केन्द्रीय संस्करण
मेराे जीवन

डा. तारानाथ शर्माको जीवन : मृत्युलाई थप्पड दिन मन लाग्छ

person explore access_timeसाउन ११, २०७६ chat_bubble_outline2
कुवेर गिरी

रातोपाटी

डा. तारानाथ शर्मा साहित्यकार, समालोचक र पाठ्यपुस्तक लेखक पनि हुन् । उनी नेपाली भाषा र साहित्यमा झर्रोवादी आन्दोलनका अगुवा भनेर समेत चिनिने गरेका छन् । दोस्रो भाषाका रुपमा अङ्ग्रेजी शीर्षकमा विद्यावारिधि गरेका शर्मा लामो समय प्राध्यापन पेसामा समेत आबद्ध रहे ।

इलामको बरबोटेमा १९९१ मा जन्मिएका रुद्री, चण्डी, वेद, अमरकोश र ज्योतिषसम्बन्धी अध्ययन समेत गरेका उनले आफ्नो सम्पादन, लेखन र अनुवादमा थुप्रै कृति दिएका छन् । अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि गरेका उनका समालोचनाहरूमा घोत्ल्याइँहरू, भानुभक्तदेखि तेस्रो आयासम्म, सम र समका कृति आदि हुन् । यसका अतिरिक्त नेपाली साहित्यको इतिहास, नेपाली साहित्यको ऐतिहासिक परिचय छन् ।

उनका उपन्यासहरुमा सुली, मेरो कथा, ओझेल पर्दा, झझल्को, नेपालदेखि अमेरिकासम्म र पश्चिमका केही महान साहित्यकार लगायत करिब १३६ वटा पुस्तक प्रकाशित छन् । शर्माले कृति ‘बेलाइततिर बरालिँदा’का लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । यसको अलवा, साझा पुरस्कार २०२९, रत्नश्री स्वर्णपदक २०२३, सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार २०३९ लगायत थुप्रै पुरस्कार र सम्मान हात पारेका छन् । यी नै तारानाथ शर्मासँग मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानीः

मेरो खाना
नेपाली खाना दालभात, तरकारी नै मनपर्छ । तर, अचेल दालभात खान्न । यो खायो भने पेट दुख्न थाल्छ । यसको सट्टा अहिले चिउरा, केरा र घिउमा मुछेर खाने गरेको छु । मन नपर्ने भन्ने केही छैन ।
पकाउने काम मैले कहिल्यै गरिनँ । पहिले आमाले पकाउनु हुन्थ्यो । त्यसपछि दिदीबहिनीले पकाए । विवाह भएपछि श्रीमतीले पकाउन थालिन् । उनले त मलाई भान्सामा छिर्न दिन्नन् । रेस्टुरेन्ट जाने गरेको छु । मानिसहरुले राम्रो राम्रो रेस्टुरेन्टमा लैजान्छन् । रेस्टुरेन्टको भुटेको मासुहरु, पकाएको मासुका परिकार  मनपर्छ ।

मेरो पोसाक
मनपर्ने पोसाक दौरासुरुवाल नै हो । पहिले पहिले दौरासुरुवाल  र टोपी सधैँ प्रयोग गर्थें । दौरासुरुवाल सबै प्रकारको लगाउँछु । म सानैदेखि अङ्ग्रेजी स्कुलमा पढेको मानिस । त्यसैले सटपाइन्ट पनि लगाउँथे । वर्षमा २, ३ जोर लुगा सिलाए पुग्छ । यस हिसाबले भन्नुपर्दा वर्षमा १०, १२ हजार पोसाकमा खर्च छ । 

मेरो फिट्नेस
पहिले पहिले योग गर्थें । अहिले बुढेसकाल लागेकाले होला अल्छी लाग्छ । पहिले पहिले धेरै हिँड्थे । अहिले घुँडा दुख्ने भएकाले घरमा मात्र हिँड्छु । बिहान सूर्यलाई नमस्कार गरेर आललम बिललम गर्छु ।

मेरो अध्ययन
म अध्ययन गर्न रुचाउने मानिस हुँ । मेरो अध्ययनको कुनै सीमा छैन । म पढिरहन रुचाउँछु । तर केही वर्षयता म एकदमै अल्छी भएको छु । घुँडालगायत शरीरका विभिन्न भाग दुख्न थालेका छन् । त्यसैले पनि पुस्तक पढ्न अल्छी लाग्छ । पत्रपत्रिका सधैँ बिहान नियमित पढ्छु । 

मेरो घुमफिर
सबैभन्दा बढी रुचिको विषय घुमफिर हो । पहिले मेरो आफ्नै गाडी थियो । मैले आफै ड्राइभिङ गरेर जति घुमे, त्यो थोरैले घुमेका होलान् । इङ्ल्यान्ड, युरोप, आएरल्यान्ड मेरो जति कमैले घुमेका होलान् । अमेरिकाको त कुरै भएन । कुनाकुनासम्म पुगेको छु । देशको सबै जिल्ला पुगेको छु । एसएलसीको सुपरटेन्डेन भएर पनि धेरै जिल्ला घुमे ।
पहिला पहिला घुम्न एकदमै मनपथ्र्योे । सरकारी खर्च तथा आफ्नो खर्चमा देशको पूरै ठाउँ पुगेको छु । आफै गाडी चलाएर समेत धेरै ठाउँ पुगेँ । उमेर ढल्किँदै गएपछि पैसा खर्च गर्न पनि गाह्रो हुँदो रहेछ । 

मेरो फुर्सद
अहिले फुर्सदै फुर्सद छ । पत्रपत्रिका पढेर बस्ने हो । घरको काम गर्न केही सकिँदैन । पहिले त फुर्सद भयो कि लेख्थेँ । एक दुई वर्षयता घुँडाको समस्याले लेख्नसमेत अल्छी लागेर आउँछ । 
 

मेरो खेलकुद
खेलकुदमा खासै रुचि छैन । मलाई सानैदेखि खेल्न इन्ट्रेस्ट थिएन । टीभीमा खेल हेर्न मनपर्छ । टीभीमा आउने गेम हेर्नेगरेको छु । फुटबल हेर्छु, बुझ्छु । क्रिकेट पनि कहिलेकाहीँ हेर्छु । तर बुझ्दिन । समय बिताउनका लागि टीभीमा आउने खेलकुद काम लागेको छ । 

मेरो मोबाइल
आजको दिनसम्म मैले मोबाइल बोकेको छैन । छोराले बोक्छ । श्रीमतीले बोक्छिन् । म बोक्दिनँ । मोबाइल हेरेर, मोबाइल बोकेर पनि कोही कम्युनिकेसन गर्छ । आफै गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

मेरो टीभी
टीभी हेर्न मनपर्छ । दैनिक हेर्छु । मैले टीभीमा हेर्ने भनेको खेलकुद, समाचार, देशविदेशका घटना, साहित्यिक खबरलगायतका लागि हो । टीभीमा हेर्न बढी मनपर्ने खबर र इन्टरभ्यु नै हो । बिहान, बेलुका, दिउँसो जुनै समय पनि फुर्सद भयो कि टीभीको अगाडि हुन्छु ।  

मेरो चलचित्र
अलिअलि चलचित्र हेरेको छु । पहिले धेरै चलचित्र हेर्थें । मेरो विषय नै नेपाली र अङ्ग्रेजी हो । पहिले नेपाली हिन्दी र अङ्ग्रेजी फिल्म हेर्थें । अहिले हलमा गएर हेर्दिनँ । घरमा बसेर हेर्छु । टीभीमा आएका नेपाली, हिन्दी, अङ्ग्रेजी सबै प्रकारको फिल्म हेर्न मनपर्छ । 
 
मेरो रोग
केही रोग छन् । अहिले घुँडा धेरै दुख्छ । नाथे सुगर भनेको  उहिलेदेखि थियो । यसको नियमित औषधि खान्छु । सुगर भएपछि ब्लड प्रेसर नहुने कुरो भएन । यसको पनि औषधि खाइरहेको छु ।  

मेरो भाषाशैली
नेपाली शुद्ध, प्रष्ट बोल्न र सुन्न मनपर्छ । मलाई धर्मराज थापा, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, धरणीधर कोइराला, पारसमणि,सबै मेरा साथी जस्तै हुन् । उनीहरुको भाषाशैली बढी मनपर्छ । चाकडी, चाप्लुसी गरेर बोलेको ठीक लाग्दैन । 

मेरो सङ्गीत
गीत सङ्गीत मनपर्छ । प्रशस्तै सुन्छु । नेपाली गीत सङ्गीत बढी सुन्छु । पुराना, नयाँ, लोक आधुनिक सबै प्रकारका सुन्ने गरेको छु । जीवनका लागि आनन्द दिने, सुख दुःखको साथी पनि हो गीत सङ्गीत । 

मेरो प्रेम
प्रेम, विवाहपछि श्रीमतीसँग गरे । छोराहरु जन्मिए उनीहरुलाई गरे । साथीभाइसँग गर्छु । त्यो बेग्लै खालको प्रेम हो । कुनै महिला, केटी र स्वास्नी मानिसलाई गर्ने प्रेम अर्कै हो । म कलेज पढ्थे, पढाउँथे यो क्रममा केटीहरु पनि थिए । उनीहरुले पनि मन पराउँथे । दार्जिलिङको पनि म स्ट्यान्डर कलेजमा पढेको व्यक्ति । त्यहाँ पनि केटीहरु थिए । धेरैले माया गर्थे । यो मामलमा म भने अगाडि बढिनँ ।

मेरो पेसा
मिति ठ्याक्कै याद भएन । एसएलसी गरेदेखि म प्रोफेसर पेसामा छु । मेरो अङ्ग्रेजी र नेपाली राम्रो भएकाले एसएलसीपछि पढ्दै र पढाउँदै जीवन अगाडि बढाएँ । त्यतिबेला सुरु भएको यो यात्रा अहिलेसम्म पनि जारी छ । केही समयदेखि भने आफू अस्वस्थ भएर पढाउन जान छाडे । मेरो पेसा अङ्ग्रेजी र नेपाली पढाउने हो । पढाउन रमाइलो लाथ्यो । 

मेरो भूल 
भूल नगर्ने कोही हुन्छ र ? जानी नजानी गरियो होला । भूलबाट सिक्ने हो । स्कुलमा पढ्न टिचरहरुले कहिले काहीँ भुलै नगरी सजाए दिएका छन् । 

मेरो सपना
नेपाली भाषाको उन्नति होस् । सबैले शुद्ध नेपाली बोल्न, सिक्न पाऊन् । सबै विद्वानको शुद्ध नेपाली होस्, देख्न पाइयोस् भन्ने  एउटै सपना छ । हाम्रो धेरै विद्वानको नेपाली शुद्ध हुँदैन र छैन पनि । धेरै लेखकको नेपाली अशुद्ध भएको मलाई थाहा छ । कसरी भन्नु, भन्न पनि मिल्दैन ।  

मेरो मापसे 
मदिरा म खाँदै खाँदिन थिएँ । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समसँग बस्दा एक दुई पटक अलिकति खाऊ भनेर खान थालेँ । जो पायो त्यहीसँग बसेर खान्न । मेरो ससुरा पर्ने नवराज सुवेदी भन्ने हुनुहुन्छ । उहाँसँग भेट भयो भने ल्याइहाल्नु हुन्छ । अनि हामी सुरु गर्छाैं । हामी जुन पायो त्यही रक्सी खाँदैनौँ । ब्ल्याक लेबल र ग्रिन लेबल मात्र खान्छौँ ।

मेरो राशि
राशि मेरो तुला हो । मैले ज्योतिष पनि पढेको छु । ग्रहदशा विश्वास लाग्छ । म अलिअलि जान्दछु पनि । सधैँ राशिहरु पढ्छु । श्रीमती छोरा, नातिहरुको राशि हेरेर पनि भन्छु । राजकुमार सुवेदी भन्ने मेरो अनन्य मित्र हुनुहुन्छ । उहाँको गाडीमा पनि म हिँडिरहेको हुन्छु । पूजापाठ हाम्रो धर्म हो । गर्छु र पहिले पनि गर्थें ।

मेरो मृत्यु
मृत्य राक्षस हो । म त्योसँग झगडा गर्छु । किन त्यो चाँडै आउँछ । मेरो बुबालाई लग्यो, आमालाई लग्यो, भाइलाई लाग्यो । मेरो भाइ इन्जिनियर थियो । अहिले बसिरहेको घर उसले नै डिजाइन गरेको हो । मृत्युलाई थप्पड दिन मन लाग्छ । मृत्युदेखि रिस उठ्छ । 
 

कमेन्ट

  1. July 28, 2019, 6:41 a.m. Bimal Soti
    के भन्छन यी बुढा | लक्ष्मी प्रसाद देबकोटा पनि मापसे गर्थे र भन्या ? कतै type mistake त होइन ?? कतै पढेको थिए देबकोटा बुढा बनारस गएको बेला पनि भान्छा गर्नको लागि सजिलो हुन्छ भनेर बाहुनकै डेरा मा बस्थे भनेर |
  2.  0 Reply
  3. July 27, 2019, 4:14 p.m. Nabin karki
    Kreepaya wahaanko lekh padhnuhos. Bisudda Nepali bolaun ra bolna sikaun. Aadarniya agrajharulaai samman garaun Ra wahaanharukaa rastriya ikshyaharulaai puraa garaun Ra khushikaa laharharu phijaaidim.
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...