लोर्काको रक्तगाथा

person access_timeसाउन २७, २०७४ chat_bubble_outline0
SHARES

जति–जति बेला रचना र कर्मका बीच रहेको मतभिन्नता पुर्ने प्रश्न उठ्नेछ, त्यति त्यति बेला फ्रेडेरिको गार्सिया लोर्का (Federico Garcia Lorca) को नाम आफै अगाडि आउँछ । भन्नु पर्दैन होला रचना र कर्मको बीच विद्यमान मतान्तरलाई नष्ट गर्दै लोर्काले साँचो अर्थमा आफ्नो जीवन कवितामा बाँचे । यो कुरा कुनै आकस्मिकता होइन कि पाब्लो नेरुदा र लोर्काको आफ्नो रचनाशक्तिका कारण नै उनीहरु फासिस्टहरुका लागि ठूलो खतरा बने र दुवै आआफ्नो नियतिमा हत्याको शिकार भए । फासिज्मले मानवताको जसरी विनाश गर्यो, त्यही बर्बरताको कडीमा यो कुकर्म र अपराध पनि जोडिन आउँछ । जसअन्तर्गत उसले यी दुवै कविको हत्या गर्यो । लोर्कालाई गोली हानियो र नेरुदालाई... पनि । नेरुदा र लोर्का मिल्ने साथी थिए ।   


चिन्तक र साहित्यकारहरुको एउटा तप्का छ, जसले साधारण जीवन अनुभवहरुका आधारमा साहित्यलाई अँगाल्न नहुने सल्लाहा दिन्छ । एउटा अर्को पनि समूह छ, जो जीवन अनुभव, समाज र राजनीतिलाई साहित्यसँग जोड्न त जोड्छ तर, मात्र बौद्धिकताको धरातलमा... भाषाको माध्यमबाट... लफ्फाजीहरुको माध्यमबाट । थाहा भएकै कुरा हो, त्यस्तो साहित्य निकै ‘रेटरिक’ हुन्छ । एउटा अर्को पनि तथ्य छ, आफ्नो परिवेशको व्यापक जीवनलाई सोझै आत्मसाथ गर्न नसक्ने रचनाकार, द्रष्टा रचनाकार त हुन्छ तर प्रतिक्रियात्मक रचनाकार हुन्छ । यस्ता प्रतिक्रियात्मक रचनाकारहरुको रचनामा यदि फतवा, सोझो बयानवाजी, विषयको सरलीकरण, गैरजिम्मेवार र वक्तव्यवाजी गर्छन् भने यो कुनै आश्चर्यको कुरा होइन । हिन्दी कवितामा जसरी फतवा र सरलीकरणको प्रयोग हुन्छ, त्यसको मूल कारण यही हो ।  
वास्तविक अनुभवहरुको दरिद्रतामा यस्ता रचनाकारहरु जुन सङ्कटका अगाडि आफूलाई पाउँछन्, त्यस्तो सङ्कटलाई उनीहरु अभिव्यक्तिको सङ्कट भन्ने गर्छन् र त्यसबाट जोगिन भाषाको अतरिक्त आश्रय लिन्छन् । परिणामस्वरुप वास्तविकताको अति–वास्तविकरण हुन्छ र ‘रेटोरिक’ले भरिन्छ । वास्तवितामा यो सङ्कट अभिव्यक्तिको सङ्कट होइन । यो त सार्थक अनुभव नहुनुको सङ्कट हो । नेरुदा र लोर्का जस्ता रचनाकारका अगाडि अनुभवको यस्तो सङ्कट कहिलै पनि परेन । त्यसैले उनीहरुले अभिव्यक्तिका सबै चुनौतीहरु अँगाले । नेरुदा जीवनको सबैभन्दा सक्रिय समयमा चिलीबाट निर्वासित रहे । पछि फासिस्ट जुन्ता सरकारको शिकार भए । 


लोर्कालाई फ्रान्सका समर्थक विस्टापोका फासिस्ट गुर्गोंले गोली हानेर मारे । आफ्नो युग, जीवन र परिवेशमा हुँदै गरेका उतार चढावमा उनको संलग्नताले नै उनका लागि यति धेरै अनुभवहरुको भण्डार हासिल गर्यो कि आफ्नो रचनाहरुमा कहीँ पनि उनी इमानदार छैनन् भन्न सकिन्न । मेरो विचारमा कुनै पनि कवि आफ्नो रचनाहरुमा त्यति बेला मात्र इमानदार हुन सक्छ जति बेला ऊ आफ्नो जीवनमा समेत इमानदार हुन्छ । लोर्का र नेरुदाको रचनाहरुमा त्यसैले समाजका ठूला–ठूला सङ्कट, दुर्घटना, षडयन्त्र, परिवर्तनहरुको यस्तो मौन उथलपुथल अभिव्यक्त भएको देखिन्छ कि अति–वास्तविकरणको खतराबाट उनका रचनाहरु आफै जोगिन्छन् । 


लोर्काको पूरै जीवन र उनका समग्र रचना–संसारमा निरन्तर सङ्घर्ष, जय–पराजय, उत्साह र हताशा, सङ्कल्प र सन्देश, जीवनमरणका कथाहरुले भरिएका यात्रा हुन्छन् । लोर्कालाई गोली हानिएको यतिका वर्षमा पनि आजसम्म परिस्थिति फेरिएको छैन । चिलीमा आज पनि फासिस्ट जुन्ता सत्तामा छ । स्पेनमा फ्रान्कोका वंशधर आफ्ना नाजी कुकृत्यलाई लागू गराउने षडयन्त्रमा व्यस्त छन् । भारतीय शासन व्यवस्था आफ्नो मक्किएको सत्तालाई सम्हाल्न हिराबल क्रान्तिकारीहरुलाई ठूलो सङ्ख्यामा जेलमा कोचिरहेको छ । 


यस्तो बेला लोर्कालाई सम्झनु निकै प्रासङ्गिक हुन्छ । सायद यति बेला लोर्कालाई सम्झनु भनेको आफूभित्र लुकेर बसेको कुनै इमानदार मान्छेलाई चिच्याएर बोलाउनु जस्तै हो । आज पनि आफ्नो रचनामा र आफ्नो कर्म दुवैमा एकै चोटि इमानदार हुने मान्छेको अघि लोर्काको नियति शेष बाँकी रहन्छ । के फेडेरिको गार्सिया लोर्काको नाम प्रासङ्गिक र मौन समकालीन चिच्याहट जस्तो लाग्दैन ?


लोर्काको एउटा कविता छ–
मलाई महशुस भयो
म मारिइसकेको छु ।
उनीहरुले चियाघर, चिहान र चर्चहरुमा खोजतलास गरे 
उनीहरुले ढोका र आलमारीहरु
खोलेर भ्याए
सुनको दाँत झिक्नका लागि
उनीहरुले ती कङ्कालहरुलाई 
लुछेर भ्याए
उनीहरुले मलाई भेट्टाउन सकेनन् 
के उनीहरुले कहिलै मलाई भेट्उन सक्दैनन् ?
होइन । 
उनीहरुले मलाई कहिल्यै भेट्न सकेनन् ।

तर, उनीहरु शिकारी कुकुर जसरी आफ्ना फासिस्ट सरदारहरुको इसारामा लोर्काको ज्यान लिन लगातार उनका पछि लागिरहे । लोर्का कहिले उनीहरुसँग लड्दै, कहिले घाइते हुँदै, कहिले उनीहरुलाई मार्दै, कहिले लुक्दै, भाग्दै, कहिले उनीहरुलाई उडाउँदै... लगातार लेखि रहे । तर, ज्यान जाने जोखिमको अन्त्य कहिले न कहिले त हुनै थियो । जुलाई १९३६ मा उनीहरुलाई एउटा अवसर जुर्यौ र उनीहरुले लोर्काको शिकार गरे । 

नेरुदाले आफ्नो संस्मरणमा लेखेका छन्– ‘फेडेरिको लोर्कालाई आफ्नो मृत्युको आभास भैसकेको थियो । एक पटक एउटा रङ्गमञ्चको कुनै यात्राबाट फर्केपछि उसले मलाई एउटा विचित्रको घटनाबारे सुनाउन बोलायो । कुनै गाउँ जुन बाटोदेखि अलिक पर थियो । ‘कास्तिले’को क्षेत्रमा आफ्नो समूह ‘ला वार्रका’का साथ क्याम्प लगाएर गाउँको बाहिर पट्टि निदाउने प्रयास गर्दै थियो । तर यात्राको थकाइले लोर्का राति सुत्न सकिरहेको थिएन । ऊ बिहान झिसमिसेमै बिउँझियो र एक्लै बाहिर घुम्न निस्कियो । त्यो त्यस्तो ठाउँ थियो जहाँ कुनै परदेशी अथवा यायावरसँग आफूसँग कुनै भयानक... चक्कुको धारजस्तो जाडो हुन्थ्यो । कुहिरो सेतो च्यादर बनेर छरिएको थियो । जसमा सबै कुरा मूर्दा र प्रेत जस्ता देखिन्थे । एउटा निकै ठूलो खिया लागेको फलामे जाली, फुटेको मूर्ति र खाँबा कुहिएका पातहरुमाथि फालिएका थिए । लोर्का कुनै पुरानो सामन्ती जमिनदारको जस्तो देखिने घरको ढोका अगाडि उभिएको थियो । अगाडि बगैँचा थियो । एकाङ्कीपनको बोध र त्यसमा थपिएको भयानक जाडोले यस चकमन्नतालाई झनै पेचिलो बनाइदिएको थियो । एक्कासि फेडरिकोले आफूलाई अलिक असहज महशुस गर्यो । जस्तो कि यो ठाउँबाट कुनै वस्तु निस्केर आउँछ र अहिले नै केही भैहाल्छ । लगत्तै ऊ त्यही भाँचिएर लडेको एउटा कुनै वस्तुमाथि बस्यो ।’ 

‘तत्क्षण नै भग्नावशेषका बीचबाट घाँस खाँदै गरेको एउटा बाख्राको पाठो फुत्त निस्किएर बाहिर आयो । मानौँ त्यो नै कुनै देवदूत हो । त्यो पाठो त्यहाँको निर्जनतालाई मानवीय बनाउन फुत्त बाहिर आए जसरी आएको होस् । लोर्काले धेरै बेर आफूलाई एक्लो महशुस गर्न सकेन । त्यसपछि सुँगुरको एउटा झुण्ड त्यो ठाउँसम्म आइपुग्यो । चार अथवा पाँचवटा सुङगुर थिए । सुँगुर आफ्नो आदिम बर्बर भोक र सुस्क ढुङ्गा जस्ता देखिने छाला र रौँका साथ त्यहाँ उपस्थित थिए । ...त्यसपछि लोर्काले आफ्नो अघिल्तिर रगत सुकाइदिने दृश्य देख्यो । सुँगुरहरुले त्यो पाठोमाथि झम्टिए र लोर्काको डरलाई झनै भयानक बनाउँदै उनीहरुले त्यो पाठोलाई चोक्टा चोक्टा पारेर लुछेर खाए ।’ 

‘त्यस निर्जन स्थानमा घटेको त्यो दृश्यले फेडरिको लोर्कालाई विवस बनाइदियो कि उसले तत्कालै आफ्नो समूहलाई गाउँ भएतिर लिएर जाओस् । गृहयुद्ध हुनुभन्दा तीन महिनाअघि जब उसले मलाई यो रोमाञ्चक कथा सुनाउँदै थियो त्यतिबेला पनि उनी त्यस घटनाको डर र भयावह दृश्यबाट मुक्त हुन सकेका थिएनन् । पछि मैले स्पष्ट रुपमा के देखेँ भने, ... त्यो घटना उसको आफ्नो मृत्युको परिदृश्य नै थियो । भन्नुको अर्थ उनको आफ्नो दुःखद पूर्वाभास ।’ –पाब्लो नेरुदा मेमोआर्स, पृष्ठः १२३–१२४)

अनुवादः नरेश ज्ञवाली
‘लोर्का की रक्तगाथा’ भन्ने शीर्षकमा लेखिएको यो आलेख हामीले उदय प्रकाशबाट प्राप्त गरेका हौँ । 

उदय प्रकाश

उदय प्रकाश वरिष्ठ भारतीय साहित्यकार तथा फिल्ममेकर हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ