शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भइसकेको छ: देउवा

बुधबार, ०८ साउन २०७६, १६ : २१
बुधबार, ०८ साउन २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्षेनी हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेता देउवाले सरकारलाई तराईका जिल्लामा  बर्षेनी हुने डुबानको दीर्घकालीन समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह गरेका हुन् ।

उनले तटबन्धका कारण बर्षेनी डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एक आपसमा दोषारोपण गरेर मात्रै समस्या समाधान हुन नसक्ने उल्लेख गरे । उनले भने, ‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भइसकेको छ । भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने । कति दिनसम्म चल्छ यो ? त्यसकारण कुटनीतिक तहबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ । भारतले डुबान पार्यो भन्छन् त्यहाँ । भारतले नेपालले सिध्यायो भन्छ । त्यसकारले यसमा कुटनीतिक ढंगले कुरा गर्नुपर्छ ।’

कोशी ब्यारेज बन्दै गर्दाको समयमा नेपालको सिमामा साना–साना चिया पसल गरि बसेकालाई भारतले सुरक्षाको कारण हटाउन खोजेको भन्दै उनले सो समस्या समाधानका लागि पनि सरकारलाई आवश्यक कुटनीतिक पहल गर्न आग्रह गरे ।

उनले सरकारले बाढी र डुबानमा परी घरवारविहिन भएकालाई उचित वासस्थान र तात्कालीन राहतको व्यवस्था गर्न नसकेको आरोप लगाए । उनले भने, ‘टहरा बनाएर बसेका छन् खाद्यान्न छैन । सरकारको पहिलो कर्तव्य जो बाढी ,पहिरो र डुबानमा परि घरविहिन भएका छन् उनलाई खाद्यान्न दिने ।

लत्ता कपडा दिने । पाल दिने, ओत दिने काम केही गरेको छैन । केही रेडक्रसले, केही विदेशी संस्थाहरुले, आईएनजिओहरुले गरेका छन् । तर सरकारबाट कही पनि देखिन मैले । हेलिकोप्टरबाट उद्धार कहाँ हुन्छ ? त्यसकारण सरकार तात्नुपर्ने, लाग्नुपर्ने । कहीँ पनि लागेको छैन ।’

सिरहा, सुनसरी, रौतहटलगायत जिल्लाको अनुगमनका क्रममा आफुले कही पनि सरकारको उपस्थिति नदेखेको भन्दै उनले ‘दुःख परेको बेला आवश्यक प्रबन्ध मिलाउनुपर्नेमा सरकार नपुगेको’ टिप्पणी गरे । उनले बाढी र डुबान प्रभावितलाई सरकारले आफ्नो कर्तव्य र दायित्व पुरा गर्न नसकेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप