्नुपर्ने हुन्छ । 
कसरी बच्ने ? 
कुष्ठरोगबाट यसरीनै बच्न सकिन्छ भन्ने छैन । कुष्ठरोगबाट बच्नको लागि अहिले सम्म भ्याक्सीन पत्ता लागेको छैन । एउटा औषधि छ । तर त्यो औषधीले काम गर्ने भनेको पनि ५० देखि ६० प्रतिशत मात्रै हो । औषधी कुष्ठरोग लागेको व्यक्तिको आफन्त, परिवारको सदस्य, छरछिमेकीहरुलाई खुवाउदा दुई वर्ष सम्म कुष्ठरोग नलाग्ने सम्भावना ५० देखि ६० प्रतिशत हुन्छ । कुष्ठरोगबाट बच्नको लागि भने शतप्रतिशतनै जोगाउने भ्याक्सीन भने अहिले सम्म बनीसकेको छैन । कुष्ठरोग लागेको शंका लागेको खण्डमा अथवा परिवारको समुदायमा कसैलाई कुष्ठरोग लागेको छ भने समयमानै स्वास्थ्य संस्था जानु अन्तिम विकल्प हो ।  

उपचार कसरी गर्ने ? 
कुष्ठरोगको सबै प्रकारको उपचार नेपाल सरकारले निशुल्क बनाएको छ । कान, छालाको दागबाट पानी झिकेर कुष्ठरोगको परीक्षण गर्नुपर्ने हुन्छ । कुष्ठरोगको उपचारको लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सहयोग गर्दै आईरहेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप